यस शताब्दीको दोस्रो दशकसम्म पृथ्वीको तापक्रम सन् १८५० देखि सन् १९०० बीचको ५० वर्षको तुलनामा १.१ डिग्री सेल्सियस बढेको छ। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय अन्तर्सरकारी प्यानल (आइपिसिसी) ले यस्तो जनाएको हो।
उच्च औद्योगिकीकरणसँगै मुख्यतः सन् १९७० पछि वायुमण्डलमा बढ्दो हरितगृह ग्यास उत्सर्जनले विश्व तापमान वृद्धि गरेको हो। तापमान वृद्धिले नै जलवायु परिवर्तनको प्रभाव बढाएको हो।
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा सन् २१०० सम्ममा विश्वको तापमान वृद्धि १.१ डिग्री सेल्सियसमा सीमित गर्ने सहमति भएको छ। आइपिसिसीको विश्लेषणले विश्वका देशहरूले अपेक्षकृत रूपमा प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको खण्डमा त्यतिन्जेलमा तापमान २.७ डिग्री सेल्सियस वृद्धि हुन सक्ने देखाएको छ।
मौसम र जलवायु परिवर्तनप्रति मानव स्वास्थ्य संवेदनशील हुन्छ। बाढी, खडेरी, अधिक तापक्रम, उष्ण तुफान र डढेलोले जलवायु परिवर्तनको जोखिम बढाउँछ। समुद्री सतहको उचाइ बढ्ने पनि जलवायु परिवर्तनले नै हो। यी सबैको सिधा सम्बन्ध मानव स्वास्थ्य, बसोबास र खाद्यवस्तुसँग हुन्छ।
प्रदूषण र तापमान वृद्धिबीच आपसमा दोहोरो सम्बन्ध हुन्छ। तापक्रम वृद्धिको प्रभावले वायु प्रदूषण बढ्छ, वायु प्रदूषणले पनि वायुमण्डलको तापक्रम बढाउँछ।
पानीमा प्रदूषण बढ्दै जाँदा स्वच्छ पानीको अभाव पनि बढ्दै जान्छ। परिणाम स्वरूप सरसफाइ घट्छ र अस्वस्थता बढ्छ। श्वासप्रश्वास सम्बन्धी रोग र मुटु तथा रक्त सञ्चार सम्बन्धी रोगको दर बढ्दै जान्छ। छिटोछिटो संक्रामक रोग देखापर्ने र तीव्र गतिमा फैलिने हुन्छ।
जलवायु परिवर्तनको गति बढ्दै जाँदा जीवनयापनका आधारहरू कमजोर हुँदै जान्छन्। खाद्य असुरक्षा बढ्दै जाँदा कुपोषणको समस्या देखा पर्छ। मानसिक स्वास्थ्यमा पनि असर पर्छ। सुरक्षित र अनुकूल ठाउँ खोजीमा बसाइँसराइ पनि बढ्दै जान्छ।
सुक्ष्म अनुसन्धानबाट वैज्ञानिकहरू यस्तो निष्कर्षमा पुगेका हुन्।
जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट पर्ने असर न्यूनीकरणका लागि असरको मात्रा र असरबारे समुदायको बुझाइ निकै महत्त्वपूर्ण हुन्छ। अनुकूलन रणनीति बनाउँदा स्थानीय समुदाय र सरोकारवाला निकायहरूको सक्रिय सहभागिता हुन सके मात्र रणनीति कार्यान्वयन प्रभावकारी हुन्छ।
विश्व आर्थिक मञ्चले गत जनवरीमा प्रकाशित गरेको एक प्रतिवेदनले सन् २०५० सम्ममा जलवायु परिवर्तनले विश्वको स्वास्थ्य सेवा प्रणाली उच्च तनावको अवस्थामा पुग्ने निष्कर्ष निकालेको छ। स्वास्थ्य सेवा नपाएका कारण १ करोड ४५ लाख मानिसको मृत्यु हुने र १२.५ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी हुने प्रक्षेपण समेत गरेको छ।
तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा कायम गर्न सकिए पनि आर्थिक नोक्सानी सन् २०३० सम्ममा २.३ ट्रिलियन अमेरिकी डलर बराबर हुने अनुमान गरिएको छ।
मौसमी घटनाहरूको विश्लेषण गर्दा हाल जलवायु–प्रेरित मृत्युको प्रमुख कारक बाढी रहेको पाइएको छ। बाढीबाट सन् २०५० सम्ममा विश्वमा ८ करोड ५० लाख मानिसको मृत्यु हुने अनुमान छ।
अप्रत्यक्ष रूपमा जोडिएको जलवायु–प्रेरित मृत्युको दोस्रो प्रमुख कारक खडेरी हो। खडेरीमा अत्यधिक गर्मी हुने र सन् २०५० सम्ममा तीन करोड २० लाख मानिसको मृत्यु हुन सक्ने सम्भावना अध्ययनले देखाएको छ।
उष्ण तुफानले लामो अवधिसम्म अधिक तापमान कायम गराउने भएकाले यसबाट अन्य कारकभन्दा बढी अर्थात् सन् २०५० सम्ममा ७.१ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी हुने अनुमान विश्व आर्थिक मञ्चले गरेको छ।
सन् २०४० सम्ममा विश्वको करिब आधा जनसंख्याको बसोबास पानीको संकट भएको क्षेत्रमा हुनेछ र करिब एक अर्ब २ करोड जनसंख्या जलवायु सम्बन्धी शरणार्थी हुने अनुमान छ। उक्त अध्ययनले जलवायु परिवर्तनको प्रभावले धेरै देशको कुल गार्हस्थ्य उत्पादन घट्ने र जीवकोपार्जनका आधारहरू कमजोर हुँदै जाने संकेत गरेको छ। संयुक्त राष्ट्र संघका अनुसार मुख्यतः न्यून तथा मध्यम आय भएका देशहरूमा कुल तीन करोड तीस लाखदेखि तीन करोड ६० लाख जनसंख्या बढी संकटमा हुनेछ।
विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसार जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असर उमेर, सामाजिक–आर्थिक वर्ग, पेसा र लिंगका आधारमा फरक हुनेछ। स्वच्छ पानीको सुलभ आपूर्ति नहुँदा महिला तथा किशोरीहरूको व्यक्तिगत स्वास्थ्य र सरसफाइमा असर पर्नेछ।
एक अध्ययनका अनुसार खानेपानीको आपूर्ति सुलभ हुन सक्दा महिला र किशोरीहरूको समय बचत हुन्छ र बचत समयको कम्तीमा ३० प्रतिशत समय आर्थिक क्रियाकलापमा लगाउन सकिने हुन्छ। पानीको अभाव बढ्दै जाँदा महिलाको आर्थिक गतिविधि घट्छ।
जलवायु परिवर्तनले स्वास्थ्यमा असमानता बढाउँछ। महिला, बालबालिका तथा सीमान्तकृत र गरिब समुदायमा अतिरिक्त तनाव सिर्जना गर्छ। नेपालमा पनि सार्वजनिक स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव देखिन थालेका छन्।
नेपालमा गरिएका केही अध्ययनहरूले जलवायु परिवर्तनका कारण जीवाणुबाट सर्ने र पानीका कारणले हुने रोग बढ्दै जाने देखाएको छ। नेपालमा सन् २०१७ मा भएको एक अध्ययनले कुनै ठाउँको तापमान १ डिग्री सेल्सियस बढ्दा झाडापखालाका बिरामी ४.३९ प्रतिशतले बढेको देखाएको छ।
सन् २०२१ मा प्रकाशित नेपालको स्वास्थ्य क्षेत्रको ‘संकटासन्न र जोखिम मूल्यांकन तथा अनुकूलन कार्यसम्बन्धी’ प्रतिवेदनअनुसार जलवायु परिवर्तनले मानव स्वास्थ्यमा धेरै पक्षबाट प्रभाव पारेको छ। अधिक गर्मी, शीतलहर, आगलागी, चोटपटक र विभिन्न रोगका कारणले मृत्युको जोखिम बढेको छ। न्यून स्रोत रहेका क्षेत्रहरूमा खाद्य उत्पादन घटेको छ र अल्पपोषण हुने जनसंख्या वृद्धिको जोखिम बढेको छ।
स्वास्थ्यमा पर्ने असरका कारण मानिसको काम गर्ने क्षमता घट्ने र उत्पादकत्वमा ह्रास आउने समस्या बढ्दो छ। रोग कम देखिने पर्वतीय क्षेत्रहरूमा समेत खाना, पानी र जीवाणुबाट सर्ने रोगको जोखिम बढ्दो छ। तराईमा शीतलहरले मृत्युदर र रोगको समस्या बढ्दै गएको छ।
जलवायु परिवर्तनले मानव स्वास्थ्यमा केही सकारात्मक प्रभाव पनि पारेको छ तर प्रभाव दिगो हुँदैन। कम तापक्रम भएका क्षेत्रहरूमा चिसोका कारणले हुने मानवीय क्षतिको घटना कम हुँदै गएको छ। तराई क्षेत्रमा तापमान बढेका कारण रोग सार्ने जीवाणुको क्षमता घटेको पाइएको छ। नकारात्मक प्रभावको तुलनामा सकारात्मक प्रभाव नगन्य छ।
स्वास्थ्य क्षेत्रको क्षमता सुधार गर्नु र भौतिक संरचनाहरू जलवायु परिवर्तन अनुकूल बनाउनु आजको आवश्यकता भएको छ। कुनै कारणले अवरूद्ध सेवा अविलम्ब चालु गर्न सक्ने गरी क्षमता बढाउनु पनि उत्तिकै आवश्यक भएको छ। मानिसमा जलवायु परिवर्तनको प्रभाव सकेसम्म कम गर्न र प्रभाव बढ्ने गति नियन्त्रण गर्न प्रतिरोधी क्षमता अभिवृद्धितर्फ पनि ध्यान दिन आवश्यक भएको छ।
जलवायु परिवर्तन, यसका असर र असर न्यूनीकरणका सम्बन्धमा नियमित रूपमा जनचेतनामूलक अभियान चलाउनु पर्छ। असरबारे नियमित रूपमा पर्याप्त जानकारी, चेतावनी र सूचना जारी गर्नु पर्छ। जलवायु पूर्वानुमान प्रणाली सशक्त बनाइ ठीक समयमा सूचना दिनु पर्छ।
सामुदायिक सशक्तीकरणका लागि स्वयंसेवी संगठनहरू परिचालन गर्नु पर्छ। संकटासन्न समुदायमा असर रोकथाम तथा नियन्त्रण सम्बन्धमा शिक्षा दिनु पर्छ, चेतना फैलाउनु पर्छ। जोखिममा रहेका बिरामीको उचित उपचारको प्रबन्ध गर्नु पर्छ। मानसिक समस्याहरू पहिचान गर्न जनशक्ति र उपकरण बढाउनु पर्छ। आकस्मिक सेवाका लागि मोबाइल क्लिनिक चलाएर स्वास्थ्य सेवामा बिरामीको पहुँच बढाउनु पर्छ।
जलवायु परिवर्तनबाट प्रभावित स्वास्थ्य पूर्वाधार र समुदायलाई छिटो पूर्वस्थितिमा ल्याउने र दीर्घकालीन असर न्यूनीकरण गर्ने व्यवस्था मिलाउनु पर्छ। स्वास्थ्य क्षेत्रमा उल्लिखित सुधारबाट जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने र अनुकूलन बढाउँदै जाने प्रणाली विकासमा विकासमा सहयोग पुग्नेछ। नवीनतम उपचार पद्धति र प्रविधिमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि निरन्तरको प्रक्रिया हुनु पर्छ। रोग निदान र उपचारमा व्यापक पहुँच बनाउन सधैं आपतकालीन सेवाको पूर्वतयारी भएको हुनु पर्छ।
जलवायु परिवर्तनको प्रभाव अनुसार स्वास्थ्य प्रणाली स्तरोन्नति गर्न सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक हुन्छ। सरकारले सबै सरोकारवालाहरूसँग समन्वय गरी प्रतिकार्य योजना बनाएर कार्यान्वयन गर्नु पर्छ। सार्वजनिक क्षेत्रले नव प्रवर्तनमार्फत स्वास्थ्य क्षेत्रको पूर्वतयारी गर्नु पर्छ।
जलवायुबाट उत्पन्न स्वास्थ्य समस्या समाधानमा निजी क्षेत्रको सहभागिता बढाउन प्रोत्साहनका प्याकेजहरू बनाएर कार्यान्वयन गर्नु राम्रो हुन्छ। प्रत्यक्ष आर्थिक प्रोत्साहन, अनुदान, ऋणका लागि सरकारी ग्यारेन्टी, कर छुट, अनुसन्धानमा अनुदान वा यस्तै अन्य प्याकेजहरू हुन सक्छन्। यस्तो प्याकेजको उद्देश्य निजी लगानीकर्ताहरूलाई स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण कार्यमा लगानी गर्न सक्षम बनाउनु हो।
स्वास्थ्यसँगै कृषि वा यस्तै अन्य व्यावसायिक क्षेत्रमा पनि निजी क्षेत्रको संलग्नता बढाउन सरकारले सहयोग गर्नु पर्छ। समग्रमा सरकारसँगै निजी क्षेत्र पनि जलवायु परिवर्तनका असर न्यूनीकरणको काममा लाग्ने हुन्छ। नीति, कानुन–नियम आदिको अनुकूल परिमार्जन र कार्यान्वयनमा पनि निजी क्षेत्रको योगदान महत्त्वपूर्ण हुन सक्छ। निजी क्षेत्रको सहभागिता खुकुलो बनाउने, जलवायु परिवर्तन अनुकूल नयाँ उत्पादनको प्रयोग प्रोत्साहित गर्ने, नवप्रवर्तनमा निजी क्षेत्रको सहभागिता बढाउने जस्ता काममा सरकारले सहयोग गर्नु पर्छ।
जनचेतना अभिवृद्धिले प्रभावकारी उत्प्रेरकको काम गर्छ। उत्तम अभ्यास, प्रविधि र उपयोगी सूचनाको प्रचारप्रसार व्यापक बनाउनु आवश्यक हुन्छ। जलवायु परिवर्तनले मानिसमात्र होइन, समस्त जैविक प्रणालीमै दीर्घकालीन संकट उत्पन्न गर्न थालेको छ। जैविक प्रणालीको अस्तित्वमै प्रश्न खडा गरेको छ।
अब पर्खेर हेर्ने र ढिलो गर्ने समय छैन। सबै क्षेत्रमा संकट न्यूनीकरणका उपायहरू अवलम्बन गर्न आवश्यक छ। यसमा सरकार र निजी क्षेत्रको समन्वय हुनु अत्यावश्यक हुन्छ।
(अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. राजु लौडारी नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत छन्।)