बितेका केही वर्षहरूमा सहरमा बसाइँ सरेर असन्तुष्ट बनेका व्यक्तिको संख्या बढ्दै छ। गाउँबाट सहरतिर सरेकाहरूमा आफ्नै थातथलो फर्किने र सहरमै जन्मे-हुर्केर पनि कोलाहलबाट अलिक पर ग्रामीण परिवेशमा बसाइँ सर्ने प्रवृत्ति बढेको छ।
अनौपचारिक भेटघाट र छलफलमा कतिपय मानिस सहरले खुसी र स्वास्थ्य दुबै दिन नसकेको बताउँछन्। गाउँ छाडेर सहरमा सरेकालाई गाउँको याद आउँछ, देश छाडेर विदेश पुगेकालाई देशको याद आउँछ।
सहर पसेका र विदेश पुगेका कतिपय मानिस केही वर्षमा गाउँ फर्किने कुरा गर्छन्।
अझ आपतविपत परेको समयमा त गाउँबाट सहर आएकाहरूले सम्झिने आफ्नो गाउँ नै हो।
२०७२ सालको भूकम्पका बेला होस् कि नाकाबन्दी वा कोरोना कहरका बेला, धेरै मानिस गाउँ फर्के। उनीहरूले सहरमा आफ्नोपन भेटेनन्, असुरक्षित अनुभव गरे।
गाउँ र सहरबीच जीवनशैलीमा रहेको अन्तर पनि समयसँगै घट्दो क्रममा छ। गाउँमा सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको गति बढेको छ। अहिले त धेरै गाउँहरूमा सहरी सुविधा पुगेको छ। स्कुलमा 'गाउँले जीवन र सहरिया जीवन' शीर्षकमा हुने वादविवाद प्रतियोगितामा पक्ष र विपक्षमा प्रस्तुत हुने तर्कहरू पनि बदलिन थालेका छन्।
यस्तो बलिँदो परिप्रेक्ष्यमा गाउँबाट सहरमा बसाइँ सरेकाहरू आफ्नो थातथलो फर्किएलान् त?
रहरको सहरमा धूलो, धुवाँ र फोहोरमैलाको कहर छ। यस्तैमा पनि मानिसहरू पेसा-व्यवसायको अवसर र भविष्यको सपनाका कारण सहरमा बसेका हुन्छन्। गाउँबाट सहर पस्छन्।
सहरबाट स्थायी रूपमा गाउँ फर्किनेहरूको आधिकारिक तथ्यांक भेटिँदैन तर फर्किनेहरूको संख्या क्रमिक रूपमा बढ्दै गएको देखिन थालेको छ।
चर्चित गायक अमृत गुरूङ र पत्रकार नारायण वाग्ले आआफ्ना गाउँ फर्केर कृषिमा संलग्न भएका छन्। उनीहरूको कदम सामाजिक सञ्जालमा चर्चाको विषय पनि बनेको थियो।
सहरबाट गाउँ फर्किन इच्छुकका लागि यी दुई पात्र प्रेरणा स्रोत हुन सक्छन्। पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्मका केही मानिसहरू सहर छाडेर गाउँ फर्किन थालेका छन्।
सहरसँग अघाएकाहरू मात्र होइन, सहरमा भोका भएका र शोषणमा परेकाहरू पनि गाउँको थातथलोमा देखिन थालेका छन्। काठमाडौं महानगरपालिकाले सडकमा व्यापार गर्न रोक लगाएपछि पनि केही मानिस गाउँ फर्किए। फर्किनेको चर्चा हुनु-नहुनु फरक कुरा हो।
डोटी, बागलुङ र सुर्खेतका केही मानिस तीन दशक ठूलो सहरमा बसेर २०८१ सालको सुरूमै आफ्नो गाउँ फर्केका भेटिए। पूर्वी पहाडका केही जिल्ला घुम्दा पनि गाउँमै उपयुक्त व्यवसाय गर्ने मनसायले सहरबाट फर्केका मानिसहरू भेटिए।
आखिर किन धेरै मानिसहरू गाउँ छोडेर सहर पस्छन्?
अलि हुने-खानेहरू उच्च शिक्षा हासिल गर्ने, जागिर गर्ने, व्यवसाय गर्ने, सहरको आधुनिक सुविधा उपभोग गर्ने, विदेश जाने अवसर खोज्ने जस्ता कारणले सहर पस्छन्। गरिबहरू अनेक काम पाइने र बढी कमाइ हुने आशाले सहर पस्छन्।
गाउँमा व्याप्त गरिबी, आम्दानीका स्रोतको सीमितता, सामाजिक बहिष्कार, जीविकोपार्जनमा कठिनाइ जस्ता अनेक कारणले गरिब परिवार पनि सानो-ठूलो सहरतिर आकर्षित हुन्छन्। नयाँ ठाउँमा जीवन सुरू गर्न चाहना भएकाहरू बसाइँसराइलाई अवसरका रूपमा लिन्छन्। समग्रमा सहरमा अवसरको विविधता हुने र आधुनिक सेवासुविधा पाइने हुँदा मानिसहरू गाउँ छाडेर सहर पस्छन्। सहरमा हुनेहरू विकसित देशतिर जाने प्रयासमा हुन्छन्।
नेपालको तराई क्षेत्रमा औलो नियन्त्रणपछि पहाडबाट तराईतिर बसाइँसराइ ह्वात्तै बढ्यो। पहाडमा कठिन जीवन, उर्वरभूमिको सीमितताले खाद्यान्न अभाव, कठिन यातायात लगायत अनेक समस्याका कारणले समथर भूमिमा तीव्र बसाइँसराइ भयो।
तराईको उर्बर भूमि, भूमिको उपलब्धता र सहज भौगोलिक बनोटले पहाडी बासिन्दालाई तराईतिर तानेको थियो। विगत तीन दशकयता वैदेशिक रोजगारीले बसाइँसराइ पहाड-तराई र गाउँ-सहरमा मात्र सीमित राखेको छैन, अझै फराकिलो बनाएको छ। वैदेशिक रोजगारीले समाजको गतिशीलता र आप्रवासन दुबै बढाएको छ।
दैनिक १७ सयभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेश जाने गरेका छन्। सन् २०२१ को जनगणनाको तथ्यांक अनुसार कुल २२ लाख नेपाली विदेशमा छन् र उनीहरू १७२ देशमा छरिएका छन्। यो संख्या अझै बढी छ भन्ने आमधारणा छ।
यति ठूलो संख्यामा देशभित्रै वा देशबाहिर बसाइँसराइ हुनुमा गरिबी, रोजगारी सिर्जनामा कमी, स्रोतसाधनको अभाव, विदेशमा श्रमको माग लगायत मुख्य कारण हुन्। बसाइँसराइका प्रवृत्ति, ढाँचा र कारणहरू समयसँगै परिवर्तनशील छन्।
नेपाल सरकारले प्रवासीहरूलाई फर्काउने, वैदेशिक रोजगारीबाट फर्केकाले आर्जन गरेको पुँजी उत्पादनशील काममा लगानी गराउने, उनीहरूलाई एकीकृत गर्ने लगायत विषय समेटेर निर्देशिका ल्याएको छ।
कोरोनाको समयमा लाखौं नेपाली विदेशबाट फर्किए। तीमध्ये केहीले गाउँमा व्यवसाय सुरू गरे। कोभिडको समय सहरी क्षेत्रमा सामना गर्नुपरेको एक्लोपन र उकुसमुकुसले पनि धेरै मानिसलाई गाउँ फर्कायो।
कोभिडले विश्वभरि नै सहरी जनजीवनमा संकट सिर्जना गरेको थियो। तुलनात्मक रूपमा गाउँहरू ढुक्क थिए। 'रिभर्स माइग्रेसन' ह्वात्तै बढेको थियो। नेपालमा पनि कोभिडको समय गाउँ फर्किएका कतिपय मानिस गाउँमै अडिए। तिनले गाउँमै व्यवसाय गरे।
सहरबाट गाउँतर्फ हुने बसाइँसराइ रिभर्स माइग्रेसन हो। हालका वर्षहरूमा सानै भए पनि विश्वभर नै रिभर्स माइग्रेसनको प्रवृत्ति देखिएको छ।
देशभित्र वा बाहिर जता बसाइँ सरे पनि व्यक्तिको तत्कालीन समस्या समाधान गर्न मद्दत पुग्छ। व्यक्ति उच्च शिक्षा हासिल गर्छ। व्यक्तिले व्यावसायिक सीप हासिल गर्छ। आफ्नो आर्थिक अवस्था मजबुत बनाउँछ। आर्थिक अवस्था मजबुत भएपछि सामाजिक विभेद घट्छ।
अर्कातिर तीव्र गतिको बसाइँसराइले गाउँहरू रित्तिए। सहरमा जनसंख्या हवात्त बढ्यो। प्राकृतिक स्रोतहरूको दोहन, घना जनसंख्या र प्रदूषणले अस्वस्थता बढायो। तराई क्षेत्रमा पनि प्राकृतिक स्रोतको दोहन बढ्यो। तीन पुस्ताअघि २० फिटमा पानी आउने इनार अहिले सय फिट गहिर्याउनु पर्ने भयो। मध्य तराईमा यस्तो समस्या बढी देखिएको छ।
सहरले मानिसका केही सपनाहरू पूरा गरे पनि दीर्घकालीन रूपमा समस्या बढायो। कोलाहल, धूलोधुवाँ, खुला क्षेत्रको अभाव र बदलिँदा सम्बन्धका कारण मानिसहरू सहरमा खुसी हुन सकेनन्। सहर बिस्तारै जाडो समयमा भाँडोमा उम्लिँदै गरेको पानी जस्तो भयो। न्यानो हुँदै गरेको पानीमा हात डुबाउँदा मजा आउने र उम्लिने क्रम हुन लागेपछि हात झिक्नै पर्ने जस्तो भयो।
इन्टरनेट प्रविधिको विकासले घरबाट काम (वर्क फ्रम होम) गर्ने प्रवृत्ति बढ्दा सहरका लागि कतिपय काम गाउँमै बसेर गर्न सकिने भएको छ। स्वदेशमा आफ्नै घरमा बसेर विदेशका कम्पनीमा काम गर्ने युवाहरू भेटिन थालेका छन्।
रोजगारीका लागि थातथलो छाडेकाहरू त निश्चित समयपछि फर्किन्छन् नै। विकसित देशमा पुगेकाहरू पनि 'पछि आफ्नै देश फर्किने हो' भन्ने धेरै भेटिन्छन्। गाउँको शान्त र सरल परिवेशमा सेवा निवृत्त जीवन आनन्दमय बनाउने र स्थानीय विकासमा थोरै भए पनि योगदान गर्ने चाहनाले गाउँ फर्किनेहरू पनि भेटिएका छन्।
गाउँ फर्किएकाहरू गाउँमै अडिन्छन् भन्ने छैन। कोभिडमा गाउँमा फर्केकाहरू कोही फेरि सहर पसे, कोही फेरि विदेश पुगे।
रिभर्स माइग्रेसन बढाउन र फर्केकालाई गाउँमै अड्याउन तीनै तहका सरकारले संयुक्त नीति बनाउनुपर्छ, आआफ्ना नीति र रणनीति पनि बनाउनुपर्छ।
नीति र रणनीतिले ग्रामीण अर्थतन्त्र मजबुत बनाउने काम गर्नुपर्छ। पर्यावरण संरक्षणमा ध्यान दिनुपर्छ। बासिन्दाहरूमा सामाजिक न्यायमा आधारित दिगो सम्बन्ध बनाउने रणनीति हुनुपर्छ। गाउँ हुनुका मौलिक गुणहरू संरक्षण गर्नु उत्तिकै आवश्यक हुन्छ। सहरी विकृति र विसंगतिबाट गाउँ जोगाउन स्थानीय तहहरूले ध्यान दिनुपर्छ।
यस्ता उपयाहरूबाट रिभर्स माइग्रेसन बढाउन सक्ने हो भने सामाजिक सम्बन्ध र ग्रामीण अर्थतन्त्र बलियो बनाउन सकिन्छ। गुमेका अवसरहरू फर्काउन सकिन्छ।
स्थानीय सरकारहरूले प्राकृतिक स्रोतसाधनको संरक्षण र सदुपयोग हुने रणनीति अवलम्बन गर्नुपर्छ। ग्रामीण जनजीवनको गुणस्तरको मापदण्ड तय गर्नुपर्छ। मापदण्ड पूरा गर्ने कदम चाल्नुपर्छ। ग्रामीण मौलिक गुण नष्ट नहुने नीति लिई काम गर्नुपर्छ।
स्थानीय सरकारहरूले गाउँलाई वातावरणीय, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा दिगो, आत्मनिर्भर र रोजगारीमूलक बनाई जीवनको गुणस्तर अभिवृद्धिका लागि काम गर्न सक्छन्। यस दिशामा काम गर्न स्थानीय तहहरू कानुनी रूपले सबल छन्। आर्थिक रूपले सबल हुने बाटो पनि निर्माण गर्न सक्छन्।
गाउँमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार जस्ता आधारभूत सेवा पुर्याउनु पर्छ। सेवाको गुणस्तर पनि बढाउनुपर्छ। यसो हुँदा गाउँको मान्छे गाउँमा अडिन सक्छ।
सहरका विकृति र विसंगतिबाट जोगाउँदै ग्रामीण जीवनको गुणस्तर अभिवृद्धि गर्न सक्ने हो भने रिभर्स माइग्रेसन अवश्य बढ्नेछ। यसो हुँदा ग्रामीण स्रोतसाधनको सदुपयोग हुनेछ, ग्रामीण अर्थतन्त्र बलियो हुनेछ।
(प्रेमराज अवस्थी संयुक्त राष्ट्र संघमा कार्यरत छन्।)