हामी विकास, समृद्धि र सुशासनका लागि व्यावसायिक र सिर्जनशील प्रशासनको वकालत गर्दैछौं। जुन शासन प्रणालीमा आइरहेको परिवर्तनका लागि जरूरी छ। साथै, कतिपय ठाउँमा न व्यावसायिक हुन सकेका छौं, न सिर्जनशील। मूल्यांकन गर्नु पनि अत्यावश्यक छ।
यहाँ मैले पछिल्लो एक वर्षमा अनुभव गरेका दुई तीता प्रतिनिधि घटनाबाट नेपालको समग्र निजामती सेवाको आंशिक चरित्र र सेवाग्राही नागरिकको वास्तविकतालाई चित्रण गर्न खोजेको छु।
घटना १- सेवाग्राही छविलाल
सन्दर्भ २०७८ सालको सुरूआततिरको हो। म धादिङमा सहायक सिडिओको भूमिकामा रहँदाको। मध्याह्नतिर काम विशेषले माथिल्लो तलामा उक्लिएर मुद्दा फाँटमा छिरेँ।
कुर्सीमा बसेर सञ्जय भाइसँग कामको कुरा गर्दैगर्दा छेवैमा छिर्केमिर्के सर्टमाथि इस्टकोट भिरेर उभिएका एक जना वयस्कमा आँखा गए। यस्तै ५४–५५ वर्षका, सानो कदका- छविलाल।
कुराकानीको बीचमै मञ्जु दिदीले ट्रेमा केही कप कालो चिया ल्याइन्। जिल्ला प्रशासनमा बिरलै होला आनन्दले चियाखाजा खान समय पाउने। प्रायः कामसँगै खानुपर्ने हुन्छ। दिदी पहिले मछेउ आइन्। मैले छविलालतिर संकेत गर्दै पहिले उहाँलाई दिन भनेपछि ट्रे उतै तेर्स्याइन्।
उनले चियाको कप समात्न मानेनन्।
अनुरोध गर्दा पनि चियाको कप उठाउन मान्दै नमानेपछि सोधेँ- चिया पिउनु हुन्न र?
'पिउँछु।'
उसोभए लिनु न।
(हात जोड्दै) 'पैसा छैन हजुर।'
उनलाई लागेछ चिया पिएको पैसा तिर्नुपर्छ।
मनमनै सोचेँ, उनी सरकारी कार्यालयमा बिरलै गएका होलान्। जहाँ गए, त्यहाँ पनि चिया पिउने प्रस्ताव सायदै आयो होला!
उफ! सेवाग्राही र हामी कर्मचारी बीचको 'ग्याप'। अनि हाम्रो समृद्धि र सुशासनको नारा। म छाँगाबाट खसेझैं भएँ।
भनेँ, 'पैसा तिर्नु पर्दैन, पिउनुस्।'
बल्ल मेरो अनुहारमा निर्दोष नजरले हेर्दै बायाँ हात ट्रेमा रहेको चियाको कपतिर अगाडि सारे। मैले आफू बसिरहेको कुर्सीबाट उठेर कुर्सी उनीतिर सारेँ।
पहिलो अनुरोधमा त त्यसमा बस्न पनि मानेनन्। करै गर्नुपर्यो।
छविलालको दाहिने हात रातो कपडाले बेरिएको रहेछ। पोहोर दसैंताका जंगलमा लडेर मर्किएको अरे! उपचार गर्दा निको नभएपछि यत्तिकै बाँधिराखेका। उपचारका लागि जिल्ला अस्पतालमा भनिदिन खोजेको, त्यहाँ पहिल्यै उपचार गराइसकेका रहेछन्।
आज प्रशासनको मुद्दा फाँटमा आउनुको कारण पाकेटमार छोरो रहेछ। सार्वजनिक बसमा तीन हजार दुई सय पचास रूपैयाँ र अरू केही सामान पाकेट मारेछ। त्यसपछि पक्राउ पर्यो। अनि मुद्दा चल्यो। सात हजार रूपैयाँ धरौटी र केही क्षतिपूर्ति गरी करिब नौ हजार रूपैयाँ तिर्नुपर्ने फैसला भयो। सो तिर्न नसकेर २५ दिन थुनामा बस्यो। त्यही छोरालाई छुटाउन आएका उनी।
बुढेसकालमा सहारा बन्नुपर्ने छोरो तिनै छविलाललाई बोझ बन्नुपर्ने? मेरो दिमाग एकछिन शून्य भयो।
छविलालको अनुहारमा हेरेँ, निर्दोष थियो। उनले बायाँ हातले टपक्क समातेको गिलास रित्तिइसकेको थियो।
सञ्जय भाइलाई उनको काम तुरून्तै गरिदिन भनेँ।
अनि छविलाललाई हात जोड्दै भनेँ, 'तपाईंको काम हुन्छ। अब एकैछिन बस्नुस्।'
उनले गिलास समातेको देब्रे हात र कपडा बेरेको दाहिने हात सँगसँगै उचालेर नमस्कार फर्काए।
घटना २- कोठाबाट निकाल्ने हाकिम
करिब एक वर्षअघिको कुरा।
काठमाडौंको एउटा नापी कार्यालयमा सेवाग्राहीका रूपमा दाइको साथमा गएको थिएँ। कार्यालयमा पुग्दा सवा दस बजेको थियो। कार्यालय प्रमुखसँगै भेटेरै केही बुझ्नुपर्ने भयो। कार्यालय छिर्न ताल्चा झुन्ड्याइएको च्यानल गेट पार गर्नुपर्ने। भित्रपट्टि गार्ड बसिरहेका।
मैले हाकिम सा'बको कोठा सोधेँ, उनले कारण सोधे।
मैले कारण देखाएँ, उनले माथिल्लो तला देखाए।
अलिकति च्यानल गेट खोलेँ। म फुत्त छिरेँ, उनले फेरी ताल्चा झुन्ड्याए। म उक्लिएँ।
हाकिम सा'बको कोठा कुनामा रहेछ। 'बाहिर' लेखिएको बोर्ड। तर मान्छे भित्र। ढोका खोलेर चिहाएँ। एक जना गैरकर्मचारीसँग बाझिरहेका हाकिम सा'बले हामीतिर नजर घुमाए, तर केही संकेत आएन। सेवाग्राहीको रूपमा भित्र पसेर कुनाको सोफामा बस्यौं।
बाझाबाझ सकिएपछि घुम्ने मेचमाथि बसेका, झुस्स दारी पालेका, कोरोनाको जोखिमताका पनि मास्क नलगाएका युवा हाकिम। मतिरै फर्किए।
मैले केही कुरा राख्न खोजेको मात्र के थिएँ, कुरा सुन्नु त विद्यानाश, सायद उताको झोँक यता देखाउँदै भने, 'तपाईं कसलाई सोधेर भित्र आउनुभयो?'
उपसचिव स्तरका हाकिमको त्यो शैली मेरा लागि अकल्पनीय थियो।
'फ्ल्यासब्याक' मा गएर सम्झिएँ। बाहिर त सोध्ने ठाउँ थिएन न बस्ने ठाउँ नै। एकछिन ढोकैमा अडिएर प्रतिक्रिया आउँछ कि भनेर चिहाएर हेरेकै हो। कसलाई सोध्नुपर्थ्यो खै? तल गेटमा गार्डले सोध्दा हाकिम सा'बलाई भेट्ने भनेकै थिएँ।
फेरि पड्किँदै उर्दी जारी गरे, 'तपाईं बाहिर जानुस्!'
उनलाई भेट्न सुझाउने सोही कार्यालयका अधिकृत ओझा सरलाई फोन गरेर 'के गरौं?' भनेर सोध्न लाग्दा हाकिम सा'बको थप कडा आदेश आयो, 'तपाईंलाई यहाँभित्र फोन गर्ने अनुमति छैन। यो मेरो च्याम्बर हो। तपाईं कोठाबाट निस्किहाल्नुस्!'
कोठामा फोन गर्ने अनुमति छैन, त्यतिसम्म त मानेँ। तर कोठाबाटै निस्किनुपर्ने भयो। अब पनि नउठे हार्ट-अट्याक नै होलाझैं गरे हाकिमले।
त्यहाँ बसेर बाझ्न वा परिचय दिएर पदको फूर्ति गर्न वा आदर्शका कुरा गरेर सम्झाउन वा उनले भनेको पूरै अटेरी गर्न ब्रह्मले मानेन। म आफू चाहँदिनँ मेरो कार्यकक्षमा कुनै सेवाग्राहीले यसरी गिड्गिडाउनु परोस्। म पनि गिड्गिडाइनँ।
बरू निस्किनु ठीक मानेँ, किनकि त्यहाँ म थिइनँ, एउटा सेवाग्राही थियो। न म पदको फूर्ति लगाउन गएको थिएँ न केही माग्न।
त्यही कार्यालयसँग सम्बन्धित सेवा लिन जाँदा मलाई थाहा थिएन मेरो सेवा पाउने अधिकार ती कार्यालय प्रमुखको मुडमा भर पर्छ। सेवाग्राहीप्रति यिनको व्यवहार यस्तै हो त?
कामना गरेँ, नहोस्।
यहीँनिर हाम्रो निजामती सेवा चुकेजस्तो लाग्छ- शब्दमा सुन्दर, सेवा प्रवाहमा तीतो।
केही कार्यालयमा म कार्यालय प्रमुख भएँ, यस्तो व्यवहार भने एकजनासँग पनि गरिनँ भन्ने विश्वास छ।
तर लाग्यो एउटा कार्यालय प्रमुखको यस्तो व्यवहारले समग्र निजामती सेवाको साख गिराइरहेको छ। व्यवहार पनि के भन्नु? दुर्व्यवहारले। कर्मचारीले सेवाग्राहीको मन जित्ने हो, न कि धाक देखाउने!
कसैप्रति आवेश होइन। होचिएको महसुस पनि होइन। त्यो व्यवहार मसँग हुनु संयोग मात्रै पनि हुन सक्छ।
त्यो घटनाले सोच्न बाध्य बनायो- के हामी साँच्चै राष्ट्र सेवक छौं? के यसरी नै निजामती सेवाको साख बढ्छ? यसरी नै हो त व्यावसायिक हुने?
समग्र निजामती सेवा
छविलाल पात्रले अधिकांश सेवाग्राहीको प्रतिनिधित्व गर्छन्। सोझा। इमानदार। विश्वास गर्ने। सरकारी कार्यालयप्रति आशावादी।
अनि कार्यालय प्रमुख पात्र?
सरकारी बर्दीको शान देखाउने। सेवाग्राहीको सेवकभन्दा मालिक ठान्ने। कुर्सीले दिने अधिकार दुरूपयोग गर्ने। आफू पनि कतै सेवाग्राही हुन्छु भन्ने हेक्का नराख्ने।
आजको युगमा निजामती राष्ट्र सेवकहरूले आफूलाई मालिक ठान्ने प्रवृत्ति तत्कालै त्याग्नुपर्छ। दस–पाँचको जागिरभन्दा सेवाको भाव राख्न सक्नुपर्छ। निजामती सेवाका मूल्य मान्यतालाई व्यवहारतः पालना गर्न सक्नुपर्छ।
होइन भने सेवाग्राही र निजामती सेवाको बीचको 'ग्याप' सधैं बढिरहने छ।
अन्त्यमा, सबै निजामती कर्मचारीहरूमा अनुरोध- सेवाग्राहीमैत्री भइदिनुहोस्। आफ्नो काम, व्यवहारलाई बाहिरियाको नजरबाट पनि हेर्नुहोस्। सेतो सर्ट र निलो पाइन्ट लगाएर पनि हामीलाई नग्न हिँडिरहेको कसैले नभनून्। नदेखून्। सतर्क रहनुहोस्। निजामती सेवा दिवस-२०७९ को शुभकामना!
(लेखक उपाध्याय नेपाल सरकारका उपसचिव हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)