मृत्यु अवश्यम्भावी सत्य हो, तर यसको खबर हामीलाई सधैं अप्रत्यासित र अप्रिय लाग्छ।
यो लकडाउन क्रममा मैले दुइटा मृत्युको खबर नजिकबाट सुनेँ।
पहिलो, एक मित्रको ९० वर्ष नाघेका र पनाति खेलाउन भ्याएका बुवाको। उहाँको मृत्युको खबरलाई परिवार र हामी साथीभाइ सबैले सहज र प्राकृतिक रूपमै स्वीकार्यौं।
दोस्रो, ५० वर्ष हाराहारीका एक व्यावसायिक र सामाजिक रूपमा सक्रिय व्यक्तिको, जसका छोराहरू स्कुल जाने उमेरका छन्। यो खबर सामाजिक सञ्जालमा फैलिएपछि धेरैको प्रतिक्रिया थियो- अप्रत्याशित!
उनी हेर्दा तन्नेरी ज्यानका फिट देखिन्थे। 'यस्तो फिट मान्छे... कसरी?' धेरैले यही आशयको अनुत्तरित प्रश्न गरे।
परिवारका सदस्यसँग बुझ्दा उनी बिहान घरमा व्यायाम गर्दागर्दै ढलेका रहेछन्। परिवारले थाहा पाएर अस्पताल लग्दा बितिसकेछन्।
अब समय अलि 'रिवाइन्ड' गरौं।
करिब तीन वर्षअघि मेरा एक मित्र ब्याडमिन्टन खेल्दाखेल्दै ढले। सबै मिलेर हतारहतार अस्पताल पुर्याए। सिपिआरले नभ्याएर डिफिब्रिलेटरले कयौंपटक झट्का दिएपछि उनको सास फर्क्यो। मुटुको चाल सामान्य भयो। तर, उनी ढल्नु र उपचार पाउनुमा १५ मिनेटभन्दा बढीको समयान्तर भइसकेको थियो। यसको अर्थ, उनको दिमागमा अक्सिजन प्रवाह बन्द भएको १५ मिनेट नाघिसकेको थियो।
उनको मुटु, फोक्सो र अरू अंग त चल्न थाले, तर होस आएन। उनको दिमागले केही प्रतिक्रिया दिएन। उनी कोमामा पसे। यो विषय विस्तृतमा अलि पछि बुझाउने प्रयास गरौंला। पहिले माथि उल्लिखित दुइटा प्राविधिक शब्द साधारण भाषामा अर्थ्याउँछु।
सिपिआर, अर्थात् कार्डियोपल्मुनरी रिससिटेसन। यो मुटुको चाल बन्द भएपछि छातीमा लगातार थिचेर र कृत्रिम श्वासप्रश्वासबाट मुटुको चाल फर्काउने विधि हो। यो विधि 'बेसिक लाइफ सपोर्ट' मा प्रशिक्षित र यससम्बन्धी जानकारी भएकाले जहाँ पनि गर्न सक्छ, स्वास्थ्यकर्मी नै हुनु पर्दैन।
डिफिब्रिलेटर भनेको छातीमा दुइटा इस्त्रीजस्तो प्लेट छुवाएर बिजुलीको झट्का दिने यन्त्र हो। कसैको मुटुको चाल बन्द भएपछि सिपिआरबाट पनि नचले यो यन्त्र प्रयोग गरिन्छ।
अब मेरा ती मित्रको कुरा गरौं।
उनी त्यसरी अकस्मात् ढलेको सुन्दा चिन्ता हुनु स्वाभाविक थियो। ब्याडमिन्टन खेल्दाखेल्दै ढल्यो भनेपछि कारण जान्ने थप उत्सुकता भयो। किनकि, म पनि नियमित ब्याडमिन्टन खेल्थेँ, अझै खेल्छु।
ती मित्र प्रहरी अधिकृत थिए। विराटनगर तालिम केन्द्रमा खटिएका भए पनि साथीहरू धरानमा कार्यरत रहेकाले उनी ब्याडमिन्टन खेल्न धरान धाउँदा रहेछन्। उनी पहिलेदेखि खेलाडी मान्छे, जीउ सधैं फिट। जीउ फिट भएपछि काममा पनि फिट।
उनको ब्याचबाट आइजी हुने सम्भावना बोकेकामा समकक्षी प्रहरीहरू कि उनको नाउँ लिन्थे कि रमेश खरेलको। यी दुई त्यस ब्याचका एक नम्बर र दुई नम्बरमा पास-आउट अधिकृत थिए।
दुर्भाग्यवश, आइजी पदलाई उनले कोमामा सुतेरै 'वाकओवर' दिए, रमेश खरेलले आफ्नै ब्याचका टप टेनभन्दा मुनिका अधिकृत आइजी नियुक्त भएपछि राजीनामा दिए।
ती मित्रसँग प्रहरी हुनुअघिदेखि मेरो चिनजान थियो। उनी तालिमलगत्तै महाराजगन्ज तालिम केन्द्रमा 'गुरुबा' भए। त्यसपछि काठमाडौं, न्युरोडको जनसेवामा इन्स्पेक्टर भए। बेनी आक्रमणलगत्तै डिएसपीका रूपमा बेनी सरुवा भए। एसपीका रूपमा वीरगन्जमा छँदा मधेस आन्दोलनको प्रतिकूलताबीच त्यहाँको गाँजा खेती उन्मूलनमा लागे। एसएसपी भएपछि ललितपुर जिल्ला प्रमुखका रूपमा त्यस बेलाको ठूलो युनिटी काण्डका नाइके पक्राउ गरे। दिल्ली दूतावासमा प्रहरी तर्फबाट काउन्सलर पदमा कार्यरत रहे।
आफ्नो करिअरमा उनी जहाँ-जहाँ गए, मैले उनलाई ती सबै ठाउँमा पुगेर भेटेको छु। विराटनगरमा भने भेट्ने जोग मिलेको थिएन। जब उनलाई ब्याडमिन्टन कोर्टबाट धरानको बिपी अस्पताल भर्ना गरियो, म त्यहीँ भेट्न पुगेँ।
मेरा यी मित्रको आधिकारिक नाम राजेन्द्रमान श्रेष्ठ हो। परिवार र साथीहरूबीच उनलाई 'राजु' भनेर बोलाइन्छ।
राजुलाई हेर्न म र मित्र राजेश केसी धरान पुगेका थियौं। अस्पतालको आइसियू वार्डबाहिर भाउजू र छोरी थिए। उनीहरूलाई भेटेपछि भित्र गएर राजुलाई हेर्यौं।
यहाँ म राजुलाई भेटेँ भनेर भन्न सक्दिनँ, किनकि भेट दुईतर्फी हुन्छ। राजु अचेत थिए। हामीले उनको हात सुमसुम्यायौं। राजु भनेर बोलायौं। हेर्दा अहिले उठ्लाजस्तो, तर लम्पसार।
हामीले बाहिर आएर अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर सञ्जीवकुमार शर्मालाई भेट्यौं र विस्तृत जानकारी लियौं।
अस्पतालको ओपिडीमा भीड हुने भएकाले डाक्टर सञ्जीवले हामीलाई उनले सञ्चालन गर्ने सर्पदंस केन्द्रको कार्यालयमा बोलाएका थिए। हामी भाउजू र छोरीलाई साथै लिएर त्यहाँ पुग्यौं। उनले हामीलाई कुरा बुझाउन थाले।
'उहाँ खेल्दाखेल्दै ढल्नुको कारण मुटु अचानक रोकिएर हो। त्यसपछि उहाँलाई अस्पताल ल्याउँदा-ल्याउँदै १५ मिनेट बितिसकेको रहेछ। ल्याउनेबित्तिकै सिपिआर गरियो। त्यसले नभएर डिफिब्रिलेटरबाट 'शक' दियौं। उहाँको शरीर बलियो र फिट भएकाले धेरैपटक दिइएको 'शक' सहनुभयो। मुटु, फोक्सो चल्न थाल्यो। तर, उहाँको दिमाग हाइपोक्सियाको शिकार भइसकेछ।'
'हाइपोक्सिया भन्नाले?' मैले सोधेँ।
'अक्सिजनको कमी,' डा. सञ्जीवले विस्तार लगाए, 'हाम्रो शरीरका अंगहरू मुटुको चाल बन्द भएपछि पनि केही समयसम्म फेरि काममा आउन सक्छ। त्यसैले त मान्छे मरेपछि पनि मुटु, फोक्सो, कलेजो लगायत अंग प्रत्यारोपण गरेर पुन: प्रयोगमा ल्याउने अभ्यास छ। मुटु बन्द हुनु भनेको शरीरका अंगमा रगतमार्फत् अक्सिजन प्रवाह बन्द हुनु हो। ताजा अक्सिजन प्रवाह रोकिएपछि सबभन्दा पहिले प्रभावित हुने अंग भनेको हाम्रो दिमाग अर्थात् स्नायु प्रणाली हो।'
उनले अगाडि भने, 'मुटु बन्द भएको दुई मिनेटभित्र पुनः चलाउन सके स्नायु प्रणालीले फेरि पूर्ण रूपमा काम गर्ने सम्भावना हुन्छ। जति ढिला हुँदै गयो, त्यति ब्रेन ड्यामेज बढ्दै जान्छ। तीन मिनेटपछि ब्रेन ड्यामेज हुने क्रम तीव्र हुन थाल्छ। नौ मिनेटपछि दिमागले फेरि काम गर्ने सम्भावना असाध्यै क्षीण हुन्छ। दस मिनेटपछि त करिब करिब असम्भव हुन्छ। त्यसपछिको अवस्थाबारे चिकित्सा विज्ञानले बोल्दैन, तर चमत्कारको सम्भावना हामी नकार्दैनौं।'
उनले यो पनि भने, 'उहाँ शारीरिक र मानसिक रूपमा बलियो भएकाले चमत्कारको सम्भावना नकार्न सकिँदैन। उहाँको स्नायु प्रणालीको रेस्पोन्स हेर्दा 'लक्ड इन सिन्ड्रोम' मा रहेको देखिन्छ। यस्तोमा उहाँले हामीले बोलेको सुनेको पनि हुन सक्छ। त्यसैले, उहाँलाई सानो बच्चाजस्तै स्याहार्ने र उहाँको दिमागका बच्चा न्युरोनहरूलाई हुर्कन उत्प्रेरित गरिराख्नुपर्छ।'
डा. सञ्जीवले सरल भाषामा व्याख्या गरे पनि धेरै कुरा मेरो दिमागभित्र पस्न सकेन। भाउजूको अगाडि धेरै सवालजवाफ गरेर उहाँको तनाव बढाउने उद्देश्य पनि थिएन हाम्रो।
हामीले भाउजू र छोरीलाई बिदा गर्यौं। त्यसपछि डाक्टर सञ्जीवले चियाको प्रस्ताव राखे। सर्पदंस केन्द्रसँगैको क्याफेटेरियाबाट चिया मगाइयो। चियाको निहुँमा थप केही समय उनीसँग गफियौं।
'म पनि ब्याडमिन्टन खेल्छु, उनी पनि खेल्दाखेल्दै ढले। त्यस्तो फिट मान्छे, खास भएको चाहिँ के हो बुझाउनुस् न,' मैले आग्रह गरेँ।
'उहाँको मुटु बन्द भएको हो?'
'हार्ट अट्याक?'
'होइन। त्यसलाई यसरी बुझौं, मुटुमा दुई किसिमले अवरोध हुन्छ। एक, कुनै एउटा नशा वा धमनी बन्द भयो भने, जसलाई हामी कोरोनरी ब्ल्केज भन्छौं। अर्को, मुटुको गति बढेर त्यसको विद्युत आपूर्तिमा गडबडी भएपछि धड्कन बन्द हुन्छ। हामी त्यसलाई मुटुको 'फेब्रिलेसन' भन्छौं। यो भनेको एक किसिमको 'सडन शटडाउन' (अकस्मात् बन्द) हो। तपाईंको साथीको केसमा दोस्रो कारण हो। खेल्दाखेल्दै मुटु बन्द भएको।'
मलाई अझै उत्सुकता जाग्यो, 'त्यस्तो फिट मान्छेको मुटु कसरी अकस्मात् बन्द हुन्छ? काल नै आएको हो त?'
'होइन, कालै त नभनौं,' उनले विस्तारमा बुझाउन थाले, 'अघि मैले भनेजस्तै ब्ल्केज हुनेबित्तिकै मान्छे त्यसरी ढल्दैन। हात दुख्ने, पसिना आउने, छाती दुख्ने आदि लक्षण देखिन्छन्। अकस्मात् ठूलो अट्याकको केसमा बाहेक बिरामीलाई अस्पताल पुग्न केही समय हुन्छ। अस्पताल पुगेपछि यसको उपचार हुन्छ पनि। तर, यसरी मुटु फ्याट्ट बन्द हुनुको मुख्य कारण मुटुलाई धेरै धपेडी पर्नु हो। हाम्रो मुटुको पनि धड्कने अधिकतम क्षमता हुन्छ, त्यसलाई हामी 'एमएचआर- म्याक्सिमम हार्ट रेट' भन्छौं।'
'मुटुको अधिकतम क्षमता?'
'हो, साधारणतया उमेर बढेअनुसार हाम्रो मुटुको क्षमता घट्दै जान्छ। आफ्नो मुटुको अधिकतम क्षमता पत्ता लगाउन २२० बाट आफ्नो उमेर घटाउनुस्। जस्तो, मेरो उमेर ५० भयो। २२० बाट ५० घटाउँदा १७० हुन्छ। अब मेरो एमएचआर १७० भयो। मैले जे गर्दा पनि मुटुको धड्कन एक मिनेटमा १७० भन्दा बढी जान दिनु हुँदैन। अझ सुरक्षित रहने हो भने १७० को ८५ प्रतिशतभन्दा कममा कायम राख्नु उचित हुन्छ। यसअनुसार मेरो सुरक्षित दायरा प्रतिमिनेट १४५ जति हुन आउँछ। मैले धेरै बेरसम्म मुटुको धड्कन प्रतिमिनेट १४५ भन्दा माथि जान दिएँ भने मुटुमा भार पर्न जान्छ र यो बन्द हुने सम्भावना हुन्छ। अझ प्रेसरका बिरामी, मुटुमा स्टेन्ट वा कुनै उपचार, शल्यक्रिया गरेकाहरूले त आफ्नो चिकित्सकसँग सल्लाह गरेर मात्र व्यायाम, खेलकुदको सीमा निर्धारण गरेको बेस।'
'ओहो, मुटु पनि त्यसरी बन्द हुन्छ र?' मैले आश्चर्य व्यक्त गरेँ।
'हाम्रो मुटु चल्न बिजुली चाहिन्छ, जुन शरीरभित्र बन्छ। त्यसैले त मुटुको चाल कम भएकालाई पेसमेकर जोडेर ब्याट्रीद्वारा मुटु चल्ने बनाइन्छ,' उनले भने, 'अब बिजुलीकै कुरा गरौं। तपाईंले हजार वाट क्षमताको प्लगमा दुई हजार वाटको हिटर जोड्नुभयो भने के हुन्छ? बल्छ?'
'बल्दैन, फयुज जान्छ,' मैले जवाफ दिएँ।
'हो, अधिकतम क्षमताभन्दा माथि धेरै बेर मुटु चलायो भने यो पनि फ्युज गएजस्तै गरी बन्द हुन्छ।'
'बिजुलीको त फ्युज फेरे हुन्छ, मुटु एकचोटि बन्द भएपछि सक्कियो त्यसो भए?' मैले प्रश्न गरेँ।
'होइन, त्यसरी मुटु बन्द भएर मान्छे ढलेको देख्नेबित्तिकै दुई मिनेटभित्र कोही जान्ने मान्छेले सिपिआर दियो भने मुटु चल्ने सम्भावना रहन्छ। त्यसपछि अस्पताल ल्याएर उपचार गरे पूरै ठिक पनि हुन्छ। तर, सिपिआर नगरी अस्पताल ल्याउनेतिर लाग्यो भने तपाईंको साथीलाई जस्तै ढिला हुन सक्छ।'
थाहा पाउनुपर्ने तर थाहा नभएको कुरा कसैले यति सरल भाषामा बुझाएपछि मनमस्तिष्कमा गडेर बस्दो रहेछ। डा. सञ्जीवले यसरी कुरा बुझाएको तीन वर्षपछि पनि मलाई अक्षरश: याद हुनुको कारण त्यही होला।
त्यस उप्रान्त म व्यायाम गर्दा वा खेल्दा नाडीमा भएको स्मार्ट वाचबाट मुटुको चाल नियालिरहन्छु।
करिब ५० वर्षको भएकाले मेरो पनि मुटुको अधिकतम क्षमता १७० नै भयो। खेल्दाखेल्दै मुटुको चाल १५० पुग्नेबित्तिकै रोकिन्छु, बस्छु, पानी खान्छु र १२० को हाराहारीमा झरेपछि फेरि सुरू गर्छु।
मैले 'हतार केलाई छ र?' भन्ने सिद्धान्त अनुशरण गरेको छु।
बेलाबखत टेनिस खेल्दाखेल्दै, साइकल चलाउँदा चलाउँदै, व्यायाम गर्दागर्दै ढलेर कोही बिते भन्ने सुनेपछि मन सिरिंग हुन्छ। यति सानो कुरा थाहा नपाएर अल्पायुमा बितेकोमा थकथक लाग्छ।
हुन पनि अचेल धेरै व्यक्ति उमेर, खानपिन, जीवनयापनको शैलीबाट सिर्जना हुने रोगको घन्टी बजेपछि डाक्टरको सल्लाहमा हिँडडुल र व्यायाम गर्न थाल्छन्। व्यायाम गर्ने बानी नभएको वा छुटेको शरीर र मुटुलाई एकैचोटि भार दिनु पनि ठिक हुँदैन। तर, सबैलाई तुरुन्तै फिट हुने रहर हुन्छ।
अचेल मुटुको धड्कन देखाउने विभिन्नथरि घडी पाइन्छन्। तपाईं पनि ४० नाघ्नुभयो र व्यायाम-खेलकुद गर्नुहुन्छ भने त्यस्तो घडीको जोहो गर्नुस्। घडी नभए लगातार धेरै बेर स्याँस्याँ आउने गरी धपेडी नगर्नुस्।
र, यदि कुनै व्यायाम वा खेलकुद गर्नु हुँदैन भने मेरो सल्लाह, भोलिदेखि नै सुरू गर्नुस्।
आफ्नो लागि व्यायाम गर्ने जाँगर छैन भने, आफ्नो परिवार, बालबच्चाको अनुहार हेर्नुस् र उनीहरूका लागि गरिदिनुस्।
आफ्नो परिवार र बालबच्चाको अनुहार हेरेपछि एकपल्ट आफ्नो पेटको आकार पनि हेर्नुस्। डा. सञ्जीव शर्मा भन्छन्, 'आफ्नो आयु सोध्न ज्योतिषकहाँ गएर लाइफलाइन (जीवनरेखा) देखाउनुभन्दा आफ्नो भुँडीको साइज (वेस्टलाइन) हेर्नुस्।'
लेसर द वेस्टलाइन – लंगर द लाइफ ... मोर द वेस्टलाइन – सर्टर द लाइफ।
वेस्टलाइन छिटो घटाउने चक्करमा 'एमएचआर' भने याद गर्नु होला।
@KiranKrShrestha