विश्वमा नेपाललाई चिनाउने सबैभन्दा अग्लो मौजुदा परिचय हो सगरमाथा।
चिनाउन त हिजोको दिनमा गोर्खाली सेनाले 'बहादुर' भनेर चिनाए। त्योभन्दा पहिले जयपृथ्वीबहादुर सिंहले विश्वभर 'मानवतावाद' को सन्देश दिएर चिनाएकै हुन्।
अहिले सगरमाथा आसपास बस्ने शेर्पाहरूले चिनाएका छन्।
किनकि शेर्पा छन् र त सगरमाथा हुनुको मज्जा छ। यो दुनियाँमा प्रतिस्पर्धी ती दुवैको छैन। न सगरमाथाको, न शेर्पाहरूको। सगरमाथाले विश्वभरबाट चुम्बकले तानेझैं पर्यटक नेपालतिर डोर्यायो अनि शेर्पाहरूले तिनलाई डोर्याउँदै सगरमाथाको चुचुरोसम्म पुर्याए। पुर्याइरहेका छन्। र, पुर्याइरहने छन्।
शेर्पाहरू को हुन्?
शेर्पाको शाब्दिक अर्थ हुन्छ 'पूर्वका मानिस'।
इतिहास भन्छ — शेर्पाहरू शताब्दीऔं अघि तिब्बतबाट नाङपाला नाका हुँदै सोलुखुम्बुको खुम्बु क्षेत्रमा बसाइँ सरी आए। यहाँबाट देशका अन्य ठाउँमा छरिँदै गए।
मेमेत मुरत इल्डन भन्छन् — हिमालका वास्तविक हिरो पर्वतारोही होइनन्, शेर्पाहरू हुन्।
विश्वचर्चित टेलिभिजन कार्यक्रम 'म्यान भर्सेस वाइल्ड' का प्रस्तोता बियर ग्रिल्स शेर्पालाई अविश्वसीय र प्रेरणादायी वर्ग भएको र तिनकै कारण आफू कुनै बेला सगरमाथा चढ्न सफल भएको बताउँछन्।
खुम्बु क्षेत्रमा राज्यको नजर
खुम्बु क्षेत्रमा पहिलो पटक राज्यको प्रतिनिधि बडाहाकिम सन् १९६५ मा पुगे। सोही वर्ष राजा महेन्द्र शाहको जन्मोत्सव पहिलोपटक मनाइएपछि केन्द्रसँगको आत्मीयता गाँसिएको अरे!
यद्यपि विदेशीहरूले सो क्षेत्रमा थुप्रै सहयोग र कामहरू गरिसकेका थिए। गर्दै थिए। र, अहिले पनि गरिरहेकै छन्। ६ दशकअघि न्युजिल्यान्डका एडमन्ड हिलारीले लुक्ला एयरपोर्ट र जापानी मूलका ताकासी मियाहाराले स्याङबोचे एयरपोर्ट व्यक्तिगत अगुवाइमै बनाएका थिए।
मलाई सफल बनाउने शेर्पा समुदायका लागि मैले कुनै सहयोग गर्नुपरे के गर्ने भनेर हिलारीले आफ्ना मुख्य सहयोगी उर्केनलाई सोध्दा उनले भनेछन् — हाम्रा केटाकेटीका आँखा छन् तर उनीहरू देख्दैनन्। कान छन् तर उनीहरू सुन्दैनन्। तिनका आँखा र कान खोलिदिनुपर्यो।
अर्को वर्ष (सन् १९६१ मा) हिलारीले खुम्जुङ गाउँमा खुम्बु क्षेत्रकै पहिलो स्कुल खोलिदिए। पछि हिलारी र उनको टिमले दर्जनौं स्कुल, अस्पताल, झोलुंगे पुल र बाटो बनाइदिए।
लाक्पा सोनम शेर्पा
नाम्चे माथि उकालोमा बाटो मुन्तिर एउटा होटल छ - शेरवी खाङ्वा।
मालिक ६२ वर्षीय लाक्पा सोनम शेर्पा। होटल लाक्पाको पेसा हो, तर 'प्यासन' हो एभरेस्ट म्युजियम।
खुम्बु क्षेत्रको पहिचान, सगरमाथाको अथाह ज्ञान, शेर्पा जातिको इतिहास र शान। सबै संग्रहालयमा कैद गरेका छन् उनले। उसो त लाक्पा फोटोग्राफर, संरक्षणवादी, पर्वतारोहण इतिहासकार र शेर्पा संस्कृतिका जानकार पनि हुन्।
'टिन एज' सकिँदा नसकिँदै कान सुन्न छाडे, अहिले पनि सुन्दैनन्। यस क्षेत्रको पहिचान कायम राख्न र अभिलेख तयार पार्न दशकौं खर्चिएका छन्। करोडौं लगानी गरेका छन्।
भन्छन् — पहिले एउटा विदेशीले आर्थिक सहयोग गर्थ्यो। कोरोनापछि सहयोग आउन छाड्यो। तर मेरो सपना म्युजियम हो, पूरा त गर्नैपर्छ। पोहोर काठमाडौंको घर बेचेको पैसाले अहिले चलिरहेको छ।
उनको कुरा सुनिरहँदा पहाड सिँगार्ने अछामी बड्डाको याद आयो जो तीन वर्षअघि आफ्नो धनगढीको घर एक करोड बीस लाख रूपैयाँमा बेचेर अछामको नैनी क्षेत्र सिँगार्न लागिपरेका थिए।
म्युजियमलाई 'लाइफ एन्ड सोल' (जीवन र आत्मा) ठान्ने लाक्पा दुई वर्षपहिले आफ्नी श्रीमतीले निकै कराएको सम्झिन्छन् — बूढो भइसक्यो। स्वास्थ्यको ख्याल छैन। आराम गर्ने उमेरमा दिनरात भन्दैन। न कान सुन्छ। आँखा पनि राम्ररी देख्न छाडिसक्यो। खाली म्युजियाम, म्युजियाम भनी बस!
होटलभित्र गफिँदा तिनै श्रीमतीलाई ग्यास्ट्रिकको औषधि मगाएर पानीसँग निल्दै थप्छन् — म्युजियमले शेर्पा जनजीवनलाई जीवन्त बनाउँछ। आफ्नो धरातल सम्झाई रहन्छ। म्युजियमभित्र मान्छे त्यसै हराउँछ। त्यहाँ खुम्बु र शेर्पाहरूबारे गीत बन्न सक्छ, कविता बन्न सक्छ। म्युजियम लाइभ हुनुपर्छ। यसलाई अझ जीवन्त बनाउन खोजिरहेको छु। यसलाई जीवन्त बनाउँदा बनाउँदै मेरै जीवन अन्त भए पनि पश्चाताप छैन।'
कान नसुन्ने उनलाई नेपाली वा अंग्रेजीमा लेखेर जिज्ञासा राखेपछि अक्षरहरू केलाउँदै जवाफ दिन्छन्।
'लगानी त कति कति छ म्युजियममा। मन समर्पित गरिसकेँ, धनको के कुरा भयो! म्युजियम आधुनिक छ। दुइटा घर छन्। पुरानो घरमा शेर्पा जनजीवनसँग जोडिएका भाँडाकुँडा, हातहतियार, बाजागाजा छन्। नयाँमा फोटो र पेन्टिङहरू। त्यहाँको जानकारी फोटो खिचेर र रेकर्ड गरेर खल्ती (पकेट) मा राखेर लिन पाइँदैन तर अघाञ्जी हेरेर मस्तिष्कमा राखेर लिन सकिन्छ,' उनी भन्छन्।
एभरेस्टको इतिहास मुखाग्र छ लाक्पालाई। चढेका भने रहेनछन्।
भन्छन् — सानोमा निकै दुःख थियो। खान नपुग्ने। बाउले कुट्थ्यो। म बाउदेखि भागेर गोठमा गाईसँग सुत्थ्यो। बडो दुःख गरेर एसएलसीसम्म पढ्यो। सानैमा दुःख पाएर होला जिन्दगी पनि सानैमा बुझ्दै गयो। लोभलालच कहिल्यै पलाएन। गहना, औंठी, सुनचाँदी कहिल्यै लगाएन।
रङ लत्पतिएका हातका औंला ओल्टाईपल्टाई देखाउँदै उनी गफिरहँदा टेबलमा चौंरीको घिउ, नुन, पिठो मिसाएर बनाइएको शेर्पा (सु) चिया आइपुग्छ।
सोनम रङ लत्पतिएका हातले कप उठाउँदै भित्तातिर नजर दौडाउँछन्। जहाँ झुन्ड्याइएका छन् उनले वर्षौं लगाएर खिचेका खुम्बु क्षेत्रका मनमोहक तस्बिरहरू।
सगरमाथा बेस क्याम्प
विश्वकै अग्लो 'वाटर टावर' (चुचुरो) सगरमाथा त्यति सजिलै कहाँ चढिन्थ्यो? बेस क्याम्पमा लामो समय बसेर, त्यहाँको मौसमसँग अनुकूलित हुँदै चढ्ने हो। सबै आरोहीहरू एकसाथ चढ्ने पनि होइनन्। एजेन्सीहरू नेपाल र विश्वका विभिन्न मुलुकको मौसम पूर्वानुमानको लामो समय विश्लेषण गर्छन्। अनुकूलनका लागि आरोहीहरू आधार शिविरबाट पहिलो र दोस्रो क्याम्पसम्म 'अप-डाउन' गर्छन्।
सबै एजेन्सीका आ-आफ्नै क्याम्प छन्। ट्याग नेपाल सिरानमा, सेभेन समिट क्लब पुछारमा। यता एट के, उता कैलाश। वर्तिर पायनियर, पर्तिर सातोसी एड्भेन्चर्स। एजेन्सीहरू पनि सस्ता र महँगा हुन्छन्। महँगाले व्यवस्थापनमा कञ्जुस्याइँ गर्दैनन्। सस्ताले कहिलेकाहीँ आफ्नो टोलीसमेत अरूमा मिसाएर वा सँगसँगै पठाइदिएर जिम्मेवारीबाट पन्छिने आरोप पनि छ।
एसपिसिसीका सिइओ छिरिङ शेर्पा भन्छन् — अहिले बेस क्याम्प जो पनि जान पाउँछ। उनीहरू बस्न चाहिँ पाउँदैनन् तर धेरै जना बसेको देखिन्छ। त्यो नियन्त्रण गर्न सकिएको छैन। कारण, त्यहाँ सरकारी निकायको प्रभावकारी उपस्थिति छैन।
रातभरि माइनस तापक्रममा कठ्यांग्रिने ५,३६४ मिटरको उचाइमा बसेको बेस क्याम्प घाम लागेसँगै यसरी तात्छ, मानौं हिजो राति चिसै थिएन।
टेन्डी शेर्पा (बिग टेन्डी)
सगरमाथा बेस क्याम्पमा ट्याग नेपालको व्यवस्थापन महाकुलुङका टेन्डी शेर्पाले हेर्छन्। सन् २०१६ मा ठ्याक्कै पाँच महिना लगाएर ग्रेट हिमालयन ट्रेल यात्रा पूरा गरेका अनुभवी, साहसिला, जाँगरिला गाइड र प्रशिक्षक हुन् उनी।
ओठमाथि छुस्स आएका जुँगा, त्यसमाथि जमेको हिउँका कण पुछ्दै भन्छन् — ४०/५० मिटरको आइसबर्ग माथि बसेको छ बेस क्याम्प। सात सय वर्षअघि शेर्पाहरू यही बाटो तिब्बततिर आउजाउ गर्थे जति बेला यहाँ सयौं मिटर अग्लो हिउँ रहेको कुरा शेर्पा इतिहासमा छ। हामी करिब दुई महिना बेस क्याम्पमा बस्नुपर्छ। टेन्ट गाड्ने बेला कहिलेकाहीँ शव र कंकाल भेटिन्छन्। माथि उचाइमा मृत्यु भएर कुनै कालखण्डमा पुरिएका शवहरू बग्दै बग्दै वर्षौंपछि बेस क्याम्पतिर पुग्छन्।
उनी थप्छन्, 'बेस क्याम्प सार्ने कुरा पनि चल्छ कहिलेकाहीँ। बेस क्याम्पमा जथाभावी टेन्ट गाडेर कुरूप बनाउनु हुँदैन। बरू सरकारले नै बेस क्याम्प राखोस्। एउटै खालका टेन्ट होऊन् वा एउटा ठूलो स्थायी संरचना होओस्। त्यहाँ बिजुली र ढुवानीको व्यवस्था राज्यले नै मिलाओस्। सगरमाथाका तीन मोहडा छन्- पूर्वी, उत्तरी र दक्षिण-पश्चिमी। सबभन्दा कठिन पूर्वी मोहडा चीनमा पर्छ, खाङसुङ भनिन्छ। उत्तरी पनि चीनमै। नेपालमा पर्छ दक्षिण-पश्चिमी मोहडा। नेपालबाट उक्लिनुको आनन्द बेग्लै हुन्छ। सगरमाथा चीनबाट चढ्न सजिलो भए पनि चढ्नुको मजा, शेर्पाहरूको भाइचारा र हाम्रो उद्धार प्रणालीका कारण पर्वतारोहीको पहिलो रोजाइ यतै हुने गर्छ। यसलाई कायम राख्न्नुपर्छ।'
कस्तो सम्पर्क अधिकृत चाहन्छन् शेर्पाहरू?
एउटा पर्वतारोहण टोलीसँग सरकारले एक जना सम्पर्क अधिकृत (लायजन अफिसर-एलओ) खटाउँछ, टोलीका गतिविधि नियम विपरीत नहून् र सरकारसँग नियमित सम्पर्क कायम हुन सकोस् भनेर। तर एलओहरूप्रति शेर्पा र आमसमुदायको दृष्टिकोण नकारात्मक देखिन्छ। यस क्षेत्रमा सम्पर्क अधिकृतहरू पुग्दैनन्। पुगे पनि खर्च गर्दैनन्। आफ्नो काम त झन् गर्दै गर्दैनन्। घुम्न, पैसा पचाउन मात्र आउँछन् भन्ने बुझाइ रहेछ।
स्याङ्बोचेबाट झर्दै गर्दा विदेशी पदयात्रीहरू हामीतर्फ संकेत गर्दै, छक्क पर्दै गाइडलाई सोध्दै थिए, 'डु नेपाली पिपल ट्रेक?'
लौसासामा होटलकी साउनीले हामीलाई नै देखेर भन्दै थिइन्, 'आज त हाम्रो नेपाली दाजुभाइ पनि ट्रेकिङ गर्दै आएछ! टुरिस्ट, गाइड र भरिया मात्र हिँडेको देख्थ्यो। नेपाली पनि हिँडेछ, खुसी पो लाग्यो।'
'हामी त एलओ हो दिदी, बेस क्याम्पसम्मै पो पुग्ने हो' भन्दा त झनै छक्क।
'आच्या! यो एलओहरू कहिलेदेखि आउन थाल्यो हिन्दै? मैले होटल चलाएको यत्रो वर्षमा एलओ र यतिबारे सुनेको मात्र थिएँ। आज एलओ त देख्यो, अब यति पनि देखिन्छ होला,' उनले भनिन्।
हिमाल चढ्ने, चढाउनेदेखि त्यहाँको सबै व्यवस्थापनको काम गर्ने शेर्पाहरू नै हुन्। उनीहरूको चाहना पर्वतारोहण टोलीको सम्पर्क अधिकृत परम्परागत नभएर 'स्मार्ट' होस् भन्ने छ। अनेक बहाना बनाएर आधा बाटोबाटै फर्किने नभई बेस क्याम्पमै लामो समय बस्ने होओस्। अहिले जस्तो निरीह र उल्टै उद्धार गर्नुपर्ने नभई शक्तिशाली र ऊर्जावान् होओस्। कानुन जानेको होस्। राज्यले तिनलाई एक महिना तालिम दिएर राखोस्। पाउने सुविधा बढाओस्। क्याम्पमै राख्ने व्यवस्था मिलाओस्। हेलिकप्टर लिएर जहाँसुकै, जतिसुकै बेला अनुगमन गर्न सक्ने व्यवस्था होस् भन्ने चाहना छ शेर्पाहरूको।
ताकि उनीहरू विदेशीलाई गर्वका साथ देखाएर भन्न सकून्, 'लुक एट आवर लायजन अफिसर, सो स्मार्ट, सो पावरफुल।'
शेर्पाहरू यसकारण सुपरहिरो
हिमालका आदिवासी शेर्पाहरूले सदियौंदेखि हिमालसँग खेलेका छन्। तिनले हिमआँधीलाई सजिलै जोख्न सक्छन्। सगरमाथाको चुचुरो सहजै चुम्न सक्छन्। हिउँको हलचल छिनमै चिन्न सक्छन्। अरुलाई हिउँमा हिड्ने बाटो कोरिदिन सक्छन्। तिनै पौरखी शेर्पाहरूले आलुबाहेक अन्य बालीनाली नउब्जिने खुम्बु क्षेत्रमा सुरूमा साहस फलाए। अनि सगरमाथा र अन्य हिमाल आरोहणको बीउ अंकुराए। अहिले विदेशीहरूलाई लोभ्याएर डलर फलाउँदै छन्।
एक शताब्दीदेखि त पर्वतारोहण शेर्पाहरूको जीवनशैली नै भएको छ। नभए सगरमाथा आरोहणमा कीर्तिमानमाथि कीर्तिमान शेर्पाहरूकै नाममा किन हुन्थ्यो?
सगरमाथामा सबभन्दा छिटो, ६ घन्टा १ मिनेटमा चढ्ने मिङ्मा दोर्ची शेर्पा।
सबभन्दा धेरै, २८ पटक चुचुरोमा पुग्ने कामिरिता शेर्पा।
आठ हजार मिटर अग्ला विश्वका चौधवटै हिमाल उक्लिने पहिलो दक्षिण एसियाली मिङ्मा शेर्पा।
ती सबै हिमाल दुई-दुईपटक चढ्ने विश्वकै पहिलो व्यक्ति सानु शेर्पा।
सबभन्दा धेरै, दस पटक आरोहण गर्ने महिला लाक्पा शेर्पा।
एकै परिवारका तीन जना एकसाथ चढ्ने तेन्जिङ दोर्जे (बाबु), पासाङ कान्छी (छोरी) र सोनम तासी (छोरा) शेर्पा।
चुचुरोमा सबभन्दा लामो समय, २१ घन्टा बस्ने बाबुछिरी शेर्पा।
यस्ता रेकर्डमाथि रेकर्ड बनाउने शेर्पा नै हुन्। तिनको छेउछाउ पनि अपवादबाहेक अरू नपुगेकाले पर्वतारोहण र शेर्पा पर्याय लाग्छन्। अब कुनै बेला नेपाली फिल्ममा आफ्नै सुपरहिरो पात्र आएछ भने त्यो पात्र शेर्पा हुनुपर्छ। सुपरहिरो शेर्पा!
(लेखक उपाध्याय वरिष्ठ अध्यागमन अधिकृत हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)