आर्काइभदुई वर्षअघि युथ–१९ विश्व कप छनोटका लागि काठमाडौंको यात्रा तय गर्दा १४ वर्षीय सन्दीप लामिछानेको मनमा अनगिन्ति प्रश्न थिए। कम उमेर भएको कारणले गर्दा होला, उनी त्यतिबेला आफ्नो क्रिकेट भविष्यलाई लिएर खासै चिन्तित देखिदैन्थे। तर, विश्व कप टोलीको सदस्य बन्ने हुटहुटी उनको अनुहारमा प्रष्ट महसुस गर्न सकिन्थ्यो।
सन् २०१६ को युथ विश्व कपका लागि मलेसियामा आयोजना हुने छनोट प्रतियोगिताका लागि काठमाडौंमा क्लोज क्याम्प जारी थियो। उनी यसैका लागि काठमाडौं आएका थिए। करिब एक महिना लामो अभ्यासका क्रममा उनले टिममा पर्न निकै मेहनत गरे। आफ्नो लेग ब्रेक स्पिनको जादू सबैलाई देखाए।
तर, युवा टोलीको समिकरण तयार गर्दा उनी टिममा अटाउन सकेनन्। देब्रे हाते स्पिनरको विकल्पको रुपमा ललित राजवंशी टिममा छनोट भए। सन्दीपले विश्व कप खेल्ने सपना हापे।
तर नेपाली उखान छ नी, मेहनत गर्नेको दुध डोकामा पनि अडिन्छ रे! यो उखान धेरै अर्थमा सन्दीपको कहानीसँग मेल खान्छ।
मलेसियामा नेपाल विश्व कपका लागि छनोट भयो र तयारीका लागि टिम पुनः काठमाडौं फर्किने भयो। सन्दीप छनोट टोलीमा अटाउन नसके पनि १८ सदस्यीय युथ टोलीमा समावेश थिए। त्यसैले विश्व कपको तयारीका लागि पुनः क्लोज क्याम्प राख्नु पर्दा उनलाई पनि समावेश गरियो।
यतिबेला पुनः पाएको मौका खेर फ्याँक्ने पक्षमा थिएनन्, सन्दीप। डेढ महिना लामो क्लोज क्याम्पको क्रममा उनले आफ्नो बलिङको ‘भेरिएसन’ ले मात्र होइन, ‘सटिक लाइन’ मा बल फ्याँकेर प्रशिक्षकलगायत कोचिङ स्टाफलाई चकित तुल्याए।
एक महिनाभित्र उनको बलिङमा आएको सुधार वास्तवमै लोभलाग्दो थियो। उनी एकै ओभरमा तीन वटा भेराइटी लेकब्रेक, गुगली र फ्लिपर फ्याँक्थे। फेरि विश्व कप क्रिकेट बंगलादेशमा आयोजना हुँदैथियो।
उनको बलिङमा आएको सुधार र बंगलादेशमा स्पिनलाई मद्धत गर्ने पीचको पूर्वानुमान गरेका प्रशिक्षक जगत टमाटाले यतिबेला कुनै गल्ती गरेनन्। उनी सन्दीपलाई प्लेइङ सेटमा राखेर बंगलादेशतर्फ उडे।
बंगलादेशमा नेपालको प्रदर्शन उत्कृष्ट रहयो। विश्वका १० टेस्ट राष्ट्रका बीच नेपाल सुपर लिगमा प्रवेश गर्यो। नेपाललाई सुपर लिगमा प्रवेश गराउन सन्दीपको भूमिका प्रमुख बन्यो। यद्यपी नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै क्वाटरफाइनलभन्दा माथि उक्लिन सकेन्। तर, १५ वर्षीय सन्दीपले युथ विश्व कपमा १५ विकेट लिँदै क्रिकेटका हस्ती राष्ट्रलाई पनि अचम्मित पारे। उनी २०१६ को युवा विश्व कपमा सर्वाधिक विकेट लिने सूचीमा दोस्रो नम्बरमा थिए। उनको उत्कृष्ट खेलका कारण नन–टेस्ट राष्ट्र हुँदा हुँदै पनि नेपाल युथ वरियतामा आठौं स्थानमा उक्लिएको थियो।
युथ विश्व कपमा उनको त्यही प्रदर्शनको आधारमा हङकङले उनलाई आफ्नो देशमा क्लब क्रिकेट खेल्न निम्तो दियो। जुन निम्तोलाई स्विकारेर गत वर्ष कोलुन कान्टुन्सबाट टि–२० क्रिकेट खेलेका सन्दीपको हङकङमै अस्ट्रेलियाका पूर्व टेस्ट कप्तान माइकल क्लार्कसँग भेट भएको थियो। क्लार्क पनि सक्रिय क्रिकेटबाट सन्यास लिएपछि हङकङको यही प्रतियोगितामा सहभागी हुन गएका थिए।
हङकङमा क्लार्कसँग जुरेको यही भेट सन्दीपको खेल जीवनलाई सुखद मोडतर्फ डोर्याउन पर्याप्त बन्यो। उनको बलिङबाट प्रभावित क्लार्कले २०१६ को सेप्टेम्बरमा सन्दीपलाई अस्ट्रेलियाको सिड्नीमा रहेको आफ्नो क्लब वेस्टर्न सबर्बर्स डिस्ट्रिक क्लबबाट खेल्न निम्तो पठाए। यसपछि सन्दीपको चर्चा विश्वव्यापी बन्न पुग्यो। उनलाई विदेशी मिडियाले विश्वको प्रभावशाली युवा खेलाडीको पंक्तिमा राखे।
क्लार्कसँग अभ्यास गरेर फर्किएपछि उनको खेलमा अझ बढि परिपक्वता आएको राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा बताउँछन्। उनलाई गत वर्ष नामिबियाविरुद्ध काठमाडौमा आयोजना भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा राष्ट्रिय टोलीमा स्थान दिइएको थियो।
‘उसमा बलिङको प्रतिभा त छदैछ। यसबाहेक पनि ऊ सबैभन्दा छिटो ब्याट्सम्यानको खेल्ने शैलीलाई पढ्न सक्छ। जसले गर्दा ऊ प्रभावशाली ढंगले बलिङ गर्छ, ’ प्रशिक्षक टमाटा भन्छन्।
नेपालमा छनोट प्रतियोगितामा समावेश नभई युथ–१९ विश्व कप खेल्ने सौभाग्य कुनै खेलाडीलाई प्राप्त छैन्। यसमा सन्दीप अपवाद हुन्, जो विश्व कप खेलेर छनोट खेल खेल्दैछन्।
हाल सिङ्गापुरमा भइरहेको एसिसी युथ–१९ विश्व कप छनोटमा उनी नेपाली टोलीको कप्तान हुन्। उनले प्रतियोगिताको अन्तिम तथा निर्णायक खेल अफगानिस्तानविरुद्ध मंगलबार खेल्नुअघि नेपाली युवा क्रिकेटमा नयाँ र अनौठौ कीर्तिमान बनाइसकेका छन्।
मलेसियाविरुद्ध सोमबार ७ विकेट लिएका सन्दीप एउटै प्रतियोगिताको ३ वटा इनिङमा ५ वा ५ भन्दा बढि विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।
सन्दीपले युथ–१९ छनोटमा मलेसियाविरुद्ध पहिलो खेलमा ५, सिङ्गापुरविरुद्ध पहिलो खेलमा ५ र मलेसियाविरुद्ध दोस्रो खेलमा ७ विकेट लिएका थिए। युथ–१९ विश्व कप छनोटमा उनी राहुल विश्वकर्मा (८÷१५) र अविनाश कर्ण (८÷२४) पछि एउटै इनिङमा सर्वाधिक विकेट लिने तेस्रो युवा खेलाडी बन्न पुगेका छन्। राहुलले २०११ को विश्व कप छनोटमा थाइल्यान्डविरुद्ध ६ दशमलव ५ ओभरमा १५ रन खर्चेर ८ विकेट लिएका थिए। यस्तै, अविनाशले २०१३ मा बहराइनविरुद्ध मलेसियामा ८ ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ८ विकेट लिएका थिए। सन्दीपले मलेसियाविरुद्ध दोस्रो खेलमा ९ दशमलव १ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ७ विकेट लिएका थिए।
सन्दीपले छनोटको ५ खेलमा २३ विकेट लिइसकेका छन्। उनी छनोटको एउटै प्रतियोगितामा सर्वाधिक २४ विकेट लिने अविनाश कर्णको कीर्तिमानलाई बराबरी गर्न एक विकेटले पछाडि छन्।
विश्व कप छनोटमा सन्दीप उत्कृष्ट लयमा देखिन्छन्। त्यसैले अफगानिस्तानविरुद्धको महत्वपूर्ण खेलमा उनले अविनाशको कीर्तिमानलाई बराबरी मात्र होइन, भंग गर्ने आशा पनि गर्न सकिन्छ।
मंगलबारको खेल नेपालको लागि अति महत्वपूर्ण छ। यही खेलबाट नेपालको आगामी विश्व कप छनोटको बाटो तय हुनेछ। अफगानिस्तानसँग पहिलो खेल हारिसकेको अवस्थामा नेपाललाई दोस्रो खेल जसरी पनि जित्नै पर्ने बाध्यता छ।
यसका लागि सन्दीपको जादूमय बलिङको निरन्तरता मात्र होइन, नेपाली ब्याट्सम्यानको ब्याटको आवाज पनि जरुरी छ। जुन आवाज यसपालिको छनोटमा सुन्न पाइएको छैन्।