विपद भन्नाले ठूलो जनधन क्षति गर्ने गरी अकस्मात हुने कुनै पनि घटना जनाउँछ। विपद जोखिम न्यूनीकरण भन्नाले योजनाबद्ध तरिकाले जोखिमका विषयमा जानकारी राखी त्यसको मूल्यांकन गर्दै विपदका कारण हुन सक्ने क्षति कम गर्ने पद्धति जनाउँछ।
समय र परिवेश अनुसार विपद विभिन्न प्रकारका हुन्छन्। नेपालका सन्दर्भमा विपद भन्नाले मुख्यत भूकम्प, बाढी, पहिरो, आगलागी तथा सरुवा रोगको महामारीलाई लिइन्छ।
विश्वमा अल्प विकसित देशहरू विपद जोखिम न्यूनीकरणमा कमजोर रहँदै आएका छन्। यसमा नेपाल पनि अछुतो छैन। नेपालमा हरेक वर्ष विपदका कारण ठूलो जनधनको क्षति हुने गरेको छ।
विपद जोखिम न्यूनीकरणका धेरै आयाम र पद्धति छन्। यसमध्ये धेरैले ध्यान नपुर्याउने, हेर्दा सामान्य लाग्ने तर गहन विषय, विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा खुला स्थान (भौतिक संरचना निर्माण नभएको स्थान) को महत्वबारे यो लेखमा चर्चा गरिनेछ।
नेपाल जटिल भूबनोट भएको देश हो। भौगोलिक हिसाबले हिमाल, पहाड र तराई क्षेत्रमा विभाजित छ। उत्तरी भेगमा उच्च हिमाल तथा दक्षिण भेगमा तराईको समथर भूभाग छ। भूगोलअनुसार फरक किसिमका विपत्तिको जोखिम छ। विभिन्न खोजहरूले ८० प्रतिशत भूभाग प्राकृतिक प्रकोपको जोखिममा रहेको देखाएको छ।
यसैगरी विश्व जोखिम सूचकांकमा भूकम्पीय जोखिम हिसाबले नेपाल विश्वको ११औं जोखिमपूर्ण देश तथा पानी सम्बन्धि बाढी, पहिरो लगायत विपदमा ३० औं जोखिमपूर्ण देश हो। संयुक्त राष्ट्रसंघको एक अध्ययनले नेपालमा विभिन्न विपत्तिका कारणबाट सन् १९७१ देखि २०१६ सम्ममा करिब ४४ हजारको ज्यान गएको देखाएको छ भने यो संख्या बर्सेनि बढ्दो छ।
नेपालमा मुख्यत उच्च हिमाली भागमा हिम पहिरो र सुख्खा पहिरो, मध्य पहाडी भागमा बाढी तथा पहिरो, तथा तराईमा बाढीको जोखिम छ। यसैगरी पहाड र तराईमा सुख्खायाममा हावाहुरी तथा आगलागीको जोखिम र नेपालभरी नै भूकम्पको जोखिम छ।
हाल विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस वा यस्तै अन्य कुनै रोगको जोखिम पनि नेपाल जस्तो पूर्व तयारी कमजोर रहेको देशमा सधैं नै रहिरहन्छ। सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा जोखिमसँग जुध्न सक्ने क्षमता कम हुने भए पनि जनघनत्वका कारण यस्ता विपदको बढी जोखिम सहरमै हुन्छ।
नेपालका सहरी भूभागमा मुख्यत भूकम्प, बाढी र आगलागीको उच्च जोखिम हुन्छ भने कोरोना संक्रमण जस्ता महामारीको पनि यस्तै स्थानमा बढी जोखिम हुन्छ। विपदको बढी असर हुन सक्ने सहरी भूभागमा खुला स्थान क्रमशः घट्दै जानु र सहरीकरण योजनाबद्ध हिसाबमा अगाडि नबढ्दा जोखिम झन् बढेको छ।
विपद बाजा बजाएर आउँदैन। तसर्थ यस्ता विपदका लागि हामी सधैं तयार बस्नुपर्ने हुन्छ।
काठमाडौं लगायत सहरी भूभागमा मुख्यत भूकम्प, बाढी तथा आगलागी जोखिम बढी छ। सहरी क्षेत्रको जनघनत्व बढ्दो छ भने यी क्षेत्रमा कहीँ पनि व्यवस्थित वस्ती विकासको अवधारणा लागू हुन सकेको छैन। अव्यवस्थित सहरीकरणका कारण हाम्रा सहर कुरूप हुँदै गएका छन् भने खुला स्थान क्रमशः घटिरहेका छन्।
विभिन्न देशमा गरिएका खोजले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि खुला स्थान अपरिहार्य देखाएका छन्।
नेपालमा २०७२ सालको भुइँचालोभन्दा २ वर्ष अगाडि सरकारबाट काठमाडौं उपत्यकामा जोखिमका बखत प्रयोग गर्न सकिने गरी ८३ वटा खुला स्थान पहिचान भएका थिए। भूकम्पपछि तीमध्ये ३३ स्थानलाई ३० हजारभन्दा बढी काठमाडौंबासीले आपतकालीन आश्रयस्थलका रुपमा प्रयोग गरेका थिए। योबाहेक काठमाडौं उपत्यकाका अन्य धेरै खुला क्षेत्रलाई पनि भूकम्पपछि हजारौं मानिसले अस्थायी आश्रयस्थलका रुपमा प्रयोग गरेका थिए।
तर हामीकहाँ काठमाडौं जस्ता सहरका खुला स्थान घट्दो छन् भने एक अध्ययनले काठमाडौं जिल्लाको क्षेत्रफलमध्ये जम्मा ०.४८ प्रतिशत क्षेत्र मात्र खुल्ला स्थान रहेको देखाएको छ। यो संख्या पूरा काठमाडौं उपत्यकाका हकमा पनि क्रमशः घट्दो छ। यस्ता खुला क्षेत्र भारतको राजधानी दिल्लीमा २० प्रतिशत, फ्रान्सको राजधानी पेरिसमा ९.५ प्रतिशत, मस्को सहरमा ५४ प्रतिशत, सिड्नी सहरमा ४६ प्रतिशत छ।
विकसित देशका प्रमुख सहरले धेरैभन्दा धेरै खुल्ला स्थान संरक्षण गरी सहरी सुन्दरता वृद्धि, वातावरणीय प्रभाव न्यूनीकरण, मनोरन्जन स्थलका रुपमा प्रयोग गर्नुका साथै विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा समेत प्रयोग गर्दै आएका छन्।
नेपालका सहरी क्षेत्रमा अव्यवस्थित सहरीकरण बढ्दो छ भने कमजोर भौतिक संरचनाले भूकम्प जस्तो विपदमा झन् बढी जोखिम हुन्छ। यसकारण पनि खुला स्थानको अधिकतम महत्व हुन्छ। खुल्ला स्थानलाई भूकम्पपछि अस्थायी आश्रयस्थलका रूपमा मात्र नभई भूकम्प बेला प्रयोग गर्न सकिने सुरक्षित स्थान, राहत वितरण तथा संयुक्त सूचना प्रवाह गर्ने माध्यमका रूपमा पनि प्रयोग गर्न सकिन्छ।
योबाहेक काठमाडौं लगायत सहरी क्षेत्रमा बाढीको पनि उच्च जोखिम छ। हरेक वर्ष सबैजसो सहरमा बाढीको धेरथोर असर हुन्छ। सहरीकरण बढ्दै जाँदा क्रमिक रूपमा खोलानालाको क्षेत्र अतिक्रमणका कारण साँघुरिदै छ। यसले वर्षायाममा बाढी सहरमा पस्ने गरेको छ।
सहरी क्षेत्रमा खुला स्थान अभावमा आकाशको पानी जमिनभित्र सोसिन नपाई सोझै ढलमार्फत खोलामा जान्छ। वा सो हुन नसके पानी जमेर आवतजावतमा समस्या पार्छ। अर्को ठूलो समस्या, खोलानालाबाट निकास हुन नस्कदा पानी वस्ती छिर्ने र छिरेको पानी पनि जमिनमा सोसिन नपाई ठूलो क्षेत्रमा फैलिएर असर गर्ने गरेको छ। यस्ता बाढीका समयमा खुला स्थान अभावमा जोखिम झन् बढ्छ।
बाढी आउन सक्ने सम्भावित सतहभन्दा माथिल्लो सतहमा खुला स्थान व्यवस्था भए, सो स्थानलाई विपद बखत प्रयोग गर्न सकिन्छ। अस्थायी आश्रयस्थल, राहत वितरण स्थल वा उद्दार स्थलका रूपमा पनि प्रयोग गर्न सकिन्छ। साथै यथोचित खुला स्थान व्यवस्थापनले जमिनभित्र जानसक्ने पानी सोसिने, जमिनमुनिको पानीको सतह एकरूप रहने र खोला किनारमा बाढीको प्रभाव रहने सतहभन्दा केहीमाथि यस्ता स्थान निर्माण भए बाढीको प्रभाव कम गर्न सकिन्छ।
बाढी र भूकम्पको मात्र नभई सहरी क्षेत्रमा आगलागी जोखिम उत्तिकै छ। साँघुरा बाटा, घना अव्यवस्थित वस्ती र बढ्दो जनघनत्वका कारण सानो स्थानमा हुने आगलागीले पनि भयानक रुप लिनसक्ने सम्भावना हुन्छ। खुल्ला स्थानले आगलागी फैलनबाट रोक्न र फैलिएको आगलागी नियन्त्रणमा, जनधनको क्षति न्यूनीकरणमा र आगलागीपछि अस्थायी आश्रय तथा राहत वितरण स्थलका रूपमा सहयोग पुर्याउन सक्छ।
खुल्ला स्थानले प्राकृतिक प्रकोपसँग मात्र नभई हाल महामारी रूपमा फैलिएको कोरोना भाइरसजस्ता संक्रमणसँग लड्न पनि मद्दत गरिरहेको देखिन्छ। हाल देशभरिनै नेपाल बाहिर वा अन्य संक्रमण फैलिएका स्थानबाट आएका मान्छे राख्न यस्तै खुला स्थानमा क्वारेन्टाइन बनाइएको छ। मुख्यतः विद्यालय हाताका खुला स्थान प्रयोग भएका छन्। साथै आवश्यकताका आधारमा खुला स्थानलाई अस्थायी आश्रयस्थल, राहत वितरण स्थल, सम्भावित बिरामीलाई अलग्गै राख्ने स्थल र स्वास्थ्य सेवा प्रदान गर्न पनि प्रयोग गर्न सकिन्छ।
उदाहरण, राजधानी काठमाडौंमा बिरामीको चाप धेरै भयो। उपलब्ध श्रोतसाधनले धान्न कठिन भयो। पाटन अस्पतालनजिकै रहेको राजदल गण क्षेत्र र वीर अस्पताल नजिकै रहेको टुँडिखेल क्षेत्रमा अस्थायी उपचार केन्द्र स्थापना गर्न सकिन्छ। विश्वका धेरै देशले खुला स्थान व्यवस्थापन गरी कोरोना भाइरस परीक्षण वा उपचारका लागि यस्ता स्थान प्रयोग गरिरहेका छन्।
विपदका समयमा मात्र नभई खुल्ला स्थानले सहरको सुन्दरता बढाउन, हावा र पानी शुद्धीकरण गर्न र व्यायाम स्थलका रूपमा प्रयोग गर्न सहयोग गर्ने हुनाले यस्ता स्थान संरक्षण गर्नु महत्त्वपूर्ण छ।
सहरी क्षेत्रमा खुल्ला स्थान महत्वपूर्ण भए पनि मासिँदै गएका छन्। काठमाडौं उपत्यकामा कुनै समय विशाल मैदान टुँडिखेल क्षेत्र घट्दो छ। बसपार्क, रंगशाला, आर्मी मुख्यालय आदि संरचना बनेका छन्। केही समयअगाडि राजनीतिक भेला वा अन्य ठूलो समारोह आयोजना गर्न सक्ने एकमात्र स्थान मासिँदै गएको छ।
अतिक्रमणबाट पनि खोलानालाका क्षेत्र र सरकारी जमिन मासिँदै छन्। विभिन्न समयमा गरिएका सरकारी तथा गैरसरकारी अध्ययनले पनि सरकारी जग्गा ठूलो मात्रामा अतिक्रमणमा परेको देखाएको छ।
यसैगरी काठमाडौं र अन्य सहरमा रहेका धेरै खुल्ला स्थान र सरकारी जग्गा लिजमा लिई ठूला भवन बनाउने क्रम बढेको छ। काठमाडौंमा पुरानो बसपार्कमा बन्दै गरेको टावर, खुला मञ्चमा बनाइएको बसपार्क वा पुल्चोकको मदन स्मारक विद्यालय हातामा बनेको र बन्दै गरेका संरचना, सातदोबाटोस्थित एक विद्यालयको ठूलो खुला क्षेत्रमा खुलेको डिपार्टमेन्टल स्टोर यसका उदाहरण हुन्।
नेपाल हरेक किसिमका विपद हिसाबले अत्यन्त जोखिममा रहेको देश हो। यहाँ विपद जोखिम न्यूनीकरण सम्बन्धी धेरै नियम, कानुन बनेका छन् तर यिनको कार्यान्वयन पक्ष कमजोर छ। यसका साथै वार्षिक रुपमा निकै कम बजेट विपदका क्षेत्रमा छुट्टयाइन्छ। हाम्रो विपदसँग लड्ने क्षमता कमजोर छ।
पाँच वर्षअगाडिको भुइँचालो, हरेक वर्षका बाढी-पहिरो, आगलागी तथा हालको कोरोना महामारीजस्ता विपदले हामीलाई जहिले पनि असर गर्न सक्छन्। तसर्थ पूर्व तयारी कम भएको देशमा विपद जोखिम न्यूनीकरणका लागि अन्य थुप्रै कामका साथै भएका खुला स्थान संरक्षण र आगामी दिनमा व्यवस्थित सहरीकरण अपरिहार्य छ।
कोरोना प्रभाव कम भएपछि केन्द्रीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा खुला स्थान संरक्षणमा योजनाबद्ध हिसाबले आगाडि बढ्न सकिन्छ। सहरी सुन्दरताका साथै कुनै पनि समय आउन सक्ने विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा पनि सहयोग पुग्न सक्छ।
(लेखक इञ्जिनियर हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतका साथमा रही लामो समय काम गरेका छन्।)