जिम्बाबेले १६ वर्षपछि विदेशी भूमिमा एकदिवसीय शृंखला जित्ने इतिहास रचेको छ। सन् २००१ मा बंगलादेशलाई उसैको घरमा हराएको जिम्बाबे क्रिकेट अहिले निकै संकटमा देखिन्छ। उसले अगामी विश्व कपका लागि अफगानिस्तान, आयरल्यान्ड, नेदरल्यान्ड र पपुवा न्युगिनीजस्ता देशसँग प्लेअफ खेल्नु परेको अवस्थामा १९९६ विश्व कपको विजेतालाई उसैको घरमा हराएको हो।
पाँचौ तथा अन्तिम एकदिवसीयमा ३ विकेटले पराजित गर्दै जिम्बाबेले २००१ पछि विदेशमा एकदिवसीय शृंखला जितेको हो। जिम्बाबेले ३–२ ले आफ्नो पक्षमा पारेको छ। जिम्बाबे हाल एकदिवसीय वरियतामा ११ नम्बरमा छ।
उसले टस जितेर पहिलो ब्याटिङ गर्न बोलाएको श्रीलंकालाई ८ विकेटको क्षतिमा २ सय ३ रनमा रोकेको थियो। प्रत्युत्तरमा अन्त्यमा ३८ रन जोड्ने क्रममा ६ विकेट गुमाएर पनि जिम्बाबेले ३ विकेटले खेल जित्यो। जिम्बाबेले ७ विकेटको क्षतिमा २ सय ४ रन बनायो।
जिम्बाबेको जितमा ह्यामिल्टन मासाकाड्जा हिरो सावित भए। उनले ७३ रन बनाए।