अस्ट्रेलिया डायरिज-२
सन् २०१९ को कुरा हो। म नेपथ्यको संगीत यात्रा क्रममा अस्ट्रेलियाको ब्रिसबेन र डार्विनको कार्यक्रम सकेर २५ नोभेम्बरमा अड्लेड पुगेको थिएँ।
अड्लेडमा कार्यक्रमको जिम्मा लिएकामध्ये गगन गिरी हामीलाई लिन आएका थिए।
बाटोमा आउजाउ हुँदा मैले सोधेको थिएँ, 'भाइ नेपालको कुन ठाउँ?'
'म त भुटानको दाइ,' उनले भने, 'शरणार्थी क्याम्पबाट पुनर्वासका लागि यता ल्याइएको।'
अड्लेड बस्दा हामीबीच धेरै गफगाफ भए। उनीबाट मलाई भुटानी नेपालीहरूको एक कोणको मनस्थिति बुझ्ने मौका मिल्यो।
'मेरा बाजे डम्फू, चिराङ गाउँका मण्डल थिए अरे। मण्डल भन्नाले मुखियाजस्तै। हाम्रो सुन्तला बारी, अलैंची बारी, धान खेत मनग्गे थियो। बुवा गाउँका टाठाबाठा थिए। भुटानी स्कुलहरूमा नेपाली पढाइ हुन्थ्यो, तर नेपाली किताबहरू जलाइन थाले अरे। नेपालीहरूबीच दमनको असन्तोष बढ्दै गयो। बुवा टेकनाथ रिजाल नजिकको हुनुहुन्थ्यो। उहाँलाई प्रशासनले जेल राख्यो। टर्चर पनि निकै गरे अरे। एकपल्ट पक्रेर छाडेपछि फेरि समाउन आउँदैछन् भन्ने खबर पाएपछि हाम्रो परिवार रातारात भागेको अरे,' गगनले सुनाए, 'चिराङबाट डम्फू अनि जयगाउँ हुँदै नेपाल आइयो। म त्यस बेला ५-६ वर्षको थिएँ अरे।'
'भुटानको गाउँघर सम्झनामा छ?' मैले सोधेँ।
'अहँ। घर अलिअलि याद छ, सुन्तला बारी, पाखोको खेत...बस् त्यत्ति हो। त्यो पनि धुमिल स्मृति मात्र।'
'अनि भुटानबाट नेपालको यात्रा नि? केही सम्झना छ?'
'खोइ मलाई बोकेर ल्याए...रातारात। अरू खासै याद छैन।'
'त्यसो भए तपाईंको बाल्यकालको याद भनेको कहाँको त?'
'सबै नेपालको। नर्सरीदेखि एसएलसीसम्म क्याम्पकै स्कुलमा पढेँ। न्यू होराइजन एकेडेमिक स्कुलमा। म कराते पनि सिक्थेँ, ब्ल्याक-बेल्टसम्म लिएँ। एसएलसीपछि साथीहरूबीच इन्डियामा काम गर्न जाने सल्लाह भयो। हामी मार्सल आर्टवालाले भारतको ग्रुप फोरमा सेक्युरिटीको काम पायौं। अनि काम गर्न हैदराबाद गयौं।'
मलाई गगनमार्फत् भुटानी शरणार्थीको नेपालसँगको तितामिठा सम्झना जान्न मन लाग्यो। सोधेँ, 'अनि नेपालसँग सम्बन्धित कुनै नरमाइलो सम्झना?'
'खासै छैन दाइ। क्याम्पमा रासन कोटाअनुसार थापेर खानुपर्ने सम्झँदा दिक्क लाग्छ। अरू त साथीभाइ सबै राम्रा थिए।'
'अनि यता नि? कस्तो छ भुटानी र नेपालीको सम्बन्ध?'
'सुरूमा अलि हेलमेल थिएन। अहिले त राम्रो छ। बिहेवारी पनि चल्न थाल्यो। हामी भुटानी करिब चार हजार चानचुन छौं, नेपाली करिब पाँच हजार। दुवै मिसिँदा नेपालीभाषी करिब दस हजार छौं,' उनले भने।
'अनि केही समस्या छैन?'
'समस्या गर्ने केही छन्। आफ्नो पकड र राजनीतिका लागि फुटाउन खोज्छन्। कोहीकोही अलि हेपेर बोल्छन्। तर, ती केही मात्र हुन्। धेरैजसो त राम्रा छन्। त्यस्ता व्यक्ति दुवैतिर छन्।'
गगन आफ्नो परिवारसँग अस्ट्रेलिया आएको सन् २०१२ मा हो। सुरूमा आमा र दाइ सँगै आए। त्यसपछि दिदी-भेना अनि अरू नातेदारहरू। उनका प्रायः आफन्त यतै छन्। केही अमेरिकामा छन्। नेपालमा बिहे भएकी सानीआमा भने उतै नेपालमै रहिछन्।
उनका पिताको राजनीतिक झुकावबारे इंगित गर्दै सोधेँ, 'अनि बुवा सजिलै आउन मान्नुभयो त?'
'सुरूमा त मान्नुभएन। भुटान नै जाने भन्नुहुन्थ्यो। अरू जान थालेपछि हामी सबैले कर गर्न थाल्यौं। अनि मान्नुभयो। तर, प्रोसेस गर्दागर्दै उहाँ बित्नुभयो सन् २०१० मा। उहाँ बितेको दुई वर्षमा हामी यता उड्यौं,' उनी गम्भीर भए।
'अब कुनै दिन भुटानले तपाईंहरूलाई फर्क, सबै सम्पत्ति फिर्ता गर्छौं भनेर बोलायो भने के गर्नु हुन्छ?' मैले सोधेँ।
'जान्नँ,' उनले एक शब्दमा फ्याट्ट जवाफ दिए।
'बरू यहाँबाट फर्कनै परे नेपाल जान्छु, भुटान त जान्नँ,' उनले थपे।
उनको स्वरमा आवेग र गाम्भीर्य दुवै मिसिएको थियो।
'अनि अब त बिहे गर्ने उमेर भयो नि? कहिले गर्ने त?' मैले उनको आवेग मत्थर पर्न खोजेँ, 'यतैको गर्ने कि कताको?'
'कहाँ दाइ, यताका चेलीको स्ट्यान्डर्ड हामी थेग्न सक्दैनौं। बिहे त नेपाली नै गर्ने हो। हामीलाई त्यहीँ ठीक हुन्छ,' उनले आफ्नो मनको कुरा फुत्काए, 'हेर्नुस न दाइ, जिन्दगी कस्तो हुँदो रहेछ। एउटा देशमा जन्मियो, त्यहाँबाट खेदियो। अर्को देशमा हुर्कियो। अहिले अर्कै देशमा काम गर्दै छौं, सेटल हुने प्रक्रियामा छौं। तर, जहाँ बसे पनि आकाश त एउटै रहेछ। आफन्त, परिवार सँगै भएपछि जहाँ बस्यो देश त्यही बन्दो रहेछ।'
उनी अलि गम्भीर भए। भने, 'यो शरणार्थी जीवन भोग्नु भनेको सराप नै हुँदो रहेछ दाइ। भगवानसँग मेरो प्रार्थना छ, शत्रुलाई पनि शरणार्थी नबनाऊ।'
माहोल झन् गम्भीर हुने संकेत पाएपछि मैले विषय परिवर्तन गरेँ, 'गायक प्रताप सुब्बा चिन्नुहुन्छ?'
'किन नचिन्नु, 'बन्धनको चिनो' गाउनेलाई। उहाँ त हाम्रो समुदायको पहिलो गायक पो हो त। प्रताप सुब्बा र हामी छिमेकी थियौं। हामी दुवै पथरी क्याम्पकै हौं। बुवालाई राम्ररी चिन्नुहुन्थ्यो, हाम्रो घर आइबस्नुहुन्थ्यो। मलाई नामले चिन्नुहुन्न होला। मुक्तिनाथ गिरीको छोरासँग भेटेको थिएँ भन्नुस्, चिन्नुहुन्छ होला।'
यति भन्दै उनी गुन्गुनाउन थाले-
बन्धनको चिनो हार लाइदिन सक्दिनँ
तर तिमीलाई पोते लगाइदिउँला
गगन मैले नजिकबाट संगत गरेको दोस्रो भुटानी नेपाली हुन्। यसअघि उनै भुटानी नेपाली गायक प्रताप सुब्बासँग चिनजान भएको थियो।
सन् २००८ नोभेम्बर २८ मा आयोजित 'पलेँटी शृंखला' को कार्यक्रममा उनले भुटानी नेपालीको पहिलो प्रतिनिधित्व गरेका थिए। त्यसयता मैले पलेँटीमा भुटानी नेपाली कलाकारसँग भेट्ने मौका पाएको छैन।
त्यही समय एक साँझ नेपालयको कौसीमा सुब्बासँग मेरो लामो कुराकानी भएको थियो। चिसो सिरेटो चलिरहेका बेला पनि उनी गन्जी मात्र लगाएर बसेका थिए। हात बाँधेर पश्चिम काठमाडौंको झिलिमिली हेर्दै थिए। म भने स्वेटरमाथि ज्याकेट खप्टाएर पनि काम्ने स्थितिमा थिएँ।
'दाइ जाडो लागेन?' मैले सोधेँ।
'अचेल जाडो नै लाग्न छोड्यो भाइ,' यसो भन्दा उनको मुहारमा हल्का मुस्कान त थियो, तर त्यो मुस्कानको पत्र पातलो थियो। सतही मुस्कानभित्र लुकेको गहिरो वेदना प्रस्टै झल्किन्थ्यो।
'उता घरमा हुँदा जागिर थियो, घर थियो, गाडी थियो। एकाएक न घर रह्यो, न देश, न पहिचान। रातारात शरणार्थी भइयो,' उनले एकै वाक्यमा आफ्नो अतीत र वर्तमान सबै बताए।
फेरि अगाडि भने, 'नाम थियो, पहिचान थियो, रातारात नाम-पहिचान सबै हरायो।'
म चुपचाप सुनिरहेँ। उनलाई वेदनाबाट बाहिर निकाल्न खोज्दै भनेँ, 'जाडो भनेको त शरीरलाई लाग्ने हो नि, होइन र?'
'होइन भाइ, शरीर होइन, मनको कुरा हो। जाडो माने न जाडो लाग्ने हो। शरणार्थी क्याम्पमा बस्दा छतमुनि सुत्यो, कहिले राति छत उड्छ। किन चिसो भयो भनेर आँखा उघार्दा झिलिमिली तारा देखिन्छ। एकछिन त सपना हो कि विपनाजस्तो। त्यही आकाशलाई छत मानेर तारा हेरेर कति रात काटियो,' उनले विम्बमा भने, 'झन् बर्खा बेला त हुरीले छत उडाउँछ अनि पानीको थोपाले ब्यूझाउँछ। वर्षौं यसरी बसेपछि यो छालाले घाम, पानी, जाडो केही चालै पाउन छाड्दो रहेछ।'
त्यो बेला भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास गराउन सुरू भइसकेको थियो। उनको कलाकार हृदयले भने विदेश नगई स्वदेशै फर्कने आश पालेर राखेको थियो। उनी अन्तर्राष्ट्रिय आप्रवासी संघ 'इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन' (आइओएम) को तेस्रो मुलुक पुनर्वास प्रक्रियामा सामेलै भएनन्। परिवारलाई पनि देश फर्कने आशमा मनाएर राखे।
धमाधम शरणार्थी शिविरबाट आइओएमको बस चढ्दै काठमाडौं र जहाज चढ्दै युरोप, अमेरिका, अस्ट्रेलिया उड्नेको संख्या बढ्दै गयो। उताकाले भौतिक सम्पन्नता देखिने तस्बिर फेसबुकमा राख्न थालेका थिए। अस्थायी शिविरमा बस्नेहरू स्थायी घरमा बसेको देख्दा यता रहेकाको मन घरिघरि जहाज चढेर उतै पुग्थ्यो। आफ्नो देश भुटानमै पुनर्स्थापनाको माग राख्दै शिविरमा बसेकाहरूले परिवार र इस्टमित्रको दबाब थेग्न सकेनन्।
तिमाई, गोलधाप, खुदुनाबारी, शनिश्चरे, बेलडाँगी र पथरीका शिविरहरूबाट छुट्ने आइओएमका बसहरूको संख्या बढ्दै गए।
सन् २०१३ ताका 'नेपाल यात्रा' का क्रममा हामी पथरी शिविरमा प्रताप दाइलाई खोज्दै गयौं। कलाकार भएकाले उनलाई प्रायः सबैले चिन्थे। शिविरभित्रको गल्ली छिचोल्दै हामी उनको टहरामा पुग्यौं।
कुनै पनि शरणार्थी शिविरको टहरामा पसेको त्यो मेरो पहिलो अनुभव थियो। भित्र पसेपछि त्यति सानो ठाउँमा एउटा परिवार कसरी सँगै बस्ला भनेर गम खाएको थिएँ। एउटा कोठा थियो बस्।
उनले चिया उमाल्दै भने, 'म हारेँ भाइ, देश त रहेन, अब विदेश नगए परिवार नै नरहने भयो। म पनि जाने भएँ अमेरिका।'
उनीसँग त्यसपछि खासै सम्पर्क भएन।
२०१८ मा नेपथ्यको कार्यक्रम लिएर अमेरिकाको डालस पुग्दा उनी त्यतै भएको थाहा पाएँ। कार्यक्रममा निम्तो गर्न मन लाग्यो। नम्बर पत्ता लगाएर फोन गरेँ। मलिन स्वरमा नेपालीमै फोन उठ्यो, 'हेलो, को बोल्नुभयो?'
मैले आफ्नो परिचय र यात्राको उद्देश्य बताएपछि सोधेँ, 'कस्तो छ दाइ यता?'
उनले सुस्तरी भनेँ, 'मलाई ठीक छैन भाइ, यता आएपछि मुटुको व्यथाले च्याप्यो। अपरेसन नै गर्नुपर्यो। अहिले आराम गर्दै छु। केही काम गर्न सक्दिनँ।'
हाम्रो त्यो भेट फोनमै सीमित भयो।
फोनमा उनको मलिन स्वर सुनेर साह्रै नमज्जा लाग्यो। पछिल्लोचोटि नेपालयमा भेट्दा उनले बडो रसिक मुडमा ठट्यौली पाराले आफूहरू भुटानबाट खेदिनुको कारण सुनाएका थिए।
उनले भनेका थिए, 'यसका दुई कारण छन्। पहिलो, नेपालीलाई भुटानी समुदायमा मिसाउन र नेपाली भाषाको प्रयोग कम गर्न भुटानले एउटा योजना ल्यायो- भोटे केटासँग नेपाली चेलीले बिहे गरे सरकारले सहुलियत दिने। धेरैले यो सहुलियत लिँदै बिहे पनि गरे। तर, नेपाली आमाबाट जन्मेका बच्चाहरू सबै जोङ्खा नबोली नेपाली नै बोल्ने भएर निस्किए। भुटानको आइडिया फेल खायो।'
यति भनेर उनी मज्जैले हाँसेका थिए। हामी पनि उनीसँगै हाँसेका थियौं।
त्यसपछि उनले दोस्रो कारण सुनाए, 'दसैंमा हामी नेपालीको टीका लगाउने चलन छ। प्रायःका घरमा नेपालका राजा वीरेन्द्रको तस्बिर हुन्थ्यो। भुटानका राजाको पनि हुन्थ्यो, तर नेपालका राजाको भन्दा अलि सानो। टीकाको दिन हामी परिवारले लाउनुअघि नेपालका राजाको ठूलो फोटोमा टीका लाउँथ्यौं, अनि भुटानका राजाको सानो फोटोमा...विचरा त्यो भोटे राजाले पनि कति सहोस्। अनि नखेदेर के गरोस् त!'
उनी फेरि हाँसे। हाँस्दाहाँस्दै कुन तर्कनामा हराउन पुगे।
उनको अनुहारमा कहिले घाम, कहिले बादल छाइरहन्थ्यो। एकैछिनमा एउटा कुरा सम्झेर रमाउँथे, एकैछिनमा अर्को कुरा सम्झेर दुःखी हुन्थे।
अहिले यता अमेरिका आएपछि भने पूरै बादलले घेरिएछन्।
भुटानी शरणार्थी र अहिलेको भुटानको विकासबारे धेरैको आफ्नै दृष्टिकोण छ। भुटान भन्नेबित्तिकै अचेल शरणार्थीको कुरा उठ्दैन, बरू दुइटा सकारात्मक चित्र अगाडि आउँछ– आर्थिक समृद्धि र कुल गार्हस्थ्य खुसी (ग्रस डोमेस्टिक ह्याप्पिनेस)।
सन् २०१२ मा पुलिट्जर विजेता लेखक काइ बर्डले 'द नेसन' मा भुटानको विषयमा एउटा विस्तृत लेख लेखेका थिए। शीर्षक थियो- 'द इनिग्मा अफ भुटान' अर्थात् 'भुटानको रहस्य'। उक्त लेख 'जेनोसाइड एन्ड एथ्निक क्लिन्जिङ' अर्थात् 'नरसंहार र जातीय सफाया' विधाअन्तर्गत छापिएको थियो।
लखेटिनेको संख्या करिब एक लाख भए पनि त्यति बेला भुटानको कुल जनसंख्याको करिब १७ प्रतिशत रहेको र एउटा समुदाय नै निष्कासनमा परेकाले होला, 'द नेसन' का सम्पादकले यो आलेखलाई उक्त विधामा राखेका।
इतिहासमा धेरै देशमा जातीय सफाया भएको हामीले सुने-पढेका छौं। एक कालखण्डपछि जुन सम्प्रदाय र राष्ट्रले गल्ती स्वीकार गर्दै क्षमा मागेर अघि बढेको छ, ती राष्ट्र र सम्प्रदाय दुवैले तरक्की गरेका छन्। यसको ज्वलन्त उदाहरण जर्मनी र यहुदीहरू हुन्। जे भयो त्यसलाई कालो यथार्थ मानेर दुवै अघि बढे, आज त्यो त्रासदीपूर्ण अतीतको आधा शताब्दी नबित्दै दुवै समृद्धिका मानक छन्।
गल्ती स्वीकार र क्षमायाचना करुणाको मर्मसँग जोडिन्छ। यो बिना भौतिक समृद्धि र 'खुसी' देखावटी र खोक्रो हुन्छ।
बौद्ध धर्ममा करुणा, गल्ती स्वीकार र क्षमालाई प्राथमिकतासाथ प्रवर्द्धन गरिन्छ। मलाई आशा छ, यो पाठ भुटानका शासकले एकदिन पक्कै सिक्ने छन्। किनकि, भुटान बौद्ध धर्म अनुसरण गर्ने राष्ट्र हो।
-
१ डिसेम्बर, २०१९
अड्लेड, अस्ट्रेलिया