म पेसाले शिक्षक। एक दिन आफ्नै कक्षमा थिएँ।
कक्षा ९ मा पढ्ने एक विद्यार्थीका अभिभावक आफ्नो छोराको कुरा लिएर आउनुभयो र भन्नुभयो – मेरो छोरो पढ्न केही पनि जान्दैन, भनेको पनि मान्दैन, के गर्ने होला!
उहाँको अनुहारमा अलिकति थकान र अलिअलि आवेग अनुभव गरेँ। केही बेर उहाँको कुरा सुनेँ।
छोराप्रति गुनासो थियो – उसलाई सबै अवसर छ तर पनि सिकेन, पढाइमा साह्रै कमजोर भयो।
मलाई त्यो विद्यार्थीले कति अवसर पाएको छ भन्ने जान्न मन लाग्यो।
अभिभावकलाई सोधेँ – तपाईंको छोरो घरमा हुँदा के काम गर्छ?
'केही गर्दैन। मन लागे अलिअलि पढ्छ नत्र कोठामा बसेर मोबाइल (फोन) चलाउँछ। बाहिर कहीँकतै जाँदैन, सोझो छ, ज्ञानी पनि छ।'
उहाँ रोकिनुभएन।
'केही सुध्रेला, सिक्ला र ठूलो मान्छे बन्ला भनेर यति धेरै पैसा खर्च गरेर विद्यालयमा हालेँ। केही पनि जान्दैन। केही उपाय लगाइदिनुपर्यो। यस्तै हो भने त अर्को वर्ष कसरी एसइई पास गर्ला र!'
मैले फेरि सोधेँ – घरमा हुँदा कति बजे उठ्छ? आफै उठ्छ कि उठाउनुपर्छ?
'केको उठ्थ्यो सर! उठाउनुपर्छ।'
बिहान उठेपछि आफ्नो ओछ्यान आफै मिलाउँछ कि मिलाउँदैन?'
'मिलाउँदैन।'
'आफ्नो लुगा धुन्छ कि धुँदैन?'
'धुँदैन।'
'खाना पकाउन र भाँडा सफा गर्न सघाउँछ कि सघाउँदैन?'
'केही पनि गर्दैन। घरमा त एउटा सिन्को भाँचेर दुइटा पनि पार्दैन।'
अभिभावकले छोरालाई घरमा सिक्ने अवसर कति दिनुभयो भन्ने मैले थाहा पाइनँ। पढ् भनेर चाहिँ बारम्बार भन्ने गरेको हुनसक्छ।
यो त भयो घरको कुरा।
बाहिर जाने, सिक्ने र जिम्मेवारी लिनेबारे पनि कुरा गर्न मन लाग्यो।
मैले सोधेँ – तपाईंको छोरा घरमा चाहिने सामान किन्न बजार जान्छ कि जाँदैन?
'बाहिर पठाउन डर हुन्छ। असुरक्षा छ। हामी पठाउँदैनौं।'
'घर वरिपरि करेसाबारी छ?'
'छ तर हामी त्यो काममा पनि लगाउँदैनौं।'
'किन?'
'काम गर्न जान्ने होइन, माटोमा लुगा फोहोर बनाउने मात्रै हो।'
मैले सोधेँ – के माटो भनेको फोहोर हो र?
'फोहोर नै त होइन तर बारीमा पठाएर पनि त्यसले काम गर्ने होइन।'
'किन केही पनि काम नलगाउनुभएको त?'
'हामी उसलाई डाक्टर बनाउन चाहन्छौं। काम गरेर हुँदैन, राम्रो पढोस् भन्ने सोचेका हौं।'
माटोले मानिसलाई जीवन सिकाउँछ। जीवनलाई प्रकृतिसँग जोड्छ। आज हामी सबै माटोमै भएर पनि माटोबाट भाग्दैछौं, हाम्रा छोराछोरीलाई पनि भगाउँदैछौं।
यसो भएपछि कसरी बढ्छ कृषि उत्पादन! कसरी हुन्छ कृषिक्रान्ति! कसरी हुन्छ अर्थतन्त्र सुधार!
मेरो मन बहकिएछ।
आफूलाई टुंगामा फर्काएर फेरि अभिभावकलाई सोधेँ – तपाईंको छोरो घर छाडेर कतै जाँदैन, कसैसँग कुरा गर्दैन, केही काम पनि गर्दैन, अनि कसरी सिक्छ? कोसँग सिक्छ? अब कहिले सिक्छ?
'सिकोस् भनेरै स्कुल हालेको हो नि! राम्रो पढ्ला र डाक्टर बन्ला भनेर।'
अभिभावकको कुरा सुनेर छक्क परेँ। उहाँको भावना अन्यथा होइन, छोरालाई कुनै काम नलगाई पढाउने विचार नराम्रो हो भन्न मिलेन।
अब कुरा गरौं विद्यालयले सिकाउने तरिकाको, विद्यालयमा उपलब्ध हुने सिकाइ अवसरको।
केही अपवाद छाडेर अधिकांश विद्यालयमा विद्यार्थीलाई सजिलो हुने गरी होइन, शिक्षकलाई सजिलो हुने गरी पढाइन्छ। हामी शिक्षकको एकल प्रस्तुति हुन्छ, प्रवचन विधि हुन्छ। शिक्षकले तयार गर्ने र शिक्षकले नै प्रस्तुत गर्ने अनि विद्यार्थी हाई काट्दै दर्शक-श्रोता बन्ने तरिका हुन्छ।
आफ्नो प्रस्तुति सकिएपछि सोधिन्छ – बुझ्यौ कि नाइँ?
विद्यार्थीहरू एक स्वरमा भन्छन् – बुझ्यौं सर, बुझ्यौं मिस।
अनि हामी अघि बढ्छौं।
पाठको योजना र तयारी हामी शिक्षकको, कक्षामा बोल्ने र केही लेख्नुपर्यो भने लेख्ने पनि हामी नै, अन्तर्क्रिया पनि हामीले चाहे अनुसारको।
मूल्यांकन गर्ने पनि हामी आफै।
मेरो मनमा प्रश्न उब्जिन्छ – यस्तो शिक्षण विधिबाट खासमा सिकाइको अवसर हामी शिक्षकलाई प्राप्त हुन्छ कि विद्यार्थीलाई? सिकाइ प्रक्रियामा विद्यार्थीहरूले के काम पाउँछन्? सुनेर र हेरर मात्रै जान्ने हुनुपर्छ कि आफैले गरेर? शिक्षकले सिकाउने हो कि सूचना संकलन गरिदिने हो?
खासका विद्यार्थीले सहभागिताबाट सिक्ने अवसर नै पाएको हुँदैन।
सिकाइ हुन सबैभन्दा पहिला सोचाइ चाहिन्छ। त्यसपछि सञ्चार अनि खोज, छलफल, बहस, प्रस्तुति, विश्लेषण, संश्लेषण, प्रयोग, रचना आदि गतिविधि चाहिन्छ।
यो सबै काममा विद्यार्थी सहभागी भएको हुनुपर्छ तर हामी शिक्षक नै गरिदिन्छौं, विद्यार्थीलाई केवल दर्शक-श्रोता बनाइदिन्छौं।
हामी शिक्षकले सबै काम आफै गर्नुका थुप्रै कारण हुन सक्छन्। निर्धारित समयमा कोर्स पूरा गर्नुपर्ने, साधनस्रोतको अभाव, तयारीको लागि समय अभाव, विद्यार्थीहरू परिपक्व छैनन् भन्ने भावना जस्ता कारणहरू हुन सक्छन्।
हामी शिक्षकलाई विद्यार्थीसँग छलफल गर्ने, उनीहरूलाई खोज र प्रस्तुति गर्न लगाउने, सूचना विश्लेषण गराउने, प्रयोगको अवसर दिने काममा समयको अभाव हुन सक्छ। यसरी समय व्यवस्थापन गर्ने सीप नहुन पनि सक्छ। जुन कारणले भए पनि विद्यार्थीहरूले आफ्नो सक्रिय सहभागितामा सिक्ने अवसर गुमाइरहेको हुन्छ।
यहाँनिर हामी शिक्षकको एउटा जबर्जस्त बुझाइ हुने गरेको छ – विद्यार्थीहरू सक्दैनन्, यिनीहरू कच्चा छन्, मैले नै नगरिदिई हुँदैन।
मलाई आफैलाई सोध्न मन लाग्छ – हामी शिक्षक मात्र सबै थोक जान्ने र जिम्मेवार कसरी भयौं?
वास्तवमा हामी शिक्षक सबै थोक जान्ने र जिम्मेवार भएका होइनौं। हामीले विद्यार्थी अवसर दिने तरिका थाहा नपाएका हौं, यससम्बन्धी ज्ञानको अभाव भएको हो। अन्य परिस्थितिजन्य कारणले शिक्षकले नै सबै थोक गरिदिनुपर्ने भएको पनि हुन सक्छ।
कारण जे भए पनि विद्यार्थीको सिकाइ कमजोर भएको हुन्छ। यस्तै सिकाइ प्रक्रियाबाट हामी वार्षिक परीक्षामा उत्कृष्ट परिणाम खोज्छौं।
नेपालको विद्यालय शिक्षामा यस्तै चलेको छ। यस्तै सिकाइ प्रक्रियाको परिणाम हो २०८० सालको को एसइई नतिजामा आधाभन्दा बढी अनुत्तीर्ण हुनु। अब २०८१ को नतिजा पनि खास फरक हुने छैन। हामी सबैलाई परीक्षाको परिणाममा चिन्ता छ। सुधार्नुपर्छ भनेर लागेका छौं तर सुधार्ने तरिका थाहा छैन। सुधार गर्नुपर्ने परीक्षाको नतिजा हो कि सिकाइ प्रक्रिया?
सिकाइ प्रक्रियामा सुधार हुँदा विद्यार्थी ठीक ढंगले सिक्छ अनि स्वतः नतिजामा पनि सुधार हुन्छ। आजको आवश्यकता सिकाइ प्रक्रियामा सुधार हो। आज हामीले प्रयोग गर्दै गरेको शिक्षण विधि हाम्रा शिक्षकहरूको हो। हाम्रा शिक्षकका शिक्षकको विधि पनि त्यही थियो। हामीले परिमार्जन र सुधार गर्न सकेकै छैनौं।
आधुनिक प्रविधिका हामी शिक्षकले पनि सिकाइमा विद्यार्थीको सहभागिता बढाउन सकेका छैनौं। सिकाइमा विद्यार्थी सहभागिताको अवसर सिर्जना गर्न सकेका छैनौं। यस्तो अवसर सिर्जनाका लागि आजका शिक्षक र सम्बद्ध निकायहरूको ध्यान जान सकेको छैन।
विद्यार्थीको सिकाइ क्रमशः घरमा, विद्यालयमा र समाजमा हुन्छ। अहिले भर्चुअल माध्यम पनि सशक्त रूपमा आएको छ।
घरमा आमाबुबा, बाजेबज्यै र अन्य सदस्यहरूले सिकाइका लागि बालबालिकाको सहभागिता बढाउनुपर्छ। स्कुलमा शिक्षकले अवसर दिनुपर्छ। समाजले र प्रकृतिले स्वतः अवसर दिएको हुन्छ।
सिकाइ जहाँ पनि हुन सक्छ तर मुख्य आवश्यकता सहभागिताको हो, जति बढी सहभागिता उति बढी सिकाइ। छलफलमा, क्रियाकलापमा, अनुभवको अवसरमा र अनुभव आदानप्रदानमा, सिप प्रयोगमा र यस्तै गतिविधिहरूमा जति बढी सहभागिता हुन्छ त्यति बढी सिकाइ हुन्छ।
सिकाइ प्रक्रिया सुरू हुने पनि यसरी नै हो। अन्ततः नतिजा पनि सुधार हुन्छ। विद्यालयमा तुलनात्मक रूपमा सैद्धान्तिक सिकाइ अलिक बढी र व्यावहारिक सिकाइ अलिक कम हुन्छ। विद्यार्थीले विद्यालयमा भाषा, गणित, सञ्चार, तर्क, विश्लेषण, संश्लेषण, खोज, अनुसन्धान, समस्या समाधान, रचना जस्ता सीप सिक्छ। आफ्नो घरमा र समाजमा यसको व्यावहारिक प्रयोग गर्छ। घरमा आफ्नो कोठा सफा राख्ने, सामान व्यवस्थित गर्ने, खाने कुरा बनाउने, सानोतिनो किनमेल गर्ने, सानातिनो काम सघाउने जस्तो व्यावहारिक सिकाइ हुन्छ।
समाजबाट मेलमिलाप, सहयोग आदान–प्रदान, सामूहिक काम, कामको जिम्मेवारी आदि अवसर प्राप्त हुन्छ।
विद्यालय वास्तविक संसारमा हुने, गर्नुपर्ने र आइपर्ने काममा आवश्यक ज्ञान, सीप र धारणा विकासका लागि संसारको सानो अनुकृति हो। विद्यालयले यसैअनुसार विद्यार्थीलाई दीक्षित बनाउन सकेको हुनुपर्छ। अभिभावक, शिक्षक र समाजका सदस्यले तत् तत् स्थानबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्छ। सिकाइको सहभागितामूलक अवसर सिर्जना गरिदिनुपर्छ।
यसो हुँदा मात्र यो आलेखको प्रारम्भमा प्रस्तुत गरिएका जस्ता अभिभावकको चिन्ता दूर हुन सक्छ।
(लेखक प्रेमबहादुर विश्वकर्मा सैनिक आवासीय महाविद्यालय, सुर्खेतका प्रिन्सिपल हुन्।)