जिम्बाबेसँग एकदिवसीय शृंखला ३–२ ले गुमाएपछि श्रीलंकाली कप्तान एञ्जेलो म्याथ्युजले कप्तान पदबाट राजीनामा गरेका छन्। म्याथ्युज शृंखला गुमाएपछि निकै निराश थिए र उनी पहिले देखि नै कप्तान पद छोड्ने विचारमा थिए। एकदिवसीय वरियतामा ११ औं नम्बरमा रहेको टिम जिम्बाबेले पहिलो पल्ट श्रीलंकालाई एकदिवसीय शृंखलामा पराजित गरेको हो।
म्याथ्युजले जिम्बाबेसँगको पराजयलाई आफ्नो जीवनको सबैभन्दा नमिठो समय बताएका छन्। उनलाई कप्तान नियुक्त गरेपछि टिमको खस्किँदो प्रदर्शनका कारण आलोचना खेपिरहेका थिए। च्याम्पियन्स ट्रफीमा पनि श्रीलंकाले खासै राम्रो प्रदर्शन गरेको थिएन्। यसबीच मुख्य प्रशिक्षक ग्राहम फोेर्डले पनि आफ्नो पदबाट राजीनामा गरिसकेका थिए।
म्याथ्युजले श्रीलंकाको युथ–१९ र श्रीलंका ए टिमको पनि कप्तानी गरिसकेका छन्। २०१३ मा महेला जयवद्र्धनेले कप्तानबाट राजीनामा गरेपछि २५ वर्षीयको उमेरमै उनलाई टेस्ट टिमको कप्तान नियुक्त गरिएको थियो। उनले श्रीलंकाको टेस्ट इतिहासमा सबैभन्दा कम उमेरमा कप्तान बन्ने सौभाग्य पाएका थिए।
टेस्टको कप्तान बनाउनु अघि उनलाई एकदिवसीय र टि–२० को पनि जिम्मेवारी सुम्पिएको थियो।
उनले ३४ टेस्टमा श्रीलंकाका लागि कप्तानी गरेका छन्, जसमा श्रीलंकाले १३ मा जित र १५ मा हार बेहोरेको छ। उनको कप्तानीमा श्रीलंकाले ४७ एकदिवसीयमा जित र ४६ मा पराजय भोगेको थियो। टि–२० मा ४ जित र ७ हारको कीर्तिमान रहेको छ।
उनको कप्तानीमा गत वर्ष श्रीलंकाले अस्ट्रेलियालाई ३–० ले हराएको थियो। भारतले ३ टेस्ट शृंखलाको लागि श्रीलंकाको भ्रमण गर्नुअघि म्याथ्युजले कप्तान पदबाट राजीनामा गरेका हुन्। भारतीय टिम २६ जुलाईदेखि १६ अगस्टसम्म श्रीलंकामा ३ टेस्ट खेल्दैछ।