भारतीय राज्य पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले नरेन्द्र मोदीको सरकारले छिमेकीसँगको सम्बन्ध बिगारेको बताएकी छन्।
सोमबार भारतीय राष्ट्रपतिका लागि मतदान गरिसकेपछि संवाददाताहरुसँग कुरा गर्दै बेनर्जीले मोदी सरकारको कुटनीतिक असफलताका कारण छिमेकीहरु नेपाल, भुटान, चीन र बंगलादेशसँग भारतको सम्बन्ध बिग्रिएको बताइन्।
‘त्यो कुटनीतिक असफलताको मार पश्चिम बंगला खेप्नु परेको छ,’ बेनर्जीले भनिन्, ‘पश्चिम बंगाल त स्यान्डविच जस्तो बनेको छ। बंगलादेश, भुटान र नेपालको त यो गेटवे नै हो।’
पछिल्लो समय भुटान र चीनको दोक्लममा भारतीय सेना र चिनियाँ सैनिक आमनेसामने भएका बेला बेनर्जीले केन्द्र सरकारलाई यस्तो आरोप लगाएकी हुन्।
‘यदि चीन दार्जिलिङसँग धेरै समानता भएको सिक्किममा आयो भने त्यो केन्द्र सरकारको असफलता हुनेछन्’, बेनर्जीले भनिन्।
उनले भारतीय सरकारी संस्थाहरु आइबी, एसएसबी, र र एनआइएले पनि आफ्नो काम राम्रोसँग नगरेको जिकिर गरिन्।
पछिल्लो समय पश्चिम बंगालको दार्जिलिङ जिल्लामा गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि केन्द्र सरकारले त्यसको समाधानमा सहयोग नगरेको भन्दै बेनर्जीले सार्वजनिक असन्तुष्टि ब्यक्त गरिरहेकी छन्।