आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न जिल्लाका मुख्य दलका नेताहरूबीच दौडधुप चलिरहेको छ । नेताहरु उम्मेदवार बन्नका लागि राजधानी केन्द्रीत दौडधुप गरिरहेका छन्।
विशेषगरी नेपाली काँग्रेस र वाम गठबन्धनलाई उम्मेदवार छान्न सकस भएको छ। जिल्लाबाट आवश्यकभन्दा बढीको आकांक्षा देखिएपछि दलहरूलाई उम्मेदवार छान्न सकस भएको हो।
जिल्लाका नेताहरू पनि टिकट आफ्नो हातमा पार्न र आफ्नो समर्थन भएका नेतालाई टिकट दिलाउन राजधानी केन्द्रीत भएका छन्। दुई नगरपालिका र चार गाउँपालिका गरी छ स्थानीय तह रहेको जिल्लामा प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन्।
वाम गठबन्धनबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (एमाले)का निवर्तमान सांसद भवानीप्रसाद खापुङ र पूर्व जिल्ला अध्यक्ष तेजमान कन्दङ्वाको नाम चर्चामा छ । खापुङ नेता माधव नेपाल र कन्दङ्वा पार्टी अध्यक्ष केपी ओली निकट हुन् । विसं २०७० को चुनावमा एमालेबाटै प्रत्यक्षतर्फ चुनाव जितेका खापुङ अहिले पनि आफूले टिकट पाउनुपर्ने दाबी गर्छन्।
उनी २०६४ सालमा भने काँग्रेसका तुलसी सुब्बासँग पराजित भएका थिए। अघिल्लो चुनावमा खापुङलाई आफू पार्टीको जिल्ला अध्यक्ष भएर जिताएको बताउने कन्दङ्वा पनि टिकटका बलिया दाबेदार छन् ।
विसं २०७० को चुनावमा पनि प्रत्यक्षतर्फ टिकटका लागि कन्दङ्वा र खापुङकै बीचमा दौडधुप भएको थियो। पार्टीका तर्फबाट एकैजना पटक–पटक उम्मेदवार हुँदा अन्य नेताको पालो नआउने भन्दै अधिक कार्यकर्ताको साथ कन्दङ्वासँग छ ।
हालै अध्यक्ष ओली गुटको भएकै कारण पनि कन्दङ्वाले टिकट पाउने सम्भावना प्रबल भएको एमाले नेताहरू बताउँछन्। दुवै नेताहरू अहिले टिकटका लागि दौडधुपमा छन्। जिल्लाबाट सिफारिसमा परेकी एमाले पूर्व सांसद विष्णुमाया विक पनि आफूले टिकट पाउनुपर्ने दाबी गर्छिन्।
वाम गठबन्धनकै अर्को घटक माओवादी केन्द्रको जिल्लाबाट सर्वसम्मत छानिएका विजय सम्बाहाम्फे पनि टिकटका लागि दौडधुप गरिरहेका छन्। यद्यपी यसअघि एमालेले जितेको क्षेत्र भएकाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमालेका दुई नेताहरू खापुङ र कन्दङ्वाकै सम्भावना बलियो छ।
नेपाली काँग्रेसले जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद भइसके पनि नेत्री गुरुङले सेफ ल्याण्डिङ खोजेपछि पुनः पनि पार्टी केन्द्रीय समितिले उनको नाम समानुपातिकतर्फ नै सिफारिस गरेको खुलेको छ ।
जिल्लाकै लोकप्रिय महिला नेत्री गुरुङले प्रत्यक्षतर्फ चुनाव नलड्ने भएपछि काँग्रेसलाई पूर्व सांसद तुलसी सुब्बा या पार्टी जिल्ला सभापति गोविन्द ढुंगानालाई उम्मेदवार बनाउने भन्ने अन्योल छ ।
यसअघि २०६४ र २०७० को संविधान सभा निर्वाचनमा दुईपटक काँग्रेसबाट उम्मेदवार बनिसकेका तुलसी सुब्बाले अहिले समानुपातिकको बाटो रोजेका थिए। उनको नाम जिल्लाबाट समानुपातिकतर्फ सिफारिस भएको थियो। काँग्रेसमा पनि अहिले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि दौडधुप चलिरहेको छ ।
प्रदेश सभा सदस्यका लागि ‘क’ निर्वाचन क्षेत्रमा काँग्रेस जिल्ला सभापति ढुंगाना सर्वसम्मत सिफारिस हुनुभएको थियो । तर उहाँ आफैँ पनि प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार हुनसक्ने भएपछि प्रदेश सभाका लागिसमेत प्रत्यक्षतर्फ काँग्रेसभित्र टिकट लिनेको दौडधुप छ । ‘ख’ निर्वाचन क्षेत्रमा समेत काँग्रेसबाट बलियो उम्मेदवारीका लागि दौडधुप छ । यो क्षेत्रमा निवर्तमान सांसद गणेश विमलीसमेत आकांक्षी देखिनुभएको छ ।
जिल्लाबाट आठराई गाउँपालिकामा पराजित उम्मेदवार नारायणकुमार इङ्नाम, तेह्रथुम–काठमाडौं सम्पर्क समितिका सचिव बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको थियो ।
वाम गठबन्धनबाट प्रदेश सभाका दुई क्षेत्रमध्ये एक निर्वाचन क्षेत्र माओवादी केन्द्रलाई दिने चर्चासमेत चलिरहेको छ । अहिले प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्र माओवादी केन्द्रलाई दिने चर्चा चलेपछि टुंगो लागिनसकेको नेताहरुले बताएका छन् ।
प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रमा एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी प्रत्यक्षतर्फ उम्मेदवार बन्ने पक्का जस्तै भएको बुझिएको छ । आकांक्षी जिविस पूर्व सभापति किशोरचन्द्र दुलालको नाम समानुपातिकतर्फ अटाएर जिल्ला अध्यक्ष तिवारी प्रत्यक्ष उम्मेदवार बन्ने निश्चित भएको चर्चा एमाले वृत्तमा छ ।
माओवादी केन्द्रलाई भाग लाग्ने ‘ख’ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज दुर्गा चापागार्इं, पूर्व सभासद सुशीला कन्दङ्वालगायतको चर्चा छ । तर यो क्षेत्र पनि एमालेले नै लिएको खण्डमा एमालेका बाबुराम थापा र विश्वराज खापुङ टिकट लिने दौडधुपमा छन् । समानुपातिकतर्फ पनि उम्मेदवारका लागि बन्द सूचीमा नाम अटाउनका लागि नेताहरुको दौडधुप जारी छ ।
अन्य अधिकांश साना दलबाट भने जिल्लाबाट सिफारिस भएका उम्मेदवारहरू नै उम्मेदवार बन्ने देखिएको छ। जिल्लामा काँग्रेस र वाम गठबन्धनकै बीचमा मुख्य प्रतिस्पर्धा हुने निश्चित छ। यसअघिका दुई संविधान सभा निर्वाचनमा एकपटक काँग्रेस र एकपटक एमालेले जितेका थिए ।
स्थानीय निर्वाचनमा छमध्ये पाँचमा एमाले नै विजयी भए पनि झिनो मात्रै मतान्तर भएको र अहिले मतदाता पनि थपिएकाले उच्च प्रतिस्पर्धा हुने नेताहरूको विश्लेषण छ।
जिल्लामा प्रदेशको निर्वाचनमा ‘क’ क्षेत्रमा म्याङ्लुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन्। यस्तै ‘ख’ निर्वाचन क्षेत्रमा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन्। आगामी निर्वाचनका लागि कुल ६६ हजार ७४३ जना मतदाता रहेका छन् ।