यो साल साउन महिनाभर पशुपतिमा आयोजित भव्य कोटीहोम महायज्ञ लाखौं हिन्दु भक्तजनहरूका निम्ति एउटा विशेष आस्था र गौरवको केन्द्र त थियो नै, समस्त दलितहरूका लागि पनि ऐतिहासिक बन्यो।
जुनसुकै आस्था र विचारका दलितले पनि यो सत्य आत्मसात गरेका छन्, गर्नुपर्छ। उक्त धार्मिक कुम्भभेला दलित आन्दोलनको एउटा कोशेढुंगो बनेको छ। बिक्रम सम्वत् २०११ असारमा ठूलै संघर्षद्वारा पशुपति मन्दिर प्रवेश गरी सामूहिक पूजा गरेको दलित आन्दोलनले पशुपतिमै फेरि अर्को छलाङ मारेको छ।
बौद्धिक व्यक्तित्व सन्जीव कार्कीको समायोजन र राजानन्द माण्डव्य लगायत उदारवादी गुरूहरूको निम्तोमा संस्कृत साहित्यमा स्नातकोत्तर गरेका बैतडी जिल्लाका कृष्ण दमाईले व्यासासनमा बसेर प्रवचन दिए। यो अभूतपूर्व घटना जातिवादी हिन्दू परम्परामा ठूलो क्रमभंगता थियो। हिन्दू आराधनामा कुनै शुद्र कहलिएका व्यक्तिलाई यो स्तरको सम्मान र स्थान दिइएको नेपाल राष्ट्रको इतिहासमा र वैदिक कालपछिको कमसे कम ३५०० वर्षको हिन्दु इतिहासमै पहिलो घटना हो।
दलित अभियन्ता र बौद्धिक व्यक्तित्वका रूपमा कोटीहोममा मलाई पनि २८ साउनमा सम्मान गरियो र छोटो मन्तव्य राख्न दिइयो। मेरो उपस्थिति अर्थपूर्ण किन पनि ठानियो होला भने, सन् २००४ अगाडि लन्डनबाट फर्किएर म एक्लैले धार्मिक-सांस्कृतिक सुधारको माध्यमबाट छुवाछुत मेटाउनुपर्छ भन्ने वैचारिक अभियान चलाउँदै आएको छु। धार्मिक क्रान्ति बेगर दैनिक जीवनमा जातीय अपमान र घृणा अन्त्य गर्न सम्भव हुँदैन। तर वर्तमानमा मूलधार दलित आन्दोलनले धर्मको 'ध' पनि उच्चारण गर्दैन – जसका कारणहरू पछि प्रस्तुत गर्नेछु।
कमसे कम १५ हजार भक्तजनहरू अनि सयौं धर्मगुरू, पण्डित, पुजारीका अगाडि हिम्मतका साथ उभिएर मैले आफू हिन्दु होइन, किनकि विभेदी संस्कार र परम्पराले मलाई हिन्दु बन्नै दिएको छैन भन्ने विचार प्रस्तुत गरेँ। मैले चर्को स्वरमा धर्मसंस्कृति सुधार गर्दै देशको १३ प्रतिशत दलितमाथि धर्मका नाममा हुँदै आएको अधर्म रोक, समभाव फैलाऊ, छुवाछुतको परम्परा बन्द गर भन्ने आह्वान पनि गरेँ। यसमा नै धर्मको भलाइ छ र दलितको पनि। युगौंदेखि घृणा र अपमान सहेर पनि ९० प्रतिशत दलितहरूले धर्म त्यागेका छैनन्। अब धर्मले विभेदी नीति त्याग्नुपर्छ।
त्यो पवित्र धार्मिक स्थलबाट गरिएको मेरो आग्रह राज्यसत्ता र धार्मिकसत्ता दुवैका लागि थियो। हिन्दु सत्ताको हेडक्वार्टरमा त्यो मेरो आक्रोश र अनुरोध मिश्रित अभिव्यक्ति अझै पनि सामाजिक सञ्जालमा 'सर्कुलेट' भइरहेको छ र सर्वत्र चर्चा परिचर्चाको विषय बनेको छ। आशा छ, राज्यसत्ता र धार्मिकसत्ताका नेताहरू सबैले पशुपतिको आँगनबाट मैले गरेको आह्वान सुने। र, यस दिशामा सक्रियता देखाउने छन्।
यथार्थमा पशुपति कोटीहोमको ड्यासमा दलितको उपस्थिति आफैमा हिन्दु जातिवाद विरूद्धको शक्तिशाली विद्रोह हो। यो एक सशक्त तर शान्तिपूर्ण दलित क्रान्तिको सुरूआत थियो। मान्छे मारेर मात्रै क्रान्ति हुँदैन, विचार मार्नु अझ ठूलो र प्रभावकारी क्रान्ति हो। यो धार्मिक क्रान्तिको सुरूआतले देशविदेशमा रहेका समस्त नेपालीहरूलाई जातीय समानताका लागि सकारात्मक बनाएको महसुस हुन्छ।
यसबाट उत्पीडित दलित समुदायको पनि शिर ठाडो भएको छ। उनीहरूको आत्मसम्मान उकासिएको छ, मनोबल उठेको छ। समाजमा यसको बिम्बात्मक मात्र नभई मनोवैज्ञानिक असर पनि पर्छ। अब उप्रान्त देवालय वा धार्मिक सभा-सम्मेलनबाट बाहिर राखिएका दलितले जब त्यति ठूलो कोटीहोममा त दलितको सम्मान भयो भने अझै किन हामीलाई पर राख्छौ, किन छिछि दूरदूर गर्छौ भन्ने तर्क गर्न सक्ने अवस्था सिर्जना भएको छ। आखिर शुद्र भनिएका मान्छेहरू बाहुनको आसनमा बस्दा पनि भगवान पशुपतिनाथ त रिसाएनन् – कुनै अनिष्ट गरेनन्!
समाज बदलिएको संकेत
उक्त घटनाले के पनि संकेत गर्छ भने हिन्दु भक्तजनहरू र समग्र नेपाली समाज जातीय मामिलामा पहिला जस्तो कट्टर छैन। आम मान्छेहरूले मानव अधिकारको विषय बुझ्दै गएका छन् र नयाँ कानुन अनुसार, बदलिँदो जमाना अनुसार धार्मिक सुधार गर्न तयार छन्। नत्र भने त्यति ठूलो महायज्ञमा शुद्रहरूको व्यासासन र सम्मान भक्तजनलाई त्यति सहज र स्वीकार्य पक्कै हुने थिएन।
धर्मगुरूहरूले चाहे पनि उपस्थित जनताले नरूचाएको अवस्थामा कोटीहोममा जे पनि हुन सक्थ्यो। विरोधका आवाजहरू उठ्न सक्थे, हुलदंगा हुन सक्थ्यो, हिंसा समेत भड्किन सक्थ्यो। यस मानेमा गुरूहरूले ठूलो खतरा मोलेका हुन् र जनताले पनि समभाव प्रकट गरेकै हुन्। यो महायज्ञको ज्यादै सकारात्मक पक्ष थियो, जुन देशभरका अन्य अनुष्ठानहरूमा, देवालयहरूमा पनि अनुशरण गर्नुपर्छ।
धर्मकर्ममा संलग्न बाहुन समुदायभित्र एक तहको विवाद छ भन्ने सुनिन्छ। त्यो विरोध बाहिर छताछुल्ल नभए पनि सामाजिक सञ्जालहरू केही स्वरहरू सुनिएकै छन्। तर त्यसलाई म अनौठो वा अस्वाभाविक ठान्दिनँ। ब्रिकम सम्वत् १९७७ असारमा चन्द्र शमशेर राणाले सती प्रथा अन्त्य गर्दा पनि सामान्य विरोध नभएको कहाँ हो र?
हरेक देशमा, हरेक समाजमा, हरेक संगठनमा कट्टरपन्थी र उदारवादी दुवै धार हुन्छन्। तर अन्ततः समयसँगै बदलिन नसक्ने जड सूत्रवादीहरूले डायनासोरको नियति भोग्नुपर्छ।
दलित उत्साहित छैन?
धेरैलाई आश्चर्य लागेको होला, किन हामीले पशुपति कोटीहोममा यति ठूलो छलाङ मार्दा पनि दलित समुदाय सोचेजस्तो उत्साहित देखिँदैन? किन दलित समुदायले क्रान्तिकारी कृष्ण दमाईको प्रशंसा गर्न हिच्किचाइरहेको छ? किन दलित नेता-अगुवाहरूले सम्बन्धित गुरूहरूको प्रशंसा गर्न सकिरहेका छैनन्? सामाजिक सञ्जालमा प्रस्तुत विचारहरू हेर्दा थोरै दलितहरूले मात्रै पशुपति घटनाको मूल्य र महत्त्व बुझेजस्तो देखिन्छ। धेरैले घटनालाई सामान्यीकरण गरेका छन् या विरोध नै गर्न भ्याएका छन्। यस्तो अस्वाभाविक प्रतिक्रियालाई कसरी बुझ्ने?
यो सत्य बुझ्नुपर्यो कि, पहिलेदेखि नै दलित आन्दोलनको प्रमुख हिस्सा धर्म सुधारको अभियान रहँदै आएको छ। भारतमा अम्बेडकरवादी आन्दोलन जस्तो हिन्दु धर्म नै त्यागौं भन्ने आन्दोलन नेपालमा चलेकै छैन। सधैं दलित अगुवाहरूले हिन्दु समाजमा नै उचित सम्मान र स्थान खोजेका छन्।
राणा कालमा बागलुङका भगत सर्वजीत विश्वकर्माले बनारसबाट वैदिक ज्ञान लिएर आफूलाई बाहुन पण्डितसरह सम्मान र स्थान खोजेका थिए। भलै उनको माग कामी समुदायलाई मात्रै चोख्याइयोस् र छुवाछुतबाट मुक्त गरियोस् भन्ने थियो, उनको 'पायोनियरिङ' धार्मिक संघर्षलाई दलित आन्दोलनको जग मानिन्छ। त्यस्तै ब्रिकम सम्वत् २०१० असार अन्ततिर नेवार दलित सहर्षनाथ कपाली र अन्य अगुवाहरूले पशुपति मन्दिर प्रवेष आन्दोलन चर्काए, जसमा ७५० जना अभियन्ताहरू पक्राउ परेका थिए। अन्ततः ब्रिकम सम्वत् २०११ असारमा राज्यले उनीहरूको माग स्वीकार गर्यो र प्रथमपटक पशुपतिमा दलितहरूले सामुहिक पूजा गरे।
एवं रीतले धर्म सुधारको आन्दोलन अगाडि बढ्यो। २०१७ सालमा तीखे नगर्ची र टीकाराम पार्कीको नेतृत्वमा डोटीको शैलेश्वरी मन्दिर प्रवेश, २०२१ सालमा पदम सुन्दास र लालकुमारी विश्वकर्माले भोजपुरको सिद्धकाली मन्दिर प्रवेश र २०५० सालको दशकमा गोरखकाली, मनकामना लगायत देशभरका ठूला मन्दिरहरू प्रवेश अभियान सबै दलित आन्दोलनका कोशेढुंगा मानिन्छन्। 'जनयुद्ध' का दौरान माओवादी दलितले जनै च्याते, गाई काटे, मन्दिर भत्काए। त्यो पनि पूरै धर्म मास्ने नीति नभएर सुधारकै प्रयत्न थियो।
यस्तो धर्म सुधारका लामो इतिहास हुँदाहुँदै पनि हाम्रो साउन २०८१ को पशुपति कोटीहोम क्रान्तिलाई ऐतिहासिक उपलब्धि ठान्न किन हिच्किचाहट भइरहेको छ? यो गम्भीर र एक प्रकारले चिन्तजनक विषयमा दलित अगुवाहरूले आत्मसमीक्षा गर्नुपर्छ।
मलाई लाग्छ, यसका पछाडि मूलतः दुई कारणहरू छन्; एउटा अपुरो वर्तमान दलित राजनीति र विचार, अर्को दलित समुदायभित्रको जातिवाद।
नेपाली दलित आन्दोलन कहिल्यै पनि स्वतन्त्र रहेन – न सांगठानिक रूपमापमा, न वैचारिक रूपमा।
यसका अगुवाहरू सधैं प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कथित उपल्ला जातका नेताको नियन्त्रणमा रहँदै आएका छन्। अनि दलित आन्दोलनका विचारहरू, दार्शनिकीहरू, रणनीतिहरू पनि प्रायः माथिल्ला जातका नेताकै मार्गदर्शन बमोजिम छन्। यसै पनि समग्र समाजमा ज्ञानको सत्ता तिनैको हातमा छ।
विगतमा राज्यसँग संघर्ष गर्दा नेताहरूले दलितलाई धर्मको दोषबारे केही जानकारी दिए र लड्न उक्साए।
जब राजतन्त्र फ्याँकेर आफै राज्यपक्ष बने, ती नेताहरूले दलितलाई झुट सिकाए, ज्ञान दिए – अब धर्मको संघर्ष सकियो। अब त मुक्तिका लागि राज्यसत्तामा पहुँच बढाउने र कानुनी लडाइँ लड्ने मात्रै हो!
बाहुनक्षेत्री नेताले धर्मको विषयलाई तिलाञ्जली दिनुको अर्थ यथास्थिति कायमै राख्नु हो। आज्ञाकारी दलितहरूले यो षड्यन्त्र बुझेनन् र सो अनुसार गर्दै आएका छन्। तिनले धर्मबारे बहसै चलाउन छोडिसकेका छन्। मानौं धर्म-संस्कृतिमा अब कुनै दोष बाँकी छैन।
यो वैचारिक दासताको विडम्बना कस्तो छ भने हिजो भूमिगत बाहुन नेताको निर्देशनमा गाई काट्ने, मन्दिर फोर्ने दलितहरू आज हिन्दु धर्मको विवादै गर्नु हुँदैन भन्छन्। धार्मिक-सांस्कृतिक संघर्ष अर्थहीन ठान्छन्। कम्युनिस्ट विचारका दलितहरू सबभन्दा दिग्भ्रमित छन्। वर्गीय लडाइँ लडेर समाजवाद वा साम्यवाद ल्याएपछि धर्म-संस्कारसँग सम्बन्धित जातीय समस्याहरू स्वतः हल हुन्छन् भन्ने गलत विश्वास ती दलितहरूको छ।
तर स्वतन्त्र दिमागले नियाल्दा यो विचारसँग जमिनको यथार्थ कत्ति पनि मेल खादैन। मूलतः धार्मिक मूल्यमान्यता, संस्कार, संस्कृति, रीतिथितिकै कारण दलितहरूले पाइला पाइलामा अपमान, घृणा, हिंसा सहनुपरेको छ। धर्म नफेरिनाले गाउँगाउँमा लगभग भगत सर्वजीतकै पालाको जस्तो उपेक्षा र घृणाको सिकार छन् दलितहरू। कुलकुलाइनको डर, देवीदेउताको डर, पितृको डर, स्वर्ग र नर्कको डरका कारण विभेद व्यापक छ।
विभेद यतिसम्म छ कि दलित समुदायका मन्त्री, सांसद, सचिव, न्यायाधीशहरूले समेत डेरा पाउन मुस्किल पर्छ। जुनसुकै पद वा ओहोदामा भए पनि, जतिसुकै धनसम्पत्ति वा शिक्षा आर्जन गरे पनि एक दलित अछुतबाट छुत बन्दैन।
कारण – देशको आधुनिक कानुनलाई मनुको परम्परागत कानुनले ओझेल पारेको छ।
हुँदाहुँदा यहाँका बुद्धिस्ट, मुस्लिम, कृश्चियन समुदायहरूले पनि एकहदसम्म हिन्दस जातिवाद अंगीकार गरेका छन्। उनीहरू पनि शुद्रसँग बिहे गर्दा कुल बिग्रिन्छ, पितृले पिर्छ भन्ने मान्यता राख्छन्।
यसरी आमदलितको पीडा एकातिर, दलित अगुवाहरूको ध्यान अर्कैतिर (सत्तातिर) हुनाले पनि आज दलित आन्दोलन थला परेको हो। दलित अगुवाहरू प्रति जनविश्वास टुटेको हो। त्यसैका कारण हामीले पशुपति क्रान्ति गर्दा जसभन्दा बढी अपजस पाएका छौं। बाहुन नेताले आज धर्मको राजनीति गर्ने होइन भन्ने चेत हालिदिएका कारण हाम्रो संघर्षको उचित मूल्यांकन नभएको सत्य हो।
हाम्रो पशुपति क्रान्तिप्रति दलित त्यति सकारात्मक नहुनुका पछाडि अर्को महत्त्वपूर्ण कारण आन्तरिक विभेद हो। समग्र समाजजस्तै दलित समुदाय पनि भिरालो संरचनामा अडेको छ, जातीय विभेद हटेको छैन। सबै जातको नेतृत्व सबैलाई स्वीकार्य हुँदैन। एक हदसम्म कामको मूल्यांकन पनि जातकै आधारमा हुन्छ। यो मनोगत लाञ्छना नभएर अधिकांश दमाई, सार्की, बादी, गाइने, डोम, चमार, मुसहर अगुवाहरूको लामो अनुभव हो।
कोटीहोममा त्यो धार्मिक क्रमभंगता गर्ने व्यक्ति कुनै विश्वकर्मा समुदायको हुन्थ्यो भने उनको उच्च प्रशंसा गरिन्थ्यो भन्ने लाग्छ। जसरी राष्ट्रिय राजनीतिमा बाहुनको बोली बिक्छ, दलित आन्दोलनमा कामीको बोली बिक्छ। 'डिस्कोर्स' पनि प्रायः तिनैले बनाउँछन्। ठूलो जनसंख्या र विविध कारणले उनीहरूकै नियन्त्रणमा दलित आन्दोलन चलेको छ भन्नु अतिशयोक्ति हुँदैन। अन्य जातिको दलितले गरेको कामको त्यति छिट्टै स्वीकार्यता नहुन सक्छ।
तर राजनीतिक दलितले जे जसरी बुझे पनि, आम दलितले पशुपति क्रान्तिको महत्त्व बुझेका छन्। किनकि यसले तिनको दैनिक पीडाको मूलजरा छोएको छ। चौतारा र चिया पसलहरूमा सकारात्मक कुरा हुन थालेको छ, मुक्तिको आशा जागेको छ। हामी राज्यसत्ता र धार्मिक सत्तासँग सहकार्य गर्दै धर्म सुधारको अभियानलाई राष्ट्रव्यापी रूपमा अगाडि बढाउन चाहन्छौं। धेरै उदारवादी बाहुनक्षेत्रीको चाहना पनि त्यही छ। त्यही चाहना भएर नै ठूलै जोखिम उठाएर धर्मगुरूहरूले अभूतपूर्व र ऐतिहासिक कोटीहोम क्रान्ति सम्भव गराएका हुन्।
(लेखक डा. मित्र परियार समाजशास्त्री तथा दलित अभियन्ता हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटर- @MitraPariyar