आजभोलि सामान्य राजनीतिमा चासो राख्ने मानिसहरूको सोचमा एउटा नयाँ घटना ‘वाम गठबन्धन’ले निकै महत्त्वपूर्ण स्थान पाउने गरेको छ। एउटा साधारण चिया पसलदेखि ठूलो राजनीतिक डिस्कोर्समा पनि यसको गठन, स्थायित्व, फाइदा, बेफाइदा र परिणाम आदि विषयमा मानिसहरूबीच विभिन्न तक–वितर्क, तथा संवाद हुने गरेको पाइन्छ।
असाध्यै छोटो समयमा निर्माण भएको विपरीत ध्रुविकरणमा गइरहेको दलबीच गठबन्धनको मात्र नभै एकतासम्मको कुरा हुनु र सुरूवाती चरणमा नै उब्जिएको रस्साकस्सीले यो वाम गठबन्धनप्रति धेरै प्रश्न उठाएको छ। यस घटनाक्रमसँग मिल्दोजुल्दो भारतमा बनेको जनता पार्टीको इतिहास केही वर्ष अगाडिको मात्र हो। कसरी र कुन कारणले आखिरी जनता पार्टी विघटन हुन पुग्यो भन्ने पाठबाट वाम गठबन्धनले धेरै कुरा सिक्नुपर्ने छ।
भारतीय लोकतन्त्रको सबैभन्दा कालो दिन— २५ जुन, सन् १९७५ किनकि यो दिनमा तत्कालीन भारतीय प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीद्वारा आपतकालीन घोषणा गरिएको थियो। देशभरि सम्पूर्ण क्रान्तिको नाममा जे .पी नारायण (जो स्वतन्त्र भारतका लागि लड्ने प्रमुख नेतामध्ये एक थिए)को नेतृत्वमा आन्दोलन चलिरहेको थियो। आफ्नो मनोमानी ढंगले पार्टी र सरकार सञ्चालन गरेको आरोप स्वंय काँग्रेस कै नेताहरूले इन्दिरा गान्धीमाथि लगाउने गर्दथे । जे .पी नारायणले एउटा भाषणमा भनेका थिए ‘आदरणीय सुरक्षाकर्मी साथीहरू तपार्इंहरूलाई गोली चलाउने आदेश आएपनि आफूले विचार गरेर सहि लागे मात्र चलाउनुहोला।’
इन्दिरा गान्धी धेरै अलोकप्रिय भइसकेकी थिइन्। साथै, इलाहावाद अदालतको आदेश पालन नगरी देशको आन्तरिक परिस्थिति बिग्रेको निहुँमा उनले आन्तरिक आपतकालीन घोषणा पनि गरिन्। स्मरण रहोस् त्यस बेला भारतमा सन् १९७१ देखि बाहिरी आपतकालीन अवस्था थियो। २३ मार्च, सन् १९७७ सम्म चलेको आपतकालमा सबै विपक्षी नेताहरूलाई जेलमा हालिएको थियो।
आपतकालीन अवस्थाको अन्त्यको घोषणासहित भारतमा लोकसभा चुनावको घोषणा भयो। त्यो बेला भारतमा माहौल यस्तो थियो कि जनताहरूले फेरि स्वतन्त्रता पाएको जस्तो महशुस गरेका थिए। जनताको इन्दिरा गान्धी र काँग्रेस (आर) प्रतिको आक्रोशलाई मतमा एकजुट गर्न आन्दोलनको नेतृत्वकर्ता जे.पि नारायणको संरक्षणमा मुरारजी भाइ देसाईको अध्यक्षातामा तत्कालीन भारतीय जनसंघ (हालको भारतीय जनता पार्टी), सोसिलिस्ट पार्टी, लोक दल, काँग्रेसबाट टुक्रिएको काँग्रेस(ओ) तथा अन्य साना दल मिलेर जनता पार्टीको निर्माण भयो। त्यसबेला चर्चित नारा थियो— ‘सिंहासन खाली करो कि जनता अरीहे।’ नभन्दै चुनावको परिणामले यहि देखायो जनता पार्टीले एक्लैले २९५ सीटसहित बहुमत ल्यायो भन्ने काँग्रेसको जम्मा १५४ सीटमा चित बुझाउनु पर्यो।
उत्तर भारतमा काँग्रेसले एक सीट पनि ल्याउन सकेन। यतिसम्म कि इन्दिरा गान्धी र उनका छोरा सञ्जय गान्धीले पनि आफ्नो सीट जोगाउन सकेनन्। जनता पार्टीमा विवादको सुरूवात प्रधानमन्त्री चयन प्रक्रियादेखि हुन थालेको थियो। मुरारजी भाइ देसाई, चौधरी चरण सिंह र जगजीवन राओ प्रधानमन्त्री पदका प्रमुख दाबेदार थिए। जे .पी नारायणको प्रस्तावमा मुरारजी भाइ देसाईलाई प्रधानमन्त्री बनाउने निर्णय गरियो। उनी नेहरू पछि नै प्रधानमन्त्री बन्न चाहन्थे। यो सँगै उनी भारतको प्रथम गैर काँग्रेसी प्रधानमन्त्री बन्न सफल भए।
भनिन्छ— सत्ता पुग्न जति गाह्रो हुन्छ, त्यो भन्दा धेरै गाह्रो त्यहाँ पुगेपछि सहि काम गर्न हुन्छ। त्यस्तै परिस्थिति आयो जब जनता पार्टीको सरकार गठन भयो। जनताको काम र देश विकासभन्दा पनि जनता पार्टीको सरकार इन्दिरा गान्धीलाई कसरी आपतकालीनको बेला दिइएको दुःखको सजाय दिनुपर्छ भन्ने तिर लाग्यो। फलस्वरूप प्रधानमन्त्री मुरारजी भाइ देसाई र गृहमन्त्री चौधरी चरण सिंह बीच इन्दिरा गान्धीको विषयलाई लिएर विवाद उत्पन्न हुन थाल्यो।
इन्दिरा गान्धीलाई जनताले चुनाव मार्फत सजाय दिएकोले केही गर्नुहुन्न भन्ने थियो। उता गृहमन्त्री भने स्पेसल कोर्ट बनाएर इन्दिरा गान्धीलाई सजाय दिनुपर्छ भन्नेमा थिए। यसरी एक वर्ष बित्न लाग्दा पनि काम गर्न छोडेर जनता पार्टी विवादमा अल्झियो। मतभेद तब उत्कर्षमा पुग्यो जब राज नारायणले जनसंघमा लागिरहेको दोहोरो सदस्यको सानो झिल्कोलाई विवादको ठूलो आगोमा परिणत गर्न सफल भए। यो योजना संजय गान्धीको भित्री रणनीति अनुसार राज नारायणले अगाडि बढाएका थिए । जनता पार्टीको सरकार ढाल्न सके चौधरी चरण सिंहलाई प्रधानमन्त्री बनाइदिने काँग्रेसले आश्वासन दिएको थियो। अचम्मको कुरा के छ भन्ने राज नारायण तिनै व्यक्ति थिए जसले इन्दिरा गान्धीलाई चुनावमा हराएका थिए।
आपसी मतभेद यति बढ्यो कि चौधरी चरण सिंह र राज नारायणलाई मन्त्री पदबाट राजीनामा दिन बाध्य पारियो। तर पनि जनसंघको समर्थनमा सरकार टिक्यो र दुईजना मन्त्रीलाई फेरि पदमा पुर्नबहाली गरियो। जनसंघको दोहोरो सदस्यको निहुँमा पार्टी छोड्न बाध्य गरियो र चौधरी चरण सिंह आफू प्रधानमन्त्री बन्न मुरारजी भाइ देसाई यानकि आफ्नै पार्टीको सरकार ढाल्न सक्रिय भए। चौधरी चरण सिंह समर्थक सबैले मन्त्रीले राजीनामा दिएर प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाए।
काँग्रेसले योजनाबद्ध रूपमा अविश्वासको प्रस्ताव ल्यायो र जनता सरकारको प्रधानमन्त्रीले यसमा छलफल हुनुभन्दा अगाडि राजीनामा दिए। जनता पार्टीको अन्त्य यहिबाट भयो, जसबाट अरू विभिन्न राजनीतिक पार्टीको जन्म भयो।
अन्त्यमा, वाम गठबन्धन बन्नु आफैँमा सकारात्मक पाटो हो जसले नेपाली राजनीतिमा नयाँ आयाम ल्याएको छ। यसले एउटा नयाँ सम्भावनासँगै चुनौती पनि लिएर आएको छ। गठबन्धन राजनीतिको चरण पार नगरि एकताको चरणमा जाँदा केही अफ्ठ्यारो होला। त्यसैले यो वाम गठबन्धनले जनता पार्टीको टुटफुट र विवादको पाठबाट धेरै सिक्नुपर्छ। भोलिको दिनमा पदको लागि भन्दा पनि देश र जनताको हितमा काम गर्न अग्रसर रह्यो भन्ने वाम गठबन्धनको सार्थकता रहने छ।