भारतीय प्रशिक्षकको छनोट लगभग पुरा भएको र यसमा सबैभन्दा अगाडि वीरेन्द्र सहवागको नाम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि रवी शास्त्रीलाई प्रशिक्षकको सबैभन्दा बलियो प्रतिस्पर्धी मानिएको थियो। उनलाई कप्तान विराट कोहलीले पनि रुचाउने कारण सबैको अड्कल शास्त्रीमै गएर अड्किएको थियो।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गठन गरेको क्रिकेट सल्लाहकार समितिले सोमबार ५ जनासँग लिएको अन्तर्वार्तापछि यो खबर बाहिरिएको हो। शास्त्रीले स्काइपबाट अन्तर्वार्ता दिएका थिए। करिब ४ घण्टा लामो अन्तर्वार्ताका क्रममा सहवागले २०१९ को विश्व कप जित्ने आफ्नो योजना प्रस्तुत गरेको बताइएको छ। उनको प्रस्तुतीबाट अन्तर्वार्तामा बसेका तीन जनै सदस्य पूर्व कप्तान सौरभ गागुली, भिभिएस लक्ष्मण र सचिन तेन्दुलकर प्रभावित भएको बताइएको छ।
बिसिसिआईले प्रशिक्षक छनोट गर्ने जिम्मा यी तीन पूर्व स्टार समावेश रहेको सल्लाहकार समितिलाई दिएको छ।
भारतीय टेलिभिजन एनडिटिभीले बिसिसिआई श्रोतलाई उदृत गर्दै भनेको छ, सहवागलाई तीन जनै सदस्यले रुचाएका छन्।
सोमबार घोषणा गर्ने भनिएको प्रशिक्षकको नाम केही समयका लागि सारिएको छ। समितिका सदस्य गागुलीले प्रशिक्षकको आधिकारिक जानकारी दिनुअघि कप्तान विराट कोहलीसँग विचार विमर्श गर्ने बताएका छन्। तर, गागुलीले यसको अर्थ विराटले प्रशिक्षक नियुक्त नगर्ने स्पष्ट पारेका छन्।
गागुलीले भने, ‘प्रक्रिया पुरा भइसकेको छ। सबैको प्रस्तुती गजब थियो। जो सुकै प्रशिक्षक बनोस, उसले २०१९ सम्म काम गर्न पाउनु पर्छ। हामी सबैको सोच एउटै होस भन्ने चाहना हो,’ उनले भने। वेष्ट इन्डिज भ्रमणबाट फर्किएपछि विराटलाई आगामी प्रशिक्षकको कार्य शैली र योजनाको विषयमा जानकारी दिने बताइएको छ। बिसिसिआई श्रोतका अनुसार रवी शास्त्री सल्लाहकार समितिको पहिलो रोजाई भएको भए सोमबार नै उनको घोषणा हुने थियो।