काठमाडौंपछि पोखरामा पनि ‘नो हर्न’ क्षेत्रको घोषणा भएको छ। पोखरा लेखनाथ महानगरपालिका र जिल्ला ट्राफिक कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरलाई नो हर्न क्षेत्र घोषणा गरिको हो।
अब, आकस्मिकबाहेक अन्य अवस्थामा हर्न बजाउन पाइने छैन।
नो हर्न क्षेत्रको घोषणा गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले सहरलाई ध्वनि प्रदुषणमुक्त गर्ने अभियानका साथ नो हर्न क्षेत्र घोषणा भएको बताए । उनले पोखरालाई शान्त र सुन्दर बनाइराख्न ध्वनि प्रदुषण गर्ने अन्य सबै कारणलाई पनि विस्तारै हटाउँदै जाने बताए।
पोखरा लेखनाथ महानगरपालिकामा दैनिक सानाठूला गरी करिब १ लाख ५० हजार सवारी साधन गुड्ने गरेका छन्। सबै सवारी साधनले हर्न बजाउँदा पोखरामा ध्वनि प्रदुषण हुँदै आएको थियो। ट्राफिक प्रहरीले महानगरका १ सय १९ स्थानमा ‘नो हर्न जोन’को बोर्ड राखेर सवारी चालकलाई साउन ८ गतेसम्म सचेत गराउने भएको छ।
साउन ८ पछि हर्न बजाए जरिवाना गर्ने प्रहरीले जनाएको छ। अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले ५ सय रुपैयाँ जरिवाना गर्नेछ। यस्ता कारबाहीको रेकर्ड राखेर दोस्रोपटक पनि हर्न बजाएमा १ हजार रुपैयाँ र तेस्रोपटक कारबाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटबलका प्रहरी नायव उपरिक्षक अवदेश बिष्टले बताए।
घोषणा लागु भएसँगै गम्भीर दुर्घटना हुनेगरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ। यस्ता जोखिमयुक्त मोडहरुमा पनि प्रेसर हर्न बजाउन भने पाइने छैन।
सडकमा चाहिने आवश्यक पूर्वाधार बिना नै पोखरालाई नो हर्न क्षेत्रको घोषणा गरेको भन्दै यातायात व्यवसायीले भने असन्तुष्टि व्यक्त गरेका छन्।
सडकमा परेका खाल्डाखुल्डी, आयल्याण्ड, ट्राफिक लाईट र अव्यवस्थित पार्किङका कारण दैनिक सवारी दुर्घटना हुदै आएको व्यवसायीको भनाइ छ।