हाल त्रिभुवन विश्वविद्यालयका तीनवटा संकाय र पाँचवटा अध्ययन संस्थानमा डिन नियुक्तिको प्रक्रिया अघि बढेको छ। यी संकाय वा अध्ययन संस्थानले नेपालको उच्च शिक्षाका आठवटा क्षेत्र (विज्ञानप्रविधि, चिकित्साविज्ञान, इन्जिनियरिङ, कृषि र पशुविज्ञान, वनविज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा) का झन्डै ८० प्रतिशत विद्यार्थीको भविष्य तय गर्छ।
विश्वविद्यालयको खस्किँदो साख उकास्न र तत् तत् संकाय वा अध्ययन संस्थानमा शैक्षिक गुणस्तर कायम गर्न नियुक्त डिनहरूले विश्वविद्यालयका पदाधिकारी (उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार) का सारथिका रूपमा काम गर्छन्। डिनहरू प्राज्ञिक कमान्डरको भूमिकामा हुन्छन्।
यसर्थ डिन नियुक्तिको प्रक्रियामा सरोकावाला सबै पक्षबाट गहिरो चासो छ।
त्रिभुवन विश्वविद्यालयको इतिहासमा पहिलोपटक निश्चित आधारहरू पूरा गरेका योग्यतम प्राध्यापकहरू मध्येबाट डिन नियुक्ति हुन सक्ने अपेक्षाका साथ 'सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१' जारी भएको छ। यो निकै महत्त्वपूर्ण कदम हो।
डिन नियुक्ति प्रक्रिया राजनीतिक भागबण्डा र टीकाप्रथामा नेताको चाकरी गरेकै भरमा डिन नियुक्ति हुने प्रचलनबाट एक कदम अघि बढेको छ। मापदण्डमा आधारित प्रक्रिया जारी गर्नु र योग्यता पुगेका प्राध्यापकले प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिई आफू छनौट हुने अवसर प्राप्त गर्नु विश्वविद्यालयको इतिहासमा निकै ठूलो फड्को मान्न सकिन्छ।
विश्वका उत्कृष्ट विश्वविद्यालयले यस प्रकारका पद रिक्त हुनु झन्डै ६ महिना वा एक वर्षअगावै सर्च कमिटीमार्फत विश्वविद्यालय भित्र वा बाहिरबाट सर्वोत्कृष्ट नेतृत्व चयन गर्ने गरेका छन्। थोरै भए पनि हाम्रो प्रक्रिया यस दिशामा अघि बढ्नु सकारात्मक 'डिपार्चर' हो।
यसरी डिपार्चरको प्रयास भए पनि घुमाइफिराइ राजनीतिक भागबण्डालाई नै प्रश्रय दिने गरी तीन ठूला दलले बाँडीचुडी नियुक्ति लिने र त्यसमा विनिमयको लेप लगाउने प्रपञ्च हुने हो कि भन्ने चिन्ता पनि छ।
यस लेखमा डिन नियुक्तिको पछिल्लो परिवेशको चिरफार गर्ने प्रयास गरिएको छ। आशा छ यो चिरफारले यस प्रक्रियामा संलग्न सबैलाई मद्दत पुग्ने छ र विनिमयमा थप सुधारको बाटो तय गर्नेछ।
विद्यमान नियमअनुसार डिन नियुक्तिका लागि कार्यकारी परिषदबाट एक संयोजक र दुई जना प्राध्यापक वा सहप्राध्यापक सदस्य रहेका छुट्टाछुट्टै समिति गठन हुन्छन्। समितिले निर्धारित प्रक्रिया पूरा गरी सबभन्दा बढी अंक प्राप्त गर्ने तीनजनाको नाम कार्यकारी परिषदमा पेस गर्छ। 'सिफारिसमा विचार भई' परिषदले एक जनालाई डिन नियुक्त गर्छ।
छनौट समितिले डिन नियुक्तिका लागि निर्धारित प्रक्रिया र मापदण्डको खरो परीक्षण गर्न सक्नुपर्छ। समितिका रहने प्राध्यापकहरू यसनिमित्त अनुभवी र सक्षम हुनुपर्छ।
समिति यस किसिमले सक्षम हुने व्यवस्था भएन। विनिमयमा संयोजक तथा सदस्यको प्राज्ञिक र प्रशासनिक अनुभव, अनुसन्धान र प्रकाशन तथा ज्ञानविज्ञानमा राष्ट्रिय–अन्तर्राष्ट्रिय योगदान जस्ता आधार तोकिएन।
यस प्रकारको आधार नतोकिएकाले कार्यकारी परिषदको निगाहमा छनोट समितिका संयोजक र सदस्य नियुक्त हुन सक्ने अवस्था बन्यो।
यस्तो खुकुलो प्रावधानमा कार्यकारी परिषदले तीन ठूला दलनजिकका एक एक जना प्राध्यापक लिएर छनोट समितिहरू बनायो। डिन नियुक्तिका लागि उम्मेदवारको योग्यता जाँच्न नसक्ने कतिपय व्यक्तिहरू छनौट समितिमा पुगेका छन्। यहीँनेर 'पहिलो गाँसमै ढुंगा' लागेको छ।
छनौट समितिमा नियुक्त सदस्यले विनियम बमोजिमको योग्यता जाँच्न आफ्नो योग्यता, योगदान र प्रकाशन पुग्दैन भनेर जिम्मेवारी अस्वीकार गर्नुपर्ने थियो। सम्बन्धित दलप्रतिको बफादारीले होला, उहाँहरूले त्यसो गर्नुभएन।
यी सदस्यहरूले अन्तर्वार्ता र कार्ययोजना बापतको मूल्यांकनमा आफ्नो दल निकटका उम्मेदवारलाई उच्च अंक र अर्का उम्मेदवारलाई न्यूनतम अंक दिएर दलीय झुकाव अनुसार सिफारिस गर्ने ठाउँ पाएका छन्। डिनका उम्मेदवारलाई विश्वका उत्कृष्ट जर्नल स्तर (क्यु वान) मा प्रकाशित अनुसन्धानात्मक लेखबापत अंक दिने व्यवस्था त गरियो तर त्यसको परीक्षण गरेर अंक दिने समितिका कतिपय सदस्यले 'क्यु फोर' स्तरको जर्नलमा समेत लेख प्रकाशित गरेको पाइँदैन।
कार्यकारी परिषदले डिन नियुक्तिका लागि निर्धारित मापदण्ड अनुसार उम्मेदवारको परीक्षण गर्न सक्ने सदस्य छान्न किन नसकेको हो? राजनीतिक दल वा तिनका संघसंगठनको दबाब परेको हो?
प्रस्ट हुन सकेको छैन।
फलस्वरूप अहिले त्रिभुवन विश्वविद्यालमा प्रशस्त संशय र प्रश्न व्याप्त छन्। यस्तो अयोग्य समितिले सबल, योग्यतम र प्रतिस्पर्धी डिन छान्न सक्ला?
अब अर्को विषयमा प्रवेश गरौं।
डिन नियुक्तिका लागि निर्धारित केही प्रावधानले योग्यतम र प्रतिस्पर्धी व्यक्ति छनौट गर्ने होइन, बरू यस्तो छनोट निरूत्साहित गर्छ, छनोटमा बाधा नै सिर्जना नै गर्छ। छनौटका लागि निर्धारित सय पूर्णांकमध्ये विश्वविद्यालयमा कार्यरत अवधिका लागि २० अंक छुट्ट्याइएको छ। सहप्राध्यापक हुँदाको प्रतिवर्ष एक अंक र प्राध्यापक हुँदाको प्रतिवर्ष दुई अंक प्राप्त हुने प्रावधान छ।
अब सवाल उठ्छ – वर्ष बिताएको वा धेरैवटा भोटो फटाएकै आधारमा सर्वोत्कृष्ट प्राज्ञिक नेतृत्व प्राप्त हुन सक्छ?
सहप्राध्यापक वा प्राध्यापक हुँदाका ती वर्षमा के कति अनुसन्धान वा प्रकाशन गरिए, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ज्ञानमा के कस्तो योगदान पुर्याइयो भन्ने पो परीक्षण हुनु पर्थ्यो।
यसरी पो सर्वोत्कृष्ट नेतृत्व प्राप्त हुन्थ्यो।
विश्वका उत्कृष्ट विश्वविद्यालयमा डिन नियुक्त गर्दा विश्वविद्यालयमा बिताएका वर्षको महत्त्व हुँदैन। धेरै विश्वविद्यालयमा अनुसन्धान र ज्ञानको योगदान, प्रभाव र क्षमताका आधारमा युवा प्राध्यापकले नै नेतृत्व पाउने गरेका छन्।
हाम्रा विश्वविद्यालयमा प्राध्यापकका वैचारिक संघसंगठन नै उत्कृष्टताका अवरोधक हुन् भन्ने मानिएको छ। ती संगठनहरूले वर्ष गनेरै प्राध्यापक हुन पाउनुपर्छ भनेर वकालत गर्ने गरेका छन्।
ज्ञातव्य छ, त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक र प्राध्यापक पदमा बढुवा हुन वार्षिक अनुभव बापत ४० अंक छुट्ट्याइएको छ, अनुसन्धान र प्रकाशनमा जम्मा २५ अंक। यो विभाजन ठीक विपरीत हुनुपर्थ्यो। अनि पो योग्यतम उम्मेदवार बढुवा हुन पाउँथे।
यसरी अंक विभाजनको व्यवस्था गर्न हालका पदाधिकारीलाई पनि प्राध्यापकका वैचारिक संघसंगठनले अवरोध गर्ने निश्चित छ। हालको प्रावधानले त्रिभुवन विश्वविद्यालयमा सक्षम र योग्य नेतृत्व चयन हुने सम्भावना स्वतः न्यूनीकरण गर्छ।
डिन पूर्णतः प्राज्ञिक पद हो। यस पदका लागि ज्ञान, विज्ञान र प्रकाशनको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान गरेका; ज्ञान विस्तारका लागि साझेदारी परियोजनाको नेतृत्व गरेका; आफ्नो अनुसन्धान र ज्ञानमार्फत देशमा योगदान गरेका तथा अन्तर्राष्ट्रिय भाषा र सूचना प्रविधिमा अब्बल योग्यता भएका व्यक्ति मात्र योग्य मानिन्छन्।
विनियम–२०८१ मा राजनीतिक भागबन्डाको फाइदा लिएर पद लिन सक्षम नितान्त राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई नै अवसर दिने प्रपञ्च मिलाइएको छ। यसअघि पाएका पदको अनुभव बापत छुट्ट्याइएको १० अंक यस्तै प्रपञ्चका लागि हो। यो अंक निर्देशक, डाइरेक्टर, सहायक डिन, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख जस्ता पदको अनुभव बापत दिने व्यवस्था गरिएको छ।
विगतमा तीन पदहरूमा योग्यतम व्यक्तिले अवसर पाएनन्, धरैजसो चाकरीबाजले नै पाए। डिन पदमा प्रतिस्पर्धा गरेका कतिपय त्यस्तै उम्मेदवारले अनुभवको अंक पाउनेछन्। फलस्वरूप चाकरीमा नकुदेका तर अनुसन्धान र ज्ञानमा प्रचुर योगदान गरेका प्रतिस्पर्धी प्राध्यापकहरू 'रिङ आउट' हुने निश्चित छ। ज्ञान, विज्ञान र प्रकाशनको क्षेत्रमा पुर्याएको योगदानबापत २० अंक निर्धारण गरेर योग्यता निर्धारणको थोरै आधार त तय गरियो तर सय पूर्णांकमा यो भार निर्णायक हुँदैन।
यो भार निर्धारण गर्दा अन्तर्राष्ट्रिय मान्यता र स्तरप्राप्त जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखलाई महत्त्व दिइएको छैन। सजिलै प्रकाशन गर्न सकिने कम स्तरका जर्नलसँगै मूल्यांकन हुने गरी एकमुस्ट शीर्षकमा राखिएको छ। विश्वस्तरीय जर्नलमा लेख प्रकाशन गरेका र सीमित रिभ्यु प्रक्रियाबाटै प्रकाशित नेपालका जर्नलमा मात्र लेख भएका दुवै किसिमका उम्मेदवारले २० अंक प्राप्त गर्ने स्थिति सिर्जना भएको छ।
विद्यावारिधि सुपरिवेक्षण र सानातिना अनुसन्धानका अनुभव प्राप्त हुने अंक समेत जोडिन सक्ने भएकाले जसले पनि २० अंक प्राप्त गर्न सक्ने अवस्था भएको छ। डिन नियुक्तिमा स्वतः हासिल हुने वार्षिक अनुभवको २० अंक हटाएर अन्तर्राष्ट्रिय मान्यता र स्तर प्राप्त जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखका लागि अलग्गै अंक दिने व्यवस्था हुनुपर्ने थियो।
विगतमा भएका तजबिजी नियुक्तिका अनुभवलाई होइन; शैक्षिक गुणस्तर कायम गर्ने दूरदृष्टि, उद्देश्य र कार्ययोजनामा उल्लेख्य भार निर्धारण गर्नुपर्थ्यो। विद्यार्थी, शिक्षक र सरोकारवालाहरूबीच सार्वजनिक सुनुवाइ र सम्परीक्षण सहितको सहभागितामूलक र पारदर्शी विधि अवलम्बन गर्न सकिन्थ्यो।
छनौट समितिहरूले आफ्नो कार्यविधि आफै निर्धारण गरी कार्ययोजना र अन्तर्वार्ताका लागि छुट्ट्याइएको २५ अंक दिने पद्धति पारदर्शी र विश्वसनीय बनाउन सक्छन्।
अझै पनि थोरै आशा गरौं – छनौट समितिहरूले राजनीतिक आग्रह र पूर्वाग्रहबाट अलग भएर आफ्नो विवेक प्रयोग गर्न गर्नेछन्। योग्यतम प्रतिस्पर्धी सिफारिस गर्नेछन्।
हाल सुरू भएको प्रक्रिया हिजोको सोझो भागबण्डा र दलीय छनौटको निराशाजनक अवस्थाभन्दा एक कदम प्रगतिशील छ। आगामी दिनमा नेपालबाहिरका विश्वविद्यालयबाट समेत हाम्रा विश्वविद्यालयको नेतृत्वमा प्रतिस्पर्धा गर्न सक्ने फराकिलो दायरा र मापदण्ड निर्धारण गरौं। विश्वस्तरीय जनशक्ति छनौट गर्न उमेरले होइन; ज्ञान, विज्ञान, अनुभव र योगदानका आधारमा 'मेरिटोक्रेसी' को विश्वव्यापी आधारमा हालको नीति र प्रक्रियामा व्यापक सुधार गरौं।
(डा. खनाल त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका प्राध्यापक हुन्।)