झोलुंगे पुल फलामका लट्ठा, ग्याल्बनाइज्ड पाताहरू र जाली नट-बोल्टुले बाँधेर बनाएको संरचना मात्र कहाँ हो र? यो त योजक हो। धेरै थोक जोड्छ। दुई ठाउँ, दुई बस्ती, दुई पहाडहरू।
अझ भनौं दुई सम्भावनालाई जोड्छ। नदीका दुई किनारा त जोड्छ, अरूको के कुरा?
जोड घटाउको खेलमा सबै कुरा जोड्ने झोलुंगे पुलले घटाउने सीमित कुरामध्ये एउटा हो- दुरी। त्यही दुरी घटाएर बीचमा बग्ने कर्नाली नाघ्दै बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका जोड्न गज्जबको झोलुंगे पुल छ झुगलामा।
झुगलाको कर्नालीले मान्छे तार्ने अनेकौं प्रविधि अनुभव गरिसकेकी छिन्। मानौं उनी केबल 'टाइम टु टाइम' फेरिने प्रविधि हेर्न सदियौंदेखि स्वयंसेवक खटाइएकी छिन् त्यहाँ। उहिले उहिले मान्छेहरू झुगलाबाट तर्थे अरे कर्नाली!
झुगला अर्थात बाबियोको लामो डोरी बनाएर त्यसैमा झुन्डिएर नदी तर्ने परम्परागत विधि। कर्नालीले वर्षौं हेरिन् यो विधि। सुरूमा नदी तर्न झुगलाकै प्रयोगले सहज बनाएका कारण यस ठाउँको नामै झुगला भएछ।
पछि झुगला विस्थापित गर्न तुइन आयो। अलि सहज। प्रविधि परिवर्तन भयो तर ठाउँको नाम भएन। झुगला झुगला नै रह्यो। तुइन पनि कर्नालीले लामै समय हेरिन्। अहिले झोलुंगे पुल हेर्दै छिन्। ट्युबबाट वारपार गरेको पनि अनुभव गर्दै छिन्।
छेवैमा झारिएका पाताहरू भनिरहेछन् 'अब झुगलाको किस्मत अझै चम्किनेवाला छ किनकि बेलिब्रिजको ठेक्का भइसक्यो।'
एक दिन मोटरेबल पुल पनि बन्नेछ। त्यो पनि कर्नाली नछुटाई हेर्ने छिन्।
समय क्रमसँगै कर्नालीले झुगलादेखि बेलिब्रिजसम्मका प्रविधि देखिन्, भोगिन् र भाग्यमानी भइन्। अभागी त कर्नाली वारिपारि बस्ने र जीवनयापनको सिलसिलामा तर्ने ती भए, जो झुगला चुँडिएर कर्नालीमा बिलाए। जो तुइनबाट खसे। जो ट्युबसँगै बगे।
अविरल सुसाउँदै बग्ने कर्नालीजस्तै झुगला पनि आफ्नै रफ्तारमा दौडिरहेछ। माथि राराबाट एकाध विदेशी पर्यटक पिठ्युँमा झोला र हातमा क्यामरा बोकेर यही झुगला बजार हुँदै पैदलै झर्छन्। पर विदेश जाने बेरोजगारहरू विछोडको पिरले गह्रौं मुटु बोकेर झर्ने बाटो पनि यही हो।
यो देशलाई राम्रो मानेर घुम्न आउनेहरू र यही देशमा राम्रो गर्न नसकेर पसिना चुहाउन विदेशिनेहरू यही झुगलाकै झोलुंगे तर्छन्।
पहिले हाट जाने हटारूहरू, बम्बई जाने बहादुरहरू, स्याउ टिप्न जाने कामदारहरू, बसाइ सरी भावर झर्नेहरू, केही पाथी खाद्यको चामल पाउने आशमा कोल्टी धाउनेहरू सबै सबैको बाटो यही थियो। यिनै पहाड छिचोल्दै, अक्कर भीरहरू नाघ्दै गन्तव्यमा पुग्नु र सकुशल फर्किनु कम्ता मुश्किल थिएन तिनलाई।
चीलगाडी चढेर माथिमाथि आकाशमा उड्नेहरूलाई त घुमाउरो कर्नाली सुन्दर लाग्थ्यो। पहाडहरू पनि मोडदार र जोडदार लाग्थे। तिनलाई के थाहा यो बाटोको व्यथा, यी पहाडका दुःख। यी त काला पहाडभन्दा पनि खतरनाक पहाडहरू थिए। राँगे गौडाजस्ता कैयौं गौडा भएका पहाड। यही बसेर, यिनै पहाडसँग जुधेर, यो ठाउँलाई बनाउने असली वीरहरूलाई नमन।
कर्णाली करिडोरबाट पाँच सय मिटर पर। वरिपरि अग्ला, निर्जन, उच्चाटलाग्दा, फुस्रा र चट्टानयुक्त पहाडहरू। बाजुरातर्फको सुन्दर बोल्डिग बस्ती। बस्तीको मिलेको आँगनजस्तो भर्खरै गहुँ भित्र्याएको ठूलो जिउलो। जिउलोमा चर्न छोडिएका वस्तुभाउ। जिउलोबाट पूर्वतर्फ बग्दै गरेकी स्थानीय लवजमा कर्नाली भनिने कर्णाली। कर्नाली पारि मुगु। कर्नाली किनारमा झुगला बजार। उत्तरतर्फ हुम्लाको क्षितिज।
झुगलाको बाजुरा किनारतर्फ एउटा बुढो पिपल, पाखाभरि केतुकी र सिउँडीका बुटाहरू। अनि केही थान बुढा घर। मुगु किनारतर्फ नयाँ बस्न थाल्याको हाट बजार। बजारमा जस्ता बेरेर बनायाका, बनाउँदै गर्याका टहराहरू। तलीतिर बग्न्या सम्भावनै सम्भावना बोक्याको कर्नाली। बगीकन भारत पुग्न्या भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले 'पानी और जवानी पहाडौंमे काम नही आतें' भन्याजस्तै बग्न्या कर्नालीको पानीको उपयोग हुन सक्याको नाइँ। नापो नापो उपयोग गर्याका छन् त तिनै बजारका नास्ता पसलले। कर्नालीका माछा बेचिकनै तिनको व्यापार चल्याको छ, चुलो बल्याको छ।
एउटा अलिकति ढोका खुलेको पसलमा आँगनको ढुंगामाथि एन्टेनासहित रेडियो बजिरहेछ। रेडियोका स्रोता छन् एक हुल झिँगा। सिल्भरलाइन ब्रान्डका जस्ताले बेरेको अर्को पसलभित्र लाली, पेटपूजा, गोलु चाउचाउ। फेन्टाको कुनै हुबहु ब्रान्डको सफ्ट ड्रिंक्स। केही पोका नाम नसुनेका बिस्कुट। केही चकलेटका बट्टाहरू। स्वस्तिक तोरीको तेल। केही गोटा साबुन, कोलगेट र ब्रस। अनि पर्तिर एक्लै बसेको भोल्टाको इन्भर्टर।
बाहिर सिलाभरे भाडोमा भर्खरै कर्नालीबाट ल्याएका माछा देखाउँदै साहुजी मिश्रित लवजमा भन्छन्, 'रातभर पासोमा यत्ति माछा पड्छन् सर। केही आलै सप्लाई गद्दो छुँ। अलिकति बाटा हिड्न्याहरू खाईहाल्दा छन्। बाँकी रह्याका सुकुटी जिन्दाबाद!'
ए! किलोको कसरी ?
'एक किलाको रेट पाँच सय छ सर। अस्ति अस्तिसम्म त चार सय छियो।'
लोभलाग्दा माछाले मुख रसाएपछि सोध्यौं, 'हामीलाई खुवाउनु हुन्छ यी माछा?'
'हाऽऽऽ सर! केन नख्वाउनु? बरु तारीकन खुवाउ कि झोल बनाईकन, मर्जी होस्।'
तारेरै खुवाउनुहोस्। काँडा चबाउन सजिलो हुन्छ।
'सरहरू पर गईकन बस्दै गर्नु। खान्या ठाउँ पर छ,' बाटोको अर्को साइडको अर्को टहरो देखाउँछन्।
साहुजी तातेको तेलमा माछा झ्वाइइइऽऽऽय पार्न थालेपछि हामी अर्को टहरातर्फ लाग्छौं। भर्खरै पुगेकी साहुनी पनि कुम्लो बोकेर टहरातिरै बढ्छिन्।
टहराभित्र प्लास्टिकको टेबल वरिपरि चारजना। साहुनी नमस्कार गर्दै ढोकामा पुगेर कुम्लो भुइँमा राख्छिन्। एकेक गरी चार बोटल बियरका निकाल्छिन् कुम्लोबाट। टेबलमा पुर्याउँछिन्। ग्राहकले यसअघि आफूलाई दिइएका बियरका ग्लासहरू फोहोर मानेर आफैं पखालिसकेका थिए। गिलास पखालेर टहराको भुइँमा खन्याइएको पानी उत्नीखेरै बलौटे माटोले सोसिसकेको थियो। टेबलमा तिनले 'अर्डर' गरेको झोलिलो माछा आउनुअघि 'बिन बुलाए महेमान' झिँगा आउन सुरू गरिसकेका थिए। गिलासमा कब्जा जमाउन थालिसकेका थिए।
उनीहरूले केही समय गाइँगुइँ गरेपछि गिलास साइड लगाएर बोत्तल ठोक्काएरै 'चियर्स' गरे। साहुनी झोल भएको माछा लिएर आइन्। ग्राहकहरू एक हातले झिँगा धपाउँदै अर्को हातले माछा खान सुरू गर्छन्। र, थप चार बोटल बियर ल्याई राख्न भन्छन्।
हामीलाई तारेको माछा साहुजी आफैं लिएर आउँछन्। सँगसँगै साहुनीले कुम्लोमै बियर बोकेर ल्याएको देखेर सोध्न मन लाग्छ, 'बियर हातैमा ल्याएको भए नि हुन्थ्यो नि! किन कुम्लोमा हालेर ल्याउनुभएको?'
'हामीकन बियर बेच्न्या लाइसन्स नाइँ सर। हाम्रा पसलमा छैन। त्यसैले पारि लाइसन्स भयाका दोकानबाट किनेर ल्याउँदा छौं। दस-बीस रूपियाँ थप पाइहाल्दा छौं। गर्न नपाइन्या व्यापार क्यान गर्नु सर? हामीकन चिसो बनाउन्या 'फिरीच' पनि नाइँ। छकालै (बिहानै) पारिबाट ल्यायाका बियर तल कर्नालीमा डुबाइ राख्दाछौं सर। चाहियाका बेला कर्नालीमा गइकन बियर निकालेर ल्याउँदा छौं।'
कर्नाली जस्तै कञ्चन भावना भएकी साहुनी फिस्स हाँस्दै भन्छिन्, 'कर्नाली त हाम्रा लागि फिरीच हो सर। बियर चिस्याउन्या। घाम भया डुबुल्की लाउन्या। पानी तिस लाग्या तिर्खा मेटाउन्या।'
माछाका काँडा छान्न व्यस्त मेरा आँखा टहराका कापबाट किन्न, बिजुलीमा जोड्न, खोल्न, बन्द गर्न केही गर्न नपर्ने कर्नाली 'फिरीच' तिर दौडिए। साँच्चै कर्नाली केबल 'फिरीच' मा सीमित छ यी मुगाली साहुनीका लागि!
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)