आर्यघाटमा पलाएर गौशाला चोकमा बिलाउने हाम्रो मसान वैराग्य अब हाम्रो चेतबाट त्यति चाँडो पक्कै बिलाउने छैन।
संसारका हरेक यहुदी परिवारले दोस्रो विश्वयुद्धको त्रासदी कुनै न कुनै सम्झनामा जीवित राखेजस्तै, संसारका अधिकांश मानिसले ढिलोचाँडो आफ्नो नजिकको परिवार वा साथी कोरोना संक्रमणमा परेको सुन्नुपर्नेछ। त्यो क्षण सबैका लागि दुखद हुनेछ।
संक्रमणले आफूलाई जति नजिकबाट छोयो, त्यसको त्रासले त्यति नजिकबाट दुरगामी प्रभाव छाड्ने छ।
हिजो साँझ मलाई त्यस्तै भयो।
मेरा एक बालसखा २२–२४ वर्षअघि 'युएसएमएलई' (अमेरिकाको मेडिकल लाइसेन्स परीक्षा) दिएर अमेरिका गएका थिए। निकै मेहनतको पढाइ र खटाइपछि विशेषज्ञ डाक्टरका रूपमा उतै स्थापित भए। हालै उनी कोरोना संक्रमणको जाँचमा संक्रमित पाइए। यो खबर हाम्रो साथीभाइको सानो वृतमा निकै चिन्ता र चासोका साथ चर्चा हुन थाल्यो।
सुन्नेबित्तिकै मैले जवाफको अपेक्षाबिना भाइबरमा उसलाई लेखेँ, ‘साथी तेरो संक्रमणको खबर सुनेँ, दु:ख लग्यो... हिम्मत राख, सबै ठिक हुन्छ...’
यति टाइप गरेर फोन तल राख्न पाएको थिइनँ, नोटिफिकेसन बज्यो, ‘धन्यवाद साथी, म ठिकै छु, तिमीहरू सुरक्षित बस्नू। यो भाइरस बडो निकृष्ट र खतरनाक छ।’
‘अनि जहान परिवार?’ मैले सोधेँ।
‘बच्चाहरू ठिकै छन्। श्रीमतीले हल्का लक्षण देखाएकी छन्, तर सोमबार नभई परीक्षणको सम्भावना छैन। दिस प्लेस इज क्रेजी।’
उसले थप लेख्यो, ‘यहाँ सप्ताहन्त छुट्टी बेला अस्पताल भर्ना भएका सिकिस्त बिरामी, राजनीतिज्ञ र लक्षण नै नभए पनि राष्ट्रियस्तरका एनबिए खेलाडीलाई मात्र त्यो सहुलियत सम्भव छ।’
‘अनि यता नेपाल घरमा थाहा भयो त?’
‘छैन, सन्चो नभएर आफैं क्वारेन्टाइनमा बसेको मात्र भनेको छु।’
उनलाई कसरी संक्रमण भयो भनेर सोद्दा जे जवाफ सुनेँ, त्यसले मेरो मथिंगल हल्लायो।
‘म लगायत सँगै क्लिनिकमा काम गर्ने अरू पनि संक्रमित छन्। कुनै बिरामीबाट मेरो एक जना सहकर्मीलाई सर्यो, उसबाट ममा। म काम गर्ने अस्पताल व्यवस्थापनले क्लिनिकमा बिरामी जाँच्दा मास्क खर्च नगर्न निर्देशन दिएको थियो। आइसियूवाला स्वास्थ्यकर्मीका लागि मास्क बचाउन त्यो निर्देशन लागू गरेको थियो।’
उनीसँग भाइबरमा च्याट भइरहेका बेला उनका श्रीमतीलाई पनि सान्त्वनाको भावयुक्त मेसेज पठाएँ। अरू के नै गर्न सक्छौं र हामी यति टाढाबाट?
उनले अलि विस्तारमा जवाफ लेखिन्, ‘यी दुई दिन कसरी बिताएँ मलाई थाहा छैन। उसलाई अझै ज्वरो छ, खोकी छ, जीउ दुख्छ। ऊ घरकै कोठामा बन्द छ। हाम्रो संवाद टेक्स्ट-मेसेजबाट मात्र भइरहेको छ। मेसेज लेखेको एक छिनसम्म जवाफ आएन भने म चिच्याउँदै बोलाउन पुग्छु। यस्तो परिस्थिति कुनै पनि परिवारमा नआओस्।’
यति लेखेपछि उनले अस्पतालप्रति आवेग पनि पोखिन्, ‘यस्तो बेला बिरामी जाँच्दा मास्क प्रयोग नगर भन्ने बेतुकको निर्देशन दिनेहरू सम्झियो कि भाउन्न छुट्छ। यी दुई दिन रोएरै बिते। सब ठिक होस् भनेर प्रार्थना गर है।’
उनको कुरा सुनेर मन खिन्न भयो। मैले घरमा भएको गणेशको मूर्तिसामु धुप बालेर फोटो पठाएँ।
उताबाट जवाफ आयो, ‘कस्तो नेपालमै भएजस्तो अनुभव भयो, धन्यवाद। अहिले यी शब्द लेख्दै गर्दा मेरा आँखा रसाएका छन्। सोच्छु, यो देशमा किन आएछौं? मलाई अहिले एकदम एक्लो महशुस भइरहेको छ। न बह पोख्ने कोही छ यहाँ, न घरमा फोन गरेर सिधा कुरा गर्न सक्छु। बुवाआमालाई भन्ने कुरा पनि भएन। साँच्चै भन्दा ऊ अझै खतरामुक्त भएको छैन। यो सम्झ्यो कि मन सिरिङ्ग हुन्छ।’
मेरो मनमा उनीहरूका बच्चा घुम्न थाले। दुवै संक्रमित भए ती बच्चालाई हेर्ने कसले? सामाजिक, पारिवारिक सहयोग चाहिने यस्तै बेला न हो। जति नै ठूलो घर, गाडी, कमाइ, ऐशआराम भए पनि आखिर यस्तो बेला मान्छेले सोच्नुपर्ने रहेछ, ‘आफ्नो देश छाडेर किन आएछौं?’
यी साथीजस्तै अमेरिका, बेलायत, अस्ट्रेलियामा मैले थुप्रै नेपाली डाक्टर भेटेको छु। सबैको जीवन अरू औसत नेपालीहरूको भन्दा सुरक्षित र राम्रो देखिन्छ। प्राय:ले देशमै रहने इच्छा हुँदाहुँदै टिक्न नसकेको गुनासो गर्छन्। उनीहरूको गुनासोमा म पूरै सत्यता पाउँदिनँ, तर त्यो गुनासोलाई पूरै निराधार पनि भन्दिनँ।
पञ्चायत कालमा दरबारिया चापलुसीमा अभ्यस्त हुन नजानेर वा नचाहेर केही दक्ष जनशक्ति विदेश जान थालेका थिए। समाजशास्त्री डोरबहादुर बिष्टले आफ्नो प्रख्यात पुस्तक 'फेटलिजम एन्ड डेभलपमेन्ट' मा हामीकहाँ मौलाएको ‘आफ्नो मान्छे’ प्रवृत्ति केलाएका छन्।
दक्षता चाहिने क्षेत्रमा समेत ‘कस्तो मान्छे’ होइन ‘को र कसको मान्छे’ ले प्राथमिकता पाउँछ। जो पछि ‘आफ्नो मान्छे’ भएर रहन सक्छ उनीहरू नै शासकका आँखामा पर्छन्। अंग्रेजी शब्द ‘नेपोटिजम्’ लाई उनले नेपालीमा ‘आफ्नो मान्छे’ प्रवृतिसँग जोडेका छन्।
नेपालबाट दक्ष जनशक्ति– डाक्टर, इञ्जिनियर, वैज्ञानिकहरू विदेशिन थालेको पञ्चायत कालमै हो। आफ्नो कामसँग मतलब राख्ने, शासकभन्दा सेवाग्राहीलाई सेवा दिने सोच र स्वाभिमान भएकाहरूले यो ठाउँमा निस्सासिनुभन्दा विदेश जानु बेस ठाने। यही सोचले विदेशिने क्रम बढ्दै गएको हुनुपर्छ। यहाँ सोझो तरिकाले आर्थिक स्तरोन्नतिको सम्भावना नहुनु पनि पक्कै थप कारण भयो होला।
त्यो बेला डाक्टरको योग्यता दरबारसँग जोडिने समय थियो। नामको पछाडि डिग्रीभन्दा नामअगाडि जोडिएको रोयल फिजिसियन, रोयल सर्जन, रोयल कार्डिओलोजिस्ट, रोयल गाइनाकोलोजिस्ट आदि आदि। रैतीका लागि राजाको उपचार गर्ने योग्य डाक्टर सबभन्दा योग्य हुने नै भयो।
अगाडि रोयलधारीहरूलाई नामपछाडि उच्च योग्यता र सम्भाव्यता भएका नयाँ डाक्टरहरू बिझाउने गर्थे। ती योग्यको नाम दरबार पुग्ला र खोजी होला भन्ने डर हुनु स्वाभाविक भयो। त्यस्ता सम्भाव्यता बोकेका होनहारलाई काठमाडौंमा टिक्न नदिन चक्कर चलाउने र बाहिर खटाउने कलामा ती रोयलधारीहरू पोख्त हुने नै भए।
झन् अहिले त, एक दरबारको ‘आफ्नो मान्छे’ भएर पुग्दैन, एक नेताको भएर पनि पुग्दैन, एक पार्टीको भएर पनि पुग्दैन। विदेशिने क्रमको झन् के कुरा!
यो सन्दर्भमा म एउटा किस्सा जोड्न चाहन्छु। डाक्टरहरूको एक वृत्तमा 'डाक्टर ओझा सिन्ड्रोम' ले यो किस्सा परिचित छ।
करिब ०३५-०३६ सालको कुरा हो। वीर अस्पतालको आइसियूमा एक जना बिरामी भर्ना भए। मानसिक सन्तुलन गुमाएका ती व्यक्तिको हातगोडा खाटमा बाँधिएको थियो। ती व्यक्ति थिए, कलकत्ता पढुन्जेल हरेक विषयको हरेक जाँचमा सर्वाधिक अंकसहित गोल्ड मेडल पाएर डाक्टरी पास गरेका होनहार डाक्टर। नेपाल आएपछि निकै जोश-उमंगसहित सेवा गर्ने र थप डिग्रीका लागि प्रयास गर्ने सोचमा रहेछन्, जुन स्वाभाविक हो। तर, उनी यहाँ आएदेखि लगातार दुर्गममा सरुवा भएछन्। सहन सकुन्जेल सहे, त्यसपछि दिमागी सन्तुलन गुमाए।
'अगाडिको नाम मलाई याद छैन, उनको थर ओझा थियो, डा. ओझा। उनको नियतिमा मैले आफ्नो भविष्य देखेको महशुस भयो। त्यसपछि म हिँडेँ,' त्यसताका विदेशिएका एक विशेषज्ञ डाक्टरले भनेको सम्झन्छु, 'म जानुमा कसैको दोष छैन, त्यस बेलाको परिस्थितिसँग जुध्ने सीप र जाँगर मसँग भएन भनौं।'
उनीजस्तै त्यसताका अरू पनि पक्कै विदेशिए होलान्।
स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको निकै खडेरी भएको हाम्रो देशमा डा. ओझाको नियतिबाट बच्ने आकांक्षा अहिले झन् बढेको देख्दा दिक्क लाग्छ। यो नियति श्राप बनेर हाम्रो देशमा विद्यमान छ। देशको राम्रो मेडिकल अध्ययन संस्थानका स्वर्णपदकधारी नवडाक्टरहरूलाई केही समयअघि भेट्दा मैले सोधेँ, ‘के भइराखेको छ?’
जवाफ आयो, 'युएसएमएलईको तयारी चल्दै छ।'
देशलाई आवश्यक यस्तो अपरिहार्य जनशक्ति उत्पादन हुन थाल्यो भनेर हामीले गर्व गर्ने ठाउँ नै कहाँ छ र, पढेका सबै राम्रा उत्पादनले अमेरिका, अस्ट्रेलियामा आफ्नो भविष्य खोज्ने हो भने?
के हाम्रा नीति निर्माताले कुनै विशेष नीति ल्याएर हामीले उत्पादन गरेका डाक्टरलाई यहीँ राख्न सक्दैनौं?
पहिलेजस्तो अचेलका अधिकांश डाक्टर कोलम्बो प्लान वा विदेशी अनुदानबाट चलेको सरकारी छात्रवृत्तिका उत्पादन होइनन्। भत्ता खाएर, सित्तैमा पढेर उनीहरू डाक्टर भएका होइनन्। एमबिबिएस र एमडी पढ्न करिब दस वर्ष र एक करोड खर्चेर डाक्टर बनेकाहरू हुन्। यिनले सरकारी जागिरका लागि लोकसेवा लडेर स्वास्थ्य मन्त्रालयका बिए पास शाखा अधिकृत मातहत सरकारी जागिर खान आकर्षित हुनुपर्ने कारण के छ र?
सेवाभावले लागौं भने कर्मचारीको चक्कर खेपिनसक्नु छ। पैसाको हिसाबले त मासिक तलबले पढाइमा खर्च भएको पैसाको व्याज पनि उठ्दैन।
तै पनि मेडिकल पढेका विद्यार्थीसँगको अन्तर्क्रियामा अचेलका युवा देशलाई माया गर्ने नै भेटेको छु। उनीहरूलाई उचित वातावरण र सुविधाको व्यवस्था भए देश र जनताको सेवा गर्न पछि हट्दैनन् भन्ने मेरो बुझाइ र विश्वास छ। यति कुरा नीति-निर्माताले नबुझ्दा अधिकांश अब्बल जनशक्ति विदेशिन लालायित वा भनौं बाध्य भइरहने छन्, विडम्बना!
समय चक्रको कुरा हो। कोरोना संक्रमित डाक्टर साथीकी श्रीमतीलाई जस्तै अहिले युएसएमएलई पास गरेर अमेरिका जानेहरूमा २५ वर्ष त्यता बसेपछि देश सम्झँदै ‘यहाँ किन आएछौं?’ भन्ने भाव मनमा नआओस् भनेर हामी कामनासम्म गर्न सक्छौं। ढिलोचाँडो आउने सम्भावना रहन्छ नै।
यो लेख सकाउनुअघि मेरा ती साथीको अवस्थाबारे सोध्न मेसेज पठाएँ। उनले जवाफ लेखे, ‘ज्वरो अझै छ, टाउको र जीउ दुखिराखेकै छ, तर पल्स र अक्सिजन लेभल ठिक छ। त्यसैले अस्पताल भर्ना हुनुपर्ने अवस्था छैन। मेरा अफिसका सहकर्मीको अवस्था भने बिग्रँदो छ। ऊ आइसियूमा भेन्टिलेटरको सहारामा संघर्ष गरिरहेको छ।’
‘अनि श्रीमतीको के छ?’
‘अहिले बेस छ। आज टेस्ट गर्न पाउँछ होला। अस्पतालको बोलावटको पर्खाइमा छौं। नबोलाई जानु भएन।’
मैले उनकी श्रीमतीसँग कुराकानी गरेँ। उनी संयमित भइसकेकी रहिछन्। लेखिन्, ‘अस्ति म आवेगमा थिएँ, दिक्क थिएँ। यस्तो बेला परिवार सम्झनु स्वाभाविक हो। तर खबर सुन्नेबित्तिकै यहाँको नेपाली समुदायका साथीहरू, विशेषगरी नेपालदेखिका बाल्यकालीन साथीहरूले निकै ठूलो सहयोग गरिरहेका छन्। मलाई सजिलो होस् भनेर खाना तथा अरू सामान ढोकामा छाडेर जान्छन्। अहिले मेरो मनोबल अस्तिको भन्दा उच्च छ। यो अप्ठ्यारो बेला यहाँको नेपाली समुदाय र साथीहरूको महत्व झन् धेरै बुझेँ।’
मैले पहिले एक लेखमा लेखेको थिएँ- यहाँको स्वास्थ्य क्षेत्रको ताल देख्दा म साथीभाइ र परिवारसँग भन्ने गर्छु, 'मसँगै स्कुल पढेका अधिकांश साथीहरू विदेशमा छन्। विदेश नगई यहीँ बसेकोमा मलाई कुनै पछुतो छैन। आफू भाग्यवादमा विश्वास नगर्ने भए पनि एउटा कुरा भने भगवानसँग सधैं प्रार्थना गर्छु, यो देशमा सबै परिस्थिति झेल्ने आँट छ, तर यहाँ बिरामी कहिल्यै हुनु नपरोस्।'
हेर्नुहोस्- ठूलो सुई लिएर आउने चिन्यमान कम्पाउन्डर
अहिले विश्वका विकसित राष्ट्रहरूको अवस्था हेर्दा र अमेरिकाजस्तो देशमा स्थापित कार्डिओलोजिस्ट डाक्टर भइकन आफू कार्यरत संस्थाबाटै स्वास्थ्य सेवाबाट प्रताडित मेरा ती मित्रको अवस्था सम्झँदा मैले पहिले लेखेको पंक्ति दोहोर्याएर पढ्दैछु।
र, सोच्दै छु सायद मेरो पूर्वसोचलाई पुनर्लेखन गर्नुपर्ने भएछ- स्वास्थ्य क्षेत्रमा समस्या हामीकहाँ मात्र होइन रहेछ।
(यहाँ सम्बन्धित व्यक्तिको गोपनीयताका लागि मैले नाम पहिचान उल्लेख गरेको छैन।)
@KiranKrShrestha