राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका प्रभावशाली नेता हृदयेश त्रिपाठीले राजपा अध्यक्षमण्डल अहिले धर्मसंकटमा परेको बताएका छन्।
बिहीबार सेतोपाटीसँग कुराकानी गर्दै त्रिपाठीले राजपा अध्यक्षमण्डलको अकर्मण्यताले सिंगो पार्टी नै गोलचक्करमा फसेको बताए।
‘पार्टीको संगठनात्मक काम पनि सही ढंगले अघि बढ्न सकेन। निर्वाचन आयोगमा दर्ता पनि ढिलो गरी मात्रै भयो,’ उनले भने,‘न त निर्वाचन बहिष्कार सशक्त रूपमा हुन सक्यो न त पार्टीले निर्वाचनमा भाग नै लियो।’
असोज २ को निर्वाचन वास्तविक अग्निपरीक्षानेता त्रिपाठीले असोज २ गते हुने तेस्रो चरणको निर्वाचन नै राजपाका नेताका लागि वास्तविक परीक्षा भएको बताए। अरु प्रदेशमा पार्टीले निर्वाचन बहिष्कारको नीति लिएकाले अबको निर्वाचनमा के गर्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्षमण्डलमा रहेको उनले बताए।
‘संविधान संशोधन हुने सम्भावना न्यून छ। स्थानीय तहको संख्यामा पनि अन्य प्रदेशभन्दा दुई नम्बरमा जनसंख्यालाई बढी आधार मानिएको छ,’ उनले भने, ‘झुठा मुद्दा फिर्ता, मारिएकालाई सहिद घोषणा, घाइते र अपांगलाई सुविधा दिने केही कुरामा चित्त बुझाएर २ नम्बर प्रदेशमा निर्वाचनमा जाने निर्णय हुन्छ कि भन्ने छ।’
संविधान संशोधन नभई निर्वाचनमा जान हुन्न भनेर उपदेश दिने नेताहरूले आफ्नो प्रदेशमा के गर्छन् भन्ने कुरा चासोको विषय रहेको उनले बताए।
‘हामीलाई त संविधान संशोधन नभइकन र जनसंख्याको अनुपातमा स्थानीय तहको गठन नभएसम्म निर्वाचनमा भाग लिन हुन्न भनेर उपदेश दिनुभएको थियो’,उनले भने, ‘अध्यक्षमण्डलको उपदेश १, ५ र ७ नम्बर प्रदेशमा पालना भयो। अब अध्यक्षमण्डलका सदस्य बासिन्दा रहेको प्रदेशमा के हुन्छ हेर्न बाँकी छ।’
अध्यक्षमण्डलका सदस्यहरू दुई नम्बर प्रदेश निवासी भएकोले उहाँहरुलाई धर्मसंकटमा परेको उनले बताए। अध्यक्षमण्डलको धर्मसंकट अहिले पार्टीको धर्मसंकट परेको उनले बताए।
दुई नम्बर प्रदेशलाई काखा अरुलाई पाखाअध्यक्षमण्डल सदस्यहरूले सबै दुई नम्बर प्रदेशका भएकोले अन्य प्रदेशबारे चिन्ता गरेको नपाइएको उनले बताए।
‘एक, पाँच र सात नम्बर प्रदेशमा पार्टीले निर्वाचन बहिष्कार गर्यो त्यसको लागि के प्रक्रिया अपनाउने भन्नेमा पार्टीमा कुनै छलफल भएको छैन,’ उनले भने,‘दुई नम्बर प्रदेशको निर्वाचन नजिकिँदै जाँदा पार्टी पनि दर्ता पनि भएको छ। एउटै पार्टीले तराई मधेसका ठाउँमा व्यवहार गर्दा समान व्यवहार भएन। भेदभावपूर्ण व्यवहार भयो दोहोरो चरित्र देखियो।’
नवलपरासीदेखि बर्दियासम्मका कार्यकर्ता भेला गराएर केन्द्रीय समितिको बैठक बोलाउन समेत माग गरिएको त्रिपाठीले बताए।
‘हामीले अहिलेसम्मको परिस्थितिको विषयमा छलफल गरियोस् भनेर भनेका छौं,’ उनले भने,‘पार्टीले निर्वाचन आयोगमा दर्ता गराएको घोषणापत्र, विधान समेत जसलाई केन्द्रीय कार्यसमितिले अनुमोदन समेत गरेको छैन। यसलाई बहस गरेर अघि बढाइयोस् भनेका छौं।’
मधेस आन्दोलन पुनःसंगठित हुन जरुरी छनेता त्रिपाठीले मधेस आन्दोलन पुनः संगठित र पुनः धु्रवीकृत हुन जरुरी रहेको बताए। ‘मधेसवादी राजनीतिक नेतृत्व अब यो आन्दोलनलाई उठाउन सक्ने अवस्थामा छैनन् भन्ने मेरो निष्कर्ष हो,’ उनले भने ‘अहिले नै केही भविष्यवाणी गर्न त सकिन्न। तर यो नेतृत्व आफ्नो इज्जत बचाउनमात्र लागिरहेको छ।’
मधेस आन्दोलन प्रभावहीन जस्तो देखिए पनि मधेसका एजेण्डालाई सबैले स्वीकारेको उनले दाबी गरे।
‘हाम्रो एजेण्डा बलियो छ र स्थापित पनि भइसकेको छ। स्थायी सत्तासँग मधेसको आमनेसामने मुठभेड सुरु भइसकेको छ,’ उनले भने, ‘मधेसी र थारूसँग मात्रै स्थायी सत्ताको स्वरूप बदल्न सक्ने तागत छ। अरु कोहीसँग पनि यो तागत छैन।’
असोज २ को निर्वाचनपछि राजपाको भूमिका स्पष्ट हुने उनले बताए।
‘निर्वाचनपछि राजपा सशक्त पार्टीको रूपमा अगाडि बढ्ने हो कि एउटा मण्डलीको रूपमा बढ्ने हो निर्धारण हुन्छ,’ उनले भने, ‘अहिलेसम्मको गतिविधिले राजपा अध्यक्षमण्डलले आन्दोलनलाई सहि गति दिन सक्ने संकेत देखिएको छैन।’