सेमिनारमा भाग लिन बुर्कुसी मार्दै सांघाई हिँडेको सिंहदरबारका निजामती जागिरे त्यति बेला थचारिएझैं भयो जब चपस्टिकसँग ठोक्कियो।
चीन जाँदाका कम्तीमा तीन झमेला रहेछन्।
पहिलो, चपस्टिकले खान रहर गर्नु, तर सजिलै नसक्नु।
दोस्रो, आठखुट्टे गँगटोदेखि आठै खुट्टा हुने अक्टोपस र घोंगीदेखि झिँगे माछासम्म थरीथरीका सि-फुड खाने बानी पार्नु।
तेस्रो, अधिकांशका लागि बिफ अर्थात् गाईगोरूको मासु मुखमा पर्न नदिइ फर्किनु।
राउन्ड टेबलमा सजिएका परिकार खाउँखाउँ लागिसक्छ तर चपस्टिक नामक सिन्काको सेटले खाने पो कसरी?
हतारमा खाने बानी परेका नेपालीलाई भरसक हातैले नभए पनि चम्चाले दिउँ भइसक्छ?
फेरि खयाल आउँछ, 'चीन आएर पनि चम्चैको भर त नपरौं भो।'
बल गरेर अटेसमटेस गर्दै तिनै सिन्काले केही टिप्यो फुत्तै चिप्लिन्छ। फेरि प्रयास गरेर अँठ्याएर मुखसम्म ल्याउन खोज्यो अर्कोतिर उछिट्टिन्छ।
सुरूमा अप्ठ्यारो भए पनि न घोच्ने, न काट्ने, चपस्टिकका सिन्कासँग जिद्दी गर्दा गर्दा सिकिने रहेछ। चपस्टिकलाई सन्तुलितसँग समात्यो। अररो हुने गरी अँठ्याउने भन्दा हलुको गरी चार औंलाले चलाउँदै जाँदा सुरूमा माछाझैं फुत्किने टमाटरका फुच्चे दानासमेत टिप्न सकियो। त्यत्ति गरे चपस्टिकमा पास। चपस्टिकको आविष्कार खासमा खानेभन्दा पनि पाकिरहेको खानेकुरा चलाउन भएको रहेछ। बिस्तारै खानेकुरा टिप्दै खान प्रयोग हुन थालेपछि उसकै 'मोनोपोली' बढेछ। चम्चा आउनै पाएन।
चीन बसुञ्जेल चम्चा नछोएपछि चपस्टिकवाला झन्झट पनि हटेर गयो। सुरूमा छुकछुक लाग्ने सि-फुड अर्थात् समुद्री जीवको हकमा अप्ठ्यारो नमानी 'जे आउँछ, मज्जाले पचाउँछ' वाला थ्योरी अपनाएपछि त्यो तनाव पनि रहेन।
बिफ छ कि छैन? पाइलैपिच्छे सोध्दै खाएपछि, त्यसमाथि फिल्ड जाँदा होस् या प्लेनबाट यात्रा गर्दा, बिफ भए नभएको पहिल्यै यकिन गर्दै 'डियर नेपाली फ्रेन्ड्स यु क्यान इट, नो बिफ' भन्दै ख्याल गर्ने डेजी र ब्लेयर भएपछि झमेला भएन।
अँ! क्रमानुसार कतिऔं समस्या हो भन्न नसके पनि चीनको अर्को समस्या भाषा। आफ्नो टुटेफुटे अंग्रेजी तिनले नबुझ्ने। निहाओ र सिसीबाहेक तिनको मन्डारिनको मिठास मात्रै थाहा हुने, अर्थबोध जिरो। आफ्नै नाम डेजीले बोलाउँदा पनि कसलाई बोलाएको भनेर पछाडि हेर्नुपर्ने।
'गो- गाका- गो कार ना' रे गोकर्णलाई। पहिलो नामै अप्ठ्यारो। थर उस्तै बाँउटो। बरू बीचको प्रसाद सजिलोजस्तो लागेछ क्यार। त्यही पनि सिकाउँदा सिकाउँदा टुक्रा पारेर 'पार साड' उच्चारण गर्छन्। भो अब! तिनले मेरो नाम भनेकै भए पनि हिन्दी कमेडी फिल्म 'धमाल' को 'मुत्तुस्वामी वेणुगोपाल अय्यर' वाला डायलगझैं हुन्थ्यो होला।
अन्तिममा तिनैले नयाँ नाम दिए- गोगो!
कहीँ नभएको नाम। हुन त चिनियाँका नाम कौनसा सजिला हुन्छन्। त्यही भएर एउटा अंग्रेजी नाम राख्दा रहेछन्। वाङ दीको डेजी। हु साओजीको ब्लेयर।
चिनियाँ डाइनिङ टेबलको डिजाइन र 'इटिक्वेट' फरक। गोलाकार टेबल। वरिपरि कुर्सी। कुर्सीपिच्छे एउटा एउटा प्लेट, कचौरा, गिलास, काँटा, चक्कु र चपस्टिक सेट। साझा टिस्यु पेपर वा व्यक्तिपिच्छे सानो बासनादार रूमाल। टेबलको बीचमा सिसाको गोलाकार किस्ती। त्यसमाथि खानेकुराका भाँडाहरू। घुमाउँदै, खानेकुरा टिप्दै जाने। अझ बीचमा सफ्ट ड्रिंक्स, जुस वा वाइनको बोतल। इच्छा र स्वादअनुसार खानेकुरा खाने। मदिरा पिउँदा सकिएपछि ग्यान्बे गर्ने रहेछन् चिनियाँहरू। त्योभन्दा रमाइलो, गिलास सबैले एकसाथ उठाउने। टोस्ट गर्ने। स्वाट्ट पिउने। गिलास राख्ने। फेरि भरिहाल्ने।
ग्वान्झाउ एयरपोर्टबाट सांघाईको फ्लाइट लिनुअघि शौचालय जान खोजेँ। शौच गरेपछि दायाँ हेर्छु, बायाँ हेर्छु, पानीको व्यवस्था कतै छैन। धारा नै देख्दिनँ।
मनमनै प्रश्न उब्जियो, 'शौचालय बनाएछन्, धारा जोड्न बिर्सिएछन् क्यार!'
बरू एकापट्टि पेपर रोल झुन्डिएको छ, अर्कोपट्टि सानो डस्टबिन। कुरो बुझियो। त्यही टिस्यु पेपरले काम चलाइयो। अनि जुरूक्क उठ्छु त आफै फ्लस हुन्छ। होटलमा आयो, पेपरले काम चलाउनुपर्ने। जताको 'वासरूम' पस्यो उस्तै। चीनको विशेषतै रहेछ, शौचालयमा पानीको सट्टा ट्वाइलेट पेपर प्रयोग गर्ने। सर्वप्रथम पेपरको आविष्कार चिनियाँले यसैका लागि गरेछन् क्यार!
सहर छ, हरियाली पनि। विरोधाभास जस्तो। सांघाई होस् या सियामेन। सहरका रूखलाई चारैतिरबाट टेकोले अड्याइएको छ। टेको कहीँ फलामको, कहीँ काठको। सुरूमा लाग्यो, रूखलाई सर्लक्क सिधा राख्न टेको लगाएको होला। कारण खोज्दै जाँदा थाहा भयो, सामुद्रिक आँधी आउँदा नभाँचिऊन् भनेर सतर्कता रहेछ। एकएक रूखको त्यति हेरचाह गर्ने देशले मान्छेको झन् कति ख्याल राखेको होला?
फोहोरको पनि कुरा गरौं।
फोहोर गर्न या त चिनियाँले कहिल्यै सिकेनन् या पूरै बिर्सिइसके। सांघाई एयरपोर्टको भुइँ सिलिङ नै पोखिए सरी टल्किएको छ। सार्वजनिक यातायात उस्तै सफा। सडक उस्तै। सहरमा फोहोर देख्नै मुस्किल। प्लास्टिकको प्रयोग सकभर कम। सरसफाइ कर्मचारी इ-स्कुटरमा 'मोबाइल डस्टबिन' बोकेर कुदिरहने। गल्ली या हाइवे, फोहोर जहाँ देख्यो, चिम्टा झिकेर टिपिहाल्ने। डस्टबिनमा राखिहाल्ने।
सांघाई सहरमा बस रूट पत्ता लगाउनै मुस्किल। पच्चीस वर्षअघि धनगढीबाट पहिलोचोटि काठमाडौं आउँदा बालाजु बसपार्कमा अलमल भएझैं भयो। त्यसमाथि रूटको, बसस्टपको नाम जम्मै चिनियाँ भाषामा। ट्याक्सी चढ्यो महँगो। हिँडेर गन्तव्य नभेटिने।
मेट्रो सांघाईको सर्वोत्तम यातायात रहेछ। सुरक्षित पनि। सस्तो पनि। स्टेसनको नाम अंग्रेजीमा पनि हुने। न गुगल ट्रान्सलेट गर्नुपर्ने, न सोध्नुपर्ने। कोकदेखि जोकसम्म जम्मै चिनियाँमा देख्दा दिकदारिएकालाई योभन्दा के चाहियो? त्यसैले फुर्सद मिलेसम्म होटल नजिकैको नेन्जिङ मेट्रो स्टेसन पुग्यो। चार रेन्मिन्बी मेसिनमा खसाल्यो। मेसिनबाट फुत्त झर्ने 'सिंगल जर्नी' टिकट लियो। गन्तव्यतिर हानियो।
सांघाईमा दिनहुँ लाखौंले मेट्रो सेवा लिन्छन्। तर दूलो भित्रभित्रै हिँड्ने कुनै सरिसृप देख्नु र मुख्य सांघाई सहरमा मेट्रो भन्ने वस्तु देख्नु उस्तै होला। किनकि दुवै जमिनभित्रै हिँड्छन्। सरिसृपको दूलो चकमन्न हुन्छ, मेट्रोको अन्डरग्राउन्ड रूट झलमल्ल। नेपालमा कोल्टो परेको, पहिलो तलाको कार्यकक्षमा मोबाइलमा नेटवर्क नटिपेर हैरानी खेपेको म सांघाईमा जमिनमुनि फाइभ-जी फिलिली हुँदा चकित नपर्नु पर्ने कुनै कारणै थिएन।
सार्वजनिक यातायात चाहेअनुसार प्रतिमिनेट तीन सय मिटर गुड्ने साइकलदेखि प्रतिघन्टा तीन सय किलोमिटर गुड्ने तीव्र गतिको सांघाई मागलेभ ट्रेनसम्मको सेवा लिन सकिने सांघाईको जस्तो भए पो!
हुन त चीनले एक हजार किलोमिटरको गतिमा गुड्न सक्ने फ्लाइङ ट्रेन परीक्षण गरिसक्यो। पूर्व-पश्चिम नेपाल एक घन्टामै छिचोलिने रहेछ यता ल्याउन सके। तर अहिलेलाई सम्झिने मात्र। सार्वजनिक यातायातमा नेपालका आरक्षण सिटजस्तै त्यहाँ चारवटा शिष्टाचार सिट छुट्ट्याइएको देखियो; वृद्धवृद्धालाई, शिशु सहितको अभिभावकलाई, बिरामी-अशक्तलाई र गर्भवतीलाई।
परीक्षण गर्न आफू बसेको सिटबाट उठेर अरूलाई बस्न अनुरोध गरेँ। बस्नै मानेनन्। मुस्कान दिँदै ह्यांगरमै झुन्डिरहे।
साँझपखको रंगीन सांघाई! सडकमा गाडीका बत्तीको उज्यालो। आकाशमा गगनचुम्बी महलहरूको झिलिमिली। भित्तामा बडेमानका डिजिटल बोर्डहरूको रमझम। बोर्डहरूमा कतै अक्षर बगिरहेछन्। कतै नाचिरहेछन्। कहीँ लुकामारी गरिरहेछन्। सडक बत्तीहरूको बेग्लै चमक। मानौं रात चढ्दै जान्छ, सांघाईको चमक बढ्दै जान्छ। बादलु पनि रंगीचंगी बत्तीहरूसँग खेल्न तलै झरौं झरौं भन्छ होला।
गगनचुम्बी भवन विश्वभर सम्पन्नताको मानक भइसक्यो। नभए अरबका देशहरूबीच किन हुँदो हो एकसे एक अग्ला टावर ठडाउने प्रतिस्पर्धा? शिर उठाएर हेर्दा 'टोपी झर्ने' बडेमान बिल्डिङहरू किन बनाइँदा हुन्? सांघाई टावर भएको क्षेत्रबाट बुर्ज खलिफा सहितका इमारतहरू ठडिएको दुबई डाउन टाउनको सम्झना गरेँ।
हुआङ्पु नदीको पश्चिमी तटमा बसेको द बन्ड गज्जबको लाग्छ। खुला खुला अनि गर्विलो इतिहास बोकेको। सयौं वर्ष पुराना अनेक बनोट र रङयुक्त सुनौला, नीला, बैजनी र सेता विशाल बिल्डिङहरू शानले ठडिएका छन्। त्यसै 'पूर्वको भेनिस' उपनाम पाएको कहाँ हो र यसले? यहीँबाट नदीको अर्कोपट्टि लुजिआजुई भनिने सुन्दर पुदोङ स्काइलाइन नियाल्न सकिन्छ। जहाँ ६३२ मिटर अग्लो बटारिएको सांघाई टावर छ। जहाँ तीखो चुच्चे पर्ल टिभी टावर, लोटस टावर छन्।
बीचबाट बगेकी हुआङपु नदी। नदीमाथि क्रूजको ताँती। नदीमा 'अन्डरवाटर' सुरूङ। फैलिएको र खुला खुला द बन्ड र अग्लिएका चमकदार पुदोङ स्काइलाइन। एकातिरको आकर्षण चौडा सडक, अर्कोतिरको अग्ला टावरहरू। मानौं यी दुईबीच साँझमा को राम्रो भन्ने प्रतिस्पर्धा चल्छ।
खाद्यान्नदेखि इलेक्ट्रोनिक्ससम्म चीनका आफ्नै ब्रान्ड छन्। सुपरमार्केटमा चिनियाँ ब्रान्डका बीचमा थोरै मात्र बहुराष्ट्रिय ब्रान्डले प्रवेश पाएका। संसारका महँगा महँगा गाडी देख्न दुःख गर्नै पर्दैन। कुनै ठूलो मलको पार्किङमा गएर हेर्दा बिवाइडीदेखि बिएमडब्लु, टोयोटादेखि टेस्लासम्म भेटिन्छन्। तर रोचक कुरा, चीनले अमेरिका, युरोपबाट कम गुडेका, राम्रै कन्डिसनका सेकेन्ड-ह्ययान्ड गाडी आयात गर्दै नयाँ जस्तै बनाएर मध्यपूर्व र अफ्रिकी मुलुकमा बेच्दो रहेछ।
छाता र हातेपंखा बोक्न बिर्सिँदैनन् चिनियाँहरू। विशेषतः महिलाहरू। गर्मीमा छाता ओढेकै देखिन्छन्। फोल्ड गर्न मिल्ने परम्परागत हातेपंखालाई अहिले 'पोर्टेबल इलेक्ट्रिक फ्यान' ले विस्थापन गर्न खोजेको देखिन्छ।
सडकमा निस्किँदा वारिपट्टि, पारिपट्टि, वल्लोपट्टि पल्लोपट्टि जता नियाले पनि ट्राफिक देखिँदैनन्। नेपालमा जस्तो कतै छेलिएर बसेका त छैनन्? व्यंग्य गर्दै थिए अमर। ट्राफिक नै नचाहिने गरी सबैतिर सिग्नल। सवारी साधन जम्मै लाइटले व्यवस्थापन गरेको। प्रहरी त बरू बाटो काट्दा ट्राफिक बत्तीको पालना गराउन द बन्ड आसपास पैदलयात्री मात्र हिँड्ने नान्जिङ रोडमा रहेछन्। या त विशिष्ट व्यक्तिको स्कर्टिङ गर्दा देखिने रहेछन्। अरू बेला र अरू ठाउँमा 'नो ट्राफिक, अन्ली ट्राफिक लाइट।'
प्रविधिले व्यवस्थित गरेको सहर रहेछ सांघाई।
सिसिटिभी निगरानीको कुरा कोट्याउन मन लाग्यो। सिसिटिभी क्यामराले कैद गर्न बाँकी कुनै कुनो नहोला। प्रत्येक २८ जनालाई निगरानी गर्न उच्च रेजुलोसनको एउटा क्यामरा तैनाथ छ। चीनले केही वर्षभित्र काठमाडौंमा सिसिटिभीको संख्या पाँच हजार आसपासबाट २१ हजार पुर्याउन सहयोग गर्ने भन्ने सुनेको सम्झिएँ।
हामी चार घुमन्तेको कामको स्पष्ट बाँडफाँट थियो।
दर्जनभन्दा बढी देश घुमेको अनुभवका आधारमा हिराले नयाँ गन्तव्य खोजेर बताउने। आइटीमा चासो राख्ने बृहतले रूट पत्ता लगाउने र जिपिएस ट्रयाक गर्ने। दिनभर खर्च व्यवस्थापन गरेर होटल पुगेपछि दामासाही गर्ने अमर। गो-प्रो र मोबाइलबाट सबैका सुन्दर तस्बिर खिच्ने जिम्मा मेरो।
सांघाईमा आपूर्ति शृंखलाको अन्तर आबद्धता र व्यापार सहजीकरण सम्बन्धी दुईहप्ते तालिम। भ्रमणमा लैजाने अर्को सहर सियामेन। तालिमको अघिल्लो दिन पुग्ने। सकिएको भोलिपल्ट फर्किने। बाह्र सेसन लेक्चर। आठ सेसन फिल्ड भिजिट। व्यक्तिगत कामका लागि चार सेसन। दुइटा केस स्टडी। उद्घाटन र समापन।
तालिम, सेमिनारमा बोलाएर पढाउनेभन्दा देखाउने। दर्शनको कुरा गर्नेभन्दा अवलोकन भ्रमण गराउने नीति रहेछ चीनको। बर्सेनि विभिन्न देशका हजारौं जनशक्तिलाई तालिममा बोलाउँछ। सत्कार गर्छ। पढाउँछ, सिकाउँछ। यो सहर, त्यो सहर डुलाउँछ, ऐतिहासिक स्थल घुमाउँछ। संस्कृतिको जगेर्ना गर्दै आफूले गरेको चमत्कार र विकास देखाउँछ। राष्ट्रपति सि जिनफिङको भिडिओ जहाँतहीँ डिस्प्ले गर्छ। उनको नीति, आधुनिक चीनको रणनीति व्याख्या गर्छ। बिआरआईको अवधारणा बुझाउँछ।
नयाँ मान्छेसँगको भेटघाट, नयाँ कुराहरूको सिकाइ। फुर्सद मिल्नासाथ समूह बनाएर नयाँ ठाउँ घुम्दा र सपिङ गर्दा गर्दै सेमिनार सकिएको पत्तै नपाई चीनको अविस्मरणीय अनुभव बोकेर 'ब्याक टु सिंहदरबार।'
अवसरका लागि जय निजामती सेवा!
(उपाध्याय पिएलजिएसपी कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)