अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएपछि पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षलाई उद्धार तथा राहतमा जुट्न अपिल गरेका छन्।
शनिबार एक सन्देश जारी गर्दै प्रचण्डले माओवादी केन्द्रका सबै तहका नेता, कार्यकर्ता, विपद व्यवस्थापन विभाग, स्वयंसेवक समूह र भ्रातृ–संगठनलाई उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिएका हुन्।
अविरल वर्षाका कारण प्रमुख राजमार्गहरू अवरूद्ध भई हजारौं यात्रु बाटोमै अलपत्र परेको उल्लेख गर्दै उनले खान, बस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय तहका जिम्मेवार निकायहरू र आम नागरिकसँग पनि सहयोगको आग्रह गरेका छन्।
'मुलुकले सामना गरिरहेको यो विशेष विपद परिस्थितिमा संघ, प्रदेश र स्थानीय सरकारहरूले युद्धस्तरमा समन्वय र नेतृत्व गर्नुपर्छ,' उनले भनेका छन्।
उनले सबै राजनीतिक दल, सामाजिक संस्था र नागरिक समाजलाई आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार तथा राहतका कार्यमा जुट्न पनि अपिल गरेका छन्।