संविधान संशोधन तत्काललाई अघि नबढ्ने भएपछि निर्वाचनमा भाग लिन संशोधनलाई प्रमुख शर्त बनाएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अन्यौलमा परेको छ।
मंगलबार साँझ बालुवाटारमा कांग्रेस, माअाेवादी केन्द्र र राजपाबीच भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्न कठिन भएको जानकारी दिएका थिए। एमालेले अब अर्को संसदीय निर्वाचनअघि संशोधनमा छलफल गर्न र त्यसलाई अघि बढाउन अाफूहरू तयार नरहेको जानकारी मंगलबार कांग्रेस र माअोवादी केन्द्रका नेताहरूसँगको बैठकमा जानकारी गराएको थिए।
राप्रपाको मूल नेतृत्व संविधान संशोधनका लागि तयार देखिए पनि सो पार्टी भित्र पनि करिब एक दर्जन सांसद संशोधनको विपक्षमा छन्। गत वैशाख २० गते पनि सरकारले संशोधन विधेयक मतदानका लागि संसदमा प्रस्तुत गर्ने तयारी गरेपछि राप्रपाका १० जना सांसद अनुपस्थित भएका थिए।
राजपासँगको बैठकमा मंगलबार साँझ प्रधानमन्त्री देउवाले संशोधन तत्काललाई सम्भव नदेखिकाले सबै जना मिलेर तेस्रो चरणको चुनावका लागि तयारी गर्नुपर्ने बताएका थिए।
प्रदेश नम्बर दुईमा असोज २ गते गर्ने भनिएको तेस्रो चरणको निर्वाचनअघि नै संशोधन गर्न सम्भव बन्ने अवस्था विकसित बन्यो भने त्यसका लागि पनि प्रयास गर्ने तर अहिलेलाई संशोधन सम्भव भएन भन्ने मानेरै अघि बढ्नु पर्ने बताएका थिए।
तर राजपाले संशोधन पास भए पनि फेल भए पनि संसदमा अहिले नै भोटिङ होस् भन्ने चाहेको भए अाफूहरू त्यसका लागि तयार रहेको बताएपछि राजपा नेताहरू अप्ठ्यारोमा परेका छन्।
'मतदानमा पठाउन भनौं, संशोधन फेल हुन्छ,’ एक राजपा नेताले भने ‘ नपठाउ संशोधनको टुंगो नलागी कसरी चुनावमा जाने?’
मधेशकै दुई प्रमुख पार्टीहरू नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम यस अघि नै चुनावमा गइसकेका छन्। राजपाले दुबै फोरमलाई मधेसी जनताको हितमा सम्झौता गरेर चुनावमा गएको अारोप लगाउँदै आएको छ।
अहिले अाफूहरु पनि संशोधनबिनै चुनावमा जानुपर्ने अवस्था आएपछि राजपा ठूलो चेपुवामा परेको छ।
याे अवस्थामा कसरी अघि बढ्ने भन्नेमा राजपा अाफैं पनि विभाजित छ। संविधान संशोधनको एजेन्डालाई थाती राखेर जनतामा जानुपर्ने एकथरी मत छ। संविधान संशोधन नगरी जनतामा जानु अात्मघात हुने तर्क पनि पार्टी भित्र उत्तिकै छ।
राजपाका बहुसंख्यक नेता कुनै उपाय निकालेर चुनावमा जाने पक्षमै देखिन्छन्। तर त्यो उपाय के हो भन्ने खुट्याउन सकेका छैनन्।
अाफूहरू अझै पनि संविधान संशाेधन विधेयक पारित हुने अाशामा रहेकाे राजपा नेता अनिल झाले सेताेपाटीलाई बताए। `हामी पनि दलहरूसँग छलफल गर्छाैं ।सरकारले पनि पहल गर्छ,´ उनले भने,`संविधान संशोधन हुँदैन भन्ने पक्का भएपछि मात्रै हामी अरु रणनीति तय गर्छाैं।´
राजनीतिक रूपमा राजपा रहेपनि कानुनी रूपमा यो पार्टीको अस्तित्व अझै नरहेकाले अहिले दल दर्ताको अभियानमा बढी केन्द्रीत रहेकाे उनलेे बताए ।
अर्का नेता राजेन्द्र महताेले भने संविधान संशोधनका लागि सरकार गम्भीर नभएको अारोप लगाए। `संविधान संशोधन गरेर जाँदा संशोधन पक्षधरले राजपालाई मत दिने र विपक्षमा रहेकाहरूले एमालेलाई मत दिने सरकारले अाँकलन गर्यो,´ उनले भने,`त्यही भएर संशोधनअघि बढाएन। भाेटकाे राजनीतिले गर्दा सरकारले संशोधन विधेयक अघि नबढाएकाे हो।’
पार्टीको स्वार्थभन्दा माथि उठेर देशको समस्या समाधान गर्नतिर प्रमुख पार्टीले प्रयास नगरेको उनको अारोप छ।
राजपाका नेताहरूको अर्को अप्ठ्यारो भनेको कार्यकर्ताहरू ‘फिल्ड’मा चुनावका लागि खुट्टा उचालेर बसेका छन्।
'हामी चुनावमा नजाने हो भने कार्यकर्ता अरू नै पार्टीमा जानेछन्,’ एक राजपा नेताले भने।
पश्चिम मधेसमा भएको दोस्रो चरणको चुनाव राजपाले बहिस्कार गरेको भए पनि धेरै कार्यकर्ताले स्वतन्त्र रूपमा चुनाव लडेका थिए। तीमध्ये केहीले चुनाव जितेर स्थानिय प्रतिनिधि पनि बनेका छन्।