इतिहास होस् या वर्तमान — जुनसुकै कालखण्डमा निकै रहस्यमयी मानिन्छ चीनलाई।
चीनमा प्रमुख चार आविष्कार भए — कागज, छपाई गर्ने प्रचलन, गनपाउडर र कम्पास।
त्यसबाहेक चीनको सिल्क अर्थात रेशम उत्पादनको रहस्य गज्जबै थियो। चपस्टिकको थालनी चीनमै भयो। चिया उत्पादन त्यहीँ। चंगा विश्वलाई चिनाउने चीन नै हो। अबाकसको विकास उसैले गरेको हो। अद्भूत इञ्जिनियरिङवाला ग्र्यान्ड क्यानल र विश्वकै लामो पर्खाल ग्रेटवालको निर्माण चीनले कसरी सम्भव बनायो?
कुनै चमत्कारभन्दा कम छैनन्।
चीनको चमत्कार रोकिएको छैन। रोकिनेवाला पनि छैन। भयंकर भयंकर संरचना र प्रविधिको विकाससँगै विश्वलाई जादुयी प्रगति देखाइरहेकै छ। उच्च गुणस्तरको विकासको सोच। चीनलाई युरोपसँग जोड्ने परिकल्पना। डेढ लाख किलोमिटरभन्दा लामो रेलमार्ग सञ्जाल निर्माण। तीव्र गतिको रेल। समुद्रमा लामो पुल। विश्वकै अग्लो र लामो सिसानिर्मित पुल। लामै छ चीनको चामत्कारिक विकासको सूची।
मदर रिभरका नामले चिनिने चीनको याङ्जे एसियाकै लामो नदी हो। अझ एउटै देशमा बग्ने यति लामो नदी संसारमै छैन। याङ्जेले आफ्नै किनारमा राखेको छ सांघाईलाई। सांघाईलाई पूर्व-पश्चिममा पनि याङ्जेले बाँडेको छ। चोङकिङ, वुहान, यिचाङ, नान्जिङजस्ता सहर पनि यही नदी किनारमा छन्।
यलो रिभर आसपास प्राचीन हुवाङ हे सभ्यताको थालनी भयो। संसारका चार पुराना सभ्यतामध्येको चिनियाँ सभ्यता यिनै नदी किनारमा फस्टाएकाले यिनीहरूप्रति अगाढ आस्था छ चिनियाँहरूको।
किनलिङ माउन्टेन र हुआई नदी मानक हुन् जनवादी गणतन्त्र चीनलाई उत्तर र दक्षिणमा बराबर बाँड्ने। चौध देशसँग सिमाना जोडिएको चीन विशाल हुने नै भयो। भूगोलमा नेपालभन्दा पैंसट्ठी गुणा ठूलो। आविष्कारमा नेपालभन्दा थुप्रै अगाडि। समृद्धिमा धेरै छलाङ मारेको। तर जातजाति र भाषाभाषीमा नेपालै अगाडि रहेछ। नेपालमा १४२ जातजाति, १२४ भाषाभाषी। चीनमा ५६ जातजाति, ५३ भाषाभाषी। २३ भाषाका मात्रै आफ्नै लिपि।
चीन र ५ को संयोग
संयुक्त रूपमा 'वुयु' भनिने चर्चित पाँच पहाड रहेछन् चीनमा — ताई, हुवासान, हेङ (उत्तर), हेङसान (दक्षिण) र सोङसान।
यी अद्भूतै अग्ला पहाड होइनन्। प्राचीन हान वंशले पहिचान गरी त्यसपछिका वंश, बुद्धिजम र ताओ धर्मले मन्दिर निर्माण र धार्मिक क्रियाकलाप सञ्चालन गरेर चर्चित बनाएका टाकुरा रहेछन्। पूर्वीय ताओ दर्शनमा पञ्चतत्वको प्रतीक मानिने यिनलाई अहिले ग्रेट माउन्टेन भनिँदो रहेछ।
पाँचवटै पानी प्रणाली रहेछन् चीनमा — हुवाइ हे, लियाओहे, सोङ्हुआ, यलो र याङ्जे।
रोचक त के भने, एक हजार सात सय ७६ किलोमिटर लामो विश्वकै सबभन्दा लामो कृत्रिम नहर ग्र्यान्ड क्यानलको इञ्जिनियरिङ ती सबैलाई जोड्ने गरी डिजाइन गरिएको रहेछ।
चीनमा पाँचवटै स्वशासित क्षेत्र — सिन्जियाङ, तिब्बत, भित्री मंगोलिया, ग्वाङसी र निङसिया रहेछन्।
राजनीति
इतिहासमा विभिन्न वंशको राज। तेह्रौं शताब्दीका सात दशकसम्म भोगेको मंगोलियाको दबदबा। जापानसँग पटक पटकको युद्ध। उन्नाइसौं शताब्दीको मध्यतिर ब्रिटिससँग पहिलो अफिम वार र केही वर्षपछि ब्रिटिससहित फ्रान्ससँग दोस्रो अफिम वारको शिकार। यी सबैले चीनको राजनीतिलाई पनि रहस्यमयी बनाए।
हाल पिपल्स कंग्रेस पद्धति अँगालेको जनवादी गणतन्त्र चीन कम्युनिस्ट राज्य हो। सन् १९४९ देखि समाजवादी व्यवस्था अँगालेको चीनमा पछिल्लो पचहत्तर वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सत्तासीन छ। सन् १९२१ मा बेइजिङमा स्थापना भएको उक्त पार्टीका ९ करोड ९० लाख सदस्य रहेछन्। चीनमा राजनीतिक स्थायित्व छ र त विकासमा फड्को मारेको छ। चिनियाँहरू भरोसा गर्छन् तिनका नेतामा। गर्व गर्छन् सरकारका योजनामा। किनकि कुनै बेला जीवनयापन निकै कठिन भएको चीन आज यो बिन्दुमा पुग्न तिनै नेताको दूरदृष्टिका कारण सम्भव भएको हो।
साइकल संस्कृति
'साइकल किङ्डम' घोषित चीनमा साइकलको अथाह प्रयोग थियो कुनै बेला। सुरूआति चरणमा 'विदेशी घोडा' नाम दिइएको थियो साइकललाई।
यातायातको गज्जबको साधन सावित भएको थियो — यात्रा गर्न, सामान ओसार्न।
साठी-सत्तरीको दशकमा चीनमा विलासिताको प्रतीक मानिने तीन वस्तु — साइकल, घडी र सिलाई मेसिनमध्ये पहिलो थियो साइकल।
अहिले पनि साइकलको प्रयोग कहाँ घटेको छ र?
जसलाई नजिकै कहीँ जानु छ, व्यायाम गर्नु छ वा मेट्रो चढ्न स्टेसनसम्म जानु छ, ती आउँछन्, विच्याट वा अलिपे वा अन्य पेमेन्ट गेटवेबाट शुल्क तिरेर लग इन गर्छन्। साइकल चढ्छन्। गन्तव्यमा पुग्छन्। फर्किन्छन्। न कसैलाई गाडी चढेकोमा गर्व, न गाडी चढ्न पाइनँ भनेर ग्लानी।
कोरोनापछि मानिसहरू संक्रमणको डरले बस, मेट्रोजस्ता सार्वजनिक यातायात चढ्न डराए। साइकल सुरक्षित देखिएपछि त झन् जिपिएस ट्रयाक गर्न मिल्ने, इ-पेमेन्ट सेवासहित साइकल संस्कृति पुनः मौलायो। रंगीन दुईपांग्रेहरू चीनका साइकल ट्रयाकमा जबरदस्त बढ्न थाले।
सडकमा पहेलो, निलो, हरियो रङका साइकलको ताँती छ। साइकल सेयर गर्ने दुई कम्पनी, मोबाइक र ओफोले मात्रै डेढ सय सहरमा डेढ करोडभन्दा बढी साइकल भाडा प्रयोजनका लागि राखिदिएका छन्। फरक कम्पनीका फरक रङका साइकल। एक साइकलले दिनमा सात ट्रिपसम्म गर्छ भन्छ तथ्यांकले। साइकल मात्र होइन, कार, मोबाइल जस्ता साधनहरू किन्ने भन्दा सेयरिङ गरेर विश्वमै सेयरिङ इकोनोमीमा अग्रणी भइसकेको छ चीन।
जीवनशैली
सर्लक्क ज्यान। स्वास्थ्यप्रति सजग। कसरत, हिँहडुल गर्न जताततै पार्कहरू। खेलकुदमा रूचि बढी। उसु, मार्सल-आर्ट्सजस्ता परम्परागत खेललाई प्राथमिकता। खेलकुदका लागि मात्रै आधा दर्जन बढी विश्वविद्यालय। पछिल्ला ओलम्पिक खेलकुदमा चीनको उत्कृष्ट प्रदर्शनी उनीहरूको खेलप्रतिको लगावका कारण पनि होला।
सन् १९७९ मा बढ्दो जनसंख्या नियन्त्रण गर्न एक सन्तान नीति लिएको चीनमा अहिले घट्दो जनसंख्यालाई मध्यनजर गर्दै दुई सन्तान हुँदै हाल तीन सन्तान जन्माउन सक्ने व्यवस्था आए पनि प्रभावकारी हुन सकेन। जनसंख्यामा चीनलाई भारतले उछिनिसक्यो।
हाइजेनिक खानेकुरा खाने बानी। साँझ सात बजेअघि खाइसक्ने। दक्षिणमा राइस बढी खाने, उत्तरमा नुडल्स। मासु खपतमा विश्वमै अग्रणी। सन् २०२१ मा विश्वको सत्ताइस प्रतिशत चीनले खपत गरेछ। सबैभन्दा बढी पोर्क। दोस्रोमा चिकेन। त्यसपछि सि-फुड। अलि कम बिफ। अनि भेडाको मासु। मटन एकदमै कम। मसलामा रूचि छैन। बरू मासुमा पनि आलु मिसाउने। फर्सी, सखरखण्ड, लेट्युस, कमलको जरा, ब्ल्याक मसरूम बढी खाने।
ग्रीन इकोनोमीमा बहुत ध्यान दिइएको। सयौं किलोमिटर सडकमा दायाँबायाँ हरियाली नभएको कहीँ कतै ठाउँ छैन। फ्लाई-ओभरका पिलरहरू समेत लहरामय छन्। विमानस्थलभित्रै केराका बोट उमारिएका छन्, सियामेनमा देखेको।
पेडेस्टेरियन स्ट्रिट
सहरमा पैदलयात्रीको बेग्लै संसार हुने पेडेस्टेरियन स्ट्रिटहरू छन्। हार्विन सहरको जोङयाङ एभेन्यु। सियामेनको जोङसान लु। बेइजिङको वाङकुजियाङ स्ट्रिट जहाँ दैनिक साढे दुई लाख मानिस हिँड्छन्। सांघाईको नान्जिङ रोडमा त दसौं लाख नाघ्छन्। ती सडकमा गाडी हुँदैनन्, पैदलयात्रीको एकाधिकार हुन्छ।
साँझपख मानिस बढी आउँछन्, रमाउँछन्, किनमेल गर्छन्, टहलिन्छन्। आकाश तिनकै हुन्छ। सारा माहोल तिनकै। दुई-तीन किलोमिटर हिँडेको पत्तै नहुने। बालेनले सायद न्युरोडका सडक यस्तै बनाउन खोजेका हुन् कि! नान्जिङ स्ट्रिटबाटै फैलिँदै गरेको न्युरोडको सम्झना गरेँ।
प्रविधि
माया गर्नेहरू गीतमा आफ्नै बेग्लै संसार बनाउने कुरा गर्छन्। माया गर्नेहरूलाई समेत उछिनेको छ चीनले। आफ्नै अलग संसार बनाएर। प्रविधिको भरपुर प्रयोग र पूर्वाधारको चरम विकास गरेर। उसको आफ्नै सुपरएप विच्याट छ। गुगलले काम गर्दैन। आर्टिफिसियल इन्टेलिजेन्स, पाँचौं पुस्ताको प्रविधिको उच्चतम् प्रयोग गरेकै छ। छैटौं पुस्ताको प्रविधिमा पनि अग्रणी हुन चाहन्छ। बाइडु, टेनसेन्ट, अलिबाबाले फड्को मारिरहेका छन्। वन प्लस, ओप्पो, भिभो, हुवावे, साओमीजस्ता आफ्नै मोबाइल ब्रान्ड हुँदाहुँदै पनि आइफोनप्रति चाइनिजहरूको क्रेज बेग्लै छ।
जताततै पावरफुल सिसिटिभीबाट सर्भिलेन्स। रोबोटले चलाउने अटोमेटिक सवारी साधनको विकास। रोबोटको उपयोग। सेन्सरको प्रविधिको प्रयोग। अटोमेटिक कार्यस्थलहरू। इतिहास र संस्कृतिलाई प्रविधिसँग जोडेर जीवन्त बनाएको छ चीनले।
सामान्य अंग्रेजी बुझ्ने चिनियाँहरू बिरलै भेटिन्छन्। होर्डिङ बोर्ड या सार्वजनिक सूचनाहरूमा पनि अंकबाहेक अंग्रेजीमा केही नदेखिने। अन्तर्राष्ट्रिय तालिम, सेमिनार इन्टरप्रिटर राखेरै चलाइन्छन्।
सन् २००८ मा बेइजिङले ओलम्पिक खेलकुद आयोजना गर्ने भएपछि उनीहरूमा अंग्रेजी भाषाप्रति आकर्षण बढेको रहेछ। अहिलेको जेनेरेसन अंग्रेजीमा रुचि राख्छ। बाहिरको मान्छे देखे परिचय गर्न, सेल्फी खिच्न अघि सर्छ।
अर्थतन्त्र
चीनले पर्दा उघारेर विश्व मञ्चमा पाइला टेकेको सन् १९७८ पछि साढे चार दशक भयो। यो बीचमा उसले थुप्रै देशमा लगानी गरेको छ, थुप्रै देशका लगानीकर्तालाई आकर्षित गरेको छ। १९५० को दशकमा खाद्यान्न, साबुन, सलाई, कपडाजस्ता आधारभूत वस्तुहरू र साइकल, सिलाइ मेसिनजस्ता सामग्रीहरू कुपनका माध्यमबाट वितरण गरिन्थ्यो चीनमा। टिकट इकोनोमी वा कुपन इकोनोमी नाम दिएइको थियो त्यसलाई। त्यही मुलुक अहिले संसारकै शक्तिशाली अर्थतन्त्रका रूपमा उदाएको छ। बिआरआईको नेतृत्व गरिरहेको छ। एपेकमा योगदान गरेकै छ।
चीनले अहिले एक सय चालीसभन्दा बढी देशमा निर्यात गर्छ। उसका पाँचवटा विशेष आर्थिक क्षेत्र छन्। चौधवटा कोस्टल पोर्ट सञ्चालनमा ल्याएको छ। बाइसवटा पाइलट फ्री ट्रेड जोन स्थापना गरिसकेको छ। व्यापार सहजीकरणका लागि अत्याधुनिक संरचनाहरू र संयन्त्रहरू बनाएको छ।
व्यापारका कुरा गर्छन् चिनियाँहरू। गर्व गर्छन् चाइनिज इ-कमर्सको अग्रणी अलि बाबामाथि। तिनले ज्याक माभन्दा अलिबाबालाई चिन्छन्, चिनाउँछन्।
उहिलेको सिल्क रोडदेखि अहिलेको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वलाई घेर्न सफल छ चीन। त्यसै सबभन्दा ठूलो निर्यातकर्ता भएको होइन। गत वर्ष मात्र विश्वको कुल निर्यातमा ११.४ प्रतिशत हिस्सा चीनको छ। हाइटेक प्रविधि निर्यातको त बीस प्रतिशतभन्दा बढी ओगट्छ। नब्बेको दशकको सुरूआतदेखि बजार अर्थतन्त्र नीति अँगालेको चीन आज सबभन्दा ठूलो फर्निचर निर्यातकर्ता बनेको छ। पानीजहाज निर्माणमा पहिलो भएको छ। आगामी दिनमा सबैमा पहिलो हुन चाहन्छ।
(उपाध्याय पिएलजिएसपी कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)