केही समयअगाडि एक उदारवादी साथीले लेखे — मन्त्री सुदन किरातीले जे भने, ठिकै भने। उनले भनेका कुराहरूलाई काँटछाँट र तोडमरोड गरेर भाइरल गराएकाले अनर्थ लाग्न पुग्यो। उनले भनेझैं हामी सबै धर्म मान्न स्वतन्त्र छौं तर राज्यले कुनै धर्मलाई काखी च्याप्न मिल्दैन।
त्यसको केही दिनअगाडि मन्त्री किरातीले इसाइ धर्मावलम्बीहरूको जमघटमा गएर दिएको उत्तेजक भाषणको छोटो क्लिप भाइरल भएको थियो। पूरै भाषण पनि युट्युबमा प्रशस्तै मानिसहरूले हेरेका थिए।
साथीका कुरा पढेपछि हाम्रो अडिओ कार्यक्रम न्युजगफमा मैले भनेँ, 'यो हो हामी उदारवादीहरूको ब्लाइन्ड स्पट।
त्यसका लागि मैले केही कारणहरू दिएको थिएँ।
पहिलो, किरातीले भाषणमा आफ्ना नेता पुष्पकमल दाहाल 'प्रचण्ड' लाई जिसस क्राइस्टसित तुलना गर्छन् र बारम्बार आफूलाई र प्रचण्डलाई जिसस मन पर्ने कुरा दोहोर्याउँछन्। एक नागरिकका रूपमा कसैले त्यस्तो विश्वास राख्नु र भन्नु अन्यथा होइन तर उनी त संघीय सरकारको प्रतिनिधि थिए भाषण गर्दै गर्दा। उनको भनाइ आफैंमा गलत वा असंवैधानिक थिएन तर हाम्रो संविधानको मर्मअनुसार पनि थिएन।
उनकै तर्कअनुसार भोलिका दिनमा नेपालमा पार्टी 'क' ले आफ्ना नेतालाई भगवान विष्णुजस्तो मान्ने, पार्टी 'ख' ले आफ्नो नेतामा भगवान अल्लाह देख्ने, अनि पार्टी 'ग' को कार्यकर्ताले नेतालाई जिससजस्तो देख्ने र त्यसै आधारमा सबैले भोट माग्ने हो भने के हुन्छ?
के हाम्रो संविधानले यही परिकल्पना गरेको हो त?
तत्कालीन नेकपामा खटपट हुँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माडीको अयोध्यालाई रामको जन्मभूमि भनेर मानिसहरूको आस्थामाथि राजनीति गर्ने प्रयास गरे। हामी उदारवादीहरूले जमेर त्यसको प्रतिवाद गर्यौं। त्यसो हुनु पनि पर्थ्यो किनकि आस्था व्यक्तिले मान्ने कुरा हो, राजनीतिक एजेन्डा होइन।
त्यसैले कसैले कुनै पनि आस्थालाई मतदाता तान्ने सजिलो हतियारका रूपमा प्रयोग गर्छ भने त्यो गलत हो र गलतलाई गलतै भन्नुपर्छ भन्ने मेरो जिकिर थियो।
दोस्रो, नेपाल धर्म निरपेक्ष हुनुअगाडिको समयलाई इंगित गर्दै किराती भन्छन् — क्रिश्चियनलाई भेट्यो भने त सुर्ती माडेझैं माड्थ्यो।
जबकि यथार्थ त्यस्तो थिएन। नेपालका गाउँगाउँमा इसाइ धर्म फैलाउने काम मिसनरीहरूले पञ्चायतमै सुरू गरेका थिए। पञ्चायतको सुरूतिर वा सन् १९६१ मा नेपालमा जम्मा ४५८ इसाइहरू रहेकामा बहुदल आएको दशक बित्दा (सन् २००१ मा) त्यो संख्या १ लाख २ हजार पुगेको थियो। त्यो बेला नेपाल हिन्दु अधिराज्य थियो।
व्यहारतः नेपालमा त्यो बेला सबै नागरिक समान थिएनन् भन्ने साँचो हो। खास गरी दलितहरूमाथि छुवाछुत र भेदभाव चर्को थियो। मधेसीहरूप्रति पहाडका धेरै मानिसले नश्लभेदी व्यवहार गर्थे र बेलाबेलामा त्यो हिंसाका रूपमा समेत प्रकट हुन्थ्यो। २०५७ सालको ऋतिक रोशन प्रकरणले नेपालको सहनशील र सहिष्णु देश भन्ने छवि धराशायी बनाइदिएको थियो। आजका दिनसम्म पनि यी सबै समस्याहरू नेपाली समाजमा छन्।
यो पनि साँचो हो, दलित र आदिवासी जनजातिहरूले हिन्दु वर्णव्यवस्थामा अपनत्व महसुस गर्न नसकेकाले इसाइ धर्ममा जाने क्रम ती समुदायहरूमा बढी थियो।
तर त्यसको अर्थ राज्यले वा अर्को समुदायले इसाइ समुदायमाथि संस्थागत रूपमा निषेध र दमन गर्थ्यो भन्ने किमार्थ होइन। अर्को समुदायलाई 'सुर्ती माडेझैं माड्ने' भन्ने अभिव्यक्ति त त्यो बेलाको नेपाललाई जनाउन कसै गरे पनि उपयुक्त हुँदैन।
बरू त्यो अभिव्यक्तिले त नेपाललाई भन्दा विश्वभर इसाइ धर्म मान्ने शासकहरूले गत दुई हजार वर्षमा देखाएको व्यवहारलाई राम्रोसित जनाउँछ। अफ्रिकामा गएर युरोपेली साम्राज्यहरूले सवा करोड मानिसहरूलाई दास बनाएर किनबेच गरे, लाखौं मानिस रहेका सम्प्रदायहरूलाई आफ्नै थातथलोबाट नामेट गरिदिए, दसौं लाखलाई त अमानवीय अवस्थामा पानीजहाजमा कोचेरै मारे। त्यो पनि उनीहरूलाई नै धार्मिक र सभ्य बनाउने नाममा!
उनीहरूमध्येकै बेलायती उपनिवेशले भारतमा एकाध सय वर्ष शासन गर्दा त्यहाँको उद्यम र रोजगारी धराशायी बनाइदियो, मानिसलाई चरम गरिबी र दासताको अवस्थामा धकेल्यो। सन् १९४२ को बंगालको भोकमरीमा बेलायती प्रधानमन्त्री विस्टन चर्चिलको नश्लभेदी नीतिका कारण तीस लाख भारतीयहरूले भोकभोकै प्राण त्यागे।
मेरो विचारमा त्यस्तो दमन, निषेध र हिंसालाई भन्न मिल्छ सुर्ती माडेझैं माड्ने। संसारमा धर्मको विकासका क्रममा यस्तो हिंस्रकता कसरी विकसित भयो भन्ने विषयमा मैले एउटा भिडिओमा jविस्तारमा चर्चा गरेको छु।
तेस्रो, किरातीले त्यो भाषणमा एउटा उदाहरण पेस गर्छन् जसका शब्द हुबहु यस्ता छन् — हामी चाहन्छौं भ्यागुताले छिचिमिरा खाएझैं विजय भएको भए ख्याप्पै खाइहालिन्थ्यो। सर्पले भ्यागुता खाएजस्तो विजय हुन त बिस्तारै निल्नुपर्छ। यो वाक्यलाई उनले धेरै व्याख्या गर्दैनन् तर नेपालमा इसाइ धर्मको विस्तारका सन्दर्भमा उनले त्यसो भनेका हुन्।
यो भाषा पनि अफ्रिकामा उपनिवेश फैलाउँदै गरेका बेलायती वा स्पेनी साम्राज्यले डेढ सय वर्षअगाडि प्रयोग गर्ने भाषाभन्दा फरक छैन। सन् २०१५ मा आएको हाम्रो संविधानले यस्तो परिकल्पना गर्ने त कुरै छैन। हामीकहाँ व्यक्ति स्वेच्छाले धर्म परिवर्तन गर्न स्वतन्त्र छ तर लोभलालच वा करकापमा कसैको धर्म परिवर्तन गराउने छुट कसैलाई छैन।
मेरो जिकिर के भने, किरातीजस्ता मानिसहरूलाई यी कुराहरू बुझाइदिने कर्तव्य हामी उदारवादी बौद्धिकहरूको थियो। उनका यस्ता भनाइलाई सदर गर्ने हो भने हामीले आफ्नो बौद्धिककर्मको साख राख्न सक्दैनौं भनेर मैले न्युजगफ कार्यक्रममा भनेको थिएँ।
भारत र नेपालमा चलिरहेको हिन्दु राष्ट्रको राजनीतिबारे मैले एउटा भिडिओ शृंखला सुरू गरेको छु। त्यसको अन्ततिर किरातीको उक्त भाषणसमेत उद्धृत गरेर एउटा लामो आलेख लेख्ने मेरो योजना थियो।
तर कांग्रेस महासमितिको बैठकमा हजारभन्दा बढी सदस्यहरूले हिन्दु राष्ट्र माग गर्दै हस्ताक्षर गरेको भन्ने समाचार आएपछि अहिले नै यसबारे लेख्नुपर्छ भन्ने मलाई लाग्यो।
हिन्दु राष्ट्रका विरोधीहरूले गरिरहेका यी गल्तीबारे यति भनिसकेपछि पक्षधरहरूले गरिरहेका गल्तीहरूतिर जानुअगाडि म तीनवटा कुरा प्रस्ट गर्न चाहन्छु।
एक, अरू यावत् विषयमा झैं यो बहसमा पनि मानिस श्यामश्वेत रूपमा दुई कित्तामा बाँडिएका छैनन्। सामाजिक सञ्जालले तपाईंहरूलाई अन्यथा बुझाउन खोजे पनि यथार्थ यही हो।
यसको एउटा कित्ताको पल्लो छेउमा छन् सत्ता र राजनीतिक शक्तिका भोका ती मानिसहरू जो जुनसुकै मूल्यमा आफू सत्तामा पुग्न आतुर छन् र हिन्दुत्वबाहेक सत्तासम्मको भर्याङ बनाउन मिल्ने अरू कुनै एजेन्डा भेटेका छैनन्। तिनीहरूलाई अहिले भारतको सत्ता संस्थापनको सबै खालको दरो समर्थन छ।
त्यही कित्तामा लगत्तै भित्रपट्टि छन् हिन्दु राष्ट्रको एजेन्डामा खुलेर लागी नसकेका तर सानो बहाना पाए त्यता जान तम्तयार भएर बसेका राजनीतिक शक्तिहरू जोसित धेरथोर लोकप्रिय वैधता त छ तर विचारशून्यताको खाडल पुर्न जेको पछि लाग्न पनि उनीहरू तयार छन्। भोलिको नेपालमा 'लघुकटुतावर्णशंकरचौपटवाद' वा यस्तै अरू केहीको हावा चल्यो भने उनीहरू सर्लक्कै उतै जानेछन् र आफू कसरी त्यसको असली अनुयायी हो भनेर तर्क बुन्न थाल्ने छन्।
अझै बीचमा छ देशको ठूलो जनसंख्या जुन अहिलेको यथास्थितिप्रति रूष्ट छ, अहिलेका नेताहरूसित क्रुद्ध छ र अवस्थामा आम परिवर्तन भयो भने सुधार हुन्छ कि भनेर व्यग्र छ। जसलाई एजेन्डा विशेषप्रति लगावभन्दा पनि अवस्था कसरी फेरिएला भन्ने चिन्ता छ। खासगरी सामाजिक सञ्जालमा चौबीसै घन्टा आउने दुर्गा प्रसाईंजस्ता मानिसहरूका नाराले यो कित्तालाई प्रभावित गरिरहेको छ।
अनि अर्को कित्ताको पल्लो छेउमा छन् किरातीजस्ता मानिसहरू जसले बुझी वा नबुझी सुरूको हिन्दुत्ववादी कित्तालाई नै बल पुर्याइरहेका छन्। त्यो किनभने कुनै पनि अतिवादले प्रतिकारमा अर्को अतिवाद नै जन्माउँछ र बिस्तारै एकले अर्कोलाई झनै कठोर र आक्रामक बनाउँदै जान्छ। तबसम्म त्यो क्रम चल्छ जब समाजमा मध्यमार्ग निरस्त हुन्छ र द्वन्द्वको दुष्चक्र सुरू हुन्छ।
यहाँनेर उदारवादी बौद्धिकहरूको जिम्मेवारी त्यस्तो दुष्चक्र सुरू हुन नदिनु र भइसकेको भए रोक्ने प्रयास गर्नु हो र त्यसका लागि सबै खाले अतिवादको डटेर सामना गर्नुपर्छ भन्ने मेरो मान्यता हो।
दुई, आस्था र राजनीतिको विषयलाई लिएर कस्तो मत राख्नु सही वा गलत हो भनेर कतै ढुंगामा लेखिएको छैन। यो तपाईं हामी सबैले स्वविवेकले निर्णय गर्ने कुरा हो। मलाई वास्तवमै के लाग्छ भने माथिका दुई विरोधी कित्ताका पल्ला छेउमा हुने अतिवादीहरूबाहेक सबैले समाज र देशको भलो चाहन्छन्।
कसो गर्दा देशको भलो हुन्छ भन्ने बुझाइमा फेरि पनि अन्तर हुन सक्छ तर यो एजेन्डामा फरक मत राख्ने मानिसहरूको अत्यधिक हिस्साले देशको वा अर्को समुदायको कुभलो चिताएको हुँदैन। त्यसैले हामीले जति धेरै मानिसहरूलाई यी विषयमा सूसुचित गरेर आलोचनात्मक दृष्टिकोण विकास गर्न र कुनै टपरटुइँयाले भन्नासाथ कुनै अफवाह नपत्याउने बनाउन सक्छौं, समाजको ध्रुवीकरण उति नै कम हुन्छ। र, अतिवाद निरूत्साहित हुन्छ।
त्यसैले यस्ता विषयमा ध्रुवीकरण नबढाउने खालको सार्थक बहस अपरिहार्य छ। त्यो किन पनि भने सय वर्षअगाडि जर्मनीमा 'सबैको भलो' का लागि भनेरै मानिसहरू हिटलरको प्रोपागान्डातिर लहसिँदै गएका कारण त्यहाँ नाजी शासनको जन्म भएको थियो। त्यसैले सबैको भलो हुने भनेको के हो भन्ने कुरामै जमेर बहस हुनु आवश्यक छ।
आज नेपालको अवस्था मलाई कस्तो लाग्छ भने दक्षिणपन्थी अतिवादको एउटा कुनामा एकाध सय वा बढीमा हजार जना मानिसहरूले हिन्दु राष्ट्रको पक्षमा चर्को होहल्ला गरिरहेका छन् र सामाजिक सञ्जालहरूलाई रणनैतिक रूपमा प्रयोग गर्न सफल छन्। उनीहरू यस्तो भ्रम छर्न सफल छन् कि अबको चुनावमा जसले हिन्दु राष्ट्रको एजेन्डा बोक्छ, उसैले चुनाव जित्छ, बाँकी हार्छन्।
त्यसैले सानादेखि ठूला, नयाँदेखि पुराना सबै दलहरूमा नेतृत्वदेखि कार्यकर्ता तहसम्म अहिले एउटा हतारो छ — छिट्टै हिन्दुत्ववादी बनेर आउँदो चुनावमा जित हासिल गर्ने।
जबकि त्यो आकलन यथार्थभन्दा पूरै फरक छ।
प्रमाण — नयाँ संविधान आएयता नै राप्रपाले दुई आमचुनाव हिन्दु राष्ट्रको एजेन्डा अघि सारेर लडिसकेको छ। र, यसबीच भारतमा आमचुनाव नजिकिने बाहेक अरू कुनै उल्लेख्य परिवर्तन आएको छैन। अहिले हाउगुजी फैलाइएजस्तो अवस्था हुने हो भने त राप्रपाले उहिल्यै दुई तिहाई मत ल्याएर जनमत संग्रहमा गएर हिन्दु राष्ट्र बनाइसक्नु पर्ने थियो।
त्यसैले आजका दिनमा यस्ता हावामा खडा भएका संकथनहरू चिर्न अनिवार्य बनेको छ।
तीन, उदारवादीहरूको एउटा झुकाव कस्तो मान्यतातिर भएको म देख्छु भने, गल्ती त बहुसंख्यकहरूले गर्छन्, अक्सर अल्पसंख्यक सही नै हुन्छन्। अल्पसंख्यक गलतै भए पनि त्यसमा बोलिहाल्नु आवश्यक हुँदैन भन्ने पनि धेरैलाई लाग्छ।
यो तर्क काट्न म भारतीय विश्लेषक र अभियन्ता हर्ष मन्दरलाई उद्धृत गर्छु। हालै काठमाडौंमा भएको लामो संगतमा उनले मलाई भनेका थिए — भारतका पूर्वोत्तर राज्यहरूमा इसाइहरूको बाहुल्य छ तर त्यहाँ सबैजसो राज्य सरकार हिन्दुत्ववादी भाजपाका छन्।
कारण— भारतका अरू सबैजसो भूभागमा अहिले मुसलमानसँगै इसाइहरूमाथि थिचोमिचो उत्कर्षमा छ तर पूर्वोत्तरमा हिन्दु र इसाइहरूको साझा बैरीका रूपमा मुस्लिमहरूलाई खडा गर्न भारतको सत्ता संस्थापन सफल छ। दक्षिण भारतको केरालामा पनि इसाइ धर्मगुरूहरूले हिन्दुत्ववादीहरूसित मिलेर इस्लामद्वेषी प्रोपागान्डा फैलाइरहेका छन्।
पूर्वोत्तरमा हिन्दुत्व र इसाइबीच कस्तो तालमेल छ भने, अघिल्लो वर्ष फेब्रुअरीमा भाजपाका मेघालय प्रमुख अर्नेस्ट माओरीले खुलेआम भनेका थिए — हाम्रो प्रदेशमा गाईको मासु खान कुनै प्रतिबन्ध छैन, म आफैं त्यो खान्छु।
भारतका अन्य भागमा गाई गाडीमा राखेर ओसारेको भरमा मान्छे मार्ने हिन्दुत्ववादीहरूलाई पूर्वोत्तरमा माओरीजस्ता मानिसहरूसित मिलेर सत्तामा पुग्नमा कुनै समस्या छैन किनकि अन्ततः हिन्दुत्व भनेको धार्मिक नभई राजनीतिक परियोजना हो।
त्यसैले भारतको पूर्वोत्तरका इसाइहरूलाई के लाग्यो भने सन् २०१४ पछि केन्द्रमा अपराजेय रहेको भाजपासित मिलेर सत्ता चलाउनमा खराबी के नै पो छ र? आखिर सत्ता र शक्तिमा रहे पो त आफ्नो समुदायको भलो गर्न सकिन्छ। आफ्नो भलो भएपछि समानता, बहुलता, न्यायजस्ता कुरा किन पो चाहिए र?
हुन पनि जब भारतमा विवादास्पद नागरिकता ऐन संशोधनसम्बन्धी कानुन आयो, त्यसले मुसलमान समुदाय एक्लैलाई निषेध गर्यो, इसाइहरूलाई गरेन।
तर यसबीच पूर्वोत्तर भारतका इसाइहरूले के बिर्सेका थिए भने भाजपा र आरएसएसको उद्देश्य मुसलमानहरूलाई निषेध गर्नु मात्रै थिएन, हिन्दु आधिपत्य स्थापित गर्नु थियो।
मन्दर भन्दै थिए — त्यहाँको वैष्णव आस्था मान्ने मैतेइ हिन्दु समुदायलाई उग्रवादतिर धकेल्न आरएसएसले दशकौंदेखि मणिपुरमा काम गरिरहेको थियो। परिणामस्वरूप हिंसाको विस्फोट भयो अघिल्लो वर्षको मे महिनामा हिन्दु मैतेइ र इसाइ कुकीहरूबीच।
आजका दिनसम्म पनि मणिपुरमा गृहयुद्धको जस्तो अवस्था कायम छ। सयौंको मृत्यु भइसकेको छ भने हजारौं घाइते र बीसौं हजार विस्थापित छन्।
घृणाको आगो यस्तो छ कि हत्या र बलात्कारदेखि अर्को समुदायका महिलाहरूलाई नग्न परेड गराउने, पुलिससित खोसेर भीडले मानिसको हत्या गर्ने, पुलिस चौकीहरू लुटेर मिलिसियाहरूले हजारौं हतियार बटुल्नेजस्ता कामहरू भइरहेका छन्।
हिंसाबीच मानवता कति क्षतविक्षत भएको छ भने दशकौंदेखि राज्यको दमनका विरूद्ध राँको बालेर न्यायको लडाइँ लड्ने गरेको मेइरा पैबीजस्तो महिला संगठनले अर्को (कुकी) समुदायकी महिलालाई छोपेर पुरूष मिलिसियाहरूलाई सुम्पेको छ जसले उनलाई मरणासन्न हुने गरी सामूहिक बलात्कार गरेका छन्।
अवस्था कतिसम्म बिग्रेको छ भने अघिल्लो वर्ष एउटा भिडिओ सार्वजनिक भएको थियो जसमा मणिपुरको प्रहरी र आसाम राइफलका सिपाहीहरूबीच विवाद चर्किँदै गएर मुस्किलले गोली हानाहानको अवस्था आउनबाट रोकिएको थियो।
कारण — मैतेइप्रधान प्रहरीले आसाम राइफललाई कुकीहरूप्रति नरम भएको आरोप लगाउँदै आएको छ। त्यही विषयलाई लिएर भारत राज्यका दुई सुरक्षा निकायबीच सार्वजनिक विज्ञप्तिहरूमार्फत समेत विवाद र आरोप–प्रत्यारोप छताछुल्ल भएको थियो।
सन् २०२२ मा निर्वाचित मणिपुरको संसदमा ६० मध्ये त्यहाँ द्वन्द्व सुरू हुँदा ५४ सांसद भाजपा नेतृत्वको सत्ता गठबन्धनतिर थिए। त्यसमा दुई सिट ल्याएको कुकी पिपुल्स अलायन्ससमेत आबद्ध थियो जसलाई मूलतः इसाइ कुकीहरूले निर्वाचित गरेका थिए। कम्तीमा सात जना कुकीहरू त भाजपाबाटै संसदमा निर्वाचित थिए।
जब हिंसा सुरू भयो र मुख्यमन्त्री वीरेन सिंहले मैतेइहरूको युद्ध सरदारजस्तो व्यवहार गर्न थाले, कुकी पार्टी सत्ताबाट बाहिरियो। तर तबसम्म धेरै ढिलो भइसकेको थियो। मुख्यमन्त्रीलाई भेटेर निस्किँदै गर्दा मैतेइहरूको भीडले अघिल्लो वर्ष मे ४ मा भाजपाकै कुकी सांसद भुंग्जाजिन भाल्तेलाई मरणासन्न हुने गरी हमला गर्न पुगे।
आज मणिपुर मात्रै होइन, पूर्वोत्तर भारतका नागाल्यान्ड, आसाम, मेघालय, मिजोरम र त्रिपुरामा फैलिएका कुकीलगायत इसाइ धर्मावलम्बी आदिवासीहरू चरम् असुरक्षा भावले घेरिएका छन्। कतै पनि कुनै बेला साम्प्रदायिक हिंसा सुरू हुने, राज्यको सुरक्षा जत्थाले एउटा पक्ष लिने र अल्पसंख्यकहरूमाथि भीषण हिंसा हुने खतरा टड्कारो छ।
यसरी हिजो मुसलमानहरूलाई राज्यले घेराबन्दी गरेर निशाना साँध्दा चुप लागेर बसेका र कति ठाउँमा त शक्ति हासिल गर्न वा सत्ता संस्थापनलाई खुसी पार्न हिन्दुत्वकै भाषा बोलेका उनीहरूका लागि बोलिदिने अहिले कोही छैन। मणिपुरमा हिंसाको आगो अझै निभेको छैन। भुसको आगोझैं फैलिइरहेको वैमनश्य बेला बेला भयावह हिंसाका रूपमा विस्फोट हुने गरेको छ।
त्यसैले नेपालका अल्पसंख्यक समुदायलाई मेरो सल्लाह छ — उत्तेजना वा क्षणिक लाभका पछाडि आँखा चिम्लेर लाग्नु अगाडि ठण्डा दिमागले सोच्ने गरौं। न्याय, समझदारी र सहअस्तित्वको भाषा बोलौं र व्यवहार गरौं। एउटा समुदायले अर्कोलाई निल्ने भन्ने निषेधकारी भाषा प्रयोग गर्न बन्द गरौं।
अब हेरौं आजको नेपालमा हिन्दु राष्ट्र हुनुपर्छ भन्ने कित्ताका मानिसहरूले के गल्ती गरिरहेका छन्।
यो कित्ताको पल्लो छेउमा हुनेहरू भन्दैछन् — नेपालमा हिन्दु राष्ट्र नहुनाले हिन्दुहरू पछि पर्यौं, अब नेपाललाई हिन्दु राष्ट्र बनाएर हामी अघि लाग्नुपर्छ।
अनि बीचमा हुने धेरैलाई त्यस्तो तर्कले प्रभावित पनि गर्ने गरेको छ।
भारतमा जस्तै नेपालमा पनि धेरै आममानिसलाई के लाग्छ भने, यसै बहुसंख्यक हिन्दु भएको देशमा संविधानमा हिन्दु राष्ट्र लेखिँदैमा के नै पो फरक पर्छ र!
तर भारत वा आस्थाको राजनीति मूलधारमा रहेको संसारको कुनै पनि देशको अनुभवले के भन्छ भने त्यस खाले संवैधानिक प्रावधानको व्यवस्था त्यसका पक्षधरहरूका लागि सुरूआत मात्रै हो, गन्तव्य होइन।
भारतकै कुरा गर्दा, दशकौंसम्म हिन्दुत्ववादीहरूले भने — रामको जन्मभूमि रहेको अयोध्याको बाबरी मस्जिद भत्काएर त्यहाँ मन्दिर बनाउने हो भने हिन्दुहरूको आत्मसम्मान फर्किन्छ। त्यसैले हामीले माग्ने त्यत्ति मात्र हो।
अयोध्यामा राम मन्दिर बनेर उद्घाटन पनि भयो तर अब उनीहरूको बोली फेरिएको छ — अयोध्या, काशी र मथुरामा त हो हामीले मस्जिदका ठाउँमा मन्दिर मागेको।
राम मन्दिर उद्घाटन लगत्तै भारतका विभिन्न ठाउँहरूमा मस्जिदहरूमाथि गेरूवा झन्डा फहराउने काम भयो। हिन्दुहरूका चाडहरूमा मस्जिदअगाडि पुगेर उत्तेजक गीत चर्को स्वरमा बजाएर नाच्ने, ढुंगामुढा गर्ने र दंगा सुरू गर्ने अभ्यास त भारतबाट नेपालमा समेत आयात भइसकेको छ।
भारतभर अहिले मस्जिदहरूको ठाउँमा मन्दिर बनाउने अभियान सडकदेखि न्यायालयसम्म प्राथमिकतामा परेको छ र त्यसैमा चुनावको नतिजा निर्भर हुने अवस्था बन्दै गएको छ। यो वर्ष भारतमा हुने आम चुनावपछाडि भाजपाले हिन्दु राष्ट्रको मुद्दा केन्द्रमा ल्याउने र त्यस क्रममा देशैभरका धर्मस्थल युद्धस्थलमा परिणत हुने खतरा अहिले टड्कारो छ।
त्यसो हुनासाथ न्याय, विकास, समृद्धि, वातावरणको रक्षा, प्रदूषणको कटौती, शिक्षा र स्वास्थ्यको गुणस्तरजस्ता यावत विषय स्वभावतः ओझेल पर्नेछन्। भ्रस्टाचार, महँगी र सुशासनजस्ता एजेन्डाको त कुरै छाडौं। र, भारतको राजनीति ध्रुवीकरण र हिंसाको पर्याय बन्नेछ।
त्यसको अन्तिम नतिजा के हुनेछ त?
हर्ष मन्दर भन्छन् — पहिलो त नाजी जर्मनीमा यहुदीहरूको जस्तो हालत नभए पनि भारतमा मुस्लिमहरूको अवस्था बर्माका रोहिंग्याहरूको जस्तै हुनेछ — देशमा उभिने ठाउँ नपाउने, विदेशमा शरण नपाउने। यसै पनि भाजपा सरकारले आसाममा एनआरसी नामक अभ्यास गरेर १९ लाख मानिसहरूलाई विदेशी करार गर्दै हिटलरका 'कन्सन्ट्रेसन क्याम्प' सम्झाउने 'डिटेन्सन सेन्टर' मा पठाउने काम थालिसकेको छ।
के त्यसो गर्दा पनि भारतका हिन्दुहरू सन्तुष्ट हुनेछन् त?
मन्दर भन्छन् — हुने छैनन्। जसरी पाकिस्तानमा तीन प्रतिशत अल्पसंख्यक (हिन्दु, इसाइ र अहमदिया, सबै एक प्रतिशतको हाराहारी) का विरूद्ध आधा शताब्दी लामो वैरभाव साँधेर पनि त्यहाँका बहुसंख्यक मुस्लिमहरू असन्तुष्ट छन्, असुरक्षित छन्।
कतिसम्म भने १२ वर्षअगाडि धर्मद्रोहका नाममा मृत्युदण्ड पाएकी गरिब इसाइ महिला आसिया बिबीप्रति सहानुभूति राखेका कारण पाकिस्तानको पञ्जाबका गभर्नर सल्मान तसीरको उनकै अंगरक्षकले गोली हानी हत्या गरेका थिए। र, मानिसहरूले हत्यारालाई महान भनेर उसको बचाउ गरेका थिए।
जसरी पाकिस्तानमा सैन्य तानाशाह जिया उल–हकले दशक लामो शासन गर्दा त्यहाँ उग्रवादी धर्मसत्ता स्थापित गरे, भारतमा आज मोदीले त्यही गर्दैछन्। हकले १९७८ मा पाकिस्तानमा सुरू गरेको निषेध र हिंसाको विषाक्त राजनीतिबाट आजपर्यन्त पाकिस्तानले त्राण पाउन सकेको छैन। भोलि कुनै चुनावमा भारतमा भाजपा हारिहाल्यो भने पनि उसले त्यहाँ सुरू गरेको वैमनश्यको साम्प्रदायिक राजनीति भारतमा अरू धेरै दशकसम्म चल्नेछ।
त्यसैले नेपालमा हिन्दु राष्ट्रको राजनीतिक प्रयोग गर्न हतारिने नेताहरूले बुझून् — कुनै नेता वा धर्मगुरूले भाषण गरेझैं समाजमा कहिल्यै पनि एउटा समुदायलाई पछि धकेलेर अर्को समुदाय अघि बढ्न सक्दैन। एउटाको घाटा अर्काको नाफा पनि हुन सक्दैन। मानव समाजको चरित्र नै यस्तो छ कि समुदायहरू सँगसँगै अघि बढ्छन्, सँगैजस्तो पछि फर्किन्छन्।
हिटलरले जर्मनीको श्वेत–इसाइ–आर्य नश्ललाई विश्वविजेता बनाउने सपना देखाएर यहुदीहरूको आमसंहार गर्यो र देशलाई युद्धमा होम्यो तर युद्ध सकिने बेलासम्म संसारमा आठ करोड हाराहारी मानिसहरू मारिएका थिए र तिनमा जर्मनहरूको पनि ठूलो संख्या सामेल थियो।
त्यो युद्ध प्राविधिक रूपमा हिटलरका विरोधीहरूले जिते तर युद्धका क्रममा सिंगो मानवता हार्यो। मारिएका करोडौं मानिसहरू फेरि फर्केनन् र तिनका आफन्तहरूको जीवन फेरि उस्तै भएन।
अन्तमा, भारतदेखि पाकिस्तान र जर्मनीसम्मको इतिहासबाट तानेर मैले यो लेखमा जति कुरा बताएँ, त्यो जान्नु र त्यसबाट पाठ सिक्नुको हामीसित विकल्प छैन, चाहे हामी यहाँ चर्चा भएको विषयको मत विभाजनमा जता सुकै परौं।
त्यसैले आममानिससम्म यस विषयमा सही शिक्षा र सूचना पुर्याउनु तपाईं हामी सबैको कर्तव्य हो।
नेपालका लागि त्यो शिक्षाको आधारभूत पाटो हुन सक्छ हिन्दु धार्मिक आस्था र हिन्दुत्वको राजनीतिक परियोजनाबीचको अन्तर जुन मैले यो भिडिओमा विस्तारमा बताएको छु —
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
(जीवन क्षेत्रीको नियमित भिडिओ शृंखलाका लागि हेर्नुहोस्ः बोध वार्ता। उनको पुस्तक 'नुन–तेलः विगततिर पदयात्रा' प्रकाशित छ र अमेजनमार्फत नेपाल बाहिरका ११ देशमा समेत उपलब्ध छ। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस् द हिमालयन गेज।)