हाम्रो समयको जुद्धोदय पब्लिक हाई स्कुल
काठमाडौंको क्षेत्रपाटी चाक्सीबारी क्षेत्रमा रहेको जुद्धोदय पब्लिक हाई स्कुल (जेपी हाई स्कुल) देशका पुराना स्कुलमध्ये पर्छ। हाल यो जुद्धोदय माध्यमिक विद्यालयका रूपमा चिनिन्छ।
असी वर्ष पार गरिसकेको यो स्कुलमा मैले शैक्षिक वर्ष २००९/१० देखि २०१५/१६ सम्म जम्मा सात वर्ष बिताएको पनि ६० वर्षभन्दा बढी भइसक्यो।
यसबीच बागमतीमा धेरै पानी बग्यो, तैपनि स्कुलमा बिताएका दिन मानसपटलमा आइरहन्छन्। सहपाठीहरूसँग भेट हुँदा दिमाग विसं २००९/२०१० को स्कुले विद्यार्थी जीवनमा फर्किन्छ। त्यसैले भविष्यको पुस्ताका लागि जेपी स्कुल क-कसले कसरी स्थापना गरे र आफू पढ्दा कस्तो थियो भन्ने जानकारी छाड्ने ध्येयले यो लेख शृंखला तयार गरेको छु।
शृंखलाको पहिलो भागमा आज म स्कुल स्थापनाबारे चर्चा गर्दैछु। आगामी अंकहरूमा स्कुल पढ्दाका दिन र त्यति बेला स्कुलको स्थिति क्रमशः वर्णन गर्दै जानेछु। जेपी स्कुल २०१६ को समूहबारे पनि उल्लेख गर्नेछु।
मेरो यो लेखन व्यक्तिगत अनुभव, उपलब्ध सामग्रीको अध्ययन र सहपाठीहरूको सम्झनामा आधारित छ।
भाग १ः स्कुलको चिनारी– इतिहास खण्ड
सम्झाइरहन नपर्ला, जंगबहादुर राणा र उनको नाम गाँसेर १०४ वर्षसम्म नेपाल राज्यको अधिपति भएका राणा शासकले नेपालीहरूलाई शिक्षाको उज्यालो बत्तीमा रमाउने अवसरबाट वञ्चित गरे।
उनीहरूले आफ्ना सन्तानलाई अंग्रेजी भाषाको ज्ञान दिलाउन आफ्नै दरबारको घेराभित्र दरबार स्कुल स्थापना गरेका थिए। विक्रम सम्बत् १९४८ मा यो स्कुल दरबारको घेराबाट रानीपोखरीको पश्चिम डिलसँगै जोडिएको ठाउँमा सर्यो, जहाँ अहिले पनि कायम छ।
नयाँ ठाउँमा सरेपछि राणा शासकको अनुमतिमा बिस्तारै आमजनताका छोराले पनि यो स्कुलमा पढ्न पाउन थाले। तैपनि सीमित छात्रले मात्र अंग्रेजी पढ्न पाउने हुँदा शासकको अनुमति वा उनीहरूलाई थाहै नदिई काठमाडौं उपत्यका र मोफसलका बासिन्दाले अंग्रेजी शिक्षा हासिल गर्न भारत जानुपर्ने अवस्था थियो।
अंग्रेजी मात्र होइन, संस्कृत अध्ययनका लागि पनि भारतमै भर पर्नुपर्थ्यो। मुलुकभित्र संस्कृत र भाषा पाठशालाको संख्या कम थियो। त्यस्तो अवस्थामा पनि शिक्षाप्रेमी व्यक्तिहरू राणा शासक रिझाएर विद्यालय (अंग्रेजी र संस्कृत पढाउने) खोल्ने अनुमति प्राप्त गरी शिक्षादानजस्तो महादानमा लागेको कुरा प्रकृति अधिकारीको 'राणाकालीन शिक्षा' लगायत सामग्री पढ्दा थाहा पाइन्छ।
यसरी नै अनुमति प्राप्त गरी स्थापना भएका स्कुलमा पर्छ, काठमाडौंको क्षेत्रपाटी क्षेत्रमा अवस्थित जुद्धोदय पब्लिक हाई स्कुल।
काठमाडौंको ओमबहाल निवासी तथा कलकत्ता विश्वविद्यालयबाट विसं १९७१ मा म्याट्रिकुलेसन परीक्षा पास गरेका तीर्थराज सिंह सुवालले डाइरेक्टर जनरल पब्लिक इन्सट्रक्सन मृगेन्द्रशमशेर जबरामार्फत् श्री ३ महाराज जुद्धशमशेर जबरासमक्ष चन्दा उठाएर स्कुल खोल्ने अनुमति मागेका थिए।
शिक्षा अध्येता तथा लेखक प्रकृति अधिकारीको 'राणाकालीन शिक्षा' नामक पुस्तकका अनुसार श्री ३ महाराजबाट सुवालको माग स्वीकृत भएपछि उनले विसं १९९५ असोज ७ गते गोरखापत्रमा 'विद्यादान महापुण्यम्' शीर्षकमा एक सामग्री प्रकाशित गरे, जसमा लेखिएको थियो —
महानुभाव हो, १९९५ श्रावण २४ गते श्री ३ महाराजबाटै मौसुफका भाषणमा हुकुम बक्सेबमोजिम दिन सक्ने श्रद्धावान धनी मानिससँग चन्दा उठाई एक स्कुल स्थापना गर्न पाउँ भनी श्री डाइरेक्टर जनरल मृगेन्द्रशमशेर जबरामार्फत् ख. तीर्थराजले सरकारमा बिन्ती चढाउँदा हुन्छ चन्दा उठाई स्कूल खोल्नू, चन्दाबाट कति जम्मा हुन आउँछ हाम्रा हजुरमा बिन्ती चढाउनू, पुगनपुग सरकारबाट हेरिबक्सने छ भन्ने बेहोरा मुलुकको उन्नतितर्फ दिल झुकेको विद्यानुरागी भक्तवत्सल श्री ३ महाराज जुद्धशमशेर जंगबहादुर राणाबाट बक्सेको बेहोरा श्री डाइरेक्टर जनरल मृगेन्द्रशमशेर जंगबहादुर राणा साहेबबाट प्रमांगी बक्सेकाले यहाँ हजुर महानुभाव सज्जनहरूका सामुन्नेमा उपस्थित हुन आएका छौं (अधिकारी, २०७८, पृष्ठ २८७)।
अधिकारी अगाडि लेख्छन् —
विद्यार्थीहरूबाट एक रूपैयाँ २५ पैसादेखि चार रूपैयाँसम्म शुल्क उठाउने ब्यहोराका साथै स्कुलका लागि रकम दान गर्न सर्वसाधारणसमक्ष आग्रह गरिएको थियो। जुद्धशमशेरले स्कुललाई एक हजार रूपैयाँ बकस दिनुका साथै शिक्षक र कर्मचारीका लागि बर्सेनि एक हजार दुई सय रूपैयाँ दिने घोषणा गरेका थिए (ऐजन)।
स्कुल चलाउने अनुमति पाएपछि तीर्थराज सिंह सुवालले घर नजिकै (नयाँ सडक, झोछेँ र ओमबहाल टोल) का चार जना नवयुवक — ज्योतिरत्न तुलाधर, हरिकृष्ण श्रेष्ठ, गोपालप्रसाद रिमाल र रामलाल मानन्धरसँग कुराकानी गरी उनीहरूको सहयोगमा स्कुल चलाउने निधो गरे।
अनि, १९९५ चैत १० गते स्कुल चलाउने तरिकामा सहमति जनाएर एक कबुलियतनामा तयार पारे, जसमा पाँचै जनाले हस्ताक्षर गरे (हेर्नुहोस् चित्र १)।
औपचारिक रूपमा भने यो स्कुल श्री ३ महाराज जुद्धशमशेरको जन्मदिन, अर्थात् १९९५ चैत २६ गते सुरू भयो।
स्कुल उद्घाटन हुने सार्वजनिक जानकारी दिँदै उक्त अवसरमा उपस्थितिका लागि संस्थापक हेडमास्टर तीर्थराज सिंह सुवालका तर्फबाट यस्तो निम्ता सार्वजनिक भयो —
श्रीमान विद्याप्रेमी सुधीवर श्री ३ महाप्रभु जुद्धको उदयमा नयाँ उद्घाटन हुने।
जुद्धोदय पब्लिक स्कुलको उदघाटन महोत्सवलाई प्रेमामृतवर्षणले परिषेचन गर्ना निमित पाउकष्ट गर्नमा जो तजवीज।
९५ साल चैत्र २६ गतेका दिन १।।। बजे जुद्धप्रतिमाको दक्षिणतिर
जुद्ध सडक नेपाल
निर्देशक ख. तीर्थराज सुवाल अफिसिएटिङ हेडमास्टर
— स्रोतः शिवप्रसाद ढकाल, भक्तगाथा, पृष्ठ ५३०
स्कुल सञ्चालनका लागि ठाउँ भने ओटु मुबहालस्थित कपडा व्यापारी साहु हनुमानदासले नयाँ सडकमै एक गोदामको व्यवस्था गरिदिए। त्यहीँ सुकुलमा विद्यार्थी बसाएर तीर्थराज सिंह सुवाल र उनका साथीहरूले कक्षा सञ्चालन गरे।
यसरी सुरू भएको स्कुल क्षेत्रपाटी चाक्सीबारी क्षेत्रमा स्थायी रूपले आफ्नै भवनमा नसरूञ्जेल नयाँ सडक क्षेत्रमा बिरालाले बच्चा सारेझैं कहिले मखन गल्ली (हेर्नुहोस् चित्र २), कहिले जुद्ध सडकको विशाल बजार क्षेत्रमा रहेको भक्तिशमशेरको घर त कहिले जुद्ध सडकमै नेपाल बैंक लिमिटेडको पश्चिमतर्फ रहेको घोडा तबेलामा सर्दै रह्यो (हेर्नुहोस् चित्र २ क)।
आखिरमा श्री ३ जुद्धशमशेरका छोराले बहादुरशमशेरले भवन निर्माणका लागि व्यवस्था गरिदिएको जग्गामा विसं २००६ सालमा पक्की भवन बनेदेखि नै स्कुल क्षेत्रपाटी चाक्सीबारी क्षेत्रमा रहिआएको छ।
फेरि हामी स्कुल स्थापनातर्फ नै फर्किऊँ।
चन्दा उठाएर सञ्चालन गर्ने अनुमतिका साथै श्री ३ महाराज जुद्धशमशेरबाट स्कुलका लागि मोरू १००० प्रदान गरिनुका साथै प्रगति प्रतिवेदन (प्रोग्रेस रिपोर्ट) का साथ डाइरेक्टर जनरलमार्फत् जाहेर गर्नुपर्ने आदेश भएको थियो।
त्यसैले स्कुलले १९९६ असोज १५ मा 'विद्याविहिन जन हो पशुकै समान, विद्या प्रदान सरिको अरू छैन दान; नेपाल सन्तति सबै अतिविज्ञ होऊन्, यो स्कुलमाथि सबले करूणा फिँजाऊन' भन्ने चार लाइनको कवितासहित चन्दा आह्वान गर्दै स्कुल संस्थापक, स्कुलका मास्टर र सञ्चालक वर्गले एक विवरणपत्र जारी गरे (अनुसूची १)।
अनुसूची १ स्कुले जारी गरेको विवरणपत्र (स्रोतः जुद्धोदय पब्लिक हाई स्कुल पत्रिका २०१९, पृष्ठ ४७–५०)
उक्त विवरणपत्रमा स्कुल सञ्चालन अनुमतिपत्रको विवरण लगायत सञ्चालक वर्गको नाम, पढाउने मास्टरहरूको नाम, कक्षा शुल्क, आर्थिक अवस्था र विद्यार्थी संख्या ५४२ रहेको र चाँडै १००० पुग्ने आशासहित चन्दा बुझाउने नेपाल बैंक लिमिटेडको नामसमेत उल्लेख गरियो।
चन्दा एक रूपैयाँबाट जति बढी दिए पनि स्वीकार गरिने कुराका अतिरिक्त श्री ३ महाराजबाहेक कमान्डर–इन–चिफ, पश्चिम कमान्डिङ जनरल, पूर्वी कमान्डिङ जनरल र जनरल कृष्णशमशेरबाट चन्दा प्राप्त भइसकेको कुरा पनि उल्लेख गरियो (स्कुल पत्रिका, २०१९, पृष्ठ ४५–४९)।
स्थापनाको पहिलो वर्ष नै ५४२ विद्यार्थी पाउन सफल जेपी पब्लिक हाई स्कुलले सञ्चालनमा आएको चौथो वर्ष (१९९९) प्रवेशिका परीक्षामा पाँच जना विद्यार्थीलाई दोस्रो श्रेणी र एक जनालाई तृतीय श्रेणीमा पास गराउन सफल भयो (अधिकारी, २०७६, पृष्ठ १७६)।
विसं २००६ सालदेखि नै यसका विद्यार्थीहरू प्रवेशिका परीक्षाको बोर्डमा आउन थालिहाले।
मास्टर तथा सञ्चालक वर्गको लगन र मिहिनेतका कारण सुरूका केही वर्षमै राम्रो स्कुलमा दरिन सफल जेपी पब्लिक हाई स्कुलमा म २००९ फागुन महिना, अर्थात् स्थापनाको १५औं वर्षमा विसं २००९–२०१० को शैक्षिक सत्रका लागि चौथो कक्षामा भर्ना भएको थिएँ।
त्यति बेला यसका अनेक विद्यार्थी प्रवेशिका परीक्षामा सफल हुनेमा पहिलो दस नम्बरमा पर्न थालिसकेका थिए। दस कक्षा पास गरी २०१६ सालमा स्कुलबाट निस्कँदासम्म जेपी पब्लिक स्कुलबाट प्रवेशिका परीक्षामा तीन जनाले प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरिसकेका थिए (ऐजन पृष्ठ २६७)।
स्थापना कालका हेडमास्टर तीर्थराज सिंह सुवाल लामो समयसम्म हेडमास्टर रहन पाएनन्। विसं १९९७ सालमा उनी र उनका सहकर्मी हरिकृष्ण श्रेष्ठ नेपाल प्रजा परिषदमा लागेको अभियोगमा पक्राउ परे। सिंहमाथि लगाइएको अभियोग पुष्टि नभएपछि उनी केही महिनापछि छुटे भने श्रेष्ठले त लामो सजाय पाए।
सिंह थुनामा परेपछि १९९७ वैशाख ११ मा सञ्चालक तथा स्कुलका शिक्षक शारदाप्रसाद उपाध्याय हेडमास्टरमा नियुक्त भइसकेकाले थुनामुक्त भए पनि सिंह हेडमास्टर भएनन्। बरू केही समय स्कुलको सेक्रेटरी पदको जिम्मेवारी सम्हालेर निजामती सेवातर्फ लागे (अधिकारी, २०७८, पृष्ठ २८९)।
तेह्र वर्ष स्कुलको हेडमास्टरको जिम्मेवारी निर्वाह गरेपछि शारदाप्रसाद उपाध्याय शिक्षा विभागमा सरूवा र बढुवा भएपछि स्कुलका शिक्षक अम्बिकाप्रसाद उपाध्याय हेडमास्टर भए। उनी एक वर्ष (२०१०–२०११) हेडमास्टरको दायित्व निर्वाह गरेपछि उच्च अध्ययनका लागि भारततर्फ हिँडे।
त्यसपछि शिक्षक विजयनन्दन जोशी हेडमास्टर बने। तर एक वर्षमै उनले पनि कान्ति राज्यलक्ष्मी हाई स्कुलको हेडमास्टरको पद सम्हाल्न जेपी पब्लिक स्कुलको हेडमास्टरको पद छाडे।
जोशीपछि २०१२ सालमा हेडमास्टर भएका रामजीप्रसाद शर्मा २०४१ सम्म त्यही पदमा काम गरी सेवानिवृत भएका थिए (हेर्नुहोस् चित्र ३)।
भाग २ः विद्यार्थी अनुभव
नियतिले नै मलाई शैक्षिक सत्र २००९–२०१० मा जेपी पब्लिक हाई स्कुलको विद्यार्थी बनाएको थियो।
तत्कालीन प्रचलनअनुसार चार-पाँच वर्षको हुँदा वसन्त पञ्चमीका दिन पितामह स्व. कविराज मुक्तिनाथ शर्मा ढुंगेलबाट पूजाकोठमा नेपाली रङले पोतेको काठको पाटीमा खरीबाट अ आ इ ई लेखाएर सुरू भएको अक्षरारम्भपछि घरैमा वर्णमालाको किताब पढेँ। त्यसैबाट अक्षर, अंक चिन्ने तथा सामान्य जोडघटाउ गर्न सिकेपछि छिमेकी मास्टर कृष्णराज सिंह सुवालसँग हस्तलेखन तथा फस्ट बुक पढेपछि मेरो औपचारिक विद्यार्थी जीवन आरम्भ भएको थियो।
म विक्रम सम्बत् २००८ सालमा स्कुलमा नाम दर्ता गराएर विद्यालय स्तरको विद्यार्थी हुन पुगेको थिएँ। त्यो पनि घरनजिकै लगन टोलमा सञ्चालित विश्व निकेतन स्कुलमा पाँच कक्षामा भर्ना भएर।
एकैपल्ट पाँच कक्षामा भर्ना भएकाले मैले पढाएको बुझ्न सकिनँ; पढाइमा कमजोर भएँ। मास्टरहरूले पनि मेरो कमजोरीको कारण जान्न चाहेनन्।
त्यसमाथि बायाँ कञ्चटमा आएको घाउ र टाइफाइड ज्वरोले म स्कुल छाड्न बाध्य भएँ।
झन्डै एक शैक्षिक सत्र पढाइ छुटेपछि विसं २००९–२०१० को शैक्षिक सत्रमा टोलकै प्रयागराज श्रेष्ठ (सम्भवतः उनी यसै स्कुलमा पढेका थिए र मेरो बासँग काठमाडौं मेडिकल हल, प्याफलमा सँगै काम गर्थे) का साथ लागेर जेपी पब्लिक हाई स्कुलमा भर्ना भएँ।
त्यसपछि मेरो विद्यालय स्तरको पढाइ पुनः सुरू भयो।
म सात वर्ष (शैक्षिक सत्र २००९–२०१० देखि २०१५–२०१६) यही स्कुलको विद्यार्थी रहेँ। भर्ना गर्न लगिँदा मास्टर साहेबहरूले अंग्रेजी वा हिसाबका सम्बन्धमा केही सोधेजस्तो धमिलो सम्झना छ। सोधाइका क्रममा केही विषयमा कमजोर ठानेर हो वा स्कुलमा कायम रहेको पहिलो कक्षा (चार कक्षा) देखि नै पढाउने ध्येयले हो, मलाई चार कक्षामा भर्ना गरियो। मैले यसबारे कुनै सोधखोज पनि गरिनँ।
स्कुलमा भर्ना हुँदा अम्बिकाप्रसाद उपाध्याय हेडमास्टर थिए भने स्कुलबाट निस्कँदा रामजीप्रसाद शर्मा।
बीचमा एक वर्ष (२०११ देखि २०१२) विजयनन्दन जोशीलाई पनि हेडमास्टर बेहोरियो।
चौथो कक्षासम्म स्कुलको स्वरूप, पढ्नुपर्ने वा पढेका विषय
स्कुलमा सात वर्ष बिताउँदा पहिलो वर्ष, अर्थात् चौथो कक्षा सहशिक्षामा आधारित थियो। चालीस जना विद्यार्थीमा दुई जना महिला थिए — एक जना रायमाझी थरकी थिइन् भने अर्की सुवाल थरकी।
वार्षिक परीक्षाको विवरणअनुसार चौथो कक्षामा ७४ जना पास भएको फेला पारेको छु। आफूले पहिलोपल्ट स्कुल पढ्दाको नाम प्राप्त गर्ने प्रयास गरेको थिएँ, तर सफल भइनँ। सहपाठीहरूसँग पनि नाम सम्झना छ कि भनेर सोध्दा कसैले पनि सबैको नाम बताउन सकेनन्, केहीको नाम मात्र बताउन सके।
जति सम्झना गराइयो, गरियो; तिनको नाम यस प्रकार छ —
(१) वसन्त गुरुङ, माधवराज (२) काजिराजा (३) अच्यूतप्रसद धिताल (४) प्रदीपप्रसाद धिताल (५) उपेन्द्रप्रसाद धिताल (६) देवेन्द्रप्रसाद रिमाल (७) मिर्सुमान पिया (८) दामोदर अर्याल (९) बालकृष्ण सुवाल (१०) केशरलाल श्रेष्ठ (११) सुर्वणलाल श्रेष्ठ (१२) म आफै, द्वारिकानाथ ढुंगेल (१३) प्रेमबहादुर रायमाझी (१४) धन रायमाझी (१५) सावित्री सुवाल (१६) कृष्णराम श्रेष्ठ (१७) सर्वज्ञरत्न तुलाधर (१८) स्वयम्भूरत्न तुलाधर (१९) जग्गनाथ तिमिल्सीना (२०) कन्हैया कुमार (२१) चित्रबहादुर तिमिल्सीना (२२) उत्तम गिरी (२३) दिपक गिरी।
(नोटः उल्लेख गरिएकामध्ये केही चौथो कक्षामा नभई माथिल्लो कक्षामा भर्ना हुन आएका पनि हुन सक्छन्।)
पाँचौं कक्षादेखि भने स्कुलमा सहशिक्षा थिएन। केटाहरूलाई मात्र स्कुलले भर्ना लिन्थ्यो। हामीसँग पढ्ने दुई जना महिला पाँचौं कक्षादेखि कान्ति ईश्वरी राज्यलक्ष्मी हाई स्कुलमा पढ्न थाले। जानकारी पाएअनुसार, यो स्कुल हाम्रो स्कुलको महिला विद्यार्थी मात्र पढाउने खण्डका रूपमा स्थापना भएको थियो।
स्कुलको यो कन्या विभाग २००७ सालमा खोलिएको थियो। पछि त्यो विभाग २०१२ सालमा काठमाडौंको प्याफलमा सर्यो र कान्ति ईश्वरी राज्यलक्ष्मी विद्यालयका नामबाट सञ्चालन हुन थाल्यो।
यो स्कुल प्याफलमा सरेपछि हिउँदमा छात्राहरू जेपी हाई स्कुल भवनमा बिहान र गर्मीको मौसममा दिउँसो पढ्ने झन्झटबाट मुक्त भए। स्मरण रहोस्, गर्मीका दुई महिना विद्यार्थीहरू (पुरूष विद्यार्थी) लाई बिहान पढाइन्थ्यो।
अंग्रेजी विषयअन्तर्गत तल्लो कक्षामा तीन र माथिल्लो कक्षामा दुई विषय पढियो। अर्थात् चौथो कक्षामा तीन विषय अंग्रेजी, हिसाब, नेपाली र हस्तलेखन पढनुपर्थ्यो भने दसौं कक्षामा नौ विषय (अंग्रेजीका दुई पत्र, अनिवार्य नेपाली र संस्कृत, ऐक्षिक नेपाली, अनिवार्य हिसाब, ऐक्षिक भूगोल, विज्ञान र ऐक्षिक नागरिकशास्त्र) पढियो।
आठ कक्षासम्म अंग्रेजी विषयअन्तर्गत तीन पत्र र भूगोल र इतिहास दुवै पढ्नुपर्थ्यो। ऐक्षिक विषय नेपाली वा हिन्दी वा अन्य भाषा र नागरिकशास्त्र वा हिसाब वा ऐन श्रेस्ता पढ्नुपर्दैन थियो।
२०१० फागुन १ गते शिक्षा विभागले नेपाल राज्यको तराईका प्राइमरी र मिडिल स्कुलका लागि पाठ्यपुस्तक स्वीकृत गरेको थियो। त्यसअनुसार चार कक्षाका लागि अंग्रेजी प्रथम पत्रमा नेपाल इङ्लिस रिडर्स प्राइमरी, दोस्रो पत्रका लागि नेपाल इङ्लिस ग्रामर चाइल्ड इजी ग्रामर र तेस्रो पत्रका रूपमा नेपाल इङ्लिस ट्रान्सलेसन वा एलिमेन्टरी ट्रान्सलेसन वा बिगिनर्स वर्डबुक राखिएको थियो।
यी विषय पहाडी र उपत्यकाका स्कुलका पाठ्क्रममा समावेश गरिएकाले तराईमा पनि लागू गरिएको हुनुपर्छ भन्ने धारणा शिक्षा क्षेत्रका अध्येता प्रकृति अधिकारीको छ। उनका अनुसार यससम्बन्धी सूचना गोरखापत्रको २०१० फागुन १ को अंकमा प्रकाशित छ।
त्यस्तै, प्रवेशिका परीक्षाका लागि कायम गरिएका अंग्रेजीका दुई पत्रका पाठ्यक्रम यस प्रकार थिए —
पहिलो पत्रअन्तर्गत नेपालीबाट अंग्रेजीमा उल्था, चिठी लेखाइ वा विस्तृतीकरण, निबन्ध लेखाइ र कथा लेखाइ। यिनका साथै र्यापिड रिडिङ किताबबाट सोधिने प्रश्नहरू र र्यापिड रिडिङबाट सोधिने प्रश्नबाट संक्षेपीकरण। यसको पाठ्यपुस्तकमा वन्डर बुक, नेहरूज लेटर पायोनियर अफ प्रोग्रेस (?) थिए जस्तो लाग्छ।
दोस्रो पत्र प्रोज सेलेक्सन, पोयट्री सेलेक्सन र व्याकरण पर्थे। पाठ्यपुस्तकमा एसएलसी प्रोज सेलेक्सन, पोयट्री सेलेक्सन, नेसफिल्ड ग्रामर, एसीके को हिडेन ट्रेजर पर्थे।
विसं २०१० को दशकमा नेपाली, संस्कृत, नागरिकशास्त्र, ज्यामितिका पाठ्यक्रम र पाठ्यपुस्तकबाहेक अन्य पाठ्यक्रम विदेशसँग सम्बन्धित र विदेशी लेखकद्वारा लेखिएका पाठ्यपुस्तक पढनुपर्थ्यो।
उदाहरणका लागि, सर लरेन्स डडलेस्ट्याम्पद्वारा लिखित भूगोल, यादवचन्द्र चक्रवर्तीद्वारा लिखित अर्थमेटिक, काली पद (केपी) बसुको अलजेब्रा, पिसि रेनको ज्यामिति, जेसी नेसफिल्डको म्यानुयल अफ इङ्लिस ग्रामर र एसीडेको हिडेन ट्रेजर वा अंग्रेजी ग्रामर पढ्नुपर्थ्यो।
सामान्य विज्ञानको विषयमा कुनै अंग्रेज वा भारतीय लेखक (सम्भवतः एलएम पार्रसन (?) वा मुखर्जी) ले लेखेका किताब पढ्नुपर्थ्यो। यी विषयमा नेपाली लेखकले लेखेका किताबमा यी किताब पढेको सम्झना छ — अखण्डप्रसाद धौभडेलद्वारा लिखित नागरिकशास्त्र, नेत्रबहादुर थापाद्वारा लिखित आधुनिक भूगोल र नेपालको भूगोल (?), नेपाल भाषा प्रकाशन समितिद्वारा लिखित नेपाल गद्य संग्रह भाग १ र पद्य संग्रह भाग १, बोधविक्रम अधिकारीको दन्त्यकथा, नेपाल भाषा प्रकाशन समितिको नेपाल संस्कृत सँग्रह र रामलाल मानन्धरको ज्यामिति।
पाठ्यक्रम तथा पाठ्यपुस्तकको सम्झना गर्दा विशेषगरी इतिहास र भूगोलको पाठ्यक्रममा भारतको इतिहास र भूगोलको आधिपत्य थियो। भारतको इतिहास र भूगोल पढ्नुपर्थ्यो, नक्सा पनि भारतकै बनाउनुपर्थ्यो। त्यो नक्साको माथिल्लो खण्डमा नेपालको नक्सा देखाउनुपर्थ्यो। किताब पनि भारतबाटै छापिएर आएका हुन्थे।
हुँदाहुँदा लेख्ने कापीको पछिल्तिर भारतको राष्ट्रिय गान — जनगनमन — लेखिएको हुन्थ्यो। अतः हामीलाई आफ्नो मुलुकको राष्ट्रिय गानभन्दा बढी भारतको राष्ट्रिय गान कन्ठ थियो।
कुन कक्षाको किताब वा लेख्ने कापीमा हो ठ्याक्कै सम्झना छैन — हमारा राष्ट्रपति डा. राजेन्द्रप्रसाद र प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू भनेर पढेको सम्झन्छु।
यकिनसँग लेख्न सक्दिनँ, तर कता कता प्रवेशका परीक्षामा हिन्दीको नेपालीमा उल्था गर्नुपर्ने प्रश्न पनि आउँथ्यो कि जस्तो लाग्छ।
पढाउने मास्टर साहेबहरू
सात वर्ष स्कुलमा बिताउँदा अतिरिक्त असिस्टेन्ट हेडमास्टर हरिहरनाथ रेग्मी, सिद्धिप्रसाद अधिकारी सेकेन्ड मास्टर, रामलाल मानन्धर, कृष्णमुरारी अधिकारी, मुकुन्द शर्मा रेग्मी, उदयमान श्रेष्ठ (स्काउट मास्टर), अमृतनाथ अर्याल, सुन्दरप्रसाद तिमिल्सिना, विष्णुप्रसाद पौडेल, रमाप्रसाद उपाध्याय, रामजीप्रसाद रिमाल (पुड्के रामजी), ईश्वरानन्द श्रेष्ठाचार्य, ईश्वरीप्रसाद रिमाल (होमियोप्याथ डाक्टर), देवप्रसाद सेन, शंकरमणि आदी र प्रियबहादुर रंजितकार हाम्रा शिक्षक रहे।
आंशिक समयका अध्यापक वा मास्टरका रूपमा प्राध्यापक अम्बिकाप्रसाद उपाधाय, प्राध्यापक मित्रनाथ देवकोटा, विजयनन्दन जोशी, कीर्तिरत्न बज्राचार्य, तीर्थराज तुलाधर, केशवलाल कर्माचार्य, वासुदेव लुइँटेल थिए।
साथै, कृष्णप्रसाद अर्याल र बद्रीप्रसाद रिमाल पनि केही समय स्कुलका मास्टर थिए, तर उनीहरू छिट्टै निजामती सेवातर्फ लागे (अनुसूची २)।
अनुसूची २ २०१५ र २०१६ सालमा पढाउने शिक्षक तथा कर्मचारीको सूची (स्रोतः जुद्धोदय स्कुल पत्रिका, २०१६)
प्राथमिक तहका कक्षामा शंकरमणि आदीले वर्डबुक र सामान्य ज्ञान, सुन्दरप्रसाद तिमिल्सिना र मुकुन्द शर्मा रेग्मीले अंग्रेजी, विष्णुप्रसाद पौडेल र कृष्णमुरारी अधिकारीले संस्कृत र नेपाली पढाए। रामलाल मानन्धरले हिसाब पढाएको सम्झना छ। कृष्णमुरारी अधिकारीले आँखा चिम्लेर संस्कृत पढाएको हिजैजस्तो लाग्छ।
माथिल्लो कक्षामा रामलाल मानन्धर र अमृतनाथ अर्यालले हिसाब; प्रो. मित्रनाथ देवकोटाले विज्ञान; सिद्धिप्रसाद अधिकारीले भूगोल; उदयमान श्रेष्ठ, कीर्तिरत्न बज्राचार्य, हरिहरनाथ रेग्मी, अम्बिकाप्रसाद उपाध्याय, तीर्थराज तुलाधर र मुकुन्द शर्मा रेग्मीले अंग्रेजी; विजयनन्दन जोशीले इतिहास; उदयमान श्रेष्ठले नागरिकशास्त्र; बासुदेव लुइँटेल र केशवलाल कर्माचार्यले नेपाली पठाएको सम्झना छ।
रमाप्रसाद उपाध्यायले पनि अंग्रेजी पढाएको सम्झना छ, तर तल्लो कक्षामा कि माथिल्लोमा सम्झना भएन।
कुनै पनि कक्षा खाली रहन नदिई सबै विषय पढाउनमा माहिर थिए, हेडमास्टर रामजीप्रसाद शर्मा।
उदयमान श्रेष्ठ स्काउट सिकाउने मास्टर थिए भने शारीरिक शिक्षा मास्टर थिए देवप्रसाद सेन। त्यस्तै, स्कुल सञ्चालक समितिको अध्यक्ष थिए पूर्व हेडमास्टर शारदाप्रसाद उपाध्याय र सेक्रेटरी थिए सिद्धिप्रसाद अधिकारी (हेर्नुहोस् चित्र ४ र चित्र ४ क)।
अर्को अंकमा म शैक्षिक सत्र र पठनपाठनसँग सम्बन्धित विषयमा चर्चा गर्नेछु।
अर्को अंक अर्को शनिबार।
***