यो साता जीवनमा पहिलोपल्ट मनमा हठात् एउटा विचार आयो- कतै सपरिवार 'भाग्न' पाए पनि हुने, सास फेर्न मिल्ने ठाउँमा।
जीवनमा अनेक उथलपुथल आए तर यस्तो भावना पहिले कहिल्यै आएको थिएन।
यसपालि परिवारमा तीनै जना बिरामी पर्यौं। पहिले मेरो घाँटी समात्यो र हल्का ज्वरो आयो। अनि फोक्सो विषाक्त हावा र खकारले भरिँदै गएर सास फेर्न कठिन हुँदै गयो। लगत्तै श्रीमतीलाई उस्तै समस्या दोहोरियो। तेस्रो वा चौथो दिन छोरोलाई खोकी र ज्वरोले भेट्यो।
वातावरण वियोगान्त नाटकको अन्ततिर झैं मनहुस छ, सबैतिर रंगहीन र घुर्मैलो। यस्तो लाग्छ, मानिसको ज्यादतीप्रति प्रकृति क्रुद्ध छ र यसपल्ट ऊ मानिसलाई क्षमा गर्ने पक्षमा छैन। कतै फर्के पनि सास फेर्न ताजा हावा छैन।
यस्तैमा एकाबिहान आँखै पिरो बनाउने धुवाँ झ्यालबाट छिर्यो। बाहिर निस्केर हेर्दा छिमेकी घरका वृद्धले मज्जासँग करेसाबारीमा पातपतिंगर, प्लास्टिक र अरू फोहोर जलाउँदै रहेछन्। अघिल्लो दिन अर्का छिमेकीले घन्टौंसम्म घर पछाडि फोहोर जलाएका थिए। उनलाई आगो निभाउन आग्रह गरेर म भित्र पसेँ।
एकछिनपछि अस्पताल पुगेर खाना खान फर्किँदै थिएँ। भरतपुर विमानस्थलको छेउमा त्रिचोकदेखि कटहर चोकसम्मको अन्दाजी आधा किलोमिटर बाटोको देब्रेपट्टि मात्रै बाह्र ठाउँमा आगो बालेको फेला पारेँ। तीमध्ये दुई ठाउँमा आगो अझै बलिरहेको थियो, बाँकीमा ताजा खरानी र आधा बलेर बचेका वस्तुहरू थिए।
देशभरका जंगलहरूमा लागेको डढेलो निभाउने त हामीसित उपाय छैन नै, टोलटोलमा घन्टौं विषाक्त धुवाँ पुत्ताउने यस्तो धुवाँ रोक्नेसमेत उपाय छैन। पाँचदेखि दस वर्षसम्म धूलोको कुहिरीमण्डल छाडेर अनि बल्ल पिच हुने सडकको धूलो रोक्नु त असम्भव नै छ। भरतपुरजस्तो घना जनसंख्या रहेको ठाउँमा यसरी अनावश्यक रूपमा आगो नबाल भनेर कतिलाई सम्झाउनु, कतिसित कराउनु वा झगडा गर्नु!
यही विरक्तिमा हो मलाई जीवनमा पहिलोपल्ट अनायासै ‘महान नेपाल’ छाड्ने इच्छा जागेको।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण ७० लाख मानिस अकालमा मर्छन्। त्यो भनेको प्रति मिनेट १३ जना वा प्रति पाँच सेकेन्ड एक जनाभन्दा बढी हुन्छ। जीवित रहनेले एलर्जीजन्य रोग र क्यान्सरका कारण भोग्ने पीडा र गर्ने खर्च हिसाब गरीसाध्य छैन।
गत केही सातामा नेपालमा वायु प्रदूषणबाट प्रभावित हुने मानिस कति होलान्? चानचुन २ करोड ९१ लाख।
वायु प्रदूषणका कारण सामान्य स्वास्थ्य समस्या हुनेहरू? लाखौं।
जटिल स्वास्थ्य समस्या हुनेहरू? हजारौं वा दसौं हजार।
वर्षौंको जल, जमिन र वायु प्रदूषणका कारण क्यान्सर भएर पीडादायी रूपमा मृत्युसित लडिरहेकाहरू? बीसौं हजार।
वायु प्रदूषणका लागि मौसमदेखि डढेलोसम्मलाई दोष दिने? लाखौं।
अनि वायु प्रदूषण कम गर्न आफ्नो व्यवहारमा परिवर्तन गर्ने कति होलान्? पेट्रोलियम स्कुटर वा बाइक छाडेर विद्युतीय बाइक वा साइकल चढ्नेहरू? ग्यास गिजर वा चुलो छाडेर इन्डक्सन चुलो चलाउनेहरू? प्लास्टिक प्रयोग न्यूनीकरण गर्नेहरू? अत्यावश्यक बाहेकका सामान खपतमा कमी गर्नेहरू?
शून्यप्रायः।
अहिले यस्तो छ भने दस वर्षपछि वायु कति प्रदूषित होला भनेर मनन गर्ने र त्यसको आधारमा निर्णय लिनेहरू? शून्य।
सुन्तला रोपेर आँप फल्दैन। हामी नेपालीहरूले अहिले गरिरहेझैं खाने खाना, पिउने पानी र सास फेर्ने हावामा निरन्तर विष मिलाएपछि हामीलाई एक खाले सामूहिक आत्महत्या प्राप्त होला, स्वस्थ र लामो जीवन प्राप्त हुँदैन।
सडकमा साइकल पेलिरहँदा मलाई लाग्छ, स्कुटर र मोटरसाइकलदेखि साना कार र एसयुभीमा चढेर गन्तव्यसम्म पुग्न हामीलाई खुब हतार छ। एकछिन रोकिएर सास लिने र सोच्ने हामीलाई फुर्सद छैन। सोच्ने मात्रै भए हामीलाई बोध हुन्थ्यो, हामीमध्ये धेरैका लागि त्यो हतारको गन्तव्य पीडादायी अकाल मृत्यु बनिरहेको छ।
हामी सानो छँदा पाका मानिसहरूले राती पाखातिरका रुखमा अरिंगालका गोला पोल्थे। राति सुस्ताएको बेला अचानक राँको देखेर अरिंगालहरू अत्तालिएर अन्धाधुन्ध उड्न थाल्थे। तर अचानक आगोको लप्का गोलामै आइपुग्थ्यो, धेरै वयस्क अरिंगाल त्यसमा झेल्सिन्थे। बाँकी उडेर अन्यत्र जान्थे।
त्यसपछि गोलालाई रूखको हाँगाबाट निकालेर तल झारेर घरमा लगिन्थ्यो। तिनमा अरिंगालका पुष्ट सेता कीराजस्ता बच्चा हुन्थे। तेलमा तारेपछि ती मिठा परिकार बन्थे।
अरिंगालले मानिसको मृत्यु नै हुने गरी चिल्न सक्थे, यदाकदा तिनको चिलाइबाट मानिसको मृत्यु पनि हुन्थ्यो। तर त्यसले मानिस र अरिंगालबीचको शक्ति सन्तुलन खल्बलिएन। मानिसका लागि अरिंगालका बच्चा स्वादिलो र प्रोटिनको स्रोत बनिरहे।
अब गाउँदेखि सहरसम्म त्यो किस्सा फेरि दोहोरिएको छ। चुलोदेखि सवारी साधन र जंगलसम्म मानिसले झोसेको आगोले मानव बस्तीलाई घेरेको छ। धुवाँ घरघरमा र मानिसको फोक्सोसम्म पुगिसकेको छ। मानिसका बच्चाहरूको हालत जलिरहेको गोलाका अरिंगालका बच्चाको जस्तै भएको छ। तिनको सास छिटो चलेको छ अनि छाती घ्यारघ्यार गरिरहेको छ।
अनि वायुमण्डलको तापक्रम यसरी बढ्दै छ कि केही दशकपछि हामीसँगै हाम्रा बच्चाहरूको हालत पनि डालामा हालेर घर ल्याइएका अरिंगालका बच्चाको जस्तै हुँदैछ।
अझ गजब त के भने, सयमा ९९ नेपाली अझै पनि यो खतराको खबरबाट परै छन्। स्कुटर चलाएर बजार जान वा प्लास्टिक जलाएर घर वरिपरि 'सफा' राख्नमा उनीहरू यति मग्न छन् कि हावा सफा राख्न आफूले के गर्न वा नगर्न सक्छु भन्ने प्रश्न नै उनीहरूको मनमा कहिल्यै उठ्दैन।
चर्को आवाजमा समसामयिक विषयमा बहस गर्ने एक प्रतिशतलाई यस्तो खतराको बोध छ। सामाजिक सञ्जालहरू चिन्ता र गुनासोले भरिएका पनि छन्। तर बदलामा कसैले यो समस्या हल गर्न वा अझ नबढाउन सिन्को भाँचेको कतै देख्नुभयो वा सुन्नुभयो? कतै यस्तो 'ट्रेन्ड' वा 'च्यालेन्ज' चलिरहेको छ जहाँ ठूलो संख्यामा मानिसहरूले धुवाँ फाल्ने सवारीसाधन हटाएर सफा साधनको विकल्प अपनाएका छन्?
फेरि सानै छँदाको कुरा। कुनै ठूलो गल्ती गरेपछि वा अन्य कारणले भयानक अवस्था आउने सम्भावना देखेपछि मनमा अनायासै लाग्थ्यो- प्रलय भएर छिट्टै सबै कुरा नाश भए पनि हुने नि!
त्यसो हुने सम्भावना त थिएन तर एक मनले त्यस्तो कामना गरिहाल्थ्यो।
अहिले मेरो मनमा आएको 'यो प्रदूषित वायु भएको ठाउँ छाडेर अन्तै जान पाए पनि हुने' भन्ने भावना पनि त्यस्तै पराजित मानसिकताबाट सिर्जना भएको मात्रै हो। नेपाल र हाम्रोजस्तै पागलपन सवार भएका छिमेकी देशका प्रदूषित सहरभन्दा टाढा जाने न मसित उपाय छ, न त संकल्प नै। तर अझ गहिरो समस्या अर्कै छ।
भरतपुर, काठमाडौं वा दिल्लीजस्ता दूषित ठाउँ छाडेर हामीले केही समय त क्यानाडा, अमेरिका वा युरोपका ग्रामीण क्षेत्रको स्वस्छ हावा खान सकौंला। तर फेदबाट रूख सल्किन थालेपछि कुनै पनि हाँगो बच्दैन, ढिलो–चाँडोको कुरा मात्रै हो। जहाँ वायु अझैसम्म स्वच्छ छ, त्यहाँ समुद्र किनारका सहर पानीमा भासिँदै छन्, हिमनदीहरू सुक्दैछन् अनि पहाडका टाकुरा हिउँ रित्तिएर पत्थर बन्दैछन्।
नेदरल्यान्ड्स वा अमेरिकाका समुद्र तटका धेरै सहर इन्डोनेसियाको जाकार्ताझैं समुद्रमुनि धसिइसकेका त छैनन्। तर पृथ्वीको वायुमण्डल तातेर समुद्रको सतह बढेसँगै तिनलाई पानीमाथि रहन हम्मे पर्दै गएको छ। त्यहाँका मानिसले तटबन्ध र सडक अग्ला बनाउन अर्बौं खर्चिरहेका त छन् तर अब बर्सेनि कैयौंपल्ट आउन थालेका आँधीबेहरीले तिनलाई निस्तेज बनाइरहेका छन्।
समुद्र किनारमा सर्वस्व हुनेहरूलाई 'तिमीहरू जलवायु शरणार्थी भइसक्यौ, अब झिटीगुन्टा बोकेर भित्रपट्टि सर' भन्नु बिरालाको घाँटीमा घन्टी बाँध्नुसरह हो। त्यसैले पश्चिमा विकसित विश्वको आफ्नो जलवायु संकट अझै सतहमा देखिइसकेको छैन। जुन दिन उनीहरूलाई स्वदेशी शरणार्थीहरूको व्यवस्थापन गर्नै हम्मे हुन्छ, त्यस दिन अनेक बहानामा हाम्रोजस्तो देशबाट जाने मानिसका लागि उनीहरूको गेट पूरै बन्द हुँदै जानु अनिवार्य जस्तै छ।
अर्थात्, जाऊँ भने उता जाने ढोका बन्द छ, नजाऊँ भने यता छिमेकीले अरिंगाललाई झैं धुवाँ लगाइ-लगाइ सिध्याउने भए। यही हो नयाँ नेपालमा छट्पटाइरहेका मजस्ता धेरै नेपालीहरूको नयाँ यथार्थ। जो तरकारीमा मल हाल्न दुई मुठी खरानी बनाउन आठ घन्टासम्म धुवाँ पुत्ताउँछन्, ती हुन् यहाँ नछट्पटाइ रमाएर बस्नेहरू। जबसम्म तिनीहरू आफैंलाई क्यान्सर वा अरू कुनै प्रदूषणजन्य रोगले समात्दैन।
त्यसैले आउनोस्, सामूहिक आत्महत्याको यो महान कार्यमा सरिक भएर नेपालको शिर ऊँचो पारौं। त्यस क्रममा स्कुटर, मोटरबाइक वा कार स्टार्ट गर्नुअगाडि वा भिजेका पुराना जुत्ताका तलुवा र प्लास्टिकहरू जम्मा पारेर जलाउनु अगाडि तपाईंलाई कतै 'मैले निकालेको धुवाँले कसैलाई क्यान्सर नगराइहालोस्' भनेर एकचोटि अपराधबोधको चस्का महशुस नगर्नुहोला, त्यसो गर्दा यो महान यात्रामा हिच्किचाहट हुन सक्छ।
पेट्रोलियम गाडी छाडेर साइकल वा विद्युतीय साधन चढ्ने पाप त गर्दै नगर्नुहोला। त्यसो गर्नु भनेको हाम्रो महान आत्महत्या अभियानप्रति ठूलो गद्दारी हुनेछ। सिंगो मानव सभ्यतालाई मर्त्यलोकको दुःखी जीवनबाट मुक्ति दिँदै मृत्यु र मोक्षतिर धकेल्ने जो अभिभारा हामीसामु छ। अनि सन्तानहरूको सिंगो पुस्तालाई रोगी जीवनबाट शीघ्र मुक्ति दिएर मानव सभ्यतालाई हाम्रै जीवनकालमा बिदाइ गर्ने महाअभियानमा हामी जो छौं।
उसो त म कुनै सेलेब्रिटी वा 'इन्फ्लुएन्सर' होइन। मैले कुनै काम गरेको देखेर कसैले मेरो नक्कल गर्दैनन्। त्यसैले मानिसको व्यवहार बदल्ने मेरो 'एजेन्सी' छैन। तर पछिल्लो समयको अनुभवले मलाई समेत एउटा दुविधामा पारेको छ- म अब अमेरिकाका पेट्रोलियम पाइपलाइनहरू, अस्ट्रेलियाका कोइलाखानीहरू, क्यानाडाको अल्बर्टा 'टार स्यान्ड्स' वा ब्राजिलमा भइरहेको अमेजन जंगलको विनाश, जसका कारण मानव सभ्यता नै गहिरो संकटमा पर्दैछ, तिनका विरूद्ध लेखूँ कि नलेखूँ?
सबैतिर आत्महत्याको भूत सवार भएका बेला हाम्रा सन्तान पनि हामीजस्तै वयस्क बन्न पाउनुपर्छ र मानव सभ्यता अरू केही समय बच्नुपर्छ भन्ने 'अलोकप्रिय' वचन म कसलाई सुनाऊँ?