(सबभन्दा पहिला त एउटा डिस्क्लेमर जरूरी देखियो। म शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा प्राविधिक पदमा कार्यरत छु। मेरो इच्छा वा अनिच्छाले यस केन्द्रमा शैय्या थप्ने, ट्वाइलेट सफा राख्ने, एम्बुलेन्समा रङ लगाउने वा बिरामीको भिड नियन्त्रण गर्ने जस्ता यावत कुराहरूमा फरक आउँदैन।
मैले केही कुरामा व्यवस्थापकलाई सुझाव दिने हो। पूरै केन्द्रको योजना बनाउने वा कार्यान्वयन गर्ने अख्तियार पाएको कुनै पनि पदमा न म विगतमा थिएँ, न हाल छु। तसर्थ यो वा त्यो कुरो किन भएन वा किन भयो भनेर यस्ता प्रशासनिक तथा व्यवस्थापकीय प्रश्नको उत्तर दिन म असमर्थ हुनेछु। त्यस्तै लेखमा थोरै तलमाथि हुन सक्छ र त्यसमा भाव बुझिदिन अनुरोध पनि छ।)
हाल चर्चामा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विषयमा केही लेख्दा विगत केही वर्षदेखि यहाँ प्रचलनमा आएअनुसार शक्तिमा भएकालाई मन नपर्न सक्छ, पाएको पद गुम्न सक्छ अनि बाँकी जागिरे जीवन टंगाल र अदालत धाउँदाधाउँदै बित्न सक्छ भन्ने थाहा नभएको होइन। तर अलि एकोहोरो र केही भ्रामक खबर लगातार सम्प्रेषण भइरहेकाले यो खतरा बेहोर्ने आँट गरेरै लेखेको छु।
विगत केही वर्षदेखि गंगालाल अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरू असमयमै राजीनामा दिई निजी अस्पतालतर्फ पलायन हुने प्रवृत्तिमा बढोत्तरी भइरहेको छ। हरेक वर्षजसो 'गोल्डेन हेन्डशेक' अवधारणामा ल्याइएको 'पन्ध्र वर्ष स्थायी जागिर खाइसकेपछि दिइने स्वेच्छिक अवकास' ले यो प्रवृत्तिलाई थप प्रोत्साहन गरेको पाइएको छ।
मुटुको उपचारका दुइटा मुख्य विधा, कार्डियोलोजी तथा कार्डियाक सर्जरीमा विशेषज्ञ कसरी बन्छन् भनेर यहाँ उल्लेख गर्न जरूरी देखिन्छ।
पाकिस्तान, बंगलादेश लगायत केही देशमा एमबिबिएसपछि पाँच वर्ष लगातार अध्ययन गरेर सिधै कार्डियोलोजिस्ट वा कार्डियाक सर्जन बन्छन्। नेपाल लगायत विश्वका धेरै देशमा एमबिबिएस पास गरेको चिकित्सकले फेरि तीन वर्ष पढेपछि स्नातकोत्तर तहको इन्टर्नल मेडिसिनमा एमडी वा जनरल सर्जरीमा एमएसको उपाधि दिइन्छ। त्यसपछि पुनः अर्को तीन वर्षको अध्ययनपश्चात कार्डियोलोजीतर्फ डिएम (कार्डियोलोजी) र कार्डियाक सर्जरीतर्फ एमसिएच (कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी) को उपाधि प्रदान गरिन्छ।
नेपालको सन्दर्भमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा तीनपटक उत्तीर्ण मात्र भएर हुँदैन। मेरिटमा आएर मात्र पनि हुँदैन। आफूले चाहेको विषयका सिट आफ्नोभन्दा बढी नम्बर ल्याएको विद्यार्थी पहिल्यै भर्ना नभएर खाली रहेको पनि हुनुपर्छ।
यसरी हेर्दा एउटा विद्यार्थीले २६ वर्षको उमेरमा एमबिबिएसको अध्ययन सक्छ। अनि हरेक अर्को अध्ययनको प्रवेश परीक्षाको तयारी तथा भर्नाबीच दुई वर्षको अन्तर रहन्छ भनेर मान्ने हो भने एउटा कार्डियोलोजिस्ट वा कार्डियाक सर्जन बनिसक्दा उमेर लगभग ३६ वर्षको हुने देखिन्छ।
एउटा कुरा यहाँ उल्लेख गर्न आवश्यक हुन्छ- कार्डियाक सर्जरीलाई संसारमै सबभन्दा लामो 'लर्निङ कर्भ' भएको विधा मानिन्छ। अन्य विधामा जस्तो अध्ययन सक्नेबित्तिकै बिना निगरानी मुटुको शल्यक्रिया एक्लै गर्न लगभग असम्भव र खतरायुक्त मानिन्छ। विश्वभर गरिएको अध्ययनले मुटुको सर्जनलाई आफ्नो विधामा स्वतन्त्र रूपले शल्यक्रिया गर्न सक्ने हुन पाँचदेखि सात वर्ष लाग्ने देखाएको छ।
यस हिसाबले हेर्दा ४३ वर्ष उमेर हाराहारी हुँदा बल्ल गंगालाल अस्पतालले एउटा परिपक्व सर्जन पाउने रहेछ।
गंगालालले आफ्नो स्थापनाकालमा सर्जरी विधामा मात्र विशेषज्ञ चिकित्सकको अभाव नखेपेर, कार्डियोलोजी तथा एनेस्थेसियोलोजी विधामा पनि खेपेको थियो। केन्द्रले छात्रवृत्तिमा विभिन्न चिकित्सकलाई अध्ययन तथा तालिममा पठाएको थियो। जसमध्ये हाल पाँच-छ जनाबाहेक एघार जना विशेषज्ञ चिकित्सकले सीमित अवधि मात्र केन्द्रमा काम गरे। यसरी राजीनामा वा स्वेच्छिक अवकास लिएकामा केन्द्र खुसी भएर दिने ३६ महिना बराबरको प्रोत्साहन रकमसमेत लिएर उनीहरू बाहिरिइसकेका छन्।
यस हिसाबले हेर्दा केन्द्रले यस्ता विशेषज्ञ चिकित्सक उत्पादन तथा तिनको सीप अभिवृद्धि गर्न गरेको लगानीको सबै चिकित्सकबाट उच्चतम प्रतिफल लिन नसकेको पनि देखिन्छ। छात्रवृत्तिपछि सेवाको अनिवार्य करार अवधि वा सोबापतको क्षतिपूर्ति रकम पनि सरकारले तोकेभन्दा धेरै राख्न नसकिने अनि चिकित्सकहरू पनि केन्द्रमा लामो समयसम्म नटिक्ने यो प्रायः सबै सरकारी अस्पतालमा देखिएको साझा समस्या हो।
यो समस्या हुँदाहुँदै विगत केही वर्षदेखि गंगालाल र समग्र नेपालभर झन् ठूलो अर्को समस्या देखा परिरहेको छ।
कुनै बेला 'मुटुको सर्जन' का रूपमा समाजमा प्राप्त हुने अतिरिक्त 'नाम' र 'रूचि' ले गर्दा यो विधामा केही आकर्षण देखिएको थियो। नेपालमा पनि केही मुटुका शल्यचिकित्सकको लोकप्रियताले धेरैलाई यो विधामा आकर्षित गर्यो। विगत दस वर्षमा लगभग पन्ध्र जनाजति यही विषय पढ्न भारत, चीन, पाकिस्तान र बंगलादेश गए पनि।
पढेर आएपछि सबैलाई गंगालाल र मनमोहन अस्पतालले जागिर दिन सकेन। हार खाएर कति विदेसिए, कति रक्तनलीको सर्जन बने त केही एक-डेढ लाखको तलबमा चरम असन्तुष्टिका साथ निजी अस्पतालमा काम गर्न थाले। सँगै पढेका अन्य विधाका सर्जन तथा फिजिसियनले अतिरिक्त आय गरिरहँदा आफैंलाई किन मुटुको सर्जरी रोजेँ भनेर दिनहुँ सोधिरहे।
समय बदलियो। विकसित मुलुकमा अलि अघि र नेपालमा अलि पछि।
मुटुको सर्जन हुन लाग्ने र विज्ञता हासिल गरेर आफैं सर्जरी गर्न सक्षम हुन लाग्ने लामो समय, अनवरत आइसियुको हेरचाह, बिरामीको मृत्युको बढी सम्भावना तथा त्यस्ता मृत्युपछि हुनसक्ने हुलदंगा र कानुनी प्रक्रियाका साथै घरपरिवारलाई समय दिन नभ्याउनेजस्ता विविध कारणले हाल यो विधा पढ्न चाहने चिकित्सकको संख्या निरन्तर कम भइरहेको छ।
सीमित पारिश्रमिक, अत्यधिक तनावको काम भएकाले, झन् बच्चाहरूको मुटुको शल्यक्रिया मात्रै गरेर बालमुटु शल्यचिकित्सा विधालाई थप सुधार गर्न गंगालालकै शल्यचिकित्सकहरूले त्यति रूचि राखिरहेका छैनन्।
विगत निकै वर्षयता थप विशेषज्ञताका रूपमा यस केन्द्रमा बालबालिकाका लागि छुट्टै शल्यचिकित्सा विभाग गठन गरी उनीहरूको उपचारमा अझ दक्षता हासिल गराई शल्यचिकित्सालाई थप सुरक्षित र भरपर्दो बनाउन प्रयास भइरहेको थियो।
त्यसैअनुरूप चार वर्षअगाडि सरकारको वार्षिक नीति तथा कार्यक्रममा 'शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा बालमुटु शल्यचिकित्सा विभाग गठन गरी बाल शल्यचिकित्सा उपचार विस्तार गरिने' भनेर उल्लेख पनि भयो।
विडम्बना, हालसम्म बालमुटु शल्यचिकित्सा विभाग गठन गर्न सकिएको छैन।
यसै पनि मुटु शल्यचिकित्सा अत्यधिक मानसिक तथा शारीरिक तनावको विषय। त्यसभन्दा पनि जटिल तथा अतिरिक्त मृत्युदर थप हुने बालमुटु शल्यचिकित्सामा गंगालालका विद्यमान सर्जनहरू बिना कुनै 'प्रोत्साहन' जान नचाहनु र देशमा नयाँ शल्यचिकित्सक अभाव हुनुलाई यसको प्रमुख कारण मान्न सकिन्छ।
यो कुरालाई केन्द्रको सञ्चालक समितिले समयमै ध्यान दियो। २०७९ जेठ ६ को सञ्चालक समिति बैठकले नयाँ मुटु शल्यचिकित्सक उत्पादन गर्न तथा भइरहेका सीमित शल्यचिकित्सकलाई गंगालालमै काम गर्न र राजीनामा दिएर निजी अस्पतालमा पलायन हुन नदिन के कस्ता विकल्प हुन सक्छन् भनेर सुझाव-प्रतिवेदन दिन दुइटा समिति गठन गर्यो।
एउटा, समिति केन्द्रका कार्यकारी निर्देशकको संयोजकत्वमा मुटु शल्यचिकित्सकको अध्ययन तथा प्रोत्साहन भत्ता सम्बन्धमा।
अर्को, सञ्चालक समिति सदस्य विपिन राईको संयोजकत्वमा विशेषज्ञ चिकित्सकको अनिवार्य अवकास उमेरहद सम्बन्धमा।
दुवै समितिले छलफल गरेर आफ्ना प्रतिवेदन तयार गरिसकेका थिए।
त्यसैगरी मुटु शल्यचिकित्साजस्तै देशभर चरम अभावमा भएका 'अति संवेनदशील स्वास्थ्य क्षेत्रको जनशक्ति तयार गर्ने तथा यस्तो जनशक्तिलाई सेवामा टिकाइराख्ने रणनीतिको विषयमा अध्ययन गर्न नेपाल सरकार, राष्ट्रिय योजना आयोगको २०७९ जेठ २६ को बैठकबाट निर्णय भई एउटा समिति गठन भइसकेको छ।
यी अवस्थाले पनि यो समस्याको गम्भीरता देखिन्छ।
समस्या
प्रतिवर्ष करिब दुई करोड मानिसको मृत्युको कारक बनेको मुटुरोग आजका दिनमा संसारकै सबभन्दा धेरै मृत्युको कारक भइसकेको छ। यो संख्या कम गर्न निकै ठूलो जनशक्ति तथा धनराशी परिचालन अपरिहार्य हुन आउँछ। तर नेपालमा मुटुरोगको स्तरीय उपचार निकै सीमित र समस्याग्रस्त छ।
चिकित्साशास्त्रमा शल्यचिकित्सालाई केही गम्भीर तथा परिश्रमको विधा मानिन्छ। त्यसमाथि पनि मुटु शल्यचिकित्सालाई सबभन्दा धेरै परिश्रम र समय चाहिने विषय मानिन्छ।
कुनै समय संसारकै कहलिएका शल्यचिकित्सक थियोडोर बिलिरोथले भनेका थिए रे- 'जसले मुटुको शल्यक्रिया गर्ने हिम्मत गर्छ, ऊ असफल हुन्छ। उसले आफ्ना सहकर्मीहरूबाट सम्मान गुमाउँछ।'
यसरी लगभग अनैतिक मानिएको मुटुको शल्यक्रिया सुरूमा एकदमै कम हुन्थ्यो। प्रायः बिरामीको मृत्यु नै हुन्थ्यो। त्यसैले मुटुको शल्यक्रिया सबभन्दा कान्छो शल्यचिकित्सा विधा भनेर पनि मान्न सकिन्छ।
शल्यक्रिया अवधिभर मुटु तथा फोक्सोको काम गर्ने 'हर्ट-लङ्स मेसिन' को सफल प्रयोग गरेको ७० वर्ष पनि पुगेको छैन। संसारभर मुटुको शल्यक्रिया सुरू भएको केही वर्ष मुटु शल्यचिकित्सकले समाजमा पाउने अतिरिक्त सम्मानका कारण धेरैले यस विधामा विशेषज्ञता हासिल गर्न रहर देखाए। तर केही वर्षपछि नै, सन् १९९० तिरबाट बिस्तारै यो विधामा आकर्षित हुन छाडे। एक्काइसौं शताब्दीको सुरूआतबाट त विकसित राष्ट्रहरूमा हार्ट-सर्जरी पढ्न चाहने विद्यार्थी अभाव हुन थाल्यो। यो समस्या विकासोन्मुख देशहरूमा अलि ढिलो देखा पर्यो।
यसरी मुटुका शल्यचिकित्सकको विश्वव्यापी अभावका कारण शल्यक्रिया सुविधामा आजका दिनसम्म पनि संसारमा लगभग ७५ प्रतिशत जनसंख्याको पहुँच छैन। मार्च, २०२० मा प्रकाशित तथ्यांकअनुसार विश्वमा जम्मा १६ हजार ३८ जना मात्र मुटु शल्यचिकित्सक छन्। त्यसमध्ये जम्मा ३ हजार ८५८ जना बालमुटु शल्यचिकित्सामा मात्र काम गर्छन्।
तथ्यांकअनुसार अमेरिकामा हाल प्रतिकरोड जनसंख्या प्रतिवर्ष ४० हजार मुटुको शल्यक्रिया हुन्छ। भारतमा प्रतिकरोड जनसंख्या प्रतिवर्ष एक हजार सात सय हुने गरेको पाइन्छ। नेपालको हकमा हाल प्रतिकरोड लगभग सात सय ५० जति छ।
बाल मुटुरोग तथा मुटु बाथरोगलाई छाडेर भन्ने हो भने अमेरिका तथा युरोपको तथ्यांकअनुसार हृदयघातजन्य रोगका लागि गरिने कोरोनरी आर्टरी बाइपास सर्जरी (CABG) मात्र पनि नेपालमा वार्षिक ४८ हजार वटा गर्नुपर्ने हुन्छ। तर हामी वार्षिक पाँच सयदेखि सात सयजति मात्र गर्न सकिरहेका छौं।
यसबाट पनि नेपालमा मुटु शल्यक्रियामा जनताको पहुँच हुन नसकेको कुरा प्रस्ट हुन्छ।
अझ प्रत्येक वर्ष बढ्दै गइरहेको ६५ वर्षमाथिका नागरिकको जनसंख्या अनुपातले हाम्रोमा मुटुरोग तथा सोका कारण शल्यचिकित्सा गर्नुपर्ने बिरामी बढ्दै जानेछ।
किन जनताको पहुँचमा पुगेन मुटु शल्यचिकित्सा?
सरकारको चाहना हुँदाहुँदै, वर्षौंदेखि सातै प्रदेशमा हृदयरोग उपचार केन्द्र स्थापना गरेर शल्यक्रिया सुरू गर्ने प्रण गरे पनि, सरकारी तथा निजी मेडिकल कलेज तथा प्रतिष्ठान वा ठूला अस्पतालले प्रयास गर्दागर्दै, भवन तथा आवश्यक मेसिन उपलब्ध हुँदाहुँदै पनि किन तत् तत् स्थानमा शल्यक्रिया अनवरत भएन? वा सुरू नै भएन?
यसका दुइटा कारण छन्।
सरकारले बच्चा, जेष्ठ नागरिक, मुटुको बाथरोग गरेर लगभग मुटुका सबै शल्यक्रिया उपचार निःशुल्क गरेको छ। ती कार्यक्रम सञ्चालन गर्ने अनुमति सरकारी अस्पताललाई मात्रै दिइएको छ। यसकारण निजी अस्पताल वा मेडिकल कलेजमा पैसा तिरेर उपचार गर्न जाने बिरामी अभाव हुनु एउटा कारण हो।
अर्को कारण मुटु शल्यचिकित्सकको चरम अभाव हो।
यसै पनि मुटुको शल्यक्रिया एउटा सर्जनले गर्न सक्दैन। सर्जरीको टिम नै ठूलो हुन्छ। सबैलाई तलब दिएर निजी अस्पतालले राम्रो प्रतिफल पाउने सम्भावना एकदमै कम हुन्छ।
सरकारले निजी मेडिकल कलेजमा पनि हाल चालु रहेका कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको खण्डमा निजीले 'अफर' गर्ने आकर्षक तलबका कारण फेरि केही सर्जनले गंगालाल वा मनमोहन छाडेमा अर्को समस्या नआउने होइन। तर सरकारलाई अहिले बजेट अभावले स्वास्थ्य बीमा नै सगरमाथा उक्लिएजस्तै भइरहेको छ। यस्तो अवस्थामा सगरमाथापछि सरकारलगत्तै अर्को चुचुरो चढ्ने आँट गर्नेछ भन्ने कुरा त्यति पत्यारिलो लाग्दैन। त्यसैले यसरी निजीमा निःशुल्क मुटुको सर्जरीका कार्यक्रम सुरू नै हुँदैनन्। वा केही वर्षपछि सरकारले त्यसबाट हात झिक्नेछ।
आजका दिनसम्म अध्ययन सकेर नेपालभित्र लगभग जम्मा २६ जना जति मुटुका सर्जन भएका छन्। यसमा लगभग सबै प्रकारका मुटुको शल्यक्रिया आफैं गर्न सक्ने सर्जन जम्मा ११ जना हाराहारी छन्। बाँकी सिक्दैछन्। उनीहरू प्रायः सबै गंगालाल र मनमोहन कार्डियाक सेन्टरमा कार्यरत छन्।
अमेरिकामा जस्तै सुविधा हुने हो भने नेपालमा प्रतिवर्ष एक लाख २० हजार मुटुको शल्यक्रिया गर्नुपर्ने देखिन्छ। भारतमा जस्तै जनताको पहुँच हुने हो भने हामीकहाँ हरेक वर्ष ७ हजार जति हुनुपर्छ। तर हामी दुई हजार हाराहारीमा अड्किरहेका छौं।
नेपालमा हरेक वर्ष ११ हजार हाराहारी बच्चा शल्यक्रिया गरेर ठीक गर्नुपर्ने जन्मजात मुटुको रोग लिएर जन्मिन्छन्। मुटुका बाथरोगले भल्वको सर्जरी गर्नुपर्ने नयाँ बिरामी दसदेखि बीस हजार जना थपिन्छन्। त्यस्तै हरेक वर्ष हृदयघातजन्य कारणले शल्यक्रिया गर्नुपर्ने थप ५०-६० हजार बिरामी थपिनुपर्ने हो। तर भूगोल, पहुँच, आर्थिक अवस्था तथा अन्य कारणले वार्षिक करिब दुई हजारको मुटुको शल्यक्रिया भइरहेको छ।
बिरामीको अभाव छैन, भवन र मेसिन पनि अभाव छैन। तै पनि मुटुको शल्यक्रिया गर्ने अस्पतालको संख्या देशमा बढ्न सकेन। किन?
यसमा दुइटा कारण देखिन्छ।
एउटा, सर्जनको अभावले उपचार गर्ने अस्पताल एकदमै कम छन्।
अर्को, उपचार महँगो हुनाले निजीमा बिरामी जान सकेनन्।
शल्यक्रियापछि हरेक बिरामीलाई मुटुलाई मद्दत दिने औषधि तथा केहीलाई मुटुको काम सजिलो बनाउने मेसिनको सहायता लिनुपर्ने हुन्छ। त्यसैले शल्यक्रियापछि ती बिरामी अनिवार्य रूपमा एकदेखि सात दिनसम्म आइसियुमा रहनुपर्ने हुन्छ। करिब ५ प्रतिशतको शल्यक्रिया गरेको केही घन्टाभित्रै रक्तस्राव वा अन्य कारणले फेरि अपरेसन थिएटरमा लैजानुपर्ने हुन्छ। तसर्थ यस्ता बिरामीको हेरचाहका लागि एउटा शल्यचिकित्सक चौबीसै घन्टा अस्पतालको आइसियुमा खटिनुपर्छ।
हाल गंगालालमा पाँच जना सर्जन र सात जना रजिस्ट्रार सर्जन कार्यरत छन्। रातिसमेत आइसियुमा अतिरिक्त खटिने ती सात रजिस्ट्रार सर्जनमध्ये चार वर्षभन्दा बढी सोही पदमा काम गरिसकेका चार जना छन्। उनीहरू अबको केही महिनाभित्र कार्डियाक सर्जनमा बढुवा तथा खुला प्रतियोगिताबाट जानेछन्। बाँकी तीन जनामध्ये एक जना अर्को वर्ष कार्डियाक सर्जन हुनेछन्।
अहिले केही मुटु शल्यचिकित्सकहरू मुटुको शल्यक्रिया गर्ने अस्पताल (मूलतः गंगालाल र मनमोहन) मा जागिर पाउने आसमा बसिरहेका पनि छन्। ती सबै नेपाल वा भारतबाट जनरल सर्जरीमा एमएस गरेपछि कार्डियोथोरासिक सर्जरीमा एमसिएच गरेका नभई पाकिस्तान, बंगलादेश वा चीनबाट एमबिबिएसपछि सिधै कार्डियाक सर्जरीमा स्नातकोत्तर गरेका हुन्।
दशकअघि नेपालमा मुटुका शल्यचिकित्सकको 'सूनाम' देखेर रहरले पढ्न गएका उनीहरू आज गल्ती गरियो भन्ने अवस्थामा छन्। तीमध्ये केही त गंगालालमा करारमा मेडिकल अफिसरका पदमा भए पनि काम गर्न तयार थिए। तर विद्यमान तीन वटा अपरेसन थिएटर र बीस वटा शैय्याको आइसियुका लागि १२ जना सर्जन पर्याप्त थिए र लिन सकिएन।
उनीहरूलाई तीन वर्षअघि नै 'चाँडै बालमुटु शल्यचिकित्सा विभाग गठन हुने र तीन वटा अपरेसन थिएटर पनि थपिने हुनाले रजिस्ट्रारको आवेदन खुल्छ, त्यस बेला आउनू' भनिएको थियो। तर न बालमुटु शल्यचिकित्सा विभाग गठन हुन सक्यो, न अपरेसन थिएटर थप्न सकियो। आशा छ, बल्लतल्ल स्थायी पदपूर्तिका लागि खुलेको पाँच वटा रजिस्ट्रार पदमा उनीहरू सबै गंगालालमा जागिरे हुनेछन्।
तर फेरि प्रश्न ज्युँकात्युँ रहन्छ, उनीहरू केन्द्रमा जागिर खान आएको खण्डमा त्यसको चार वर्षपछि बढुवामार्फत उनीहरू कार्डियाक सर्जन भइसकेपछि आइसियुमा राति ड्युटी कसले गर्छ?
कि मुटुको सर्जनले जिन्दगीभर अतिरिक्त रातिको ड्युटी पनि गरिरहन्छ?
यसो हो भने त ऊ किन यो विधामा पढ्न आउँछ?
सर्जनको चौबीस-घन्टे रेखदेखबिना विश्वमै मुटुको शल्यक्रिया गरिँदैन। त्यसैले यो काम गंगालालमा पनि असम्भव देखिन्छ।
अनि के हुन्छ?
पाँच वर्षपछि हामीले कार्डियाक सर्जरी अध्ययन गरेको चिकित्सक पाएनौं भने बिस्तारै नेपालबाट मुटुको शल्यचिकित्सा विधा बन्दै भएर जान्छ। पाँच वर्षपछि यस्ता चिकित्सक पाउन चार वर्षअगाडि नै यस विधामा चिकित्सकहरूले अध्ययन सुरू गरिसक्नुपर्ने हुन्छ। तर आजका दिन नेपालमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगमार्फत खोलिएको कार्डियाक सर्जरीतर्फका सबै सिट विगत तीन वर्षदेखि खाली गइरहेको छ। विदेशमा पनि जम्मा एक जना चिकित्सक मात्र कार्डियाक सर्जरी विषयमा अध्ययनरत छन्।
यो एउटा गम्भीर समस्या हो। देशको अग्रणी मुटुरोग अस्पताल भएकाले यो केन्द्रले यसबारे बेलैमा विचार गरेर निराकरणका लागि उपायहरूको निर्क्यौल गर्दै सो दिशामा अगाडि बढ्न अब विलम्ब गर्न सकिँदैन।
साथै, सरोकारवाला नेपाल सरकार, राष्ट्रिय योजना आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगले यो समस्या हल गर्नेतर्फ दीर्घकालीन नीति तथा कार्यक्रमहरू ल्याउन जरूरी देखिन्छ।
किन मुटुको सर्जरी विषय अध्ययन गर्न चाहेनन्?
नेपालमा मात्र नभई विश्वभर चिकित्सकहरू मुटुको शल्यचिकित्सा विधातर्फ जान नचाहेको प्रमाणित भइसकेको छ। विभिन्न अध्ययनले मुटुको शल्यचिकित्सातर्फ अनिच्छामा निम्नलिखित कारण पहिचान भएका छन्-
क) जटिल अध्ययन।
ख) अध्ययनपछि जागिरको ग्यारेन्टी नहुनु।
ग) लामो अध्ययन तथा अध्ययनपछिको लामो 'लर्निङ कर्भ'।
घ) जटिल र अत्यधिक परिश्रमको काम।
ङ) अध्ययनपछि पनि कम्तीमा सात वर्ष आइसियुमा रातिको ड्युटी गर्नुपर्ने।
च) मेहनत र खटाइअनुसार तलब-भत्ता कम।
छ) मुटुको शल्यचिकित्साभन्दा अन्य विधामा शल्यचिकित्सा अध्ययन गर्दा ज्यादा फाइदा हुने।
ज) सरकारी अस्पतालबाहेक अन्यत्र काम पाइने सम्भावना कम।
झ) सरकारी अस्पतालबाट अवकास पाएपछि सक्रिय रहन सकिने उमेरमा निजी अस्पतालमा काम नपाइने।
नेपालमा हालसम्म मुटु शल्यचिकित्सा अध्ययन र उत्पादनको प्रवृत्ति हेर्दा, २०७४ सालपछिको अवस्था एकदमै नाजुक देखिन्छ। जनसंख्याको अनुपातमा अमेरिकाको जत्ति मुटुको शल्यक्रिया गर्दा तीन सय र भारतको अनुपातमा अहिले नै ९० जना शल्यचिकित्सक कार्यरत हुनुपर्ने देखिन्छ। तर लगभग २६ जना पनि छैनन्। नयाँ अध्ययन गर्ने पनि नभएको अवस्था छ।
देशमा आजका दिनमा जम्मा ३३ जनाले मुटुको शल्यचिकित्सा विधा अध्ययन गरिसकेका छन्। हाल एक जना स्वदेश र एक जना विदेशमा अध्ययनरत छन्। ३३ जनामध्ये सात जना मुटुको शल्यक्रिया गर्न छाडेर नसा तथा फोक्सोको शल्यक्रिया गर्नतिर लागेका छन्। २६ जना मात्र मुटुको शल्यचिकित्सा पेसामा संलग्न छन्।
यस हिसाबले अबको तीन वर्षसम्म नेपालमा एक वा दुई जनाबाहेक कुनै नयाँ मुटुको शल्यचिकित्सा विशेषज्ञ उपलब्ध हुने देखिँदैन।
त्यस्तै मुटुको शल्यचिकित्साभन्दा अन्य विधा अध्ययन गर्न सरल हुनु र अतिरिक्त आय पनि हुनाले नेपाली चिकित्सकहरू मुटुको शल्यचिकित्सा पढ्न चाहिरहेका छैनन्।
तल टेबलमा देखाइएअनुसार मुटु शल्यचिकित्सा विधा अध्ययन गर्न उत्प्रेरित गर्ने कुनै पनि कुरा भेटिँदैन। अझ थप समस्या, मुटुको शल्यचिकित्सा सरकारी अस्पतालमा मात्र हुने र केही गरी त्यहाँ जागिर पाए पनि ६० वर्षमा अनिवार्य अवकासपछि अन्य विधाका निवृत्तिभरण लिएका चिकित्सकले जसरी निजी क्लिनिक वा अस्पतालमा आफ्नो पेसाअनुसारको आयआर्जनको कर्ममा पनि लाग्न नसकिने देखिन्छ।
यसरी कुनै चिकित्सक जनरल सर्जरीपछि थप तीन वर्षको अध्ययन अनि पाँच-सात वर्षको तालिमपछि बल्ल बनिने सबल मुटु सर्जनको पेसामा जम्मा २२-२३ वर्ष मात्र काम गरेर पुनः बेरोजगार बन्न सक्छ। त्यसैले अन्य विशेषज्ञता हासिल गरेर बाँचुन्जेल आफ्नो पेसासम्बद्ध कर्म गरेर आयआर्जन गर्ने विकल्प रोज्न पुग्छ।
टेबल- Rough Comparison of independent Cardiac Surgeon with General and Uro-surgeon:
SN | Description | General Surgeon | Uro-surgeon | Cardiac Surgeon |
1 | Average age at compilation of Study | 32 | 37 | 37 |
2 | Learning time duration after compilation of study before becoming an independent Surgeon | 0 | 0 | 5-7 years |
3 | Average age for becoming an independent surgeon | 32 | 37 | 42-44 years |
4 | Average extra ICU night duties after compilation of study | 0 | 0 | 9 duties/month |
5 | Risk stratification of the job by malpractice insurance | Low-medium | Low-medium | High |
6 | Nature of Job by Stress factor | Low-medium | Low-medium | Very High |
7 | Average surgical time | One hour | One hour | Four hour |
8 | Need for another surgeon to Assist | No | No | At least one |
9 | Average number of people to perform surgery | 4 | 3-4 | 9 |
10 | Average monthly income in Nepal | 3-5 Lakhs | 5-7 Lakhs | 1 Lakh |
11 | Available Seats for study in Nepal (occupancy percentage) | 90(100%) | 12-15(100%) | 4(0%) |
12 | Chances of Active Practice after Retirement from Government Hospitals | Yes | Yes | No |
अझ अर्को समस्या पनि छ।
गंगालालले बल्ल ४४ वर्ष उमेरको एउटा सक्षम मुटुरोग शल्यचिकित्सक पाउँछ। तर उसले यहाँको कम सुविधा र अत्यधिक कामको चापले ५५ वर्षको उमेरमै स्वेच्छिक अवकास लिएर छाडेर जाने सम्भावना छ।
हालसम्म गंगालालबाट ५५ वर्षको स्वेच्छिक अवकास लिएर दुई जना सर्जन र सो उमेरहद पुग्नअगावै थप दुई जना सर्जन बाहिरिइसकेका छन्। तर यसरी बाहिरिएका सर्जनले शल्यक्रिया गर्न बिरामी नपाइरहेको देखेका यस केन्द्रका अन्य सर्जनले त्यो आँट नगर्लान् नै!
मुटुको शल्यक्रियापछि बिरामी हेरचाहका निम्ति चौबीसै घन्टा एक शल्यचिकित्सक आइसियुमा खटिनुपर्ने कुरा माथि उल्लेख गरिसकेँ। यो समस्या बेलामै निराकरण नगरेर यही गतिमा जाने हो भने आजको चार वर्षपछि रात्रिकालीन ड्युटीमा बस्ने शल्यचिकित्सक कोही हुने देखिँदैन। अनि सायद पाँच या सात वर्षपछि त गंगालालमा मुटुको शल्यक्रिया एकदमै कम हुनेछ। बिस्तारै सर्जनको अभावमा बन्द नै हुनेछ।
निराकरणका उपायहरू
नेपालको राष्ट्रिय हृदय केन्द्र भएकाले मुटुरोग शल्यचिकित्सक अभाव र यस विधाप्रतिको अरूचिलाई गंगालालले संस्थाभित्रबाटै पहल गर्नुपर्ने देखिन्छ। साथै, देश तथा सरकारले के-कस्तो नीति-नियम लागू गरेर समयमै निराकरण गर्न सक्छ भनेर सरकारलाई जानकारी दिनु पनि कर्तव्य हुन आउँछ।
अमेरिकाले यो समस्या समाधानका लागि विगत दुई दशकदेखि निम्न उपाय अपनाइरहेको पाइन्छ-
क) आफ्ना एमबिबिएस उत्तीर्ण चिकित्सकलाई मुटुको शल्यचिकित्सा अध्ययन गर्न सजिलो बनाएर।
ख) ५+२ को अध्ययनलाई ६+० को अवधारणामा लगेर सिधै कार्डियाक सर्जन बनाउने अध्ययनको ढाँचा बनाएर।
ग) मुटु शल्यचिकित्सकलाई अतिरिक्त तलब-भत्ता दिएर। हाल अमेरिकामा वार्षिक औसत आम्दानीको हिसाबमा चिकित्सकमध्ये सबभन्दा धेरै मुटुका शल्यचिकित्सकको देखिन्छ।
घ) विदेशबाट सर्जनहरू ल्याएर।
ङ) सर्जनहरूको काम गर्ने उमेर बढाएर।
अहिले अमेरिका तथा युरोपका विकसित देशमा सर्जनको माग र पूर्ति सन्तुलन मिलाउन ठूलो मात्रामा विदेशबाट मुटु शल्यचिकित्सक लगिन्छ। त्यसरी नै हाल कार्यरत सर्जनमा लगभग १२ प्रतिशत साठी वर्षभन्दा माथि उमेरका छन्। त्यहाँ सर्जनको अवकास उमेर ६५ वर्ष बनाइएको छ।
यही कुरा गंगालालमा लागू गर्न सकिन्छ वा सकिँदैन भन्ने अध्ययन गरेर विपिन राईको संयोजकत्वमा गठित समितिले सुझाव-प्रतिवेदन तयार गरी सञ्चालक समितिसमक्ष पेस गर्ने तयारी गरिसकेको थियो।
प्रतिवेदनमा मुटु शल्यचिकित्सालाई 'आकर्षक' बनाउन आर्थिक रूपले खाइपाइ आएको तलबको थप दुई सय प्रतिशत भत्ता र कार्यदक्षताका आधारमा अतिरिक्त आयजस्ता प्याकेजले मुटु शल्यचिकित्सकलाई केन्द्रमै टिकाउनुका साथै नयाँ चिकित्सकलाई एमसिएच (सिटिभिएस) अध्ययन गर्न छात्रवृत्ति, अध्ययनपश्चात जागिर ग्यारेन्टी लगायतका काम गर्ने र अवकास उमेर ६० बाट ६५ वर्ष बनाउने उल्लेख थियो। यसरी भत्ता थप्दा सर्जरी विभागका विशेषज्ञ चिकित्सकहरू 'नन्-प्राक्टिसिङ' रहनु पर्ने पनि उल्लेख गरियो।
चिकित्सकको अनिवार्य अवकासको उमेर हदबारे नेपालभित्र एकरूपता देखिँदैन। एलोपेथिक चिकित्सकको नियमनकारी संस्था नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई बाँचुन्जेल आफ्नो पेसा गर्न योग्य ठानेको छ। ७० र ७२ वर्षको उमेरसम्म मेडिकल कलेजमा अध्यापन गर्न योग्य ठानेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगन्ज क्याम्पस र शिक्षण अस्पतालमा अवकास उमेर ६२ वर्ष, स्वास्थ्य मन्त्रालयका प्रत्यक्षअधीनका सरकारी अस्पतालमा ५८ वर्ष तोकिएको छ।
हालका वर्षमा देखिएको चिकित्सकको चरम अभाव र सक्रिय उमेरमै हुने अवकासबारे थुप्रै देशले पुनरावलोकन गरेर अनिवार्य अवकास उमेर बढाइसकेको पाइन्छ। जस्तै, गत वर्षदेखि भारतको केन्द्र सरकारले मातहतका अस्पतालका चिकित्सकको अनिवार्य अवकास उमेर ६२ वर्षबाट बढाएर ६५ वर्ष बनाएको छ। गत वर्ष नै भारतको उडिसा राज्य सरकारले मातहतका अस्पतालमा अवकास उमेर ६५ वर्ष बनाएको छ। बेलायत र जर्मनीले तीन वर्षअघि नै ६५ वर्षबाट बढाएर ६७ वर्ष बनाएका छन्। तर त्यहाँ प्रायः चिकित्सकले ६० वर्ष उमेर हाराहारीमा स्वेच्छिक अवकास लिने चलन देखिन्छ।
देशमा पर्याप्त मुटु शल्यचिकित्सक उपलब्ध भएमा भविष्यमा यो व्यवस्था त्यति जरूरी नहुन सक्छ। तसर्थ समितिले मुटु शल्यचिकित्सकको अनिवार्य अवकास उमेर ६५ वर्ष गर्न र यो व्यवस्था हरेक दस वर्षमा केन्द्रको सञ्चालक समितिले अनिवार्य पुनरावलोकन गर्नुपर्ने व्यवस्था राख्न सुझाव दिएको थियो।
यसै परिप्रेक्ष्यमा विश्वभर अवकासको उमेर राखिने प्रावधान पछाडिका कारणबारे विमर्श गर्न सान्दर्भिक देखिन्छ।
सक्रिय रहने उमेरको हद हाराहारीमा पुगिसकेका कर्मचारीलाई अवकास दिएर नयाँ जनशक्तिलाई सो रोजगार दिई देशमा बेरोजगारी कम गर्न अनिवार्य अवकासको व्यवस्था गरिएको पाइन्छ।
तर स्वास्थ्य मन्त्रालय मातहतका सबै सरकारी एवं स्वायत्त अस्पतालले विशेषज्ञ चिकित्सकको चरम अभाव खेपिरहेका समयमा र नेपाल मेडिकल काउन्सिलले नै उसलाई चिकित्सकीय काम गर्न सक्छ भनिरहेको अवस्थामा, सरकारी चिकित्सकलाई निजामती वा अन्य सेवाका कर्मचारीसरह सक्रिय उमेरमै अनिवार्य अवकास दिनु तर्कसंगत देखिँदैन भन्दै समितिले यो असंगति हटाउन गंगालालका सबै विधाका विशेषज्ञ चिकित्सकको अनिवार्य अवकास उमेर ६५ वर्ष गराउनेबारे सञ्चालक समितिको बैठकले निर्णय गर्दा अझ बेस हुने सुझाव दिएको थियो।
समितिको प्रतिवेदनले केन्द्रको सञ्चालक समितिका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमार्फत मन्त्रालयलाई मातहतका सबै अस्पतालका चिकित्सकको अनिवार्य अवकास उमेर हदबारे पुनर्विचार गर्न पनि सुझाव दिएको थियो।
यतिसम्म सब ठीक थियो। अनिवार्य अवकास उमेरहदबारे चैतमा बसेको भए पनि निर्वाचन आचारसंहिताका कारण जेठ ६ गते लेखिएको सञ्चालक समिति बैठकमा छलफलपछि तत्कालीन सञ्चालक समिति अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको ठाडो प्रस्तावमा सञ्चालक समितिका सदस्यहरूले सहमति जनाइसकेका थिए।
आमन्त्रित सदस्यका हैसियतले उपस्थित मैले नै 'यसरी गर्नुभन्दा बरू एउटा समिति बनाएर प्रतिवेदनका साथ अर्को बैठकबाट बढाऔं' भनेर सो निर्णय हुनबाट रोकेको थिएँ। त्यस बेला न कुनै 'अमुक' चिकित्सकको कुरो थियो, न कुनै बालुवाटारको आदेश। थियो त केबल कसरी सर्जन पढाउन सकिन्छ, कसरी विशेषज्ञ चिकित्सकको ज्ञान र सीपबाट धेरैभन्दा धेरै समयसम्म गंगालालले लाभ लिन सक्छ र कसरी गंगालाललाई राम्रो बनाउन सकिन्छ भन्ने।
अनि गंगालालमा राजनीति छिर्यो!
दुवै समितिको सदस्यका नाताले म लगायत अन्य सदस्य र एउटा समितिका संयोजक स्वयंले केही दिनभित्र छलफल गरी प्रतिवेदन तयार गर्न थाल्यौं। कार्यकारी निर्देशकलाई सञ्चालक समिति बैठक अविलम्ब राख्न अनुरोध पनि गर्यौं।
त्यस्तै केही हप्ताअगाडि नै बैठक बसेर निर्णय गरी समिति संयोजक विपीन राई र मैले वर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई यस्तो अनुरोध पनि गरेका थियौं- केही महिनापछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट खुल्ने एमसिएचको इन्ट्रान्स पास हुने चिकित्सकलाई, विज्ञापन गरेर अध्ययनको समाप्तिपछि गंगालालमा आकर्षक तलब-भत्ताको जागिर दिने करार गरौं। मुटु शल्यचिकित्सामा समस्या आउन नदिऊँ।
तर केन्द्रमा कुनै 'अमुक' चिकित्सकले अनिवार्य अवकास नपाई यो बैठक नै नराख्ने हल्ला चल्यो। केही गरी मुटुको सर्जनको मात्र नभई सबै विशेषज्ञ चिकित्सक वा सबै कर्मचारीको अवकास उमेर हद बढ्न सक्ने सम्भावना थियो नै। अनि बैठक केही दिनपछि, केही दिनपछि भन्दाभन्दै ती 'अमुक' चिकित्सक रवि मल्लको अवकासको समय पनि आइपुग्यो।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रीको बैठक राख्ने सल्लाहलाई पनि मानिएन भनियो। अनि एक्कासि पत्रिकामा प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र रवि मल्लका कुराहरू आउन थाले। गत बिहीबार र शुक्रबार दिनभर गंगालाल अशान्त रह्यो।
शनिबार मन्त्रीले भनेअनुसार ऐनले दिएको अधिकारअनुसार शुक्रबार बैठक राख्न निर्देशन दिएलगत्तै कार्यकारी निर्देशकको मोबाइल स्विच अफ भयो रे।
ऐनले दिएको अधिकार प्रयोग गरेर मन्त्रीले गैरकानुनी वा गंगालाललाई धराशायी बनाउने प्रस्ताव ल्याउँदै थिए भने हामीले सोच्नु स्वाभाविक हो कि हाम्रो कार्यकारी निर्देशकले बैठकमा ती कुराहरूको विरोध गर्नु हुनेछ र सो विरोधको औचित्य पनि पुष्टि गर्नु हुनेछ भन्ने हो! तर हामीले थाहै नपाई हाम्रो कार्यकारी निर्देशक लापत्ता हुनु भएछ।
अनि गत शनिबारको बैठकमा आमन्त्रित सदस्यका रूपमा उपस्थित हुन मैले शुक्रबार पत्र पाएँ। दुवै प्रतिवेदन मसँगै थियो। ती प्रतिवेदन र त्यसलाई पुष्टि गर्ने विभिन्न अन्तर्राष्ट्रिय लेखहरू लिएर म बैठकमा सहभागी भएकै हुँ। मैले नै कुराको उठान गरेको हुँ। मूलतः मेरो विधा र मेरो विभागको समस्या भएकाले त्यसको समाधानमा मेरो धर्म निर्वाह गर्न कुनै कसर बाँकी राख्ने कुरो थिएन।
तर पहिला पहिला कहिल्यै नहुने कुरा यसपालि हुन थाले। बैठक कक्षबाहिरबाट घन्टा-घन्टाका समाचार पत्रपत्रिकामा आउन थाले। यस्तो चटक कसैको निर्देशन वा स्वार्थबिना भयो होला र?
त्यति मात्रले कुरा सकिएन। आइतबार गंगालालको कर्मचारी युनियनले गम्भीर असहमतिसहित सञ्चालक समितिका सबै सदस्य तथा अध्यक्षलाई पत्र लेख्यो। सञ्चालक समितिले गरेको निर्णयबारे दिनहुँ एकोहोरो समाचारको बाढी नै आयो।
युनियनको पत्रमा लेखिएअनुसार र पत्रपत्रिकामा पढेअनुसार उक्त बैठक गैरकानुनी हो। त्यस्तै कोरम नपुगेको, एउटा व्यक्तिका लागि बसाइएको, सञ्चालक समितिको सदस्य हुन अयोग्य भइसकेका डा. युवराज लिम्बूलाई सदस्य मानिएको, उमेरहद बढाएर गंगालाल तथा देशलाई नै करोडौंको हानी हुने निर्णय गरेको, कर्मचारीबीच समान अवकास उमेर नराखेको, सर्जनलाई नन्-प्राक्टिसिङ भत्ता दिएर गंगालाललाई मासिक डेढ करोडको भार थपेको, सोबारे गंगालालको आर्थिक शाखासँग सल्लाह नगरेको लगायत कुरा आए।
कानुनी वा गैरकानुनीबारे कानुनकै अधिकारीले जानून्! त्यसबाहेक अघिल्लो बैठकबाट कर्मचारीको सेवा सुविधासम्बन्धी नियमावली पारित गराउँदा डा. युवराज लिम्बू सोही हैसियतको सञ्चालक समिति सदस्य हुनु हुन्थ्यो। पारित गराउने सदस्यमा उहाँको पनि हस्ताक्षर थियो। कि आफ्नो स्वार्थ मिले वैध र नमिले अवैध मान्नु पर्ने हो?
गंगालालका लगभग सबै कर्मचारी र स्वाभाविक रूपमा कर्मचारी युनियनलाई त चैतमै थाहा थियो- सबै चिकित्सक नभए पनि कमसेकम सर्जरी विभागका चिकित्सकलाई नन्-प्राक्टिसिङ गराई तलबको दुई सय प्रतिशत थप भत्ता दिइँदैछ। अनि अनिवार्य अवकास उमेर त उही बेला बढेको। तर औपचारिकताका लागि अर्को बैठकमा निर्णय गराइने भएको हो।
त्यस बेला विरोध नगरेको कर्मचारी युनियनका पदाधिकारीको नाम आजभोलि प्रायः हरेक समाचारमा किन 'कोट' भइरहेको छ?
साँच्चै भन्ने हो भने रवि मल्ल वा यादव भट्ट वा मनबहादुर केसी जस्ता नाम चलेका, अनुभव र सीप भएका कार्डियोलोजिस्ट हुँदा तिनको नामबाट आउने बिरामीमार्फत गंगालाललाई उसले उनीहरूलाई दिने तलबभन्दा निकै ज्यादा आम्दानी हुँदैन र? रवि मल्लले पाउने मासिक सवा लाख रूपैयाँभन्दा दसौं गुणा धेरै उनका कारण गंगालालले कमाउँछ।
साठी वर्षपछि बाँकी अवधि उनीहरूले विभागीय प्रमुख हुन नपाउने जस्ता कुरामा छलफल नगरेर व्यक्ति विशेषलाई बदनाम गराउने तरिका सोच्नमा गरियो। जे भयो, गलत भयो।
हुन त हाल गंगालाललाई धराशायी बनाउने समाचारका बाढीमा दस वर्षदेखि पुनरावलोकन नभइरहेका उपचार शुल्कहरू पनि कुनै अर्को अस्पतालसँग दाँजेर सँगसँगै बग्न थालेका छन्। आफ्नो आम्दानीले त दूर, त्रिभुवन विश्वविद्यालयले दिने अनुदान थपेरसमेत आफ्नो आन्तरिक सञ्चालन खर्च धान्न नसकिरहेको अस्पतालसँग गंगालालले महिनौंअघि परिमार्जन गरिसकेको शुल्कमध्ये केही शुल्क मात्र दाँज्नु हाल कति जरूरी कुरा थियो? किन अहिले दाँजियो भन्ने पनि केही कुरा त होला नै!
हो, वीर अस्पतालमा मुटुको शल्यक्रियाको शुल्क पचास हजार रूपैयाँ पनि राख्न सकियो। तर सबै सामान बिरामीलाई किन्न लगाएर!
गंगालाल चलेकाले असर परिरहेको एउटा निजी मुटु अस्पतालले कुनै बेला गंगालाललाई यसरी नै महँगो देखाउन एन्जियोग्राफी गर्ने शुल्क गंगालालभन्दा कम राखेर हल्ला गरेको थियो। कुनै एउटा रोगको उपचारपछि नेपालका विभिन्न अस्पतालबाट सो बिरामी डिस्चार्ज हुँदासम्म के कति खर्च हुँदोरहेछ भनेर हिसाब गरे उत्तम हुन्छ। न कि धागोधरि बिरामीलाई किनाउने र नकिनाउने शुल्कहरूलाई दाँज्नु!
आजका दिनमा आर्थिक रूपले सबल र सञ्चालन खर्च आफैं कमाउन सक्षम गंगालालले प्रदान गरेको विश्वसनीय उपचारले जनताको पहिलो रोजाइ भएको होइन र? जनता गंगालालको वा चिकित्सकको नाम सुनेर यहाँ उपचार गराउन आउँछन्। अनि ती नाम चलेका डाक्टर को हुन्? नाम चलेका लगभग डाक्टर अनिवार्य अवकासको उमेर नपुग्दै पाँच-दस गुणा ज्यादा तलबमा निजी अस्पतालतिर गए। गंगालालले पनि चाँडो छाडेकामा धन्यवादसहित ३६ महिनाको तलब दिँदै बिदाइ गर्यो। यसरी हो सरकारी अस्पताल चलाउने?
नाम चलेका चिकित्सकलाई बढीभन्दा बढी समय अस्पतालमा चिकित्सकीय कामका लागि राख्नुभन्दा जसरी पनि गलहत्याउनु पर्छ भन्ने सोच नै हाम्रा सरकारी अस्पताल पंगु हुनुको कारकमध्ये एक हो।
अस्पतालको हित सोच्ने हो भने व्यवस्थापक र कर्मचारी युनियनले त्यो पन्ध्र वर्षे स्वेच्छिक अवकासको विरोध गर्नुपर्ने हो कि नाम चलेका विशेषज्ञ चिकित्सकलाई अझ केही वर्ष अस्पतालमा काम गराउनुपर्छ भन्ने कुराको?
अनि अवकास उमेर बढाउँदा अस्पताललाई अतिरिक्त आर्थिक भार पर्छ? कसरी, किन र कति पर्छ? आर्थिक भार यसले पार्छ कि त्यो स्वेच्छिक अवकासको प्रावधानले? अनि यो अवकासको प्रावधान हटाऔं भन्दा विरोध गर्ने त्यही 'सदा केन्द्रको भलो चिताउने' कर्मचारी युनियन होइन र?
स्मरण गराऔं, म त्यो कर्मचारीको सेवा-सुविधा सम्बन्धी नियमावली संशोधन समितिको सदस्य पनि थिएँ है।
हो, हरेक जुनियरलाई एउटा भ्रम हुन्छ- सिनियरले चाँडो छाडे म सिनियर हुन्छु।
अवश्य नै। तर गंगालालमा हरेक चिकित्सकले विशेषज्ञ तहमा पुग्दानपुग्दै 'इन्डिपेन्सी' पाइसकेका हुन्छन्। स्वतन्त्र रूपमा बिरामी जाँच्न र उपचार गर्न पाउँछन्। जुनियर एकदिन सिनियर हुन्छ र उसका जुनियरले पनि उसले ठाउँ छाड्दियोस् नै भन्ने सोच्छ। अझ सर्जरीतर्फ त अहिलेका जुनियर सिनियर हुँदा उनीहरूले जुनियर नै नपाउने गम्भीर खतरा पनि छ।
यो घरका सबै मान्छे मरे म ढुक्कले अँगेनाको तातोमा बस्थेँ भनेर सोच्ने बिरालाले सबै मरे अँगेनो तातो चाहिँ कसरी हुन्छ भनेर सोच्न सक्दैन रे। यो यस्तै सोच होइन र?
सुनिन्छ- केन्द्रले आवश्यकता महसुस भए करारमा थप समय जागिर दिने प्रावधान हुँदा पनि किन नियम बदलियो?
अहिलेसम्म गंगालालले यसरी कसलाई करारमा राख्यो? कति उमेरसम्मकालाई राख्यो?
अनि आवश्यकता महसुस हुँदा ऊ उपचार गर्न योग्य हुन्छ भने यसरी निरन्तर अभाव हुने विशेषज्ञ चिकित्सकको अनिवार्य अवकास उमेर बढाऔं भन्दा 'तिनीहरू बुढा भए, आँखा देख्दैनन्' भन्नेसम्मको विरोध आफैं विरोधाभाष पूर्ण भएन?
आर्थिक पाटो छलफल भएन भन्ने विरोधको पनि उत्तर छ।
चैतमा बसेको बैठकमै सर्जनहरूलाई नन्-प्राक्टिसिङ भत्ता दिए गंगालाललाई कति भार पर्छ र बेहोर्न सक्ने नसक्ने छलफल भइसकेको थियो। जम्मा १२ जनालाई नन्-प्राक्टिसिङ भत्ता दिँदा मासिक अतिरिक्त १३ लाख भार पर्ने थियो। तर मासिक डेढ करोड पर्छ भनेर पत्रिकाबाजी किन गरिँदैछ? स्वार्थ के हो?
उद्देश्य नयाँ जनरल सर्जनहरू मुटुको सर्जरी पढून् भन्ने हो भने यो खेदो खनेर विरोध गरिनुपर्ने कुरा हो र?
गंगालालका सर्जनले 'हामी त यो विषय पढेर फस्यौं, अब अरू नफसून्, एउटा सम्मानजनक तलब-भत्ता होस्, बरू नन्-प्राक्टिसिङ भएर दसतिर नकुद्न तयार' भन्दा गलत हो?
कोही नपढे पाँच वर्षपछि अहिले विरोध गर्नेहरू रातारात सर्जन बनेर अस्पताल चलाउने हो?
बीस वर्षमा गंगागालको अन्तिम सर्जन अवकासमा गएपछि कि अस्पताल नै बन्द गर्ने हो?
सम्बद्ध सबैले यसरी सोच्ने बेला आइसकेको छ।
सञ्चालक समितिको अघिल्लो बैठकमा यी सबै पक्षमाथि गहन छलफल भइसकेको थियो। दुइटा समिति गठन गर्ने निर्णय पनि भइसकेको थियो। विषय उठान गरेकाले होला, दुवै समितिमा मेरो नाम सदस्यको हैसियतमा राखिएको थियो।
गंगालालको पुरानो चलनअनुसार प्रायः यस्तो निर्णय भएपछि कार्यकारी निर्देशकबाट 'यो कार्यका लागि यहाँ सम्मिलित यस्तो समिति बनेको छ र सो कार्य गरी त्यसको प्रतिवेदन यति समयभित्र बुझाउनु' भनेर औपचारिक पत्र आउँथ्यो। यदाकदा नआएको खण्डमा अर्को बैठकमा सिधै अध्यक्षलाई बुझाइन्थ्यो।
दुई समितिमध्ये 'मुटु शल्यचिकित्सा विधाका विशेषज्ञ चिकित्सकको अध्ययन तथा प्रोत्साहन गर्ने सम्बन्धमा गठित समिति' को पत्र पठाइयो। आजका मितिसम्म 'विशेषज्ञ चिकित्सकको अनिवार्य अवकास उमेरहदबारे अध्ययन गरेर प्रतिवेदन बनाउन गठित समिति' को पत्र चाहिँ किन पठाइएन?
फलानोले अवकास पाएपछि मात्र गरौंला भन्ने बदनियत नभएको भए यसो किन गरियो?
अझ चलनअनुसार संघीय बजेट आएर केन्द्रको भौतिक पूर्वाधार तथा लजिस्टिकका लागि कति अनुदान पाइने र कर्मचारीको तलब-भत्ता के कति वृद्धि भयो भन्ने थाहा पाउनेबित्तिकै केन्द्रले आफ्नो नयाँ आर्थिक वर्षको बजेट तर्जुमा गर्थ्यो। सञ्चालक समितिको बैठकबाट पारित नगरी बढेको तलब-भत्ता खुवाउनसमेत नपाउने र बजेटअनुसार टेन्डर पनि खोल्न नसक्ने हुनाले समयमै बजेट पारित गराइन्थ्यो।
तर यसो गर्दा ती पुराना एजेन्डा पनि पर्ने हुनाले जानाजान हालसम्म बजेट पारित गरिएन। पुरानो आर्थिक वर्षको खाता क्लोज गर्न नभ्याएर भएको भनिएको ढिलाइ स्वाभाविक ढिलाइ थियो वा कसैको मनमा हरि नभएर थियो?
भन्छन् नि- 'बात निकलेगी तो बहुत दूर तक निकलेगी!'
यसमा बात गर्ने हो? गरौं न त!
पहिले नै सबैलाई सम्झाइसकेको त्यही 'किन शल्यचिकित्सकलाई भत्ता थप्ने' कुरो फेरि उचालियो। सरकारले चाहेबमोजिम 'एक चिकित्सक- एक संस्था' गंगालालको जम्मा एउटा विभागले मान्यो। त्यसका लागि सरकारले भनेकै शतप्रतिशतमा थप पचास प्रतिशत भत्ता माग्यो। किनकी सरकारले शतप्रतिशत तलब बराबरको भत्तामा केही वर्षअघि उपत्यकाका केही अस्पतालमा गरेको प्रयास केही महिनामै असफल भइसकेको थियो।
यस्तो परिप्रेक्ष्यमा गंगालालकै अरू कुनै विभाग दुई सय प्रतिशत पाउने भन्दा पनि 'नन्-प्राक्टिसिङ' मा जान अनिच्छुक भएको अवस्थामा सञ्चालक समितिको बैठकमा बुझाइएको प्रतिवेदनमा दुई सय प्रतिशत दिने सुझाव भए पनि सदस्यहरूको चाहनाबमोजिम जम्मा एक सय पचास प्रतिशत पनि मुटु शल्यचिकित्सकलाई मान्य हुनु नै गजब कुरो थियो। तर विरोध किन भयो?
चिकित्सक वा विशेषज्ञ चिकित्सक र अन्य कर्मचारीबीचको तलब-भत्तामा पहिला चाहिँ फरक थिएन र? ऊ बेलाको विभेदमा सहमति जनाएको कर्मचारी युनियन आज विरोधमा उत्रिनु उसको आफ्नै सोच हो वा कसैले क्यारेमको गोटी बनेको हो? वा अमुक व्यक्तिको आत्मतुष्टि नै प्रधान भयो?
हामी एक चिकित्सक एक संस्थाको अवधारणा पनि मान्छौं, हामी गंगालालबाहेक कतै काम गर्दैनौं भनेर गंगालालका सर्जनहरूले भन्नु उल्टो केन्द्र डुबाउने खेल कसरी भयो?
फेरि पनि केही कुरा प्रस्ट हुनुपर्छ।
के हाल गंगालालमा मुटु सर्जनको कमी छ?
छैन।
तीन वटा अपरेसन थिएटर र बीस वटा आइसियुले धान्नसक्ने अपरेसन यिनै १२ जना सर्जनबाट भइरहेको छ। बालमुटु शल्यचिकित्सा विभाग गठन भएमा वा भएका सर्जनमध्ये कसैले राजीनामा दिएमा वा हाल राति पनि ड्युटी गरिरहेका रजिस्ट्रार सर्जन बढुवा भएर माथिल्लो पदमा गएमा वा अपरेसन थिएटर, आइसियु थपिएमा नयाँ सर्जनको आवश्यकता हुन्छ।
गंगालालको योजना हेर्दा अब केही महिनामा बालमुटु शल्यचिकित्सा विभाग खुल्छ र तीन जना रजिस्ट्रार थपिनेछन्। यसबारे सोचेर लोकसेवामार्फत पाँच वटा स्थायी पदको विज्ञापन पनि भइसकेको छ। त्यसबाहेक पनि कोही जागिरको खोजीमा रहन्छन् भने गंगालाल विस्तारसँगै ती पनि यतै खपत होलान्। अनि त्यसपछि?
अन्त्यमा, विरोध होला, निर्णय नै उलट्याइएला, केही छैन। म विभागीय प्रमुखका हैसियतले यो सब सुविधा नदिए पनि हामी सबै सर्जनलाई स्वीकार्य छ भन्न तयार। म मात्र होइन, हामी सबै मुटुका सर्जनहरू पुरानै तलब-भत्ता मान्न तयार।
मान्नै पर्ने बाध्यता पनि छ हाम्रो। छाडौं, बाहिर काम पाइँदैन। कसैले यहाँको पाँच गुणा धेरै तलब दिए पनि तिनलाई आम्दानी गरिदिन नसकेका दिन त्यो निजी मेडिकल कलेज वा अस्पतालबाट निकालिएर बेरोजगार भइने डर पनि छ। र त बेकारमा यो विषय पढेकाले थकथकाउँदै अवकास उमेरसम्म यहीँ बस्नु परेको छ।
आशा गरौं, गंगालाल वा मनमोहनका मुटु शल्यचिकित्सकको यो बाध्यता देख्दादेख्दै कोही नयाँ जनरल सर्जन मुटु शल्यचिकित्सा पढ्न आइरहने छन्!
आगामी दिनका मुटु शल्यचिकित्साका सिट खाली जाने छैनन्!
र, गंगालालमा हाम्रा सन्तानहरूले पनि उपचार पाइरहने छन्!
यसो भए त बेसै हुनेछ।
मात्र एउटै अनुरोध छ- मुटुको सर्जरी पढ्न कोही तयार नभएर, केही वर्षमा गंगालालले रजिस्ट्रार सर्जन नपाएर बिस्तारै मुटुको शल्यक्रिया नै बन्द हुने अवस्था आए यो दुखद अवसानको जिम्मा विद्यमान सञ्चालक समितिका सदस्यहरू, कार्यकारी निर्देशक, केन्द्रका कर्मचारी युनियन तथा अन्य कर्मचारीका साथै कुरो नबुझी वा बुझे पनि नबुझेजस्तो गरी एकपक्षीय समाचार सम्प्रेषण गर्ने पत्रकार र मिडिया हाउसले लिइदिनु होला!
धन्यवाद!
ट्विटर- @raameshkoirala