नेपाली कप्तान सन्दीप लामिछानेले युथ–१९ विश्व कप छनोटअन्तर्गत एसियाली क्षेत्रको प्रतियोगितामा तीन खेलमा ३ पल्ट ५ भन्दा बढी विकेट लिने इतिहास रचेका छन्।
उनले हाल मलेसियाविरुद्ध भइरहेको खेलमा नइम नाज्लेको विकेट लिँदै प्रतियोगितामा तेस्रो पल्ट ५ विकेट लिने इतिहास रचे। यसअघि उनले मलेसिया र सिङ्गापुरविरुद्ध पहिलो चरणको छनोटमा पनि ५–५ विकेट लिएका थिए। दोस्रो चरणको खेलमा सिङ्गापुरविरुद्ध ४ विकेट मात्र लिएपछि उनी तीन पल्ट ५ विकेट लिने कीर्तिमानबाट चुकेका थिए।
सन्दीपले यो प्रतियोगितामा २१ विकेट लिइसकेका छन्। उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा छन्। उनको घातक बलिङका कारण मलेसियाले ३२ दशमलव २ ओभरमा ८७ रन बनाएर ८ विकेट गुमाइसकेको छ।