एसियाली युथ तथा जुनियर भारत्तोलन च्याम्पियनसिपको भब्य उद्घाटन आइतबार नेपालमा भएको छ।
ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले एसियाली युथ तथा जुनियर भारत्तोलनको उद्घाटन गरे।
२७ राष्ट्रका १ सय ४८ पुरुष तथा १७ राष्ट्रबाट ९३ महिला खेलाडी सहभागी यो प्रतियोगिताको खेलहरु सोमबारदेखि सुरु हुनेछ। नेपालबाट ९ पुरुष र ४ महिला गरी १३ खेलाडी सहभागी छन्।
प्रतियोगितामा सबैभन्दा बढी चाइनिज ताइपेइबाट समान १४–१४ पुरुष÷महिला गरी २८ खेलाडी सहभागी छन्। टिमोरले सबैभन्दा कम १ खेलाडी मात्र सहभागी गराएको छ।
युथ र जुनियरको पुरुष÷महिलामा समान ८–८ गरी जम्मा ३२ तौल समूहमा प्रतिस्पर्धा साउन १३ गतेसम्म चल्नेछ। प्रतियोगिताअन्तर्गत युथ १९ औं, जुनियर महिला २४ औं र जुनियर पुरुष ३१ औं संस्करण हो।