'तिमीले थातथलो छोड्न नहुने कान्छा, त्यो जग्गा बलियो थियो!'
'सुविधा खोजेर रोड नजिक आएको मेमे (बाजे)। खत्तम भयो। बाउबाजेले पुरानो थातथलो नछोड्नु भन्थे, सही भनेका रहेछन्। आकाश गर्जेर पानी परेपछि मुटु ढुकढुक हुन्छ।'
'ढुक्कसँग सुत्न नि पाएको छैन। ज्यान बच्यो भने घर त बनाउला कान्छा, हरेस नखा! मैले जीवनमा चारपटक घर बनाएँ।'
'मेमे, कुविकासले विनाश ल्यायो। मोटर बाटोले गर्दा भलबाढी सबै खोल्सामा आयो। खोल्सा बौलायो।'
'यो बाटो बनाउँदा पनि धेरै राजनीति चल्यो। मनपरी गरे। जथाभावी बाटो खने। अहिले समस्या देखियो। यतिमै के रोकिएला र? अझै के के पो भोग्नुपर्ने हो!'
उल्लिखित वार्ता हेलम्बु गाउँपालिका वडा नम्बर ४, गैराबारीस्थित स्थानीयद्वय चतुर तामाङ र दानबहादुर तामाङको हो।
गैराबारी टोलको दायाँपट्टि ढडेन खोल्सा छ। अहिले ढडेन खोल्सा क्षतविक्षत छ। खोल्साको दायाँबायाँ एक्कासि पहिरो गएको छ। आसपासको क्षेत्रमा व्यापक रूपले जमिन चिरा चिरा भएको छ। पहिरोको बिउ उब्जेको छ। यो अतिशय विषम मौसमी परिस्थितिबाट गैराबारी टोल त्रासमा छ।
आजभन्दा १५ वर्षपहिले उनीहरूको गाउँमा ग्रामीण मोटर बाटो खनिएको थियो। त्यस बेला सुझबुझसहित बाटो खनिएको थिएन। प्राविधिक नाप, जाँच र मापदण्ड पालना गरिएन। बाटोको कुनापट्टि अति आवश्यक नाला खनिएन। बाटो पुग्नु नै सफलताको शिखर भयो। बाटो नै विकास थियो उनीहरूका लागि। जे जसरी हुन्छ, मोडेर-तोडेर, मिचेर-थिचेर गाउँ गाउँमा बाटो लैजानु थियो। लगे।
बाटो बनाउँदा प्राकृतिक लयमा बगेका सोतो, कुलो, कोल्सा, खाल्सी भत्किए। तिनको मर्मत गर्ने सोच, विचार र काम बाटोलाई नै विकास ठानेका स्थानीयमा भएन। भल पानीलाई बग्नु छ। बग्नका लागि भलले नयाँ बाटो तय गर्न थाल्यो। त्यसपछि स्थानीयका दुःखका दिन सुरू भए।
२०७२ सालमा विनाशकारी भूकम्प गयो। सबैजसो घर भत्किए। जमिन चिरा चिरा पर्यो। चिरा कति सतहमा देखिए, कति देखिएनन्। जमिनमुनि समेत धेरै चिरा भएको अनुमान सजिलै गर्न सकिन्थ्यो।
चतुर तामाङका दुई भाइ भूकम्पपछि मूल घरबाट छुट्टिए। समय र स्वभावतः सहरीकरणको प्रभावका कारण हुनुपर्छ, मोटर बाटोरूपी नयाँ विकासे लहरले चतुरलाई पनि आकर्षित गर्यो। चतुर र उनका जेठा दाइले मोटर बाटोले छोएकै ढडेन खोल्सा छेउमा घर बनाए। अन्ततः दुवैले पुर्ख्यौली थातथलो छाडे।
गत साउन २८ गते अविरल वर्षा भयो। खोल्सा-खोल्सी बढ्दै गए। ससाना क्षति भइरहेको थियो। भदौ ६ गते भारी वर्षा भयो। अन्ततः भदौ ७ मा पहिरो गयो।
थोरै जमिन भएका चतुर तामाङ खेतीपाती गरेर दैनिक गुजारा चलाउँछन्। पूर्ण रूपमा तरकारी खेती गर्ने सोचका साथ उनले प्लास्टिक टनेलमा गोलभेँडा र अन्य खेती गर्दै थिए। तर तयार गरेको सुरूआती प्लास्टिक टनेल नै भेल बाढीले बगायो। खोल्सा छेउछाउको खेतबारीमा पनि क्षति पुर्यायो।
सुख सुविधा खोज्दै हिँडेका २७ वर्षीय चतुरको विपत्तिसँग भेट भएको छ। ऋण गरी बनाएको घरको आँगन र पिँढी चर्किएको छ। तावाको माछा भुंग्रोमा भन्ने उखानजस्तो भएको छ। आँखा सामुन्नेका परिदृश्यले आफ्नो थातथलो छोड्नु हुँदैन भन्ने बाउबाजेको भनाइ उनी सम्झिरहेका छन्। वर्षा हुन थालेपछि उनको मुटुको धड्कन जोडले बढ्ने गरेको छ।
सास भएसम्म आश हुन्छ। बाँच्ने अभीष्टका साथ दुई वर्षे दूधे बालक र श्रीमतीसहित उनी आफन्तको घरमा आश्रय लिइरहेका छन्।
गैराबारी टोलसँगै दलित टोल, गपती टोल, डाँडा टोल र बैदार टोलका धेरै जमिन चिरा चिरा भएका छन्। यी टोल पनि ढडेन खोल्साको आसपास छन्। सबै टोल तथा बस्तीका गरेर ३३ वटा घर पहिरोको उच्च जोखिममा छन्।
ढडेन खोल्सामा पहिरो आउनुको मुख्य कारण भेलबाढी हो। भेलबाढी आउनुको कारण भारी वर्षा हो।
मोटर बाटोमा नाली छैन। नाली नभएकाले वर्षाको भेल मोटर बाटो हुँदै खोल्सामा खस्छ। साँघुरो खोल्सा पटक पटक थुनिने र पुरिने काम भयो। अन्ततः पहिरो गयो। भूकम्पले चिरा चिरा बनाएको जमिनमा वर्षाको पानी छिर्दा जोखिम थप बढेको छ।
गत जेठमा ढडेन खोल्साको माथिल्लो क्षेत्रमा बोल्दे वर्षा मापन केन्द्र स्थापना गरिएको छ। पहिरोको उच्च जोखिम युक्त बस्तीहरूमा (बोल्दे, दलित तथा अन्य बस्तीहरू) वर्षाको अवस्था मापन गर्ने गरी स्थापना भएको केन्द्र हो। पहाडी क्षेत्रमा ३ घण्टामा ८० मिलिमिटर भन्दा बढी वर्षा भए पहिरोको उच्च जोखिम हुन्छ। जल तथा मौसम विभागका अनुसार भदौ ६ गते बोल्दे वर्षा मापन केन्द्रमा ३ घण्टामा ८९.६ मिलिमिटर वर्षा भएको थियो। त्यसपछि हेलम्बु-मेलम्ची क्षेत्रमा विभागले मोबाइल एसएमएस मार्फत पहिरोको चेतावनी पठाएको थियो।
ढडेन खोल्सामा हिउँदमा कमिला हिँड्छन्। चतुर तामाङ सानो छाँदा उनका बाउबाजेले यहाँ भूतप्रेत र वन झाँक्री हुन्छन् भनेर तर्साउँथे। अहिले उनलाई भेलबाढीले तर्सायो। खोल्साले खतराको घण्टी बजाउँदै छ। भूत र वन झाँक्रीबाट नतर्सिएका चतुर भेलबाढी र पहिरोबाट भने त्रसित छन्। तर्सिएका मात्रै छैनन्, उनको सातो गएको छ!
पाँच वर्ष पहिला मोटर बाटो आसपासका जमिन भासिएका थिए। उक्त जोखिमको सूचना लिएर दानबहादुर तामाङ वडा कार्यालय पुगेका थिए। नोक्सानी बेहोर्नुअगाडि तत्काल भलपानी तर्काउन र पहिरो रोकथामको उपायबारे निवेदन गरे। तर उनको कुराको सुनुवाइ भएन। जोखिम बढ्दै गयो। फलस्वरूप अहिलेको यो अवस्थाको सिर्जना भएको हो।
६५ वर्षीय दानबहादुरको पनि घर, आँगन र पिँढी चर्किएको छ। उनी त्रसित छन्।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष, भदौ मध्यसम्म देशभरि ६ सय ९३ वटा पहिरो गएका छन्। यिनमा १ सय ३२ जनाको मृत्यु, ३८ जना बेपत्ता, १ सय २० जना घाइते भए। ६ करोड ८० लाख बराबरको आर्थिक क्षति तथा एक सय २१ भौतिक संरचनामा क्षति भयो। चार सय १६ पशुचौपायामा क्षति पुगेको छ।
अनपेक्षित भारी वर्षा पनि जलवायु परिवर्तनसँग जोडिएको विषय हो। जलवायु परिवर्तनसँगै मौसमी प्रणाली जोडिएको हुन्छ। जलवायु परिवर्तनले गर्दा मौसमी चक्रमा व्यापक परिवर्तन भएको छ। जुन नेपालमा अनुभूति हुने गरी देखिन थालेका छन्। नेपालका हिमाली शृंखलाहरूमा भएका अस्वाभाविक परिवर्तन पछिल्ला उदाहरण हुन्।
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रको २८ औं सम्मेलन (कोप-२८) जलवायु वित्तका विषयमा केन्द्रित थियो। कोप-२८ ले जलवायु परिवर्तन र जलवायुजन्य विपदबाट प्रभावित गरिब तथा विकासोन्मुख राष्ट्रहरूलाई आर्थिक सहयोगको प्याकेज आउने भनेको छ। नेपालले सो बजेट प्याकेज ल्याउन सकेको छैन।
जलवायुजन्य विपदबाट क्षतविक्षत हेलम्बु-मेलम्ची लगायत अन्य ठाउँको दिगो पुनर्निर्माण र पुनर्स्थापनामा लगानी गर्नुपर्ने देखिन्छ। साथै जलवायुजन्य विपदहरूबाट जोखिममा रहेका बस्तीलाई जलवायु अनुकूलन योजना निर्माण र कार्यान्वयन गर्नुपर्छ। यसले समुदाय तथा स्थानीय सरकारको क्षमता अभिवृद्धि हुन्छ। क्षति र हानि-नोक्सानी घटाउँछ।
कोप-२९ आगामी नोभेम्बर ११ देखि २२ (कात्तिक २६ देखि मंसिर ७ गते) सम्म अजरबैजानको बाकुमा हुँदैछ। उक्त सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ का विषय छलफलको सबभन्दा प्राथमिक सूचीमा छ। यस कारण पनि यो सम्मेलनलाई 'फाइनान्स कोप' भनिएको हो। नेपालले उक्त सम्मेलनबाट के कसरी फाइदा लेला, त्यो हेर्न बाँकी नै छ।
विकासका नाममा अत्यधिक कार्बन उत्सर्जन गर्ने धनी राष्ट्रहरू र जथाभावी ग्रामीण मोटर बाटो खन्नेहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ढडेन खोल्सामा भेलबाढी र पहिरो निम्तिएकामा दोषी छन्। जलवायु परिवर्तनमा नेपालको भूमिका कम छर। ढडेन खोल्साको पहिरो ल्याउने काममा त झन् चतुर र दानबहादुर तामाङहरूको भूमिका नगण्य छ। तैपनि उनीहरूले यसको क्षति र असर भोगिरहेका छन्।
असमान शक्ति सम्बन्धहरूले गरिबी र संकटासन्नता जन्माउँछ। गरिबी र संकटासन्नताले विपद आकर्षित गर्छन्। गरिबको रेखामुनि र संकटको भूमरीमा बाँच्नेहरूको विपद तथा प्रकोपसँग लड्ने क्षमता कम हुन्छ। जहाँ प्रतिरक्षा कमजोर हुन्छ, त्यहाँ क्षति बढी हुन्छ।
मनसुनी वर्षाले जमिन सन्तृप्त अवस्थामा छ। अर्थात्, वर्षाको पानी जमिनले प्रशस्त मात्रामा सोसिसकेको छ। चिरा परेका ठाउँहरूमा वर्षातको पानी छिरेर भरिएका छन्। यस्तो अवस्थामा पहिरोको जोखिम उच्च रहन्छ। तसर्थ, ढडेन खोल्सा वरपर पहिरो जाने सम्भावना उच्च छ।
अल्पकालीन हिसाबले पशु तथा मानव जिउ ज्यानको सुरक्षा, पूर्वसूचना तथा अति आवश्यक कागजात, खाद्यान्न तथा लत्ता कपडासहित थप महत्त्वपूर्ण सामग्री बचाउनु प्रमुख काम हो। दीर्घकालीन हिसाबले यथाशीघ्र भौगर्भिक अध्ययन अनुसन्धान र पूर्वाधार सुधार, ढल तथा भेलबाढीको निकासी र नियमित निरीक्षण तथा भौगर्भिक अध्ययन प्रतिवेदनले सुझाए बमोजिम बस्ती स्थानान्तरण या रोकथाम तथा अल्पीकरणका उपायहरू कार्यान्वयन गरी बस्ती सुरक्षित गर्नुपर्ने देखिन्छ।
ग्रामीण सडक निर्माण गर्नुभन्दा पहिला दक्ष प्राविधिकद्वारा विस्तृत डिजाइन तयार गर्नुपर्ने देखिन्छ। सडक निर्माणका बेला या पछि हुन सक्ने विपत्ति आकलन गर्नुपर्छ। जमिनको प्रकार, भूगर्भ र भूगोलको अवस्था, वर्षा र हिमपातको तथ्यांक लगायतको सुक्ष्म विश्लेषण गर्नुपर्छ। वातावरणीय प्रभाव मूल्यांकन अध्ययनलाई अक्षरशः पालना गर्नुपर्छ। स्थानीय तहहरूले ग्रामीण सडक निर्माणका मापदण्ड तयार गरी कार्यान्वयन गर्नुपर्छ।
विशेषगरी ग्रामीण सडक निर्माण गर्दा नाला, पर्खाल (छेउकुना दुवैतिर), कल्भर्ट, बायो इञ्जिनियरिङ लगायत अनिवार्य निर्माण गर्नुपर्ने देखिन्छ। उल्लिखित काम नगर्ने हो भने मोटर बाटोले पहिरो निम्त्याउने निश्चित छ। नेपालमा ६० प्रतिशत पहिरोको कारण प्राविधिक अध्ययन तथा अनुसन्धानबिना राजनीतिक पहुँच र दबाबका आधारमा, नीतिगत भ्रष्टाचारको प्रलोभनका हिसाबमा तथा अर्धदक्ष जनशक्ति प्रयोग गरी जथाभावी निर्माण गरिएको सडक हुन् भन्ने प्रतिवेदनहरूको निष्कर्ष छ। कतै हाम्रा मोटर बाटोहरू पहिरोको मुख्य कारक तत्त्व बनिरहेका छैनन्?
विपद जोखिम न्यूनीकरणलाई विकासको प्रक्रियामा मूलप्रवाहीकरण गरिएन भने विकासको सट्टा विनाश निम्त्याउने निश्चित छ। क्षति र असर कम गर्न जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका काम यथाशीघ्र सञ्चालन गर्नुपर्छ।
(लेखक मिनेश गुरूङ विपद जोखिम न्यूनीकरण तथा पूर्वसूचना प्रणाली क्षेत्रमा कार्यरत छन्)
ट्विटरः @minesh_gurung
मिनेश गुरूङका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।