विद्यावारिधि शोधकार्यका दौरान मैले मेरा बेलायती गुरू टोनी बुथलाई सोधेको थिएँ — विद्यालय सुधारको मूल सूत्र के हो?
उहाँले तीन शब्दमै सहज उत्तर दिनुभएको थियो — पोजिटिभ स्कुल कल्चर।
मैले सूत्रको सार के हो भनेर तत्कालै सोधेको थिएँ।
उहाँले भन्नुभएको थियो — तपाईंले आफ्नो घर प्रवेश गर्नेबित्तिकै बगैंचामा रोपेको बिरूवा भाँचिएको देख्नुभयो भने कति चित्त दुखाउनुहुन्छ? पक्कै पनि तपाईं चिन्तित हुँदै यो कसले गर्यो, किन गर्यो भनेर सोध्न थाल्नुहोला। के तपाईं आफ्नो विद्यालयमा प्रवेश गर्दा बगैंचामा बिरूवा भाँचिएको देख्नुभयो भने त्यस्तै चिन्ता गर्नुहुन्छ?
हो, विद्यालय संस्कृतिको मूल पक्ष यसैमा निर्भर रहन्छ।
उहाँले थप व्याख्या गर्दै भन्नुभएको थियो — मानौं, तपाईंको परिवारमा प्रशस्तै धनसम्पत्ति छ, भौतिक सुविधाको पूर्णता छ। मीठो खान, राम्रो लगाउन, देशदेशान्तर घुमफिर गर्न स्रोतसाधनको कमी छैन। यससँगै सोच्नुहोस् त, परिवारमा बसेर भलाकुसारी गर्ने समय छैन, सबैका प्राथमिकता फरक फरक छन्। भेट हुँदा असन्तुष्टि पोख्ने र कुरा काट्ने काम हुन्छ।
उहाँ रोकिनुभएन, भनिरहनुभयो, 'सबैका बोलीवचन रूखा छन्। सामूहिक भावना छैन, देखिने नदेखिने गरी परिवारका सदस्यबीच देखासेखी र द्वन्द्वको भावना छ। सम्पत्ति र भौतिक सुविधा पुगेर सबैमा स्वार्थ र अहमता देखिन्छ। त्यस्तो परिवार सफल र आदर्श मान्न सकिँदैन।'
उहाँले थप उदाहरण दिनुभयो — अर्को परिवार छ, आम्दानी र सुविधा मध्यमस्तरको छ तर परिवारका सबै सदस्यहरू आपसमा दुःखसुख बाँड्छन्। भलाकुसारी गर्छन्। काम बाँडफाँट गर्छन्। मितव्ययी रूपमा खर्च गर्छन्। साँझबिहान सबै जना सँगै बसेर हाँसीखुसी खान्छन्। त्यहाँ आत्मीयता छ, एकअर्कामा माया र सम्मान छ। उनीहरूले थोरै आम्दानी र स्रोतसाधन मितव्ययी रूपमा उपयोग गर्दै रमाइलो जीवन बिताएका छन्। सबैमा जिम्मेवारीको सामूहिक भावना छ।
उहाँले निष्कर्ष दिनुभएको थियो, 'राम्रो आम्दानी र भौतिक स्रोतसाधनले सम्पन्न हुँदैमा परिवार सुखी हुने होइन। सुख त सकारात्मक पारिवारिक संस्कृतिले प्राप्त हुने हो।'
यही सूत्र विद्यालयमा पनि लागू हुन्छ।
विद्यालय सुधारबारे उहाँको सार-सूत्र यही थियो।
अब कुरा गरौं नेपालको।
हाम्रा धेरै सामुदायिक विद्यालयसँग पुग्दो जग्गा, भवन र शैक्षिक सुविधा छ, शिक्षक छन्। स्रोतसाधनका हिसाबले अधिकांश विद्यालय राम्रो अवस्थामा छन्।
यति हुँदा पनि आमरूपमा यी विद्यालयमा विद्यार्थीको सिकाइस्तर कमजोर छ। कक्षा ५ पूरा गरेका अधिकांश विद्यार्थी आफ्नो पाठ पढ्न र लेख्न सक्दैनन्। सिकाइको स्तरमा चित्त नबुझाएर अभिभावकहरू निजी विद्यालयमा महँगो शुल्क तिरेर छोराछोरी पढाउँछन्।
स्रोतसाधन हुँदाहुँदै हाम्रा स्कुल किन कमजोर भए त?
मूलतः हामीले लगानी र प्रक्रियामा मात्र कमजोरी देख्यौं। सोहीअनुसार विद्यालय सुधारका ठूल्ठूला योजना बनायौं। दाताहरूको सहयोगमा लगातार भौतिक सुविधा, पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण र मूल्यांकन विधि, शैक्षिक योजना, शिक्षक तालिम, अभिभावकको संलग्नता, नेतृत्व र व्यवस्थापन, सूचना तथा प्रविधि जस्ता क्षेत्रमा नयाँनयाँ योजना र कार्यक्रम लागू गरिरहेका छौं।
यति गर्दा पनि विद्यार्थीको सिकाइ गुणस्तरमा अपेक्षित परिवर्तन आउन सकेको छैन।
यसो हुनुको मूल कारण विद्यालय परिवारमा सहकार्य, सामूहिकता, अपनत्व, पेसाप्रतिको गौरव र सम्मानको संस्कृति निर्माण हुन नसक्नु हो।
विद्यालय संस्कृति विद्यालयको आत्मा हो।
व्यक्तिमा आत्माको शुद्धीकरण नभएसम्म भौतिक सुविधा र सम्पन्नताले आनन्द र सुख प्राप्त हुँदैन।
व्यक्ति जस्तै स्कुलका व्यवस्थापक, शिक्षक, अभिभावक र विद्यार्थीका व्यवहारमा प्रतिविम्बित मूल्यमान्यता, पद्धति, आचरण, सोच, व्यवहार, दृष्टिकोण, झुकाब, नेतृत्व जस्ता पक्षले स्कुलको सफलता वा असफलता निर्धारण गर्छ।
यी पक्ष ध्यानमा राखेर हामीले लगानी र प्रक्रियासँगै विद्यालय संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउन सुधारको काम थाल्ने बेला भएको छ।
हाम्रा सामुदायिक विद्यालयमा शिक्षकहरूबीच सामूहिक भावना र स्कुलप्रति अपनत्वको कमी छ। शिक्षक र व्यवस्थापन सदस्य दुबै राजनीतिक आस्थाका आधारमा विभाजित र पूर्वाग्रही छन्। शिक्षकहरूमा 'हामी सबै एउटै विद्यालय परिवारका साझा सदस्य हौं' भन्ने भवानाको कमी छ। बरू 'अलग अलग संघसंगठनका सदस्य हौं' भन्ने विभाजित मनस्थिति छ।
हामीले विद्यालयमा शिक्षक र व्यवस्थापन सदस्यहरूबीच एकअर्कालाई सम्मान गर्ने, आपसमा छलफल गर्ने, आपसबाट सिक्ने संस्कार विकास गर्न सकेनौं। व्यवस्थापनले शिक्षकको दोष देख्यो; शिक्षकले व्यवस्थापनलाई अनपढ, अविवेकी र पूर्वाग्रही देखे।
हामीले सबैको फरक फरक पहिचान, अनुभव र क्षमताको उपयोग गर्ने संस्कार निर्माण गर्न सकेनौं। बरू शिक्षक व्यवस्थापन, स्थायी-अस्थायी, प्रावि-मावि, सरकारी दरबन्दी-निजी स्रोत जस्ता संरचना हेरेर 'ठूलो-सानो' र 'तेरो-मेरो' को पहिचान बलियो बनायौं।
सामूहिक भावना, अपनत्व, कर्तव्य र जिम्मेवारीभन्दा पनि जागिरको अपौचारिकतामा सीमित भएर रमायौं।
शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी सेवाका लागि प्रवेश गरेका मेरा एक पूर्वविद्यार्थीले भनेको एउटा कुरा यहाँ उल्लेख गर्नु सान्दर्भिक ठानेको छु।
उनको भनाइ यस्तो थियो —
'म शिक्षक सेवा आयोग पास गरेर ठूलो जोस र जाँगरसहित स्कुल गएको थिएँ। कलेजमा सिकेको शिक्षण र मूल्यांकन विधिका नयाँ ज्ञान र सीप प्रयोग गर्दै विद्यार्थीहरूलाई सिकाइ क्रियाकलापमा अधिकतम सरिक गराउने उत्साह थियो। सोहीअनुसार ठीक समयमा कक्षामा जाने, पूरा समय विद्यार्थीलाई कार्यकलापमा संलग्न गराउने, नयाँनयाँ प्रोजेक्ट-वर्कका लागि विद्यार्थीलाई कक्षाबाहिर पनि लैजाने, विद्यार्थी-शिक्षक सम्बन्ध आत्मीय बनाउन कहिलेकाहीँ रमाइला अतिरिक्त क्रियाकलाप गर्ने जस्ता गतिविधि गर्न थालेँ।
म अरू शिक्षक साथीहरूबाट सिक्न र आफूले जानेको कुरा उहाँहरूसम्म पुर्याउन चाहन्थेँ। तर त्यहाँ त यसो गर्ने सहकार्यको संस्कृति नै रहेनछ। मैले सिकारू केन्द्रित र कार्यकलापमुखी शिक्षण गरेको अधिकांश शिक्षकलाई पाच्य भएन।
उहाँहरूले मलाई 'नयाँ जोगीले धेरै खरानी घस्छ, त्यसको फूर्ति कति दिन टिक्छ' भनेर टीकाटिप्पणी गरेको थाहा पाएँ। बिस्तारै मलाई एक्लो महसुस हुन थाल्यो। मेरो जोस-जाँगर मर्दै गयो। म पनि उहाँहरू जस्तै जागिरे भएँ।'
मेरा पूर्वविद्यार्थीको यस्तो कुरा सुनेर म निराश भएँ।
यो उदाहरण दिएर मैले सबै विद्यालय गलत संस्कृतिका छन् भन्न चाहेको होइन। सहकार्य, सहसिकाइ, सामूहिकता जस्ता सकारात्मक संस्कृति भएका स्कुल पनि छन्। यस्ता स्कुलमा शिक्षक, विद्यार्थी, अभिभावक सबै सन्तुष्ट देखिन्छन्। सबैमा मेलमिलाप र सहयोगी भाव देखिन्छ, आपसी सम्बन्ध सुमधुर छ। विद्यालयप्रति अपनत्वको भाव देखिन्छ।
यस्ता स्कुल भौतिक रूपमा सम्पन्न नभए पनि एउटा सुखी परिवार जस्ता देखिन्छन्। सकारात्मक संस्कृतिले उदाहरणीय बनेका छन्।
हामी देख्न सक्छौं, पक्की भवन भएका कतिपय स्कुलका कक्षाकोठा खाली छन् तर बाँसको भाटाले बारेर माटोले लिपेका कतिपय विद्यालय भरिभराउ छन्।
परिवार सुखी हुन भौतिक सुविधाभन्दा बढी मेलमिलाप, माया र सम्मान आवश्यक भएझैं विद्यालय राम्रो हुन पनि सहकार्य, सहसिकाइ, सामूहिकता र आपसी सद्भाव अपरिहार्य आधार हुन्।
'शेपिङ स्कुल कल्चर' किताबका लेखक केन्ट पिटर्सन र टेरेन्स डिल लेख्छन् — सकारात्मक विद्यालय संस्कृति सामूहिक लक्ष्य र दृष्टिकोण, अपनत्व र सम्मान, मानक र मूल्य, इतिहास र योगदान, कार्यक्रम र उत्सव, संरचना र संकेत, संघर्ष र गाथा तथा सहयोगी र साझा नेतृत्वका इँटाको संरचनाले निर्मित हुन्छ। यी पक्षको सूक्ष्म र गहिरो विश्लेषणबाट स्कुलमा सुधार गर्नुपर्ने सांस्कृतिक अवयव यकिन गर्न सकिन्छ।
लेस्ली काप्लन र विलियम ओयिङ्स विद्यालय संस्कृतिसम्बन्धी आफ्नो पुस्तक 'कल्चर रिबूट' मा लेख्छन् — अब विद्यालय सुधारका लागि राम्ररी काम गर्न रोकिएको कम्प्युटरलाई रिबूट वा रिस्टार्ट गरेझैं स्कुललाई नयाँ ढंगले रिबूट गर्न जरूरी छ। सकारात्मक र समावेशी संस्कृतिको मूल लक्ष्य केन्द्रमा राखेर रिबूट हुनुपर्छ।
यी लेखकहरूका अनुसार विद्यालय संस्कृति कुनै नीति, कार्यक्रम र बजेटले तुरून्तै बन्ने होइन। न कुनै तालिमले सिकाउन सक्छ। संस्कृति अलिखित हुन्छ तर विद्यालयको गतिविधिमा प्रतिविम्बित हुन्छ। कुनै घरभित्र पस्नासाथ त्यहाँको भौतिक व्यवस्थापन र मानवीय व्यवहारले घरको सांस्कृतिक झलक दिएझैं स्कुल प्रवेश गर्दा देखिने भित्तेलेखन, भित्तेचित्र, बगैंचा, सरसफाइ, शिक्षक र विद्यार्थीका बोली, व्यवहार र कार्यकलापले त्यसको संस्कृति प्रतिविम्बित गर्छ।
स्कुल राम्रो बनाउने संस्कृति निर्माणको उपर्युक्त सूत्र विद्यालय नेतृत्व, व्यस्थापन समिति, अभिभावक र शिक्षक समुदायले अवलम्बन गरौं।
हाम्रो व्यवहार र विद्यालय रिबूट गर्न सुरू गरौं। असल संस्कृति निर्माण गर्न केही समय लाग्छ तर विद्यालय परिवारका सबै सदस्यले विद्यालय संस्कृतिको मर्म आत्मसात् गर्न सक्यौं भने सकारात्मक परिणाम अवश्य देखा पर्नेछ।
आजै सुरू गरौं!
(लेखक डा. पेशल खनाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्।)