बस्टन नजिकैको 'ब्लु हिल' उक्लँदैछौं। पात पहेँलिएर वन नै केसरी पोखिएजस्तो देखिँदा डाँडाको नाम कस्तो अमिल्दो!
'यता आकाश नीलो र जंगल पहेँलो भएपछि नेपालमा दसैं आउँछ,' प्रकृतिको सुन्दरतामा दसैंको सम्झना मिसिएपछि दिनेश कार्कीको पाइला टक्क अडियो। अमेरिकाको 'न्यू इङ्ल्यान्ड' भनिने उत्तरपूर्वी राज्यहरूमा 'फल कलर' उधुमै राम्रो देखिन्छ।
'मेन, न्यू ह्याम्पसर र भर्मन्टतिर त अझ कस्तो भइसक्यो होला है!' म म्यासाच्युसेट्सको एउटा डाँडा चढेर अन्यत्रको लेखाजोखा गर्छु, दिनेश अझ दसैंकै यादमा छ।
दसैंमा नेपाल नगएकै दशक भएछ उसको।
'के गर्ने यार यो समय बच्चाहरूको छुट्टी मिलाउनै गाह्रो पर्छ,' यति भनेर उसैले प्रश्न गर्यो, 'बरू तिमी त पोहोर दसैंमा उतै थियौ। दसैं उस्तै छ?'
'कस्तो भएछ भन्नु खै!'
कहिलेकाहीँ त त्यो स्मृति भनौं या उल्लास बिहानको पारिलो घाममा देखिने छायाँजस्ता लाग्छन्, वास्तविकभन्दा निकै लामो। बिताएकोभन्दा कयौं सुन्दर। जति टाढाबाट हेर्यो उति विशाल! अझै दुःखको कुरा के भने ती स्मृतिहरू छन् पनि छायाँजस्तै। न अड्याउन सकिन्छ, न समाउन। तैपनि मन चाहन्छ त्यसकै तलास गरिरहुँ!
हाम्रा पाइला ब्लु हिलतिर उक्लिँदै गयो। म शारदीय सम्झनाका तरेलीमा चहार्न थालेँ।
'दसैं त गाईको थुनबाट निस्किएर गौवामा ठोक्किएको दूधको सिर्काजस्तो भएछ,' मैले अलिकति भूमिका बाँधे, 'जसको ध्वनि त सम्झनामा छ तर गाई र गौवा गाउँघरबाटै विलुप्त।'
'कुरो त इन्ट्रेस्टिङ आयो, अलि खुलस्त पारौं न!'
यस्तो 'फर्माइस' आएपछि म मख्ख पर्ने भइहालेँ।
'इन्ट्रेस्टिङ' होला नहोला तर यी गुगलमा भेटिने खालका चाहिँ होइनन् है,' मैले साथीहरूलाई विश्वास दिलाएँ।
उनीहरू सुन्न तयार भए, मलाई बोल्न पाएपछि के चाहियो!
म जन्मभूमि राइसिङ बजारको चौतारोमा बसेर पूर्वतिर हेरिरहेको छु।
सामरी भञ्ज्याङमा डुब्न लागेको घामले नुवाकोटको साततले दरबार चम्किलो बनाएको छ। अघि नै ओझेल परेको राइसिङ र घामले टलक्क टल्किएको नुवाकोट दरबार देखेपछि पुरानो अर्ती याद आयो – राइसिङमा ओझेल पर्यो भनेर बास नखोज्नू, नुवाकोटमा घाम छ भनेर अघि नबढ्नू!
हुन पनि नुवाकोटमा घाम छउन्जेल राइसिङलाई साँझ परेको पत्तो हुँदैनथ्यो। त्यहाँ घाम देखिन छाड्नेबित्तिकै चुक पोखिएजस्तो अन्धकार। ठ्याक्कै यतिखेरै त हो नि गन्तव्यमा पुग्न हतार बटुवाहरूको कल्याङमल्याङले दसैं दैलामै आइपुगेको जनाउ दिने!
अर्ती/उपदेशको पनि म्याद गुज्रिँदो रहेछ। दसैंका यात्रुले खचाखच भरिएको बस सामरीतिर हुइँकियो। मान्छेजति बसमा अटेसमटेस भएपछि सडकमा को देखिनु! अनि त नुवाकोटमा घाम होस् कि राइसिङमा ओझेल केको चासो!
यसरी गाडी चल्नुअघि यो चौतारामा धेरैथोक सँगसँगै भइरहेको हुन्थ्यो। भुत्लाभरि रङ दलिएका च्यांग्रा-भेँडा, कुन कसको र कसको कत्रो हिसाबकिताब। धान काटेर क्यौरिनीतिर उक्लँदै गरेकाहरूको विश्राम। ट्यांका बिसाएर चुरोट बाँड्ने लाहुरेहरूका किस्सा कहानी।
अलि माथि चउरमा मैदानको क्षमताभन्दा धेरै खेलाडी हुन्थे। पश्चिम पोखरातिर 'ट्रेकिङ' हिँडेका पर्यटक पनि बास बस्न यतै आइपुग्थे। तिनका लागि 'टेन्ट' गाड्नेको ट्वाक ट्वाक। भारी बिसाएर फुक्का भएका खच्चरहरूको घाँटीसँगै हल्लिने घन्टीको ट्याङ ट्याङ। ध्वनिको 'कोलाज' सुनिन्थ्यो त्यहाँ।
अलिकति सामरी खोलाको सुसाई, त्यसमा थपिएको झ्याउँकीरी र सारौंको आवाज, आमाको दूध खान नपाएर व्यग्र बाच्छा/बाच्छीको ड्वाँ ड्वाँ। भट्टीमा हल्का लगाएर उकालो चढ्नेका गीत एउटै वायुमण्डलमा फिँजिन्थ्यो। तर गाली खान्थ्यौं हामी।
'कति कराएका भुराहरू, सारौं बास बस्न लाग्याजस्तो,' रेडियोमा 'घटना र विचार'को भोल्युम बढाउँदै बूढापाकाहरु थर्काउँथे र ध्वनिमा अझ प्रदूषण थप्थे।
म त्यही हल्ला मच्चाउने सारौंमध्य एक हुँ। राइसिङ बजार त्यही हो। म उभिएको चौतारो उही हो। बटुवाले भारी बिसाउने चौतारो बस बिसौनी भएछ। बाटोमा बटुवा होइन, बस र बाइकको कुदाकुद हुन थालेछन्।
चराले पनि छाडेको चौतारोमा बसेर म धेरै बेर टोलाएँ।
'जहाँको पनि चौताराको विशेषता चाहिँ उस्तै है?' दिनेशले सही थाप्यो, 'दसैंको चौतारोको रातमा पनि रौनक!'
त्यतिञ्जेल हामी डाँडाको टुप्पोमा रहेको 'ब्लुहिल अब्जर्भेटरी एन्ड साइन्स सेन्टर' पुगिसकेका थियौं। यो सेन्टरमा सन् १८८५ देखिका मौसमसम्बन्धी विवरण सुरक्षित रहेछ। हामी जन्मनुभन्दा झन्डै सय वर्षअघिको 'डेटा' सुरक्षित रहेको त्यो सेन्टरसामु हाम्रो दसैं स्मृति खासै लामो होइन। तथापि गाउँकै चौतारामा सुस्ताएसरी शुद्ध हावा खाँदै छोटो तर गहिरो भावमै हामी डुब्यौं। हावा खान पनि, हावा गफ चुट्न पनि चौतारो काइदाको ठाउँ भन्नेमा साथीहरू कसैको विमति रहेन।
मेरो विमति के भने भैरूम मावि हात्तीगौंडाले किन ड्रेस फेर्यो!
एक्कासि यहाँ ड्रेसको कुरा किन आयो भन्नुहोला। आउँदैन त अनि! त्यो बेला नयाँ लुगा पाउन दसैं आउन पर्थ्यो। दसैंमा पनि प्रायः स्कुल ड्रेस हाल्दिएर नयाँ लुगा र स्कुल ड्रेसको गर्जो एकैचोटि टारिदिने काइदा हुन्थ्यो बाआमाको। हात्तीगौंडाको ड्रेस कस्तो भने रातो सर्ट र पहेँलो पाइन्ट। स्कुलमा बाहेक स्कुल ड्रेस लगाएर हिँड्नै अप्ठेरो। लगाइहाले पनि 'ऊ जोगी आयो भिक्षा ल्याइदिऊँ?' भनेर खिसी गर्नेको दुःख हुँदैनथ्यो।
ड्रेसका रूपमा त्यस्तो रंग कसले रोज्यो भन्ने थाहा नपाई कयौं जोर फटाइयो। अहिले किन र कसले ड्रेस फेर्यो भन्ने पनि वरिपरिका कसैले बताउन सकेनन्। यदि हात्तीगौंडाका विद्यार्थी हाम्रै पालाको ड्रेसमा हुन्थे भने सेतो सर्ट र नीलो पाइन्ट लगाएका त्रिशूली स्कुलका विद्यार्थीसँग मिसिँदाको 'कन्ट्रास्ट' चौतारोबाट क्या दामी देखिन्थ्यो!
तर होइन रहेछ। दसैं सकिएर स्कुल सुरू हुँदा पनि बाटोमा विद्यार्थी हिँडेको खासै देखिनँ। विद्यार्थीको हुल कहाँ पहिलेजस्तो हुनु! हात्तीछाप चप्पल पड्काएर धुलो उडाउँदै हिँडेको पदचिह्न पिचले पुरेछ। सरकारी स्कुलमा विद्यार्थी स्वाट्टै घटेछन्, निजीमा पढ्नेलाई बोक्न बस आउन थालेछ। टोलटोलको खबर थाहा हुने चौतारोमा चरो पनि थिएन। तासका खाल, लंगुर बुर्जाको खन्द्रङ खन्द्रङ, अहँ केही देखिनँ। केही सुनिएन।
म जुवाप्रेमी त होइन तर ती थलो थिए साथीसंगी भेट्ने। खबर साट्ने, पुराना दिन सम्झने। त्यो अवसर नपाउँदा रमाइलो लागेन।
'भूकम्पपछि धेरै जना बसाइँ सरे। हरेकजसो घरका सदस्य विदेशमा छन्। बच्चादेखि बूढासम्मलाई मोबाइलको लत छ। अब मोबाइल चलाउन बाहिर किन निस्कनु?' विगतको त्यो 'शान' किन सुनसान भन्ने अड्कल लगायो भतिजो वासुदेवले।
भूकम्पले गाउँको 'लेआउट' मात्र होइन, 'कन्टेन्ट' नै फेरिदिएछ।
ध्वनि र दृश्य मात्र बेग्लै होइन, आफ्नो छुट्टै सुगन्ध बोकेर आउने ऋतु हो शरद। भोगटे, सुन्तला र निबुवा बोकेर हिँड्नेहरू यही चौतारोमा डोको बिसाउँथे। किसानलाई के छ भित्र सोध्नै पर्दैनथ्यो। त्यसको बास्ना डोको छोपेको कपडाले के को छेक्नु! अचेल त्यो सुगन्ध कुन बाटो भएर बहला?
'अचेल यताबाट जाँदैन, चाहिएको कुरा उताबाट आउँछ,' बाले त्रिशूली बजारतिर इसारा गर्नुभयो। त्यतिखेरै भाइ पुरुषोत्तम बजार जान तयार भइसकेछ। म उसकै बाइक पछाडि बसेँ।
उसले शुक्रमानको पसलमा सबै सामान पाइने भएकोले त्यतै जाने बताएको थियो। मेरो दिमागमा शुक्रमानको त्यही पुरानो पसल बसेको थियो। तर के को हुनु! शुक्रमानको पसल त दुरूस्तै यताका 'इन्डियन ग्रोसरी' जस्तो भइसकेछ। सामानका प्याकेट त 'पटेल ब्रदर्स' (यता निकै चलेका इन्डियन ग्रोसरी स्टोरको नाम) कै जस्तो। अझ उदेकलाग्दो कुरा त कोदोको पीठोसमेत 'मिलेट फ्लोर' कै 'स्टाइल' मा चाङ लागाइएको छ।
'भनेपछि 'तँलाई कोदे!' भनेर गाली गर्ने र गाली खानेहरू नै कोदो खाने भएछन् कि के हो?' पुरूषोत्तमले 'ब्ल्याक लेबल' तिर देखाउँदै उत्तर दियो, 'झगडा त त्यो पिएर गर्लान्, कोदो चाहिँ अचेल धनीमानीले खान्छन्।'
गाउँ त कायापटल भएछ। एकपल्ट तिहारमा दिदी लिन जाँदा आँगनभरि कोदोको बिस्कुन थियो। माइली दिदी इन्दिरा आँगनमा कोदो असरल्ल छाडेर माइत हिँडिहाल्न सकिनन्। दिदीलाई छिटो लैजान पुरूषोत्तम र मैले कोदो कुट्न सघाएका थियौं। शुक्रमानको पसलमा कोदोको सम्मान बढेको देख्दा हामीलाई त्यही कोदो चुटाइको सम्झना गरायो।
पसलले कोदोको पीठो मात्र बेच्न थालेनछ। क्रेडिट कार्डले भुक्तानी गर्न मिल्ने व्यवस्थासमेत मिलाएछ।
'अब तपाईंले पैसा पठाउने झन्झट गर्नै पर्दैन, एउटा क्रेडिट कार्ड छोडेर गए हुन्छ,' उसले ठट्टा गरे पनि कोदो र क्रेडिट कार्डले गाउँबारे धेरै बतायो।
दसैंभरि झमझम पानी परिरह्यो। पारि वनको रङ झनै गाढा देखियो। अलिअलि भुइँकुहिरो, त्यसलाई छिचोलेर आफ्नो शिर देखाइरहेको सिस्नेरी डाँडा। शरदमा पनि वर्षाको सौन्दर्यलाई 'बोनस' मानेर म मुग्ध भएँ र हेरिरहेँ।
पानी परेको रात जस्ताबाट आउने ध्वनि संगीतको झंकारझै लाग्थ्यो मलाई। त्यो सुन्दै निदाउनु शास्त्रीय संगीत सुन्नुझैं आनन्द। निद्रा यति गहिरो, एकैचोटि पँधेरामा भाउजूहरूले गाग्री थापेपछि आउने आवाजले खुल्थ्यो। एकपछि अर्को गाग्री थापिन्थे, भरिन्थ्यो। फेरि गाईभैंसी कराउन थाल्थे। आमाले दूध दुहेको, गौवा भरिएको र कुँडेमा उमालिसकेको हिसाब नाक र कानको भरमा लगाए पनि मेरा आँखा खुल्दैनथे।
'अल्छी नगर अब। उठेर चण्डी पाठ गर,' आमाले यसो नभनुन्जेल म सिरक हटाउँदैनथेँ। म अक्षर चिन्ने तर संस्कृत शब्द राम्ररी खुट्याउन नसक्ने। आमालाई दुर्गा कवच र चण्डी पूरै मुखाग्र तर अक्षर चिन्दिनँ भन्ठान्ने। (पछि आमा पढ्न सक्ने हुनुभयो। तँ पत्रकार भएपछि घरमा पत्रिका आउन थाल्यो। छोराले के लेखेछ भनेर थाहा पाउन पढ्ने बानी बसालेँ भन्नुहुन्छ।)
चण्डी पढ्दा म जहाँ अड्किन्थेँ, त्यहीँ आमाले फुकाइदिन सक्नुहुन्थ्यो। घरधन्दा गर्दै मलाई सिकाइदिन समेत भ्याउने आमालाई सोध्थेँ, 'सबै कसरी आयो त तपाईंलाई?'
'माइतमा भाइलाई पढाउन पण्डित आउँथेँ। पढ्न त मलाई पनि मन थियो तर फुर्सद मिलेन। पण्डितले उनीहरूलाई पाठ घोकाउँदा मलाई पनि कण्ठ भयो,' यो त्यो जमानाको कुरा हो जतिखेर केटी मान्छेले गीता पढे बहुलाउँछन् भन्थे रे।
कस्तो अचम्म, देवीको पूजा गर्ने तर छोरीलाई पढ्न नदिने भन्न हाम्रो पुस्ताले त बल्ल सक्दैछ, आमाहरूलाई के भन्नु!
त्यो बिहान मलाई आमाले चण्डी पाठ गर भन्नुभएन। आफैले पूजाआजा गरेर चिया ल्याइदिनुभयो। 'जहाजले हल्लाएको होला अझै सुत' भनेर निस्कनुभयो। मैले त्यही किशोरकालीन स्मृतिको अपेक्षा गरिनँ। किनभने म पहिलेझैं जस्ताले छाएको बार्दलीमा होइन, ढलान गरेको नयाँ घरमा सुतिरहेको थिएँ। पहिलेको पँधेरामा अर्को घर ठडिएको थियो। भान्छाकै धारामा पानी आउने व्यवस्था भएपछि गाग्रीको आवाज कहाँबाट आउनु!
पूजाकोठामा हलक्क बढेका जौका आँकुराजस्ता सुन्दर मात्र छैनन् दसैंस्मृति। जमरा चुँडेर ठुटा मात्र बाँकी रहेको रित्तो वेदीजस्तो विरक्तलाग्दा पनि छन्।
'कति टाढा पुगिस्, यत्रा वर्षसम्म घर आइनस्। अब अलि छिटो छिटो आउनू है' भन्ने ममी (आमाकी माइली बहिनी) परलोक हुनुभइसक्यो। 'आयु द्रोणसुते श्रीयो दशरथे' भन्दै सबै पौराणिक महापुरूषको शक्ति तैंमा निहित होस् भनेर कामना गर्ने ठूलोबा-ठूलीआमा पनि हुनुहुन्न। चाडबाडको रौनक घट्दै जाने कारण यस्तै त होलान्।
हामी कति धेरै कुराको हिसाब गर्छौं। मोबाइलको क्याल्कुलेटरमा जोड, घटाउ, गुणन, भाग सबै गर्छौं तर ती हराएका ध्वनि, हराएका दृश्य, हराएका स्वाद र हराएका सुगन्धको हिसाब केले गर्ने? राहत कोसँग माग्ने? कि 'परिवर्तनबाहेक सबै कुरा परिवर्तशील छ' भन्ने कहावत सम्झेर चित्त बुझाउने?
बार्दलीबाट देखिने जूनको किरण र जस्तामा ठोकिने पानीको ध्वनिलाई स्मृतिमा सीमित पार्दै म काठमाडौं छिरेँ। आफ्ना विगतको अर्को अध्यायमा विचरण गर्न। तर काठमाडौंका स्मृतिहरूमा म उति अल्मलिइनँ, बरू फेरि नुवाकोटतिरै लागेँ। भाइ नारायण दलबलसहित जापानबाट ल्याएको 'सोलमारी' र भोगटे बोकेर सामरी खोलातिर जाँदै रहेछ। 'आउनुस् खोलामा खाँदै, खेल्दै रैला गरौं' भनेर बोलायो।
गर्मीले धापिएको बेला यही खोला त थियो शितलताको त्राण दिने। त्यहाँको पानी मात्र होइन, ढुंगा र बालुवाका कणले पनि आफूलाई चिन्छजस्तो लाग्छ। वर्षा हटेर भर्खरै सङ्लिएको सामरी नीलो आकाशको प्रतिविम्बले अझै सुन्दर देखिएको थियो। म पानीमा उसैगरी हेलिएँ। करिब एक सय मिटर पानीको बहावसँगै बग्दा म उही समयमा फर्किएँ। उसैगरी तैरिएँ। ढुंगामा उसैगरी ठोक्किएँ। र, उस्तैगरी तातो ढुंगामा बसेर आफूलाई सेकाएँ। उसैगरी हेरेँ ओझेल पर्न लागेको घाम। उस्तै लागे नीलो आकाश, उस्तै लाग्यो पानीको शुद्धता।
हो यही एक चिज भने पूरापूर पुरानै पाएँ। त्यो अनुभूतिले मात्रै पुराना दिनसँग आफू 'कनेक्ट' भएको महसुस भयो।
'के सामरी हरेक क्षण नयाँ बग्ने भएकाले उस्तै ताजा लागेको हो?' तातो ढुंगामा बसेर बग्दै गरेको चिसो पानी हेर्दै आफैंलाई प्रश्न गरेँ।
म पनि सामरीजस्तै बगेको न हुँ। अलि तल पुगेपछि यो त्रिशूलीमा मिसिन्छ। अनि त्यो पानीलाई कसैले सामरी भन्दैनन्। मेरो पनि त राइसिङको जस्तो परिचय काठमाडौंमा थिएन। काठमाडौंले जसरी चिन्यो, बस्टनले त्यसरी मान्दैन। अनि मलाई पीर पर्छ। परिचय हराएको।
सामरीलाई मतलब छैन त्रिशूली भनुन् कि नारायणी, उसलाई त बस बग्नु छ। सिधा होस् या नागबेली। पहराको कापबाट होस् या समथरमा। खुम्चिएर होस् या फैलिएर।
म सामरीजस्तो सन्तोकी छैन। मलाई बग्न त परेको छ, तर पहिचान मेटिएको स्वीकार्न मन लाग्दैन। जिन्दगीको विम्बलाई बगेको पानीसँग तुलना गर्न त आउँछ तर 'आउँदैन फर्केर' को सत्यले अत्याउँछ। हो भन्ने जाने पनि मान्न मन लाग्दैन। र, म मुहान खोज्दै आउँछु। आफू बग्दा आफ्नो मुहानमा जे जस्ता थिए ती त्यस्तै रहिरहून् 'पज' मोडमा भन्ठान्छु।
तर सामरीको पानी मुहानतिर कहिल्यै फर्कँदैन।
'गजब यार, गुगलमा खोज्दा नभेटिने कुरा भन्यौ,' साथीहरूले रूचिपूर्वक मेरो अनुभव सुने।
सुन्न त मेरै अनुभव सुनेका हुन्, उनीहरू पनि पुगे त आफ्नै गाउँघर। हराए आफ्नै स्मृतिमा। त्यो 'स्मृति' यता पनि हुर्काउन हामी लागिपरेका छौं। आँगनमा मखमली र सयपत्री रोपेका छौं। पूजा कोठामा जमरा राखेका छौं। यताको संस्कृति आफैले राम्ररी बुझेको छैन, आफ्नो संस्कृतिले सन्तानलाई रत्याउन पर्ने चुनौती पनि छ।
'हामी बसाइँ त सर्यौं, आफ्नो संस्कृतिको बीउ पनि छरौंला तर यो हुर्केला के? दसैं यता कसरी सार्ने!' एउटा संशय आफैसँग बोकर ब्लू हिलबाट ओर्लियौं।
***