विद्यार्थीहरुको परीक्षा चलिरहेकै समयमा तौलिहवाको एचडी मेमोरियल विद्यालयमा आगलागी भएको छ।
आगलागीबाट विद्यालयको माथिल्लो तल्ला, फर्निचर, कार्यालय सामाग्री लगायतका सामानहरु जलेर नष्ट भएका छन्। आगलागीबाट साढे ३ लाख बरावरको क्षती भएको बिद्यालयले जनाएको छ।
आगो लागेपछि विद्यार्थीहरु त्रासमा बाहिरीएका थिए। विद्यालयमा परीक्षा सञ्चालन भइरहेका बेला आगलागी भए पनि विद्यार्थीहरुलाई कुनै हानी नपुगेको प्रधानाध्यापक गणेशलाल कर्णले सेतोपाटीलाई बताए।
विद्यालयको पहिलो तल्ला पक्की भए पनि माथिल्लो तल्लाको छानो खरले छाएका कारण विद्युत सट हुंँदा खरको छानो चाँडै सल्केको थियो ।
आगो नियन्त्रणका लागि आएका कपिलवस्तु नगरपालिकाका २ वटा दमकलमध्ये एउटा रित्तै आएकाले फर्केको थियो भने पानी लिएर आएको अर्को नयाँ दमकल सञ्चालन गर्न नजान्दा काम लागेन।
आगलागी नियन्त्रणका लागि साइरन बजाउँदै आएका दमकलले ‘तमासा मात्रै देखाएको’ भन्दै स्थानीयहरु नगरपालिका र दमकलका कर्मचारीसँग आक्रोशित भएका छन्।
स्थानीय बासिन्दा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो।