ॐ यंव्रम्हावरूणेन्द्ररुद्रमरुत स्तुन्वन्ति दिव्यै
स्तवै–र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं......
अलिअलि अक्षर चिन्न जान्ने भएदेखि यो माथिको हरफ कनिकुथी पढ्न थालियो। संस्कृतका श्लोकहरू राम्रोसँग भन्न नसके पनि पुष्पाञ्जली राखेर स्वस्थानीको पुस्तकमा ढोगिसकेपछिका अध्यायहरू भने खर्रर वाचन गर्न कुनै समस्या हुँदैनथ्यो।
गाउँघरमा एक महिनासम्म स्वस्थानी व्रत लिनेको घरमा कथा सुन्न जानेहरूको लर्को हुन्थ्यो, साँझमा घरको काम सकाएर स्वस्थानीको कथा सुन्न र प्रसाद खानकै लागि भए पनि आमाको पछिपछि लागेर गइन्थ्यो।
कथा वाचन गर्ने दाइ, भाइहरू हुन्थे, सुन्ने आमा, हजुरआमा, भाउजू, दिदी बहिनीमात्र होइन त्यतिकै सख्यामा पुरुषहरू पनि हुन्थे। हामी महिला पुरुष बराबर भएर सुन्थ्यौं। स्वस्थानी व्रतकथाका अध्यायहरू महिलाविरोधी भएको, महिलामाथि हिंसा भएको भन्ने खालको छनक हामी कसैले पाउँदैनथ्यौं सायद धेरै बौद्धिक नभएर पनि होला। इति श्री केदारखण्डे माघमहात्मे... नभनुन्जेलसम्म हात जोडेर एक तमासले सुनिरहन्थ्यौं।
एक अध्याय सकिएपछि प्रसाद खाँदै, भजन गाएर नाचगान गर्दै विदा भइन्थ्यो। स्वस्थानी व्रतकथा भने पनि एक महिनासम्म निकै रमाइलो हुन्थ्यो।
बालापन छोडिएपछि गाउँघर पनि छोडियो, सहरमा अनेक नयाँ कुरा सुन्न र सिक्न पाइयो।
आफूलाई त्यति पवित्र र रमाइलो लाग्ने स्वस्थानी व्रतकथामा अनेकन टिप्पणी सुनिन थाले।
स्वस्थानी व्रतकथासँग अधिकारका कुराहरू जोडिएर आउन थाले। देश धर्म निरपेक्ष भयो, अहिले हरेक व्यक्ति आफूमा स्वतन्त्र छ, जुनसुकै धर्म मानोस् या नमानोस् त्यो उसको व्यक्तिगत कुरा हो। तर अधिकार र स्वतन्त्रता पाएको छु भन्दैमा एउटाको आस्था, सद्भाव र विश्वासमाथि तथानाम गर्न पक्कै पनि पाइँदैन, यो छुट छैन।
हरेक रूढीवादी भनिएका कुरामा केही न केही राम्रो सिक्ने चिज अवश्य छ त्यो विचार पुर्याउनु पर्छ। हो, कतिपय धर्मको नाममा रूढीवादी पनि छन्, महिलामाथि अन्याय भएकै छ यो मान्न सकिन्छ तर त्यसो भन्दैमा त्यसबाट पाठ सिकेर आफू अघि बढ्ने हो न कि त्यसको जरो नै उखेल्ने।
स्वस्थानी व्रतकथा ढोगी हो, यो धर्मशास्त्र होइन, यो कुनै कालखण्डको एउटा कथा हो जुन कथा स्कुल कजेलमा किताबहरूमा पढ्न पाइन्छ भन्ने खालका अभिव्यक्ति महिलाहरूले सार्वजनिक रूपमा दिइनुले कहाँको आधुनिकता झल्किन्छ?
म पनि आधुनिक जमानाकै तपाईंहरू जस्तै पढेलेखेकै महिला हुँ, मैले पनि स्वस्थानीका हरेक अध्याय एक एक गरी अध्ययन गरेकी छु।
स्वस्थानी माता भनिएको छ , माता पक्कै महिला नै होलिन्, स्वस्थानीको व्रत ढोंगी, पुरानो विचार भएका महिलाहरू मात्रै बस्दैनन् शिक्षित सहरीया पुरुषहरू पनि बस्छन्। स्वस्थानी माताको पूजा गर्नुभन्दा पहिले माधवनारायणको पूजा गरिन्छ।
कथामा उल्लेख गरिएका पात्र नभए पनि स्थान काल्पनिक छैन अहिले साक्षात रूपमा देख्न सकिन्छ।
कथाको शब्दलाई लिएर किन हरेक वर्षको एक महिना महिला अधिकार हनन् भएको मात्रै भनिन्छ? किन नकारात्मक तरिकाले मात्रै व्याख्या गरिन्छ ?
सुरूमै स्पष्ट पार्न चाहन्छु, म कुनै महिला अधिकारवादी होइन, कुनै गैरसरकारी संस्थाको तलबभत्ता खाएर गोष्टी सेमिनारमा जनचेतनाको कार्यक्रम सम्प्रेषण गर्ने हैसियतको व्यक्ति पनि होइन, स्वस्थानी व्रतकथाको पूरै गहिराइमा अध्ययन गरेर एकएक अक्षर अक्षर चिरफार गरी विश्लेषण गर्ने क्षमताको बौद्धिक व्यक्ति पनि होइन तर व्रतकथामा लेखिएका अक्षर पढेर त्यसको अर्थ लगाउन सक्ने मात्रै हैसियत राख्ने हिन्दु सम्प्रदायमा जन्मिएको एक साधारण नागरिक हुँ।
आफू जुन समुदायमा जन्मिएर हुर्किएर आजको यो अवस्थासम्म हेर्न पाइएको छ त्यही सम्प्रदायको महत्वपूर्ण पर्व मध्येको एक महिने स्वस्थानी व्रतकथाको एकपक्षीय हिसाबले विरोध भएकोले मात्र असह्य भएर लेख्ने कोशिस गर्दैछु।
स्वस्थानी व्रतकथा कुनै धर्मशास्त्र होइन भनेर समाजका अगुवा मानिएका महिलाहरूले भन्नुभयो, यो धर्मशास्त्र हो वा होइन? स्कुलमा पढाइने काल्पनिक कथा जस्तै हो भन्ने तपाईंहरूसँग त्यसको आधार पनि त छ होला? त्यो पनि खुलस्त पारिदिएको भए म जस्ता पूरा ज्ञान नभएकाहरूको लागि राहत हुन्थ्यो।
मेरी हजुरआमा ‘ढोंगी’, पुरानो सोचकी भएकोले आमा त्यस्तै सोचको हुनुभयो, आमाको केही प्रभाव ममा पनि छ जतिसुकै आधुनिक बन्न खोज्दा पनि सम्भव भएन।
जस्तो रात परेपछि घरमा कुचो लगाउनु हुँदैन, रातिमा भान्सामा जुठा भाँडा राख्नु हुँदैन, अमखोरामा पानी भरी नपारी राख्नु हुँदैन, बिहान साँझ घरमा पूजाको दीयो बाल्नुपर्छ, घरमा कोही माग्न आए भने एकमुठ्ठी भए पनि दान दिनुपर्छ रित्तो पठाउनु हुँदैन, घरमा आएका पाहुनालाई पानीमात्रै भए पनि खुवाएर पठाउनुपर्छ।
दूध तताएको बेलामा बढार्नु हुँदैन, रातिमा नङ काट्नु हुँदैन, कुनै कुरा एक हातले मात्रै थाप्नु हुँदैन, एक हातले मात्रै कसैलाई केही दिनु हुँदैन, पानीको गाग्री बोकेपछि बाटोमा बिसाएर घरसम्म पुर्याउनु हुँदैन, घाँटीमा हात लागेपछि फु फु गर्नुपर्छ, हिक्कहिक्क बाडुली लागेपछि ऊमाथि छन् फुफूसासू भन्दै हेर्नुपर्छ।
बच्चा तर्सेर रोए भने ढोकाको संघारमा राखेर पानी छ्याप्दै सातो आइजा भन्नुपर्छ, खानेकुरा पकाइसकेपछि देवता पितृलाई चढाएर मात्रै खानुपर्छ, बच्चालाई बाहिर हिडाउँदा कालो टीका लगाइदिनुपर्छ, साइतमा दही खानुपर्छ, भरी गाग्री पानी देख्दा साइत पर्छ, बिरालोले बाटो काट्यो भने एकैछिन रोकिनुपर्छ...., घरका ठूला मान्छेलाई खुवाएपछि आफूले खानुपर्छ, खानेकुरा पकाउँदा चाख्दै पकाउँदै गर्नुहुँदैन।
यस्ता धेरै कुरा मैले सिकेकी छु, जतिसुकै आधुनिक बन्न खोजे पनि यी कुरा मानसपटलमा बसिसके हटाउन सक्दिनँ भलै कतिपय तर्कसंगत होलान् कतिपय पुरातन सोचका उपज होलान्।
जे भए पनि आमा, हजुरआमाले बनाएका यी नियमहरूमा केही न केही तर्क अवश्य होलान् नि होइन र?
कथाका हरफमा हेपिएकोमा भन्दा व्यवहारमा हेपिएकोप्रति आवाज उठाऊँ न। हामीले स्कुलमा पढेका कथामा किसानलाई हिलोमा मैलो लुगा लगाएर हलो समाएको देखाइन्छ यसो भन्दैमा कृषकले कृषि पेशा त्याग्न मिल्दैन, हलो जोत्दा सुटबुटमा कोही खेतमा पस्दैन भनेर सकारात्मक तरिकाले बुझ्न सकिँदैन र?
परापूर्वकालको तत्कालीन अवस्थालाई आधार मानेर तयार गरिएको स्वस्थानी व्रतकथा अहिलेको २१ औं शताब्दीका महिलाको अधिकार सम्झेर पक्कै लेखिएको थिएन यो कुरा त तपाईंहरू जतिको प्रबुद्ध व्यक्तिहरूलाई जानकारी हुनुपर्ने हो, कथाका पात्र सम्झेर रोइलो काड्नुको कति महत्व होला र?
हामी लोकतान्त्रिक शासन व्यवस्था भएको गणतन्त्र आइसकेको देशका बासिन्दा हौं। महिला अधिकार र समानताका विषयहरूले यो जमानामा त पूर्णता पाउन सकेका छैनन् भने त्यो बेलामा महिलामाथि अत्याचार भयो, हिंसा भयो भनेर अहिले सतोसराप गर्नु कतिको उचित होला?
हिजो मेरा हजुरआमा, जिजु हजुरआमाले बनाएको रितिथिति मेरा आमालाई पिरोल्ने खालको थियो होला,त्यसो भन्दैमा मेरा हजुरआमाहरू सामान्ती हुन्, शोषक हुन्, महिला हिंसा गर्ने अपराधी हुन् भनेर उनीहरूको अस्तित्वनै सिध्याउने कि उनीहरूबाट राम्रा कुरा सिकेर आफ्नो व्यवहारमा लागू गराउने?
स्वस्थानीको पुस्तकका हरेक अध्यायहरूमा महिला हिंसाका घटनाहरू मात्र छन् कि केही चेतनाका कुराहरू पनि राखिएको छ त्यो पनि विचार गर्दा उपयुक्त हुन्थ्यो होला। सात वर्षकी बालिकाको सत्तरी वर्षको वृद्धसँग बिहे गरिदिएको प्रसंग साँच्चिकै बाल विवाह र अनमेल विवाहको तत्कालीन परिवेशको उदाहरण हो।
पुस्तकमा वर्णित कथा तत्कालीन समयको घटना हो। अहिलेको जमानामा त यस्ता घटना समाजमा गुपचुपमा भइरहेका छन्। अहिले पनि वालविवाह रोकिएको छैन, अनमेल विवाह गर्ने क्रम रोकिएको छैन भने त्यो बेलाको घटनालाई कति उचालिरहने? कम्तीमा आफ्ना साना कलिला छोरीको वृद्धसँग विवाह गर्दिनु हुँदैन, गोमा ब्राह्मणीले कति सास्ती पाइन् भन्ने कुरा आजको पुस्तालाई सिकाउने माध्यम पनि त हो त्यो।
त्यो समयमा यस्तो प्रचलन थियो भनेर भावी पुस्तालाई समेत जानकारी गराउने माध्यमको रूपमा अनुशरण गर्ने कि शिव शर्मा ब्राह्मणलाई वालविवाह गरेको आरोपमा किन मुद्दा चलाइएन भनेर अहिले बहस गर्ने?
अर्को कुरा जालन्धरकी पत्नीको सतित्व विष्णु भगवनाले हरण गरेकोमा महिलाहरूमाथि घोर अत्यार भएको तपाईंहरूको ठहर रहेछ।
हो आफ्ना पतिको रूप धारण गरेर आएका विष्णुले पतिव्रता जालन्धरकी श्रीमतीको सतित्व हरण गरे, आफ्नो इमान र इज्जतमा कपटपूर्ण तरिकाले छल गरेकोमा असह्य पीडाले रन्थनिएकी जालन्धरकी पत्नीले श्राप दिँदा विष्णु भगवानले कुन कुन रूप लिएर जन्म लिनुपर्यो त्यो पनि थाहा पाउनु भएकै होला नि।
जालन्धर शिवको रूप धारण गरेर पार्वतीलाई छल गर्न जाँदा पार्वतीले देख्नासाथ बेहोस भएर ढलेको कुरा पनि त उल्लेख गरिएको छ यो कुरामा तपाईंहरूले ध्यान दिनु भएकै होला।
स्वस्थानीको कथा भनिएको छ तर केबल महादेवको मात्र पूजा गरिन्छ महिलामाथि अन्याय भएको कुरा जहाँसम्म छ स्वस्थानी परमेश्वरी भनेपछि पक्कै पनि महिला नै हुन् उनलाई देवी, माताको रूपमा लिइएको छ। ब्रह्मा, विष्णु र महेश्वरभन्दा पनि उच्च स्थानमा स्वस्थानी मातालाई राखिएको छ।
सबै भगवानहरूले स्वस्थानी माताकै आराधना गरेको, गर्न सिकाएको कुरा पनि त उल्लेख गरिएको छ।
महिला शोषणमा मात्र परेको कुरा छैन अहंकारी महिलाले आफ्नो सक्कली रूप देखाउँदा चन्द्रावतीले भोगेको सास्ती पनि त यादगर नै छ होला।
पूजाको प्रसादलाई आफू रानी भएको उन्मादमा मिल्काउँदा कस्तो अवस्था भोग्नु पर्यो त्यो पनि एउटा गतिलो पाठ हो।
गोमाले पहिले सास्ती खेपे पनि पछि उनका छोरा बुहारीलाई राजकाजको जिम्मा दिएर आफू संरक्षकको रूपमा बसेको घटनाले उहिलेको कालखण्डमा युवालाई शासन हस्तान्तरण गर्ने प्रचलन रहेछ बरु अहिले हराएको छ भन्ने पाठ सिक्न सकिँदैन र? महिला मात्र पीडित भएको कुरा सुन्दा सतीदेवीको निधनमा महादेवले भोगेको सास्ती यहाँहरूले कस्तो याद गर्नु नै भएनछ।
आफ्नी अर्धागिनीको त्यो अविगत हुँदा पागल जस्तै बनेका महादेव आफू कहाँ पुगे, के गरे भन्नेसम्मको हेक्का नराख्नुले उनी पनि त पत्नीव्रता पुरूष रहेछन् भन्ने कुरा देखाउँदैन र?
स्कुलमा पढाउने काल्पनिक कथा भन्ने तपाईंहरूलाई प्रश्न छ, कथामा उल्लेख गरिएको शालीनदी कथा भएर साक्षात रूपमा अहिले किन देखिएको छ त? त्यहाँको महत्व र गरिमा नभएको भए पक्कै पनि कथामा उल्लेख गरिँदैन्थ्यो यस्ता कुराहरूलाई पनि नाटकको संज्ञा दिनेहरू देखेर दया लाग्छ।
भोलि कति बेद, उपनिषद, पुराणका अंशहरू तपाईहरूलाई मन नपर्ला, महिला विरोधी होलान्, तिनिहरूलाई पनि काल्पनिक स्कुल कलेजका पुस्तकका कथा भन्नु हुन्छ?
आजको जमानामा श्रीमानको भक्ति नगर्ने महिलालाई विभिन्न रूप धारण गर्ने कथा सुनाइन्छ भनेर तपाईहरूलाई अपमान भएछ। त्यो बेलामा त्यतिको नियम लगाइन्थ्यो र अहिलेको जस्तो छाडापन थिएन कम्तीमा।
श्रीमानलाई खान नदिइ एक्लै खाएमा के हुने, श्रीमानलाई टेढो आँखाले हेर्दा के हुने सिकाएको छ त्यो भन्नुको अर्थ कम्तीमा त्यसो नगर भन्ने पनि होला नि!
श्रीमानश्रीमतीको सम्बन्ध भत्किने बाटोमा नजाओस्, आपसमा सौहार्दता होस् भन्ने हो सकारात्मक हिसाबले बुझ्दा।
हामीले यसरी बुझेर अरूलाई बुझाउँदा हुँदैन र? महिलाले हेर्दा टेढो हुने भए पुरूषले हेर्दा किन टेढो हुँदैन? महिलालाई किन यस्तो नियम बनाइयो भन्ने अधिकारकर्मी सचेत नारीहरूको गुनासो रहेछ, यो अधिकार र समानताका कुरा गणतन्त्र, लोकतन्त्र आएपछि आएका त्यो बेलामा गणतन्त्र आएको थिएन अर्थात् कथा गणतन्त्र आएपछिका अधिकारवादी महिलाले लेखेका होइनन्।
अहिलेको गणतान्त्रिक जमानामा योग्य, सक्षम शिवमाया तुम्बाहाङ्फेजस्ता महिला महिला भएकै कारण पितृसत्ताको चेपुवामा कसरी पर्छन् भन्ने कुरा ताजै छ।
एउटा छोरी भए पुग्छ भन्दै बडो अधिकार र समानताका कुरा गर्ने अधिकारकर्मीहरू छोरीले १० कक्षा पढिसक्दा छोरो जन्माएको आफ्नै आँखाले देखिएको छ।
आफू सच्चिन नसक्ने, अरूको अधिकारको ठेक्कै लिएजसरी भाषण गर्ने, आवाज उठाउने तर व्यवहारमा भने मेरी हजुरआमाले आधा दर्जन छोरी पछि छोरा जन्माउनु र तपाईहरूले पन्ध्र सोह्र वर्षपछि छोरा जन्माउनु समान भएन र?
प्रसाद खाने कुरामा धेरै चित दुखाइ रहेछ, तपाईंहरू आफूलाई अगुवा भन्नेहरूले छातीमा हात राखेर भन्नुस् न तपाईंले आफ्ना छोरा र छोरीमा कतिको बराबरी व्यवहार गर्नुहुन्छ?
एउटा छोरा जन्माउनको लागि पटक/पटक छोरीको हत्या गर्ने आधुनिक महिलाको त छोराप्रतिको भक्तिभाव अहिलेको जमानामा कमी आएको देखिँदैन भने त्यो बेलामा छोरालाई प्रसाद दिनु भनिएकोमा केही अनौठो लाग्दैन मलाई।
महिलाको सबभन्दा नजिकको श्रीमान् हो, श्रीमान् नभएमा छोरालाई, छोरा नभएमा मित छोरालाई त्यो पनि नभएमा गंगामा बगाइदिनु भनिएको छ।
गोमाले व्रत गरिन् उनको हराएको छोरासँग भेट भयो, उनका श्रीमान मरिसकेका थिए, छोरी थिइनन्, त्यो प्रसाद पक्कै उनका छोराले पाउँछन्। यसमा के अन्याय गरिएको छ र ?
अन्त्यमा गंगामा बगाइदिनु भनेकोमा केही सम्झौं त, गंगा भनेकी पनि त स्त्री कै रूप हुन् नि!
अहिले त छोरा र छोरीमा यस्तो विभेद गरिन्छ भने त्यो बेलाको घटनालाई तोडमोड नगरौं, आफू सकारात्मक तरिकाले सुध्रिने कोशिस गरौं।
तपाइहरूलाई पढ्न मन लाग्दैन भने नपढ्ने छुट छ तर पुस्तक मात्र घरमा राख्दा पनि पवित्र भइन्छ रे भन्ने आस्थाले पढ्न नजानेपछि पुस्तकमा फूल चढाएर ढोगेर आनन्द लिनेहरूप्रति क्षण हान्ने, ढोंगी भन्ने काम नगर्नुस्।
चिसो पानीले मुखसम्म धुन धौधौ हुने पुस माघको चिसो ठन्डीमा त्यत्रो त्याग गरेर व्रतालु शालीनदीमा पूजापाठ गर्छन्, उसो भए उनीहरू सबै बेकामे, ढोंगी र पुरातन सोचका मात्रै हुन्?
महिला मात्रै होइनन्, पुरूषहरू पनि उतिकै व्रत बस्छन्। के ती सबै गवाँर हुन् त? आफू सचेत बनौं, अर्काको आस्थामा खलल पुर्याउने हर्कत पनि नगरौं।
पुस्तकका अंश परिमार्जन गर्नुपर्ने तपाईंहरूका तर्क आफ्ना ठाउँमा होला तर परिमार्जन तपाईंहरूकै हातबाट होस् कस्तो स्वरूपमा ल्याउनुहुँदो रहेछ हेरौं आधुनिक स्वस्थानी व्रतकथाका अध्यायहरू ।
आगामी दिनमा स्वस्थानी व्रतकथाको पुस्तकमा पढ्न पाइयोस् महिलाले हिंसा नसहेका, शोषणमा नपरेका अनि छोरीलाई प्रसाद खान दिएका र पत्नीव्रता पतिका कथाहरू ...र आधुनिक शिक्षित महिलाले जय जयकार गरेका हरफहरू...।
हरेक वर्षको एक महिना निकै चर्चा हुन्छ, अनि एघार महिना सेलाउँछ त्यसैले भन्न मन लाग्छ स्कन्ध पुराणे केदार खण्डे पुस र माघमा विरोध माहात्मे