अहिले आमजनतामा दीगो र स्वच्छ ऊर्जाको पहुँच र व्यवस्थापनको मुद्दा 'हटकेक' का रूपमा छ।
घरायसी भान्सामा प्रयोग भएको ठोस इन्धन र मट्टीतेलबाट हुने प्रदूषणका कारण सिर्जित रोगले प्रत्येक वर्ष विश्वमा करिब ३८ लाख मानिस मृत्युको शिकार हुने एक अध्ययनले देखाएको छ। त्यो जनसंख्याको ठूलो हिस्सा महिला र बालबालिका छन्।
यो समस्या समाधानको एउटा महत्वपूर्ण विकल्प घरायसी भान्साको विद्युतीय रूपान्तरण र प्रवर्द्धन हो। तर यो काममा धेरै प्राविधिक, आर्थिक, राजनीतिक र सुशासनका विषय जोडिएका छन्।
विद्युत उत्पादन बढ्ने क्रमसँगै नेपाल सरकारले विद्युतीय भान्सा प्रवर्द्धनको प्रयास थालेको छ। सन् २०३० सम्ममा २५ प्रतिशत घरको भान्सालाई विद्युतीय चुह्लोमा परिणत गर्ने लक्ष्य लिएको छ।
पछिल्लो तथ्यांक अनुसार करिब ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको छ। यसमध्ये ७२ प्रतिशत घर राष्ट्रिय विद्युत प्रणालीमा र २३ प्रतिशत अफ-ग्रिड प्रणालीमा जोडिएका छन्। यसको गुणस्तर र नियमित आपूर्तिमा भने समस्या छ। एक अध्ययन अनुसार ४७ प्रतिशत घरले निरन्तर बिजुली पाएका छन्। त्यस्तै ५ प्रतिशत घरले ८ देखि १६ घन्टा र ४८ प्रतिशत घरले १६ देखि २३ घन्टा नियमित बिजुली पाइरहेका छन्।
तर भान्सामा प्रयोग हुने इन्धनका रूपमा अहिले पनि दाउराको खपत ५१ प्रतिशतभन्दा बढी छ। दाउराको प्रयोग सहरी क्षेत्रमा ३५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। विद्युतीय ऊर्जाको प्रयोग भने १ प्रतिशतभन्दा कम छ।
सन् २०२१ को जनगणना अनुसार करिब ६७ लाख घरधुरीमध्ये ३४ लाखमा दाउरा, २९ लाखमा एलपी ग्यास, ३२ हजारमा बिजुली, १ लाख ९१ हजारमा गुइँठा, ७८ हजारमा गोबर ग्यास, ३ हजारमा मट्टीतेल र ७ हजारमा अन्य इन्धन प्रयोग भएको देखिन्छ।
मट्टीतेल प्रयोग पहिलेभन्दा घटे पनि बिजुली प्रयोग बढ्न सकेको छैन। विश्व परिवेशमा न्यून र मध्यम आय भएका १३० देशमध्ये आर्थिक, मानवीय, पूर्वाधार लगायत सूचकांकहरूका आधारमा ग्रिडजडित विद्युतीय भान्साको प्रयोगको हिसाबले नेपाल ५४ औं स्थानमा छ।
नेपालको सन्दर्भमा बिजुली खपत बढाउने अहिलेको मुख्य चुनौती हो। बिजुली खपत गर्ने केही क्षेत्रहरू घरायसी, उद्योग, पर्यटन, कृषि, यातायातमध्ये भान्सा मुख्य क्षेत्र हो। यसको खपत वृद्धि देशको समग्र आर्थिक विकाससँग जोडिएको छ।
एक दशकपछाडि फर्केर हेर्दा, सन् २०१५ मा, २०९ गिगाजुल ऊर्जा घरायसी भान्सामा खपत भएको देखिन्छ। त्यसमध्ये सबभन्दा बढी १५२ मिलियन गिगाजुल दाउराबाट थियो। बिजुलीबाट ६०० गिगाजुल मात्र थियो। बाँकी ऊर्जा एलपी ग्यास र बायोमासबाट प्राप्त भएको देखिन्छ।
विश्व बैंक, एसियाली विकास बैंक लगायत संस्थाहरूले गरेका प्रक्षेपण एवं हाम्रो आन्तरिक आर्थिक संकुचनका कारण आगामी दशकको आर्थिक वृद्धिदर औसत ५ प्रतिशत नै कायम रहने प्रक्षेपण छ।
यही आर्थिक वृद्धिदरको अवस्थामा सन् २०३५ मा देशको आन्तरिक ऊर्जाको माग ९२७ मिलियन गिगाजुल पुग्ने अनुमान छ। यो वृद्धिसँगै घरायसी भान्साको ऊर्जा खपत समेत बढेर २४३ मिलियन गिगाजुल पुग्ने प्रक्षेपण छ।
घरायसी भान्साको ऊर्जाको ७४ प्रतिशत हिस्सा परम्परागत ऊर्जाको स्रोत दाउरा, कृषि र पशुजन्य फोहोरबाट प्राप्त हुँदा आधुनिक ऊर्जाको स्रोत मट्टीतेल, एलपी ग्यास, बिजुली र गोबर ग्यासले २६ प्रतिशत हिस्सा ओगट्ने देखिन्छ।
मध्यम आर्थिक वृद्धिदर (७ प्रतिशत) कायम रहँदा सन् २०३५ मा देशको आन्तरिक ऊर्जाको माग १२०६ मिलियन गिगाजुल पुग्दा घरायसी भान्सामा २८५ मिलियन गिगाजुल ऊर्जा खपत हुने अनुमान छ। यो अवस्थामा बिजुलीको माग वार्षिक १३ प्रतिशत र एलपी ग्यासको माग ९ प्रतिशतले बढ्ने देखिन्छ। आधुनिक ऊर्जाको स्रोतमा वृद्धि हुँदा परम्परागत ऊर्जाको खपत २२ प्रतिशतले घट्ने प्रक्षेपण छ।
यदाकदा उच्च आर्थिक वृद्धिदर (९ प्रतिशत) सँगै मुलुकलाई सिंगापुर र स्वीट्जरल्यान्ड बनाउने महत्वाकांक्षी बहस पनि सुनिन्छ। यो असम्भव भन्न भने मिल्दैन। उच्च आर्थिक वृद्धिदर हासिल भएमा आर्थिक गतिविधिहरू पनि सोही अनुसार बढ्ने निश्चित छ। यसबाट ऊर्जाको आन्तरिक खपत समेत वृद्धि भई सन् २०३५ मा १६५२ मिलियन गिगाजुल पुग्ने सम्भावना छ। योमध्ये ३५८ मिलियन गिगाजुल ऊर्जा घरायसी भान्सामा खपत हुने प्रक्षेपण छ।
यो परिदृश्यमा सन् २०१५ को तुलनामा सन् २०३५ मा ऊर्जाको आन्तरिक माग चार गुणाले वृद्धि हुँदा घरायसी ऊर्जाको खपत २२ प्रतिशतले बढ्ने देखिन्छ। भान्सामा प्रयोग हुने आधुनिक ऊर्जाको स्रोत एलपी ग्यासको माग वार्षिक ११ प्रतिशत र बिजुली खपत १६ प्रतिशतले बढ्ने अनुमान छ। योसँगै परम्परागत ऊर्जाको खपत ३० प्रतिशतले घट्ने प्रक्षेपण छ।
यी सबै परिदृश्यहरूमा मुख्य क्षेत्रहरूमध्ये घरायसी प्रयोजनमा ऊर्जाको आन्तरिक खपत बढी हुने देखिन्छ। तथापि, सन् २०३५ मा पुग्दा पनि परम्परागत बायोमास मुख्यतः दाउराको प्रयोग घरायसी भान्सामा उल्लेखनीय रूपमै रहने देखिन्छ।
पेट्रोलियम पदार्थमा बढ्दो व्यापार घाटा कम गर्न यसको आयात घटाउँदै जानु एउटा विकल्प हो। घरायसी प्रयोगमा एलपी ग्यासलाई विस्थापित गरी विद्युतीय भान्सामा रूपान्तरण गर्नु हाम्रा लागि अवसर, आवश्यकता र चुनौती सबै हुन्।
अहिलेकै आर्थिक वृद्धिदरलाई आधार मान्ने हो भने सन् २०३५ सम्म एलपी ग्यासको प्रयोगलाई निरन्तरता दिँदा घरायसी प्रयोजनमा बिजुलीको माग २७ टेट्रावाट घन्टा पुग्ने देखिन्छ। मध्यम आर्थिक वृद्धिदरमा यो माग ५३ टेट्रावाट घन्टा र उच्च आर्थिक वृद्धिदरमा ८५ टेट्रावाट घन्टा पुग्ने एक अध्ययनले देखाएको छ।
घरायसी प्रयोजनमा हुने बिजुली खपत चीम बाल्ने, अन्य विद्युतीय सामग्रीको प्रयोगमा बढी र भान्सामा कम हुने देखिन्छ। भान्सामा विद्युत खपत अपेक्षाकृत नबढ्दा एलपी ग्यासको खपत बढ्ने निश्चित छ। एक अध्ययनले अहिलेकै आर्थिक वृद्धिदर कायम रहँदा, सन् २०१५ लाई आधार वर्ष मान्दा, २० वर्षको अन्तरालमा अर्थात् सन् २०३५ मा एलपी ग्यासको माग चार गुणाले बढ्ने देखाएको छ। साथै मध्यम र उच्च आर्थिक वृद्धिमा यो परिमाण क्रमशः ६ र ८ गुणाले वृद्धि हुने छ। यसले भविष्यमा एलपी ग्यास आयातमा ठूलो धनराशी खर्च हुने देखिन्छ।
एलपी ग्यासलाई निरन्तरता दिँदा अहिलेकै आर्थिक वृद्धिदरमा घरायसी प्रयोजनमा बिजुलीको माग १० प्रतिशतले बढ्ने छ। साथै मध्यम र उच्च आर्थिक वृद्धिमा यो परिमाण क्रमशः १४ र १६ प्रतिशतले बढ्ने छ। यो गणितको आधारमा एलपी ग्यासको निरन्तरता हुँदा अहिलेकै आर्थिक वृद्धिदरको आधारमा, सन् २०३५ मा विद्युतीय भान्साको माग धान्न थप ७१८ मेगावाट क्षमताको विद्युत गृह (७० प्रतिशत प्लान्ट फ्याक्टर) को आवश्यकता देखिन्छ। मध्यम र उच्च आर्थिक वृद्धिमा क्रमशः १४६८ र २३०० मेगावाट क्षमताको थप विद्युत गृहको आवश्यकताको प्रक्षेपण छ।
अर्कोतर्फ, एलपी ग्यासलाई बिजुलीले विस्थापित गर्न सके हाम्रो जस्तो मुलुकका लागि ठूलो उपलब्धि हुने निर्विवाद छ। यदि घरायसी भान्सामा एलपी ग्यासको प्रयोगलाई पूर्णतः विस्थापित गरी विद्युतीय भान्सामा रूपान्तरण गर्ने हो भने अहिलेकै आर्थिक वृद्धिदरको आधारमा, सन् २०३५ मा थप १२०७ मेगावाट क्षमताको विद्युत गृह (७० प्रतिशत प्लान्ट फ्याक्टर) को आवश्यकता देखिन्छ। मध्यम र उच्च आर्थिक वृद्धिमा क्रमशः २०५५ र २६२६ मेगावाट क्षमताको थप विद्युत गृहको आवश्यकताको प्रक्षेपण छ।
विकासको गतिसँगै ऊर्जा खपत पनि बढ्दो छ। नेपालमा हाल प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ३८० किलोवाट घन्टा छ। विश्वको औसत खपत करिब २१ हजार किलोवाट घन्टाको तुलनामा यो अत्यन्त न्यून हो। ऊर्जा खपतको प्रवृत्ति अध्ययन गर्दा अन्य क्षेत्रको तुलनामा घरायसी प्रयोजनमा यसको माग बढ्दो छ। सन् २०३५ सम्म कुल ऊर्जाको ४५ प्रतिशतभन्दा बढी खपत घरायसी प्रयोजनमा हुने अनुमान छ। भान्साको विद्युतीय रूपान्तरण ऊर्जा खपत बढाउने एउटा ठूलो अवसर भए पनि चुनौतीहरू धेरै छन्।
जलवायु परिवर्तनको मुद्दा अहिले सबैको चासोको विषय हो। हाम्रो सन्दर्भमा घरायसी भान्सा हरित ग्यास उत्सर्जनको ठूलो स्रोत हो। अहिलेकै अभ्यासलाई निरन्तरता दिँदै घरायसी भान्सामा परम्परागत बायोमास र एलपी ग्यासको प्रयोग बढ्दै जाँदा यसबाट ठूलो परिमाणमा हरित ग्यास उत्सर्जन हुने निश्चित छ।
विभिन्न खाना पकाउने इन्धनबाट फरक मात्रामा हरित ग्यास उत्सर्जन हुन्छ। तुलनात्मक रूपमा परम्परागत बायोमासभन्दा एलपी ग्यासले कम मात्रामा हरित ग्यास उत्सर्जन गर्छ। तर भविष्यमा ठूलो परिमाणको एलपी ग्यास प्रयोगबाट हुने सम्भावित हरित ग्यास उत्सर्जन चिन्ताको विषय हो। एलपी ग्यासलाई बिजुलीले पूर्णतः विस्थापित गर्न सके हरित ग्यास उत्सर्जनमा उल्लेखनीय कमी आउने छ।
एक अध्ययन अनुसार सन् २०३५ मा अहिलेकै आर्थिक वृद्धिदरमा एलपी ग्यासलाई बिजुलीले विस्थापित गरी नेपाली भान्साको विद्युतीय रूपान्तरण हुँदा ९७ हजार टन कार्बनडाइअक्साइड बराबरको हरित ग्यास उत्सर्जन कम हुनेछ।
मध्यम र उच्च आर्थिक वृद्धिमा क्रमशः १६६ र २१४ हजार टन कार्बनडाइअक्साइड बराबरको हरित ग्यास उत्सर्जन कम हुनेछ।
अर्को एक अध्ययन अनुसार अहिले दाउराको प्रयोगमा रहेका ४० प्रतिशत घरधुरीलाई विद्युतीय भान्सामा रूपान्तरण गर्न सकेमा पनि प्रतिवर्ष १८ लाख टन कार्बनडाइअक्साइड उत्सर्जन कम गर्न सकिने देखिन्छ। यसबाहेक १० लाख टन दाउराको खपतमा कमी आउने छ। यसले वातावरणलाई स्वच्छ राख्दै विश्वको बढ्दो तापक्रम नियन्त्रण गर्न केही हदसम्म मद्दत पुग्ने देखिन्छ।
सरकारले एलपी ग्यासमा निरन्तर सहुलियत प्रदान गर्दै आएको छ। सन् २०१५ मै करिब दुई करोड ७२ लाख डलर सहुलियत दिएको थियो। सो समेत हिसाब गर्दा सन् २०१५ मा एलपी ग्यासमा कुल खर्च १८ करोड डलर भयो। एलपी ग्यासको बढ्दो मागसँगै यो क्रम जारी रहेमा सन् २०३५ मा सहुलियत रकम नै १६ करोड डलर पुग्ने देखिन्छ। त्यसो हुँदा उक्त समयमा एलपी ग्यास आयातमा करिब १ अर्ब ५ करोड डलर खर्च हुने अनुमान छ।
यो परिमाणको एलपी ग्यासलाई विद्युतीय ऊर्जाले विस्थापित गर्दा प्रति युनिट ८ सेन्टको हिसाबले बिजुलीको मूल्य करिब ९८ करोड डलर हुन जान्छ। यसरी विद्युतीय ऊर्जाले एलपी ग्यासलाई विस्थापित गर्दा सन् २०३५ मा वार्षिक ७ करोड डलर बचत हुने देखिन्छ। यसबाहेक हरित ग्यास उत्सर्जनमा कमी आई वातावरण र जलवायु परिवर्तनमा सकारात्मक प्रभाव पर्नेछ।
नेपालमा जलविद्युत उत्पादनको क्षेत्रमा भएको आशालाग्दो प्रगतिसँगै विद्युतीय भान्साको रूपान्तरणले देशको अर्थतन्त्र, वातावरण, मानव स्वास्थ्य र विकासमा ठूलो परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ। यसबाट वार्षिक ७५१ गिगावाट घन्टा बिजुली खपत वृद्धि हुँदा प्रतिघर १६५ डलर बचत हुनेछ। परम्परागत इन्धनको प्रयोगमा आउने कमीबाट भान्साजन्य प्रदूषणका कारण हुने मृत्युमा वार्षिक रूपले ७०० ले कमी आउने अपेक्षा छ। नेपालमा प्रयोग हुने बिजुली जलस्रोतबाट उत्पादित स्वच्छ ऊर्जा भएकाले ४० प्रतिशत घरधुरीलाई विद्युतीय भान्सामा रूपान्तरण गर्दा मात्र पनि देशको हरित ग्यास उत्सर्जनमा १० प्रतिशतभन्दा बढीले कमी आउने देखिन्छ।
नेपालमा भएको जलविद्युतको क्षमताले यो प्रतिस्थापन धान्न सक्ने भएकाले बिजुलीको आन्तरिक खपत बढ्न गई देशको अर्थतन्त्र र जनजीवनमा सकारात्मक परिर्वतन ल्याउने छ।
र, सबभन्दा महत्वपूर्ण पक्ष, देश स्वच्छ ऊर्जामा आत्मनिर्भर हुनेछ। त्यसैले अबको 'भिजन' र लक्ष्य जलविद्युतको उत्पादन, भान्साको विद्युतीय रूपान्तरण हुनुपर्छ।
(यो लेखमा उल्लिखित तथ्यांकहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित लेख लगायत अन्य रिर्पोटहरूमा आधारित छन्।)
ट्विटरः @MukeshKafle4