बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र (प्रतिबद्धता पत्र) सार्वजनिक गरेको छ।
नयाँ शक्तिले राजधानीमा पत्रकार सम्मेलन गर्दै समृद्धिका लक्ष्यहरूसहितको घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्रमा संघका रणनीतिक योजनाहरू र प्रदेशगत योजनाहरू समावेश गरिएका छन्।
घोषणापत्रमा नेपालदेखि चीनको केरुङसम्म केवलकारको प्रस्तावसँगै एक दिनमा मेची -काली गर्न सक्ने पूर्व पश्चिम दुई रेल मार्ग बनाउने उल्लेख छ। नयाँ शक्तिले रसुवागढी हुँदै काठमाडौं, पोखरा, लुम्बिनी, चितवन रेलमार्ग र काठमाडौं वीरगञ्ज द्रुत मार्ग निर्माणको प्रस्तावलाई घोषणापत्रमा समेटेको छ।
त्यस्तै, घोषणापत्रमा प्रत्येक प्रदेशमा दुई स्थानमा पाँच सय शय्याको अस्पताल बनाउने उल्लेख छ। १५ वर्ष मुनिका र ६५ वर्ष माथिका नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रस्ताव छ। त्यस्तै, देशभरमा महिला र बिरामीको ओसार पसारका लागि पाँच वटा हेलिकप्टरको व्यवस्था गर्ने उल्लेख छ।
त्यस्तै प्रत्येक नगरपालिकालाई राष्ट्रिय राजमार्गबाट ४ लेनको सडकले जोड्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। यद्यपी नयाँ शक्तिले कति वर्षमा यस्तो गर्ने भन्ने घोषणापत्रमा खुलाएको छैन। भट्टराईले भने योजना आयोग वा बजेटको जस्तो व्यवस्था नभई राजनीतिक प्रतिबद्धता भएकाले समय उल्लेख नगरेको बताए।
घोषणापत्र सार्वजनिक समारोहमा भट्टराईले आफ्नो पार्टी नयाँ संविधान घोषणापछि हुन गइरहेको चुनावको घोषणापत्र सार्वजनिक गर्ने पहिलो पार्टी बनेको उल्लेख गरे।
नयाँ शक्तिले आफ्नो घोषणापत्रमा कुनैपनि राजनीतिक दलबारे समिक्षा गरेको छैन। वाम गठबन्धनबाट अलग्गिएको घोषणा गर्दै भट्टराईले पुराना शक्तिको टिका टिप्पणीमा घोषणापत्रमा समय नखर्चिएको बताए।
राष्ट्रिय पार्टी बन्ने योजना बनाएको नयाँ शक्तिले ठूला योजना सार्वजनिक गरेको विषयमा सोधिएको प्रश्नमा भट्टराईले आफूले बिऊ रोपेको बताए।
'डेढ वर्षमा उम्रिएर यत्रो भयौँ। अब उम्रदै गरेको बिरुवामा फल लागेको भन्नु उचित हुन्न', भट्टराईले भने। भट्टराईले नेपालमा अब ‘प्लेन टेक अफ’ गरेको जस्तो आर्थिक विकास आवश्यक रहेको बताए।
भट्टराईले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा समेत माओवादी फर्कने प्रश्नमा जवाफ दिनुपर्यो। उनले भने 'पुतली भैसक्यौँ, अब लार्भा र झुसिलकिरा हुँदैनौ।'
वाम गठबन्धनबाट अलग्गिनुको कारण भने नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन पुरानो शक्तिको गठजोड मात्र भएको तर्क गरे। अनि भने 'हामी कुनै गठबन्धनमा छैनौँ।'
नयाँ शक्तिले गोर्खा र रसुवामा तालमेल मात्र गरेको उनले बताए।