सामुदायिक विद्यालयमा करिब दस हजार एक सय विद्यार्थी पढ्दैछन्। यी भोलिका नागरिकलाई आजको दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्दा मात्र गाउँपालिका र देशकै भविष्यमा आमूल परिवर्तन सम्भव छ।
अति विपन्न घर, परिवार र सीमान्तकृत समुदायको आर्थिक-सामाजिक रूपान्तरणका लागि शिक्षा अनिवार्य तथा आधारभूत सर्त हो। असमानताको खाडल एकै दिनमा पुर्न असम्भव छ। असमानता अन्त्य गर्न गुणस्तरीय शिक्षामा पहुँच आधारशिला नै हो।
यही मान्यता र मर्मलाई अत्यन्त गम्भीरतापूर्वक महसुस गरी बेनीघाट रोराङ गाउँपालिकाले विद्यालय व्यवस्थापन लगायत सरोकारवाला, विशेष गरी विद्यालय प्रशासक एवम् प्रधानाध्यापकसँग अनेकौं संवाद, साझेदारी र सहकार्य निरन्तर अघि बढाइरहेको छ। यसै क्रममा चालु आर्थिक वर्ष २०८१/८२ लाई सिकाइ सुधार वर्षका रूपमा पालिकाको नीति तथा कार्यक्रममार्फत् घोषणा गरी विविध कार्यक्रम तथा पहलकदमीहरू तय भएका छन्।
७३ वटा सामुदायिक स्कुल रहेको यो पालिका काठमाडौंबाट किलोमिटरको हिसाबले निकै नजिक जस्तो लाग्छ। तर भौगोलिक विकटता देख्दा देशको सबभन्दा दुर्गम ठाउँभन्दा कुनै हिसाबमा फरक छैन। आकाशका तारा जस्तै पहाडको माथिल्लो छेउदेखि भिरालो तल्लो छेउसम्म छरपस्ट स-साना टोल र बस्तीका बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गर्न कम्तीमा आधारभूत विद्यालय (कक्षा १ देखि ५) को उपलब्धता अनिवार्य छ। त्यसैले देशका अन्य विकट क्षेत्रमा जस्तै यो पालिकामा पनि यस्ता विद्यालय धेरै नै छन्। दुर्गमका यी स्कुल विशेषगरी आधारभूत तहमा शिक्षक र प्रधानाध्यापक दुवैको भूमिकामा अधिकांश महिलाले नै नेतृत्व गरिरहेका छन्।
प्रधानाध्यापकको क्षमता अभिवृद्धि होस् र जबाफदेयी पनि बनाउन सकियोस् भनेर पालिकाले सिकाइ सुधार वर्ष २०८१ का लागि 'मेरो कार्ययोजना' शीर्षकमा माध्यमिक, निम्न माध्यमिक र आधारभूत तहका प्रधानाध्यापकलाई आवासीय गोष्ठी आयोजना गरी प्रस्तुती गर्न लगाइएको थियो। उक्त गोष्ठीमा विशेष गरी आधारभूत तहका प्रधानाध्यापक वा भनौं चलनचल्तीको भाषामा 'मिस' हरूको प्रस्तुति घतलाग्दो थियो। त्यसले हामी सबैको साह्रै मन छोयो।
अधिकांश मिसले सम्भवतः जीवनमा पहिलोपटक कम्प्युटर छोएका र पहिलोपटक त्यति ठूलो संख्यामा रहेका सहभागी अगाडि उभिएर पावरप्वाइन्ट प्रस्तुति गरेका थिए। आफूले गरिरहेका र अब गर्ने कामको फेहरिस्त प्रस्तुत गरिसकेपछि उनीहरू गएर कुर्सीमा काल काटे जसरी बस्थे। आनन्दको सुस्केरा हाल्थे।
यो काम गर्नुपर्छ भनेर सूचना आएको १५ दिनदेखि उनीहरूको निँद उडेको थियो। त्यति डरलाग्दो काम सम्पन्न गरेकाले मिसहरूले आफै प्रति गर्व पनि गरेका देख्न सकिन्थ्यो। उनीहरू आफैले पनि भने जस्तो विद्यालयमा, भने जस्तो गुणस्तरीय शिक्षा पाएका कहाँ हो र?
गाउँमा बिजुली, मोबाइल नेटवर्क र इन्टरनेटको आपूर्तिको ठेगान छैन। अझ भन्नुपर्दा सिक्ने, जान्ने र सिकाउने काममा यी पूर्वाधारका कमीले बाधा सिर्जना भइरहेको छ। त्यसैले यो अवस्थालाई डिजिटल डिभाइड पनि भनिएको होला। धेरै सामुदायिक स्कुलमा एउटा कुचो किन्ने पैसा छैन, कम्प्युटर त परको कुरा भयो।
प्रस्तुतीका क्रममा मिसहरूका काम नियाल्दा, कुरा मनन गर्दा यस्तो लाग्थ्यो — यी समुदाय र देशले सम्मान गर्न बिर्सेका ती पात्र हुन् जो आफ्नो अस्तित्व र महत्त्वको स्वीकारोक्ति हुनुपर्ने जति नहुँदा पनि हर दिन राज्यको उपस्थिति विकट गाउँ र बस्तीमा भएको साक्षी तथा प्रमाण बनेका छन्।
उनीहरू अधिकांश त पालिका र वडाले आफ्ना विकासका अन्य खर्च कटौती गरेर पनि पारिश्रमिक खर्चको जोहो गरेका कारण नियुक्त भएका हुन्। उनीहरूलाई पालिकाबाहेक अन्य संयन्त्रले शिक्षक भनी खासै चिन्दा पनि चिन्दैन।
प्रस्तुति क्रममा आफ्नो कार्ययोजना राख्दै एक जना प्रधानाध्यापकले भनिन्, 'मलाई बच्चालाई कक्षामा हात उठाएर बोल्ने बनाउनु छ।'
उनको कुरा सुन्दा सामान्य लाग्छ। तर सरल भाषामा उनले निर्भीक, आफ्नो कुरा राख्न सक्ने आत्मविश्वासी विद्यार्थी बनाउनु छ भन्नु आफैमा ठूलो र पूरा नगरी नहुने महत्त्वपूर्ण लक्ष्य हो।
नतमस्तक हुँदै हलमा उपस्थित शिक्षा समिति, गाउँ शिक्षा अधिकारी लगायत शिक्षा शाखा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अन्य प्रधानाध्यापक र वडाध्यक्ष लगायतका जनप्रतिनिधिको समूहले उनको सपनाको कदर गर्यो।
पहाडमा थोरै टुक्रा जमिन छ, त्यही पनि स्कुल र शौचालयले ओगटेपछि पाखा र भीरमा एक सुर्को तरकारी लगाउने ठाउँ बचेको छ। सरकारले उपलब्ध गराएको प्रति विद्यार्थी १५ रूपैयाँले घरबाट भोकै आएका विपन्न बालबालिकालाई पेटभरि खुवाउन सकिँदैन। मिसहरूलाई बिहान बेलुकाको घरायसी श्रम त छँदैछ, स्कुलमा बिहान आठ बजे नै गएर करेसाबारीमा स्वेच्छिक रूपमा दुःख गर्नुपरेको छ। फलेका तरकारी र फलफूल दिवा खाजामा समावेश भएका छन्। बालबालिकाको पौष्टिक आवश्यकता र अधिकार केही हदसम्म भए पनि सुरक्षित भएको छ।
अभिभावकहरूमा चेतना कम छ। कतिलाई त सामान्य व्यक्ति सरसफाइबारे पनि चेतना छैन। बालबच्चाले समय समयमा नुहाएका हुँदैनन्। सफा बनाएर विद्यालय पठाइएका हुँदैनन्। बेला बेलामा स्कुलमै नुहाइदिएर मिसहरूले कोरीबाटी गरिदिन्छन्।
संगीत र नाच सिकाउने छुट्टै शिक्षक कहाँ पाउनु। आफैले नाच्न र गाउन पनि सिकाउनु परेको छ।
सब थोकमा जान्नु परेको छ यी मिसहरूलाई।
उपहार स्वरूप पाएको एक थान हाते माइक र स्पीकरले खुब ठूलो काम गरेको छ। बालबालिकाले माइक समातेर कविता भन्न जानेका छन्, कविता सुनाएका छन्। गीत बजाएर मिसहरूले नाच्न सिकाएका छन्।
टाढा लैजान त सक्दैनन् तर नजिकै लघु भ्रमण लैजाने गरेका छन्। चेपाङ समुदायको बहुल यो पालिकामा स-साना बालबालिका नेपाली र चेपाङ भाषाको दोँसाधमा अलमलिन्छन्। केही चेपाङ समुदायकै मिसहरू पनि छन्। अभिभावकले नियमित रूपमा विद्यार्थीलाई विद्यालय पठाउँदैनन्। दोष अभिभावक र भाषा अनि विपन्नतालाई दिने प्रशस्त ठाउँ छ तर दिन सक्दैनन्। वा भनौं, त्यो छुट उनीहरूलाई छैन। जनप्रतिनिधिले 'चेपाङ र विपन्न भएकै कारण नपढ्ने हुन्छ, चेपाङको बच्चा पढ्नै नसक्ने गरी जन्मेका हुन्छन् र' भनेर कटाक्ष गरिहाल्छन्। जसमा सत्यता पनि छ।
विद्यालयमा घेराबार चाहिएको छ। शौचालय पनि चाहिएको छ। भएदेखि खेल मैदान र खेलकुदका सामग्री पनि। खानेपानी पनि दुःखै छ। शिक्षामा छुट्ट्याइएको अधिकांश बजेट शिक्षक तलब जस्ता अनिवार्य दायित्वमा खपत हुन्छ। सबै विद्यालयको सबै आवश्यकता एकैपटक सम्बोधन गर्न पालिकाकै स्रोतसाधन असमर्थ छ। त्यसैले मिसहरूले स्रोतको खोजी पनि आफै गरेका छन्।
उनीहरूले अभिभावकहरूलाई स्थानीय सामग्री उपलब्ध गराउन प्रेरित गरेका छन्।
'विद्यालय जाँदा रित्तै नजानू, विद्यालयलाई दिन केही न केही लिएर जानू' भन्ने गाउँपालिका अध्यक्षको आग्रहलाई मिसहरूले कर्यान्वयन गरेका छन्, गराएका छन्। कतै अलिक धेरै त कतै अलिक कम। कोही अभिभावक आलु र तरकारी लगिदिन्छन्, त कोही बालबालिकालाई बस्नका लागि गुन्द्री, चकटी र मुडा। त्यति पनि गर्न नसक्ने अभिभावकले आफ्ना वरिपरि भएका स-साना ढुंगा जस्ता चिजबिज पठाइदिन्छन् जसलाई शैक्षिक सामग्रीका रूपमा प्रयोग गर्न सकियोस्।
मिसहरूले स्रोतसाधनको अभाव परिपूरण गर्ने यस्ता जुक्तिलाई 'नो कस्ट' र 'लो कस्ट' उपाय भनेर सो कार्यक्रममा उपस्थित सबैलाई सुनाए पनि। अभाव र समस्याको परिवेश अनुसार यस्ता समाधान खोज्ने र रोज्ने क्षमतालाई कम आकलन गर्न मिल्दैन। यसलाई भनिन्छ समस्या समाधान गर्ने सीप।
कुनै कुनै मिसले त एक्लै एकदेखि तीन कक्षामसम्म चलेको स्कुल धान्नुपरेको छ। उनलाई बिरामी हुने छुट पनि छैन। त्यसो भए विद्यालय नै बन्द हुन्छ। माथि माथि लेकमा भएका विद्यालयमा गाउँभरिमा पढेको मान्छे उनी मात्र हुन्छिन्। उनी छन् र त समुदायले विद्यालय पाएको छ। दुर्गम छ, अरू त्यहाँ जान मान्दैनन्। धकेल्नुपर्छ।
कार्यक्रममा गाउँपालिकाको शैक्षिक नीति र कार्यक्रम पनि अध्ययन गरेर आएका मिसहरूले यस्तै यस्तै थुप्रै प्रयास र दुःख गरेका छन्। दुःख गरे जति नतिजा भने हासिल गर्न सकिएको छैन। शैक्षिक उपलब्धि कम छ। मिसहरूले शैक्षिक उपलब्धि बढाउने आ-आफ्नो कार्ययोजना पनि सुनाएका छन्।
'मेरा छोराछोरीलाई म जसरी पनि पढाउँछु' भन्ने सपना देख्ने अभिभावकको संख्या कम छ। बालविवाह र खाद्य असुरक्षाबीच जन्मिएका बालबालिका कुपोषित छन्। घन्डौं हिडेर धेरै लामो उकाली ओराली गर्दै विद्यालय पुगेका ती स-साना केटाकेटीलाई पेटभरि खुवाउन मात्र पाए पनि पाखुरी चलाएरै भए पनि आफ्नो र परिवारको पेट सजिलै पाल्थे होलान् भन्ने कल्पनाले पनि ठूलो सपनाको दर्जाको लिने अवस्था छ।
दाताबाट जन्मदिनको मेसो पारेर प्राप्त भएको सहयोग होस् वा, अन्य कुनै जुक्ति निकालेर, मिसहरूले कलमकापीको बन्दोबस्त पनि विद्यालयमै गरेका छन्। घरमा अभिभावकले आफ्ना बच्चालाई पढ मात्र भनिदिए पनि बालबालिकाको पढाइमा निकै सुधार आउँथ्यो भन्ने आशा र आग्रह उनीहरू राख्छन्। अभिभावकलाई सम्झाउने, बुझाउने जिम्मेवारी पनि विद्यालयकै भएकाले यो काम पनि मिसहरूकै काँधमा आइलाग्छ।
जतिसक्दो कक्षा सजावट पनि गर्नु छ, शिक्षण सामग्री बनाउनु छ, बेला बेला अनुगमन आउँदा जनप्रतिनिधि लगायत उपस्थिति व्यक्तिलाई बालबालिकाले नमस्ते गरेनन् भने वा दोहोरो बोलेनन् भने त्यसको जबाफ पनि दिनुपरेको छ। जबाफ दिनुपर्ला कि भनी उनीहरू निकै सजग छन्।
कहिलेकाहीँ कुनै कुनै मिडियाकर्मीले भएका पुराना मैला लुगा र जुत्ताचप्पल खोल्न लगाएर पुस-माघको जाडोमा बालबालिकाको फोटो खिची पठाइदिनू भन्ने गरेका रहेछन्।
मिसहरू निर्दोष छन्, फोटो पनि खिचेर पठाइहाल्छन् — स्कुल र बालबालिकाका लागि केही हुन लागेको हो कि भन्ने आसाले।
त्यस्ता फोटा सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुन्छन्। अभाव र गरिबी सामाजिक सञ्जालले अलि बढी खपत गर्छ। फोटोसँगै जनप्रतिनिधिले पनि राम्रै गाली खानुपर्छ। मुठी खोल्नभन्दा धारे हात लगाउन अभ्यस्त समाज जो छ।
तर अबदेखि मिसहरूले त्यसो गर्ने छैनन्। बालबालिकाको मर्यादा विपरीतको काम नगर्न पालिकाको निर्देशन पालना गर्ने कार्ययोजना रहेको उनीहरूले बताएका छन्। गरिबी, भोक र अभावको फोटो हेरेपछि मात्र कर्तव्य र करूणा पलाउने समाजसँग कुरा गर्ने हो भने मर्यादित ढंगले जुनसुकै बेला स्वतस्फूर्त रूपमा गर, होइन भने सामाजिक सञ्जाल र व्यक्ति महानताको अहमलाई पोषण दिने हिसाबले नगर भन्नुपर्छ भन्नेमा उनीहरू स्पष्ट भइसकेका छन्।
उनीहरूले हरेक दिन आफ्नो निस्वार्थ कर्ममार्फत् विद्यार्थीको शिक्षामा पुर्याएको योगदानको बेनीघाट रोराङ गाउँपालिका उच्च कदर गर्छ।
मिसहरूका यी गाथा देश र समाजले गाउन जरूरी छ। देशभर छरिएका ती मिसहरूलाई हार्दिक नमन छ!
(नर्बदा घिमिरे बेनीघाट रोराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्।)