चुनावी तालमेल गर्ने विषयमा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी बिहीबार बालुवाटारमा सम्पन्न वार्तापछि सकारात्मक भएका छन्।
चुनावी तालमेलका लागि सैद्धान्तिक सहमति भएको तर अन्तरवस्तुमा भने छलफल सुरू नभएको राजपाका नेता मनिष सुमनले सेतोपाटीलाई बताए।
‘लोकतान्त्रिक शक्तिहरूले तालमेल गरेर निर्वाचन लड्नु पर्छ भन्नेमा हामी एक छौँ,’ उनले भने, ‘कसले कति क्षेत्र लिने निर्वाचन क्षेत्रको भागबण्डा कसरी गर्ने भन्नेमा छलफल भएको छैन।’
सबै पार्टीहरू आन्तरिक छलफलमा रहेकोले सिट बाँडफाँटमा ढिलो भएको उनले बताए।
आफूले जित्ने ठाउँमा छुट्टाछुट्टै लड्ने तर तीन पार्टी तालमेल गरेर जितिने ठाउँमा भने तालमेल गर्ने गरि सैद्धान्तिक सहमति हुन लागेको काँग्रेसका एक नेताले सेतोपाटीलाई बताए।
जित्नका लागि तालमेल जरुरी भएका क्षेत्रहरुबारे छलफल भइरहेको उनले बताए । भोलि फेरी फोरम र राजपाका नेताहरूसँग छलफल हुने ति नेताले जानकारी दिए।
नेपाली काँग्रेसले छलफलनै नसकिदैँ मधेसका केही ठाउँमा उम्मेदवार घोषणा गरेको भन्दै संघीय समाजवादी फोरमले भने असन्तुष्टी व्यक्त गरेको छ।
‘नेपाली काँग्रेसका लागि तालमेल आवश्यक हो वा होइन त्यो पहिला स्पष्ट हुनुपर्छ। काँग्रेसले अन्य दलसँग छलफल नै नगरी उम्मेदवार तोकिसकेको छ’ फोरमका नेता परशुराम बस्नेतले भने, ‘काँग्रेसले सुनसरी ४, धनुषा ३ लगायतका क्षेत्रहरूमा जसरी उम्मेदवार तोक्यो त्यसले काँग्रेसलाई तालमेल आवश्यक होइन की भन्ने प्रश्न उब्जेको छ।’
काँग्रेससँग छलफल पनि चलिरहेकोले अझै पनि तालमेलको संभावना भने कायमै रहेको उनले बताए । राजपासँग भने तालमेल हुने उनले बताए ।
‘राजपासँगको छलफल टुंगिसकेको छैन। १,२ दिनमा हामीले निर्वाचन क्षेत्रको बाँडफाँटमा सहमति गर्नैपर्छ,’ उनले भने।
राजपाका नेता मनिष सुमनले फोरमसँग निर्वाचन बाँडफाँटको काम मात्रै बाँकी रहेको सेतोपाटीलाई बताए।
‘हामीले सबै क्षेत्रमा साझा उम्मेदवार बनाउने निर्णय गरिसकेका छौँ,’ सुमनले भने,‘स्थानीय तहको निर्वाचनको प्रभावका आधारमा पार्टीको उम्मेदवार बनाउने प्रयास भइरहेको छ।’