रूकुम पश्चिममा सोमबारदेखि बेपत्ता १३ वर्षीय बालकको हत्या भएको अवस्थामा शव फेला परेको छ।
जिल्लाको बाफिकोट गाउँपालिका–२ लामाचोकका १३ वर्षीय डिल्ली नाथको धारिलो हतियार (चक्कु) र ढुंगा प्रहार गरी हत्या गरिएको अवस्थामा खोल्सामा शव फेला परेको हो।
प्रहरीका अनुसार डिल्ली सोमबार बिहान ८ बजेतिर घरबाट साइकल लिएर निस्किएका थिए।
बाटोमा उनका स्थानीय दुई जना नातेदारसँग भेट भयो। उनीहरूले नै डिल्लीलाई रोकेर झन्डै ५० मिटर मुनि खोल्सामा बेलौती (अम्बा) खान जाऔं भन्दै लगेका थिए।
जब उनी खोल्सामा पुगे, नातेदार पर्ने अन्दाजी १९ वर्षीय किशोरले डिल्लीलाई चोरीको आरोप लगाए।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार, नाथमाथि उनीहरूले पेनड्राइभ र पसलबाट चाउचाउ र बिस्कुट चोरीको आरोप लगाएका थिए।
प्रहरीसमक्ष दिएको बया नअनुसार 'खै मेरो चोरी लगेको सामान दे' भन्दै उनैले डिल्लीलाई सुरूमा लात्ताले हिर्काएका थिए।
लात्ताले हिर्काएपछि डिल्ली सन्तुलन बिग्रिएर लडे। त्यति बेला डिल्लीकै उमेरका अर्का बालकलाई पनि डिल्लीमाथि आक्रमण गर्न १९ वर्षीय किशोरले उस्काए।
उनले एउटा ढुंगाले सामान्य रूपमा आक्रमण गरे। त्यसपछि किशोरले अर्का बालकलाई माथि उक्लिएर मान्छे हेर्न लगाएका थिए।
तर बालक डरले त्यहाँबाट निस्किए। त्यहीबीच किशोरले डिल्लीलाई ढुंगाले आक्रमण गरे। आफूसँगै लगेको तरकारी काट्ने चक्कुले पनि अन्धाधुन्ध आक्रमण गरे।
डिल्लीको शवको निधार र टाउकोमा धारिलो हतियार चक्कुले काटेका घाउहरू रहेको प्रहरी निरीक्षक पुनले बताए।
डिल्लीको शरीरका विभिन्न भागमा निलडाम रहेको पनि पुनले जानकारी दिए।
डिल्लीको मृत्यु भएको निश्चित गरेर किशोर माथि उक्लिएको र घटनालाई दुर्घटना अर्थात् साइकलबाट लडेर मृत्यु भएको देखाउन डिल्लीको साइकल पनि डाँडोबाट खोल्सामा फ्याँकिएको प्रहरीले जनाएको छ।
साइकल झन्डै १५ मिटरमुनि र नाथको शव ५० मिटरमुनि फेला परेको प्रहरी निरीक्षक पुनले बताए।
जिल्ला प्रहरी प्रवक्ता पुनका अनुसार सोमबार बिहान साढे १० बजेतिर नै डिल्लीको हत्या भएको अनुसन्धानबाट खुलेको छ। सामान्य चोरीको आरोपमा डिल्लीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पुनले बताए।
डिल्लीका अभिभावकले सोमबार दिउँसोदेखि नै उनको खोजी थालेका थिए। प्रहरीलाई पनि घरबाट साइकल लिएर गएको छोरा बेपत्ता भएको भन्दै खोजीका लागि सहयोग मागेका थिए। मंगलबार बिहान साढे १० बजेतिर नै स्थानीय एक जनाले खोल्सामा डिल्लीको साइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मंगलबार दिउँसो नै प्रहरीले अन्दाजी १३ वर्षे बालक र १९ वर्षे किशोरलाई नियन्त्रणमा लिएर घटना अनुसन्धान थालेको थियो।
प्रहरीसमक्ष किशोरले आफैले ढुंगा र चक्कु प्रहार गरेर डिल्लीको हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पुनले बताए।
'सामान्य चोरीको आरोपमा रिसइबी राखेर बेलौती खान जाऔं भन्ने योजना बनाएर बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्छ,' प्रहरी निरीक्षक पुनले भने, 'थप अनुसन्धान जारी छ।'
ती किशोरले अहिलेसम्म आफ्नो उमेर १९ वर्ष पुगेको बताउँदै आए पनि नागरिकता प्राप्त भएपछि मात्रै यकिन हुने प्रहरी अधिकारीहरूले बताएका छन्।
'हामीले हत्या आरोपी किशोरको नागरिकता लिएर आउन घरपरिवारलाई भनेका छौं,' प्रहरी निरीक्षक पुनले भने, 'नागरिकताका आधारमा मात्रै उनको उमेर यकिन हुने छ।'
प्रहरीले दुवै जना उमेर नपुगेको (नाबालक) हुन सक्ने ठानेर हाल हत्यामा संलग्न कसैको पनि नाम सार्वजनिक गरेको छैन।
हत्या गरिएका डिल्लीको शव पोस्टमर्टमका लागि मंगलबार दिउँसो नै जिल्ला अस्पताल सल्लेमा पुर्याइएको थियो। शव अझै अस्पतालमै छ। पोस्टमर्टम भइसकेको छैन।
प्रहरीले डिल्लीका अभिभावकलाई किटानी जाहेरीका लागि बोलाएको छ।