हाम्रो समयको जुद्धोदय पब्लिक हाई स्कुल
मैले आफू पढेको जुद्धोदय पब्लिक हाई स्कुलबारे धारावाहिक शृंखला लेख्न थालेको दुई साता भयो।
काठमाडौंको क्षेत्रपाटी चाक्सीबारी क्षेत्रमा रहेको जुद्धोदय पब्लिक हाई स्कुल (जेपी हाई स्कुल) देशका पुराना स्कुलमध्ये पर्छ। असी वर्ष पार गरिसकेको यो स्कुलमा मैले शैक्षिक वर्ष २००९/१० देखि २०१५/१६ सम्म जम्मा सात वर्ष बिताएको थिएँ।
पहिलो अंकमा मैले स्कुल स्थापनाबारे र हामीलाई पढाउने मास्टर साहेबहरूबारे चर्चा गरेको थिएँ।
दोस्रो अंकमा शैक्षिक सत्र, परीक्षा प्रणाली, स्कुलका अविस्मरणीय घटना र स्कुलमा विशिष्ट महानुभावहरूको आगमनबारे सम्झना गरेँ।
अब अगाडि —
यो भागलाई मैले दुई खण्डमा बाँडेको छु। पहिलो खण्डमा म आफ्नो पढाइको स्थिति, स्कुलमा गरेका उटपट्याङ काम उल्लेख गर्नेछु भने दोस्रो खण्डमा खेलकुद र अतिरिक्त क्रियाकलापमा अभिरूचि र संलग्नतालाई समेट्ने छु।
पहिलो खण्ड: प्रवेशिका परीक्षामा दुईपटक फेल
लामो समय बिरामी भएपछि स्कुल परिवर्तन मात्र नभई मेरो कक्षा नै घटाइएको थियो।
विश्व निकेतन हाई स्कुलमा पाँच कक्षा पढिसकेको विद्यार्थीलाई जुद्धोदय पब्लिक हाई स्कुलमा चौथो कक्षामा भर्ना गरिएकोबारे मैले यसै श्रृंखलाको अघिल्लो खण्डमा उल्लेख गरिसकेँ।
सुरूका दुई वर्ष, अर्थात् कक्षा ४ र ५ मा म राम्रै विद्यार्थीमा गनिएँ। पछिका कक्षामा भने पढाइमा राम्रो गर्न सकिनँ। दस कक्षासम्मै म कमजोर विद्यार्थी रहेँ। विशेषगरी म हिसाबमा कमजोर थिएँ। कतिसम्म कमजोर भने, कक्षा ८ मा हिसाबमा शून्य आएको थियो (हेर्नुहोस् चित्र १)। किन कमजोर भएँ, त्यसको कारण मलाई थाहा छैन। स्कुलका मास्टरहरूले पनि यो कारणले कमजोर भएँ भनेर भनेनन्।
चित्र १ द्वारिकानाथ ढुंगेलको कक्षा ४ देखि १० सम्म प्राप्त लब्धांक। स्रोतः जेपी हाई स्कुल, क्षेत्रपाटी (नोटः स्कुलको रेकर्डबाट सारेको तथा एक, दुई र तीन नम्बर दिएर उल्लेख गरिएका नाम कक्षामा पहिला, दोस्रा र तेस्रा भएका विद्यार्थीका नाम हुन्)
दुई विषयसम्म फेल भए पनि कक्षा चढाउने त्यो बेलाको शिक्षा प्रणाली अनौठो थियो। त्यस्तो प्रथा नभएको भए मैले २०१६ सालको वार्षिक परीक्षामा समावेश हुन योग्य ठहर्याएर प्रवेशिका परीक्षाको फारम भर्न अनुमति पाउने थिइनँ र माघ महिनामा सम्पन्न परीक्षामा सामेल हुने थिइनँ।
२०१६ सालमा हाम्रो जेपी हाई स्कुलका विद्यार्थीको परीक्षा केन्द्र पद्मोदय हाई स्कुलमा परेको थियो। २०१७ वैशाख १२ गते परीक्षाफल निस्क्यो। परीक्षा नियन्त्रण कार्यालय रहेको सरस्वती सदनमा नतिजा टाँसिएको थाहा पाएर म हतार हतार हेर्न गएँ। त्यहाँ मसँगै परीक्षा दिएका मधुसूदन तिमिल्सिना, जो मेरो बाबुबाजेको गाउँ कटुञ्जेका निवासी थिए, उनीसँग भेट भयो। परीक्षाफलको सूचीमा उनले आफ्नो नम्बर भेटे र खुसीले उफ्रन थाले। आफ्नो भने कतै नम्बर भेटिएन।
म फेल भएँ।
निन्याउरो मुख लगाएर घर आएँ। बाजेले सोध्नुभयो। घोसेमुन्टो लगाएर 'रोल नम्बर छैन' भन्ने जबाफ दिएँ। उहाँले गाली गर्नुभएन, बरू ढाडस दिनुभयो। मार्कसिट पाएपछि नेपाली र हिसाबमा फेल भएछु भन्ने थाहा भयो (हेर्नुहोस् चित्र २)।
२०१६ सालको वार्षिक परीक्षामा हाम्रो स्कुलबाट परीक्षा दिनेमा प्रथम श्रेणीमा ३ जना, द्वितीय श्रेणीमा ३५ र तृतीय श्रेणीमा ५८ गरी जम्मा ९६ जना विद्यार्थी पास भएका थिए। पास भएकाहरूलाई स्कुलले औपचारिक बिदाबारी गर्दा खिचेको तस्बिरमा आफू बस्न पाइएन (हेर्नुहोस् चित्र ३)।
टाइपिस्ट बनेर जिन्दगी बिताउँला भन्ने सोचाइ र दोस्रोपल्टको तयारी
फेल भएपछि मेरोसामु ठूलो चुनौती खडा भयो। कसरी पास हुने भन्ने विचार आउन थाल्यो। उमेर पनि १५ वर्ष भइसकेको थियो। टोलका साथीहरूमा धेरैजसो पास भएका थिए। त्यसैले जिस्क्याउने नै भए। घरबाट बाहिर निस्कन सक्ने अवस्था रहेन।
फेल भएपछि 'यसले पढेर खाँदैन' भन्ने कुराका साथै 'अब यसलाई बेलैमा टाइप सिकाएर कतै टाइपिस्टको जागिरमा अल्झाइदिनुपर्छ' भन्ने कुरा पनि भए घरपरिवारमा। फलस्वरूप म नयाँ सडकको 'नेपाल नेसनल कमर्सियल इन्स्टिच्युट' मा टाइपिङ र स्टेनोको तालिम लिन पठाइएँ।
तालिम दिने मास्टर साहेब थिए, नरेन्द्रनाथ भट्टराई (पछि प्रशासन व्यवस्था विभागमा उपसचिव भए) र लगनका रञ्जित थरका व्यक्ति (पछि प्रशासनको तालिममा मेरा टाइपिङ इन्स्ट्रक्टर हुन पुगे)।
निर्धारित अवधि तालिममा बसे पनि गाह्रो लागेर स्टेनो परीक्षामा बस्दै बसिनँ। टाइपमा भने नेपालीमा प्रतिमिनेट २६ शब्द र अंग्रेजी ४० शब्दको गतिसहित पास भएँ र सन् १९६० जुलाई २३ तारिख मिति उल्लेख भएको प्रमाणपत्र हात लाग्यो (हेर्नुहोस् चित्र ४)।
त्यस बखत मेरा बाजेका साहिँला भाइ पूर्णप्रसाद राजदरबारमा जनसम्पर्क अधिकारी हुनुहुन्थ्यो। उहाँले कुनै एउटा परियोजनाको अफिसमा टाइपिस्टको जागिर खुवाउने बस्दोबस्त मिलाउनुभएको रहेछ। धन्न के भएर जोगिएँ। यद्यपि टाइप सिकाइले पछि मलाई निकै फाइदा पुग्यो।
टाइपिङको तालिम लिँदा लिँदै मैले २०१६ सालकै पूरक परीक्षामा सामेल हुन्छु भन्ने कुरा पितामह (बाजे) स्व. कविराज मुक्तिनाथ शर्मा ढुंगेलसँग गरेँ। उहाँले फारम भर्न रकम दिनुभयो। एक–डेढ महिनाको समय थियो, घरमै पढेर परीक्षा दिएँ। परीक्षाकेन्द्र दरबार हाई स्कुलको भुइँ खण्डमा परेको थियो।
२०१७ असोज ५ गते, अर्थात् त्यस वर्ष दसैंको केही दिनअघि परीक्षाफल निस्क्यो। म दोस्रोचोटि पनि फेल भएछु। यसपालि अंग्रेजी दोस्रो पत्र, हिसाब र भूगोलमा फेल भएछु। मेरो र परिवारका सबैका लागि त्यो दसैं निकै खल्लो भयो। तैपनि पितामहले परिवारका अन्य सदस्य सरह मेरा लागि पनि दसैंको नयाँ लुगा किनिदिनुभयो। फेल भएका नातिलाई छालाको जुत्ता किनिदिनुभयो। नयाँ कमिज र प्यान्ट पनि सिलाइदिनुभयो। उहाँले पढाइका लागि निरन्तर ढाडस दिँदै जानुभयो।
तेस्रोचोटिमा सफलता र २०१७ पुस १ को साक्षी
२०१६ सालको पूरक परीक्षामा पनि चुकेपछि २०१७ माघ २ देखि सञ्चालन हुने वार्षिक परीक्षामा समेल हुनुपर्ने भयो। परीक्षाका लागि झन्डै चार–पाँच महिना बाँकी थियो, तर कसरी पार लगाउने?
हिसाब मलाई सधैं नै पहाड चढ्नुभन्दा कठिन लाग्थ्यो। अंग्रेजीमा भने म त्यति कमजोर थिइनँ। भाग्यले साथ दिएर हो वा संयोगले भनौं, जैसीदेवलका प्रेमबहादुर शाक्य (डा. केआई सिंहको पार्टीका सक्रिय सदस्य, जो पछि शिक्षा सहायकमन्त्री भए) ले राममान श्रेष्ठ, बेखानारायण श्रेष्ठ आदिको सहयोग लिएर क्षेत्रपाटी क्षेत्रस्थित कन्या मन्दिर हाई स्कुलमा बिहानको समय कोचिङ कक्षा सञ्चालन गरेको थाहा पाएँ।
मैले पितामहसँग कुरा गरेँ, अनि उहाँको अनुमति र भर्नाबापत् तिर्नुपर्ने रकम पाएपछि कन्या मन्दिर हाई स्कुलमा सञ्चालित कोचिङ कक्षामा भर्ना भएँ।
कक्षामा हामी ४०–५० जना विद्यार्थी थियौं। राममान श्रेष्ठले हिसाब यसरी पढाउनुभयो, मलाई बुझ्न गाह्रो भएन। बेखानारायण श्रेष्ठले भूगोल पढाएको राम्रैसँग बुझेँ। अंग्रेजी लगायत अन्य विषयका मास्टरहरूले पढाएको पनि बुझ्न थालेँ। कक्षामा बढो ध्यान दिएर पढाएको सुन्न थालेँ। घरमा पनि एकदम मन लगाएर पढ्न थालेँ। यसरी पढ्दा र तयारी गर्दा अबको परीक्षामा पास हुन्छु भन्ने आत्मविश्वास बढ्न थाल्यो।
परीक्षाका लागि फारम भर्न आफ्नै जेपी हाई स्कुल जानुपर्थ्यो। २०१७ सालको तिहारपछि फारम भर्न स्कुल पुग्दा मनमा चसक्क काँडा बिज्यो। किनभने, केही सहपाठी बाहेक (उदाहरणका लागि नरदेवी टोलका दामोदर अर्याल, विष्णुराज पाण्डे र पशुपतिभक्त महर्जन) फारम भर्न आउनेमा सबै आफूभन्दा पछिल्लो वर्षको कक्षाका रहेछन्। तिनलाई देख्दा एकदमै आत्मग्लानी भयो। तर जे भए पनि फारम त भर्नैपर्यो, भरेँ।
तयारी सिलसिलामा बिहान कोचिङ कक्षाको पढाइ जारी थियो। साथै, दिउँसोको समय बानेश्वर थापागाउँ क्षेत्रस्थित जेठाबा हरिनाथ ढुंगेलसँग नेपाली र संस्कृत विषय पढ्दै थिएँ। झोछेँको घरबाट धरहरा र भद्रकाली क्षेत्रमा रहेको सैनिक मुख्यालय (हेडक्वार्टर) पछाडिको गोरेटो बाटो हुँदै माइतीघर, बरफबाग र धोबीखोलाको सानो काठेपुल तरेर जेठाबा हरिनाथको घर पुग्थेँ।
त्यसैबीच २०१७ पुस १ गते पनि सदाझैं हिँड्दै सैनिक मुख्यालय पुगेको थिएँ। एक सैनिकले 'आज यो बाटो हिँड्न मिल्दैन' भने। किन भनेर प्रश्न गर्दा उनले 'खुरूक्क भद्रकालीको बाटो भएर जाऊ' भनेर थर्काए।
यति भनाइ खाएपछि सवालजबाफ गर्ने कुरै भएन। जताबाट जाऊ भनेका थिए, त्यही बाटो समातेर बानेश्वर पुगेँ। अनि जेठाबालाई सबै कुरा बताएँ।
भारतीय थल सेनाका अध्यक्ष जनरल थिमैया नेपाल भ्रमणमा छन्, त्यसैले त्यसो गरिएको होला भनेर उहाँले लख काट्नुभयो।
पढाइ सकेर दिउँसो २ बजेतिर घर फर्कने क्रममा नयाँ सडक गेटसँगै उत्तरतर्फ लङमा डा. केआई सिंहको पार्टीका नेता तथा कोचिङ कक्षामा अंग्रेजी पढाउने शिक्षक प्रेमबहादुर शाक्यको कार्यालय पसेँ। उनी दिउँसोको समय आफ्नै कार्यालयमा अंग्रेजी विषयको कोचिङ सञ्चालन गर्थे। त्यहाँ म पनि जाने गर्थेँ। पुस १ गते शाक्यको कार्यालय पुग्दा साढे २ बजे शाही सम्बोधन हुँदैछ भन्ने थाहा भयो।
निर्धारित समयमा भएको शाही सम्बोधनमा राजा महेन्द्रले सरकार विघटन गरेको र देशको स्थिति सन्तोषजनक नभएको बताए। शाही सम्बोधनपछि प्रसारित रेडियो नेपालको समाचारमा प्रधानमन्त्री लगायत मन्त्रिपरिषदका सदस्य पक्राउ परेको सुनियो।
शाही सम्बोधनपछि सडकतिर केही मानिस खुसी भएर घुम्न निस्केका देखिए। शिक्षक शाक्य पनि खुसी देखिए। साँझ नयाँ सडक लगायत केही क्षेत्रमा दिपावली गरेको पनि सुनियो।
राजा महेन्द्रको सम्बोधन तथा शाक्यसँग पढेर घर फर्किँदा १० देखि ४ बजेको हिउँदे कार्यालय समय बितिसकेको थियो। कार्यालय (ड्युटीमा सिंहदरबार) जानुभएका पितामह बेलुका अबेरसम्म घर फर्किनुभएन। हामी आत्तियौं। साँझ साढे ७ बजेपछि उहाँ फर्किनुभयो। अनि पो थाहा भयो, कर्मचारी र जो सिंहदरबार परिसरमा थिए, उनीहरूलाई ७ बजेसम्म निस्कन दिइएनछ। सेनाका अधिकृतहरूले सिंहदरबारभित्र राजनीतिक नेतृत्व वर्ग (मन्त्री र सांसद) खोज्दै समात्ने काम गरेछन्। राजनीतिक नेतृत्व, विशेषगरी मन्त्रीगणलाई पक्राउ गरेपछि मात्र कर्मचारीहरूलाई घर फर्किन सिंहदरबारको ढोका खोलिएछ।
राजा महेन्द्रको सम्बोधनको भोलिपल्ट, अर्थात् पुस २ गते नेपाल तरूण दलका सदस्य मार्सलजुलुम शाक्य झोछेँ टोलबाट रसियन जीपमा माइक लगाएर राजाको कदमविरूद्ध नारा लगाउँदै हिँडेको देखिएका थिए। केही बेरमा उनी पक्राउ परेको सुनियो। कतै अरू केही भएको भने सुनिएन।
त्यसपछि जीवन साधारण रूपमा चल्न थाल्यो। पुस १ को राजनीतिक परिवर्तनको अनुभव गर्ने अनगिन्ती नेपालीमा म पनि परेँ। तर त्यस बखत राजनीतिक परिवर्तन र यसको प्रभावबारे सोच्न सक्ने दिमाग थिएन। साथै आफूलाई परीक्षाको चटारो थियो। त्यसैले कोचिङ कक्षा जाने र तयारी गर्ने क्रम जारी राखेँ।
परीक्षा हुनुभन्दा केही साताअघि प्रवेशपत्र लिन हेडमास्टर रामजीप्रसाद शर्माको क्षेत्रपाटीस्थित आवास पुगेँ। प्रवेशपत्र (हेर्नुहोस् चित्र ५) दिँदै हेडमास्टर शर्माले 'पास त हुन्छस् होला नि' भन्दा आत्मग्लानी भयो। साथै उत्साह पनि जाग्यो।
माघ २ गते परीक्षा सुरू भयो। मेरो रोल नम्बर ७३९ 'के' थियो। परीक्षाकेन्द्र आफ्नै स्कुल जुद्धोदय पब्लिक हाई स्कुल क्षेत्रपाटीमै परेछ। यसपटक जाँच दिन जाँदा आर्मीका ठूला अधिकृत देखिने एक पाको मानिसलाई पनि ठूलो हरियो रसियन मोटरसाइकल चढेर जाँच दिन आएको देख्थेँ। उनी को होलान् भन्ने उत्सुकता थियो।
त्यो उत्सुकता धेरै वर्षपछि (विसं २०२२–२०२४) त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र विषयमा एमए पढ्दा मेटियो। प्रवेशिका परीक्षा दिँदा देखिएका व्यक्ति त जनरल समरराज कुँवर, अर्थात् राजा महेन्द्रका एडिसी ब्रिगेडियर जनरल रहेछन्। उनी प्रवेशिका परीक्षा दिँदा लेफ्टिनेन्ट कर्णेल पदमा थिए कि!
फेरि प्रवेशिका परीक्षा दिँदाकै समयतर्फ फर्कौं।
हिसाबले तर्साउला भनेर डराई डराई परीक्षा दिएको थिएँ। परीक्षापछि खाली समय विगतमा जस्तै नेपाल–भारत सांस्कृतिक केन्द्रको लाइब्रेरी गएर अंग्रेजी पत्रिका, उदाहरणका लागि टाइम्स अफ इन्डिया पल्टाउँथेँ। त्यस्तै, नयाँ सडकको अमेरिकी लाइब्रेरी पुगेर पत्रपत्रिका पढ्थेँ, डकुमेन्ट्री सिनेमा हेर्थेँ। त्यहीँ सडक पारिपट्टि रहेको ब्रिटिस काउन्सिल लाइब्रेरी पुगेर पत्रपत्रिकाहरू पढ्थेँ।
२०१८ जेठ ५ गते परीक्षाफल निस्क्यो। डराई डराई नम्बर हेर्दा तृतीय श्रेणीमा पास भएको रहेछु। दामोदर अर्याल र पशुपतिभक्त महर्जन पनि पास भएछन्। आफैले पढेको जेपी हाई स्कुलका रमेश भट्टले बोर्डमा टप, अर्थात् प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेछन्।
परीक्षाफल हेरेर घर फर्की खबर सुनाएपछि परिवारमा खुसीको लहर छायो। मुख्य कुरा त जीवनको सबभन्दा ठूलो खड्गो पार गरियोजस्तो लाग्यो। तैपनि आफ्ना सहपाठीहरूभन्दा एक वर्ष पछि भएँ भन्ने हिनताबोध रहिरह्यो। उनीहरू आइए/आइएससी वा आइकम दोस्रो वर्ष पढ्न थाल्दा आफू प्रथम वर्षको विद्यार्थी हुने स्थितिमा थिएँ।
जे होस् वा जुन कारणबाट होस्, म ताहाचलस्थित दरबार कलेजमा अर्थशास्त्र, नागरिकशास्त्र, नेपाली भाषा र अंग्रेजी साहित्य लिएर आइए पढ्न थालेँ। यसबारे विस्तृत रूपमा २०८० चैत २९ गते 'सम्झनामा दरबार कलेज' शीर्षकमा प्रकाशित गरिसकेको छु।
दरबार कलेजमा पढ्न थालेपछि बिस्तारै हिनताबोधको भावना हराउँदै गयो र विद्यार्थी जीवन सहज रूपमा अघि बढ्यो।
जेठ ५ (२०१८) मा परीक्षाफल निस्केको केही समयपछि स्कुलले लब्धांक (हेर्नुहोस् चित्र ६), चरित्र प्रमाणपत्र (हेर्नुहोस् चित्र ७) र शारीरिक शिक्षा कार्यक्रममा भाग लिएबापतको प्रमाणपत्र (हेर्नुहोस् चित्र ८) उपलब्ध गरायो। सरकारको तर्फबाट प्राप्त हुनुपर्ने प्रमाणपत्र भने दुई वर्षपछि प्राप्त भएको थियो (हेर्नुहोस् चित्र ९)।
स्कुल तर्फबाट प्रमाणपत्रहरू उपलब्ध गराइएपछि परीक्षामा सफल विद्यार्थीहरूको सामूहिक बिदाइ कार्यक्रम २०१८ साल असार पहिलो साता राखियो।
बिदाई कार्यक्रममा उपस्थित मास्टर र विद्यार्थीहरूको तस्बिर खिच्ने काम सम्पन्न गराउनुका साथै चिया–नास्ता खुवाएर स्कुलले औपचारिक रूपमा उच्च अध्ययनको सफलताको कामना गर्यो।
२०१६ सालको बिदाइ तस्बिरमा पर्नुपर्नेमा २०१७ को परीक्षामा सामेल भएकामध्ये सफल भएकाहरूसँग बसेर तस्बिर खिचाउनुपरेको थियो (हेर्नुहोस् चित्र १०)। जे होस्, बिदाइ कार्यक्रममा भाग लिएर सहपाठी दामोदर अर्याल र म क्षेत्रपाटीबाट नरदेवी, काठमाडौं गणेशस्थान, पचली, सानेपा हुँदै जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटोजात्रा हेर्न गएको हिजैजस्तो लाग्छ।
उट्पट्याङ सम्झना
सात वर्ष स्कुलमा पढ्दा उट्पट्याङ काम गरिएन भन्न मिल्दैन। तीमध्ये सम्झनामा रहेका केही घटना यस प्रकार छन् —
(क) स्कुल नहुँदा वा आधा छुट्टी भएपछि म हाल नेपाल स्काउटको केन्द्रीय परिसर रहेको लैनचौर वा नारायणहिटी परिसर क्षेत्रमा रहेको पोखरीमा पौडी खेल्न साथीहरूका साथ लागेर जान्थेँ। अर्थोक नजाने पनि भ्यागुते ताल पौडी खेल्थेँ। अहिले पनि त्यस प्रकार पौडी खेल्ने हिम्मत छ नै।
(ख) स्कुल वरपर खेल्ने चौर नहुनाले खाली समय, विशेषगरी हाफ–टाइममा स्कुल भवनकै पछाडिको धानखेत, जो पछि स्कुलले लिएर खेल मैदान बनाएको छ, मा हिउँदको समय खेल्न जान्थ्यौं। वर्षामा भने हिलोले टेक्न पाइँदैन थियो। त्यस्तै, स्कुल नजिकै छिमेकीको बारीमा फलेको वा ठमेलका गल्लीको कुनै घरको पर्खाल नजिकै रूखमा फलेको पाकेको किम्बु टिपेर खाने हिम्मत गरिन्थ्यो। त्यसो गर्दा घरधनीले देखे गाली गर्थे। कहिलेकाहीँ लखेट्न आउँदा हामी टाप कस्थ्यौं।
नारायणहिटी राजदरबारको उत्तरतर्फ शंकर होटलको पर्खालमै जोडिएका नासपातीका रूख थिए। कहिलेकाहीँ त्यहाँ पनि पुगिन्थ्यो। लटरम्म नासपाती पाकेका बेला त्यहाँ पुग्दा घरधनीले नदेख्ने गरी पर्खाल चढेर नासपाती टिपेर पनि खाइयो।
(ग) स्कुल कम्पाउन्ड नजिकै अच्युत, प्रदीप र उपेन्द्र धिताल बस्थे। अतः खाली समय साथीहरू धिताल दाजुभाइसँग गुच्चा खेल्थे। म पनि बेलाबेला उनीहरू गुच्चा खेलेको हेर्न र जिस्क्याउन जान्थेँ। त्यसरी जिस्क्याउँदा मित्रतापूर्ण झगडा पनि हुने गर्थ्यो।
धिताल दाजुभाइमा डा. अच्युत धिताल लामो समयसम्म बेलायतमा मुटु चिकित्सक भई निवृत जीवनयापन गर्दैछन्। उनले उट्पट्याङ क्रममा 'मलाई द्वारे' भनेर जिस्क्याउँथे, जुन उनी आज पनि सम्झाउने गर्छन्।
(घ) खाली समयमै कहिलेकाहीँ कुस्ती खेल्ने हिम्मत गरिन्थ्यो। त्यसो गर्दा मास्टर साहेबहरूले देखे ढाडमा छडी बजाइहाल्थे। पढाउने मास्टर साहेबहरूमा मुकुन्दनाथ रेग्मी एकदम दुब्ला थिए। उनले चस्मा पनि बाक्लै लगाएको सम्झना छ। उनी कुर्सीमा पलेँटी मारेर किताबमा ध्यान केन्द्रित गरी पढाउन लाग्दा हामीले छुकछुक र हल्ला गर्न थाल्यौं भने नकाराओ भन्थे। त्यसो भन्दा पनि चुप नलाग्दा एक–दुईपटक मस्त छडी खाएको धमिलो सम्झना छ।
(ङ) दिउँसो कक्षा चल्दा बिहान कान्ति ईश्वरी राज्यलक्ष्मी विद्यालय चल्थ्यो। हामी पढ्न स्कुल पुग्दा बिहान पढ्ने दिदी–बहिनीहरू पढाइ सकेर निस्कने बेला हुन्थ्यो। उनीहरू स्कुलबाट निस्कँदा कहिलेकाहीँ उट्पट्याङ गरेर जिस्क्याउँदा शिक्षक वर्गको छडी खानुपर्थ्यो, खाइयो।
कान्ति ईश्वरी राज्यलक्ष्मी स्कुल सम्झँदा त्यो स्कुल हामी पढ्दा पढ्दै प्याफलमा नसरून्जेल दिदी–बहिनीहरूलाई धेरै दुःख थियो। कारण, उनीहरू जाडोको समय बिहान पढ्थे भने गर्मीमा दिउँसो। जुद्धोदयका छात्रलाई भने सुखै थियो — गर्मीका दुई महिना बिहान पढ्न पाइने, अरू महिना दिउँसो पढ्न पाइने।
(च) टिन–एज उमेरका हामी स्कुले विद्यार्थीहरू अर्काले गरेको सिको गर्थ्यौं नै। त्यसै क्रममा एकदिन स्कुल जाँदा वा फर्किँदा हो सम्झना भएन, काठमाडौं गणेशस्थान क्षेत्रस्थित कुनै मन्दिरको डबलीमा बसेर कुनै साथीको सिको गर्दै सिगरेट तानेको थिएँ। त्यो खबर स्कुल र घरमा पुगेछ। अनि त पाइहालियो ढाड सेकाइ।
(छ) साथीहरू मलाई द्वारे वा ढुंगा ढुंगा भनेर जिस्क्याउँथे। एकदिन कक्षा खाली हुँदा स्कुल परिसरमा खेल्दै थिएँ। खेल्दाखेल्दै केही साथीहरूले ढुंगा ढुंगा भनेर जिस्क्याउन थाले। मलाई नराम्रो लागेर हेडमास्टर रामजीप्रसाद शर्मासमक्ष गुनासो पोख्न पुगेँ। उनबाट जबाफ पाएँ, 'तेरो थर नै ढुंगेल छ भने तँलाई ढुंगा भने त के भयो?' त्यसपछि म नाजबाफ भएर फर्केँ। उनको त्यो भनाइ कहिल्यै नबिर्सने सम्झना भएर रहेको छ।
(ज) कक्षा ८ मा पढ्दाको घटना हुनुपर्छ। असार महिना पानी परिरहेको थियो। कक्षाकोठा पूर्व–दक्षिणतर्फको दोस्रो तलामा थियो। के भएर हो मास्टर कक्षामा आइसक्नुभएको थिएन। म सहपाठी रिमाल (पहिलो नाम बिर्सेँ) सँगै पूर्वतर्फको झ्यालमा उभिएर बाहिर हेर्दै थिएँ। त्यसै बखत मास्टर रामजीप्रसाद रिमाल, जसलाई हामी उनको उचाइका कारण 'सर्ट रामजी' भन्थ्यौं, आफूभन्दा अग्लो साइकल चढेर चाक्सीबारीबाट पानीमा भिज्दै स्कुल आइरहेको देखेँ।
उनलाई देखेर मैले सहपाठी रिमाललाई भनेँ, 'तिम्रो बा त बिरालोझैं भिझेर आउँदै हुनुहुन्छ।'
उनले आफूलाई पढाउने मास्टरलाई 'यसो भन्नु हुँदैन थियो' भनिहाले। मेरो भनाइ सुनेपछि सहपाठी रिमाल एकदमै रिसाए, कसो कुटेनन्।
दोस्रो खण्ड : खेलकुद र अतिरिक्त क्रियाकलापमा अभिरूचि र संलग्नता
स्कुलमा पढ्दा मलाई खेलकुदमा निकै अभिरूचि थियो। तर म कुनै पनि खेलको खेलाडी हुन सकिनँ। अर्काले खेलेको हेर्न भने भ्याउँथेँ। अझ आफ्नै सहपाठीहरूले खेल्ने र स्कुलले भाग लिने फुटबल कार्यक्रमहरू त नछुटाई हेर्न जान्थेँ।
उदाहरणका लागि — सहपाठी बालकृष्ण सुवाल (त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापक भई हाल निवृत्त जीवन बिताइरहेका छन्) को मामाघर (जहाँ उनी बस्थे) स्कुल नजिकै थियो। त्यहाँ टेबल–टेनिस बोर्ड थियो। स्कुलको हाफ–टाइम वा फुर्सत पाउँदा म सुवालको साथ लागेर उनले टेबल–टेनिस खेलेको हेर्न जान्थेँ। कहिलेकाहीँ ब्याट चलाउने हिम्मत पनि गर्थेँ।
त्यस्तै, प्याफलको कम्पुकोत क्षेत्रमा सहपाठी विनयराज पाण्डे बस्थे। उनी गुर्जु खलकका सदस्य, अर्थात् कान्छा गुर्जुका नाति थिए। उनको घरमा पनि विभिन्न खेलका सामान थिए। टेबल–टेनिस बोर्ड पनि थियो जस्तो लाग्छ। उनको घर हामी स्कुल जाने र फर्किने बाटोमै पर्थ्यो। त्यसैले बेलाबेला उनको घरमा भएका खेलकुदका सामान हेर्न गएको सम्झना छ। विनयराज पाण्डे नेपाल क्रिकेट संघ लगायत अनेक खेलकुद संघ-संस्थासँग अझै आबद्ध छन्।
विक्रम सम्बत् २०१६ जेठ ५ गते स्कुलले लैनचौरको शिक्षा मन्दिर अघिल्तिरको चौरमा खेलकुद कार्यक्रम आयोजना गरेको थियो। त्यसमा सय मिटर बोरा रेस र फेन्सी फुटबलमा भाग लिएर मैले शिक्षा डाइरेक्टर शारदाप्रसाद उपाध्यायबाट पुरस्कार पाएको सम्झना छ। पुरस्कारमा साबुन र चक्लेट थियो। साबुन चाहिँ लिरिल हो कि रेक्सोना सम्झना भएन।
स्कुलले खेलकुद कार्यक्रमका अतिरिक्त वादविवाद र कविता वाचन प्रतियोगिता पनि आयोजना गर्थ्यो। त्यस्ता कार्यक्रममा मेरो सहभागिता स्रोताका रूपमा मात्र हुन्थ्यो। किनभने, साहित्यमा मेरो क्षमता शून्य थियो। नाच्ने, गाउने कला पनि ममा थिएन। त्यो कमी अहिलेसम्म बेलाबेला खट्किन्छ नै।
स्कुलमा व्यवस्थित पुस्तकालय अभावमा अन्यत्र चहार्दै
विद्यार्थी काल, अर्थात् विक्रम सम्बत् २०१० र २०२० को दशकमा हाम्रो घर (झोछेँ टोल) नजिकै वसन्तपुर क्षेत्रमा नौतले दरबारको ठिकअगाडि चौतरियाको घर (हाल त्यो घर भएको ठाउँमा वसन्तपुर प्लाजा छ जस्तो लाग्छ) थियो।
त्यो घरको भुइँतला र माथिल्लो तलामा नेपाल सोभियत मैत्री संघ पुस्तकालय; चलनचल्तीको भाषामा रसियन लाइब्रेरी सञ्चालनमा थियो। यो लाइब्रेरीभन्दा तीन घरजति पूर्वमा दुग्ध विकास संस्थानको पसल रहेको ठिक अगाडि थियो, नेपाल-भारत मैत्री संघको भारतीय लाइब्रेरी।
नेपाल-भारत मैत्री संघ लाइब्रेरीभन्दा अलि पर, अर्थात् भूगोलपार्कभन्दा पूर्वतर्फ तीन-चार मिनेट दुरीमा खिचापोखरी क्षेत्रमा नयाँ सडक वारिपारि अमेरिकन लाइब्रेरी र ब्रिटिस काउन्सिल लाइब्रेरी सञ्चालनमा थिए। अमेरिकन लाइब्रेरी नयाँ सडकको दक्षिण खण्डमा अवस्थित थियो भने ब्रिटिस काउन्सिल लाइब्रेरी सडकको उत्तर खण्डमा थियो। अमेरिकन लाइब्रेरी रहेको स्थानमा हाल मेरी गोल्ड ज्वेलर्स र एभरेस्ट बैंक छ क्यारे! ब्रिटिस काउन्सिल लाइब्रेरी रहेको स्थानमा भने एउटा पुरानो घरबाहेक अन्य घर व्यापारिक प्रयोजनमा प्रयोग भएको त्यतातिर घुम्न जाँदा देखिन्छ। यसरी वसन्तपुरदेखि नयाँ सडक गेटको बीच तथा घर नजिकै चारवटा लाइब्रेरी चल्दै थिए। धेरै पछि यी लाइब्रेरी अन्यत्र सरेका हुन्।
घर नजिकै चारवटा लाइब्रेरी सञ्चालनमा रहेको तथा हामी पढ्ने बेला स्कुलमा पुस्तकालय नभएकाले स्कुलको कक्षा समयपछि वा स्कुल कक्षा नभएका बेला नियमित रूपले उल्लिखित लाइब्रेरीमा पुग्थेँ। किनभने, तिनमा पत्रिका र पुस्तक पढने सुविधा प्राप्त थिए। सँगसँगै आ–आफ्नो देशको विकास र संस्कृति झल्काउने सिनेमा पनि देखाइन्थ्यो।
स्मरण रहोस्, द्वितीय विश्वयुद्धपछि विश्व मूलत: तीन ध्रुवमा विभाजित थियो। अमेरिकी/पश्चिमी ध्रुव, जसको नेतृत्व संयुक्तराज्य अमेरिकाले गर्थ्यो भने अर्को ध्रुव कम्युनिस्ट ध्रुव थियो, जसको नेतृत्व सोभियत संघले गर्थ्यो। तेस्रो ध्रुव थियो असंलग्न राष्ट्रहरू, जसको नेतृत्व सामूहिक रूपमा भारत, इन्डोनेसिया, इजिप्ट, युगोस्लाभिया, नेपाल जस्ता देशले गर्थे।
दुई परस्पर विरोधी सिद्धान्त र धारमा विभाजित ध्रुवको नेतृत्व गर्ने राष्ट्रहरूले आ–आफ्ना सिद्धान्तप्रति आकर्षण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्थे। त्यसै क्रममा नेपालमा अमेरिकन लाइब्रेरी सन् १९५२ जुनमा स्थापना भएको थियो भने सोभियत संघले पनि मैत्री संघ लाइब्रेरी खोलेको थियो; कहिले खोलेको थियो भन्ने विवरण पाउन सकिनँ। यी दुवैले आ–आफ्ना काम, प्रतिपादन गर्ने सिद्धान्त झल्काउने गरी 'स्वतन्त्र विश्व' र 'सोभियत भूमि' भन्ने सामग्री प्रकाशित गर्थे। लाइब्रेरी जाँदा यी पत्रिकाका पाना पल्टाइन्थ्यो। त्यसमा राम्रा राम्रा चित्र र रोचक लेखहरू छापिएका हुन्थे। लाइब्रेरी जाँदा सित्तै पनि पाइन्थे। किताब र कापीमा गाता हाल्न उपयोगी हुने हुनाले मागेर पनि ल्याइन्थ्यो।
नेपाल–भारत मैत्री सांस्कृतिक केन्द्र (भारतीय लाइब्रेरी) सन् १९५० मा नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध बढाउन भारतीय राजदूतावास मातहत स्थापना भएको थियो जस्तो लाग्छ। यसले भारतबाट भ्रमणमा आएका विशिष्ट व्यक्तिहरूको कविता वाचन वा प्रवचन कार्यक्रम आयोजना गर्थ्यो।
भारतीय लाइब्रेरीमा पढ्न आउने व्यक्तिहरूमध्ये गोविन्दप्रसाद लोहनी, खड्गजीत बराल आदि भएको सम्झन्छु। यो लाइब्रेरीमा जाँदा विशेषगरी इलस्ट्रेटेड विक्ली अफ इन्डिया, धर्मयुग लगायतका पत्रिका र भारतीय अखबार पढ्थेँ। पछि लाइब्रेरीको सदस्यता लिएपछि त्यहाँ उपलब्ध वकिमचन्द्र चट्टोपाध्याय, प्रेमचन्द, रवीन्द्रनाथ टैगोरका सबै उपन्यास र कथाहरू पढेको तथा भारतको संस्कृति झल्काउने र भारतीय सूचना तथा प्रसार विभागद्वारा निर्मित फिल्महरू हेरेको हिजोजस्तै लाग्छ।
लाइब्रेरीको माथिल्लो तलामा रहेको प्रवचन कक्षमा भारतबाट भ्रमणमा आएका विशिष्ट व्यक्तिहरूको प्रवचन हुन्थ्यो। तिनै प्रवचन पछिल्तिर बसेर सुन्दा गोविन्दप्रसाद लोहनी बेलाबेला फिस्स फिस्स हास्ने गरेको सम्झना पनि ताजै छ।
नेपालमा ब्रिटिस काउन्सिल लाइब्रेरी स्थापना अंग्रेजी भाषाको प्रचारप्रसार र नेपालसँग रहेको बेलायतको लामो सम्बन्ध प्रगाढ बनाउने ध्येयले गरिएको हुन सक्छ। यो लाइब्रेरी कहिले स्थापना गरियो भन्ने कुरा खोज्दा पाइनँ। तर मेरा लागि ब्रिटिस काउन्सिल लाइब्रेरी जाने मुख्य कारण थियो — इलस्ट्रेटेड विक्ली अफ लन्डनका पाना पल्टाएर तिनमा प्रस्तुत राम्रा राम्रा चित्र हेर्नु।
यो लाइब्रेरी घरको पहिलो तलामा चल्दै थियो। लाइब्रेरी जान भर्याङ चढेर मटान हुँदै लाइब्रेरी कक्षमा प्रवेश गर्नुपर्थ्यो। लाइब्रेरी जाँदा मटानको पूर्वपट्टि झ्यालमा प्राध्यापक यदुनाथ खनाललाई अनेकपटक विभिन्न व्यक्तिहरूसँग कुरा गरिरहेको देखेको छु।
अमेरिकन लाइब्रेरीमा देखाइने अमेरिकी सिनेमा र वृत्तचित्र हामीजस्ता स्कुले केटाहरूका लागि आकर्षण केन्द्र थिए। केटाकेटीलाई सिनेमा हेर्न प्रवेश दिइँदैन थियो। ढोकामा बस्ने दाइलाई धेरै अनुनय–विनय गरेपछि दया गरेर सिनेमा देखाउने कक्षको एउटा कुनामा उभिएरै भए पनि सिनेमा हेर्न दिन्थे। ती दाइको नाम कृष्णमान रहेको धमिलो सम्झना छ। त्यसरी अनुनय–विनय गरेर 'गन विथ त विन्ड' र गाई गोठालाका कथामा आधारित अनेक सिनेमा हेरेको अझै सम्झन्छु।
स्कुले विद्यार्थीका रूपमा लाइब्रेरी जाने बानीले पछि म भारतीय लाइब्रेरी, अमेरिकन लाइब्रेरी तथा ब्रिटिस काउन्सिल लाइब्रेरीको सदस्य नै भएँ। सदस्यका रूपमा लाइब्रेरियनहरू कृष्णमान मानन्धर, विष्णुराज झा (अमेरिकन लाइब्रेरी सम्बद्ध), ठाकुरप्रसाद मानन्धर (ब्रिटिस काउन्सिल लाइब्रेरी सम्बद्ध) सँग मित्रता नै गाँसिन पुग्यो। नेपाल–भारत सांस्कृतिक केन्द्र लाइब्रेरीमा दौलतबिक्रम बिष्ट र शंकर लामिछाने काम गर्थे, तर चिनजान भएन।
लाइब्रेरी जाने बानी र उपलब्ध अंग्रेजी सामग्रीहरू पढेर होला मैले अंग्रेजी भाषाको ज्ञान र लेखाइ सपार्न सकेँ। स्कुलमा विद्यार्थी हुँदा नै हिम्मत गरेर भारतमा प्रहरी तालिममा रहेका काका विन्दुप्रसाद उपाध्यायलाई अंग्रेजीमा चिठ्ठी लेखेको सम्झना छ।
नियमित पुस्तकालय जाने बानी बसेकाले होला, अहिलेसम्म खाली समयमा पढ्ने बानी छुटेको छैन। लाइब्रेरी भने आक्कल झुक्कल मात्र पुगिन्छ, त्यो पनि हाल बसोबास गरिरहेको घर नजिक, अर्थात् बानेश्वर महादेवस्थान परिसरमा रहेको रत्न पुस्तकालय। अमेरिकन लाइब्रेरी, ब्रिटिस काउन्सिल लाइब्रेरी र नेपाल–भारत सांस्कृतिक केन्द्र लाइब्रेरी त अचेल टाढाका देश भइसके!
स्कुलमा खेल मैदान अभावले टुँडिखेलको सार्वजनिक मैदान प्रयोग
हाम्रो स्कुलको जति नाम थियो, त्यति नै हामी सानो खेल मैदानधरि नभएको तथा समय समयमा आयोजना गरिने कार्यक्रममा स्कुल अघिल्तिरको सानो ठाउँ (चोक) मा कोच्चाएर बसाउने वा बाहिर सडकमै उभ्याउने स्कुलका रूपमा चिनिन्थ्यौं। त्यसैले कुनै विशिष्ट व्यक्ति निरीक्षण भ्रमणमा आउँदा शिक्षक तथा विद्यार्थीहरू स्कुल पछाडिको खाली जमिन उपलब्ध गराइदिन रोइकराइ गर्थ्यौं।
विक्रम सम्बत् २०१६ सालमा स्कुलबाट बिदा हुँदासम्म हाम्रो रोइकराइ फलिभूत भएको थिएन। पछि २०२० सालमा राजा महेन्द्रको सदासयले स्कुल पछाडिको जमिन प्राप्त भएको कुरा अघिल्लो अंकमै उल्लेख गरिसकेँ। त्यही जमिनमा स्थापना गरिएको मञ्चमा २०५४ वा २०५५ सालमा आयोजित पुनर्मिलन कार्यक्रमा भाग लिने मौका मिलेको थियो।
सात शैक्षिक वर्ष स्कुलको विद्यार्थी हुँदा हाम्रो खेल मैदान भन्नु काठमाडौंको ठूलो सार्वजनिक चउर टुँडिखेल नै रह्यो। स्कुलले विक्रम सम्बत् २०१५ सालमा टुँडिखेलमै आफ्नो २१औं जन्म जयन्तीको खेलकुद कार्यक्रम आयोजना गरेको थियो। हाम्रो स्कुलको तुलनामा बालाजु क्षेत्रमा अवस्थित वनस्थली विद्याश्रमको आफ्नै खेलकुद मैदान थियो। त्यहाँ अयोजना गरिएका खेलकुद कार्यक्रम, विशेषगरी फुटबल प्रतियोगितामा आफ्नो स्कुलको टिमको मनोबल बढाउन मास्टरहरूका साथ क्षेत्रपाटीबाट शोभाभगवती मन्दिर हुँदै वनस्थली विद्याश्रम बालाजु क्षेत्र पुगेको अझै सम्झना छ।
साथै, २०१६ साल जेठ ५ गते लैनचौरमा आयोजित फेन्सी ड्रेस फुटबल कार्यक्रममा भाग लिएको पनि सम्झना छ।
टुँडिखेल, यसका धरोहर र महत्त्व
त्यति बेलाको टुँडिखेल रानीपोखरीबाट हाल रत्नपार्क रहेको ठाउँ हुँदै त्रिपुरेश्वरसम्म फैलिएको एसियाकै ठूलो परेड मैदान थियो।
रत्नपार्कदेखि नेपाली सेनाको मुख्यालय भएको स्थानसम्मलाई ठूलो टुँडिखेल र त्रिपुरेश्वर क्षेत्रमा रहेको खण्डलाई सानो टुँडिखेल भनिन्थ्यो, जहाँ आज दशरथ रंगशाला छ। टुँडिखेलको बीचमा खरीको बोट थियो (हेर्नुहोस् चित्र ११)। त्यसको नजिकै दक्षिण–पूर्व खण्डमा गुरूमापाको रूख थियो (हेर्नुहोस् चित्र १२)। साथै, नेपाली वायुसेवा निगमको ठिक सामुन्ने प्रतीकस्वरूप रेलको एउटा डब्बा (कोच) पनि थियो (हेर्नुहोस् चित्र १३)।
टुँडिखेल वरिपरि कुनै छेकबार थिएन, खुला थियो। केवल खरीको बोट र रेलको डब्बा (कोच) मा सेनाको सुरक्षा टोली हुन्थ्यो। समय क्रममा खरीको बोट काटियो, रेलको डब्बा (कोच) कता गयो कता! धन्न गुरूमापाको रूख छ।
विक्रम सम्बत् २०१० दशकमा ठूलो टुँडिखेल काठमाडौंको सार्वजनिक स्थान पनि थियो। खरीको बोटमा मुलुकको औपचारिक समारोह आयोजना हुने गर्थ्यो। यही सार्वजनिक स्थानमा रहेको गुरूमापाको रूखमा काठमाडौंको खास समुदायका सदस्य देवाली पूजा गर्थे। यही सार्वजनिक स्थानमा जाडोको समय काठमाडौंवासी घाम ताप्दै बदाम खान्थे। गर्मीको समय साँझपख हावा खान र साथीभाइ भेट्न आउँथे। राजनीतिकर्मी र विशिष्ट विद्वानहरू तर्क-बितर्क गर्न भेला हुन्थे। गर्मीको मौसममा काठमाडौंका विभिन्न विद्यालयका छात्र तथा खेलकुद संस्थाका खेलाडी फुटबल खेल्ने ठाउँ यही टुँडिखेल थियो भने जाडोको समय क्रिकेट खेल्ने थलो पनि यही थियो।
मंसिर अन्त्यसम्म वार्षिक परीक्षा समाप्त भएपछि पुस र माघ दुई महिना मीनपचासको बिदा हुन्थ्यो। कक्षा चढिसकेको तर नयाँ कक्षाका किताब प्राप्त नभएको दुई महिना लामो बिदामा पढ्ने काम हुँदैनथ्यो। त्यसैले खायो, खेल्यो गरेर दिन बित्थ्यो। फागुनमा स्कुल खुलेपछि भने हामीलाई बाँधिएजस्तो लाग्थ्यो। किनभने, आइतबारदेखि बिहीबारसम्म १० देखि ४ बजे र शुक्रबार १० देखि १ बजेसम्म स्कुलमै बिताउनुपर्थ्यो।
वैशाख–जेठमा भने कक्षा बिहान चालू हुने भएकाले स्कुलबाट फर्केपछि दिनभरजसो खाली भइन्थ्यो। खाली समयको उपयोग पुस्तकालय गएर तथा टुँडिखेलमा फुटबल खेलेर गरिन्थ्यो। फुटबल खेल्ने साथीहरू थिए — केशरलाल श्रेष्ठ, दिनेश चापागाईं, वसन्त गुरूङ घले, मुकुन्द, बालकृष्ण सुवाल, मिर्सुमना पिया, विष्णुराज पाण्डे आदि।
फुटबल कसले ल्याउँथ्यो भन्ने सम्झना भएन। तर हावा हाल्ने पसल अझै सम्झना छ। नयाँ सडकमा पहिले बाटा जुत्ता कम्पनीको पसल रहेको घरभन्दा ठिक पछाडि एक जना 'छ्याक दाइ' भन्ने साइकल पसले थिए। उनले १०–१५ पैसा लिएर फुटबलमा हावा भरिदिन्थे।
त्यस बखतको टुँडिखेल अहिले रत्नपार्क, खुलामञ्च, नेपाली सैनिक मञ्च, नेपाली सेनाको मुख्यालय र उसको नियन्त्रण क्षेत्र र दशरथ रंगशाला क्षेत्रमा टुक्रा टुक्रा भएको छ। बीचमा सहिदगेट भएको क्षेत्रमा भद्रकाली जाने बाटो पक्की र ठूलो भएको छ।
अन्त्यमा, भर्खरै २०८१ सालको एसइई परीक्षाको परीक्षाफल निस्केको छ। धेरै विद्यार्थी परीक्षामा असफल भएको समाचार आएको छ, अर्थात् ५२.१४ प्रतिशत विद्यार्थी तत्काल कक्षा ११ मा भर्ना हुन अयोग्य भएका छन् (कान्तिपुर, २०८१ असार १४)। यस परिवेशमा मलाई आफै दुईचोटि फेल भएको र आज म जे छु त्यसबारे थोरै लेख्न मन लागेको छ —
मेरो आफ्नै अनुभवले पनि होला, कुनै पनि परीक्षामा पास–फेललाई लिएर त्यति गम्भीर हुनुपर्दैन भन्ने मलाई लाग्छ। एउटा परीक्षा, त्यो पनि प्रत्येक विषयमा तीनघन्टे जाँचमा समावेश भएको नतिजाले मान्छेको भविष्य निर्धारण गर्दैन। त्यसैले एसइई वा प्लस–टूको नतिजालाई लिएर विद्यार्थी र तिनका अभिभावक त्यति चिन्तित नहोऊन् भन्ने म चाहन्छु।
समय क्रममा हरेक व्यक्तिले आफ्नो भविष्यको बाटो कोर्छ नै र पछाडि फर्केर हेर्दा आफूले निकै महत्त्व दिएका ती नतिजाले खासै अर्थ राख्दैनन्। परीक्षा र त्यसको नतिजालाई जति सहज रूपमा लियौं, जीवन उति सहज हुन्छ भन्ने म ठान्छु। प्रवेशिका परीक्षामा दुईपटक फेल भएर जीवन नै सकियो भन्ठानेको मजस्तो व्यक्तिले महाविद्यालय र विश्वविद्यालय स्तरको पढाइमा कहिल्यै पछि फर्केर हेर्नुपरेन। हुँदा हुँदा खुला प्रतियोगितामा छानिएर संयुक्तराज्य अमेरिकाकै प्रसिद्ध दुई विश्वविद्यालयमा उच्च अध्ययन गर्ने अवसर मिल्यो। यससम्बन्धी कथा व्यथा पछि प्रकाशित गर्ने नै छु।
अब अर्को अंकमा म प्राइभेट (निजी) ट्युसन पढाउने चलन, मास्टर साहेबहरूको नजरमा पर्ने विद्यार्थी र २०१६ सालको वार्षिक परीक्षाका लागि योग्य ठहर्याएर दस कक्षाको परीक्षामा पास गरिएका विद्यार्थीहरूको समूहबारे चर्चा गर्नेछु।
अर्को अंक अर्को शनिबार।
***
यी पनि पढ्नुहोस्: