श्रीलंका भ्रमणका लागि भारतले आफ्नो टेस्ट टोलीको घोषणा गरेको छ। घोषित टोलीमा रोहित शर्मालगायत मोहम्मद समी टिममा फर्किएका छन्।
भारतीय टिमले २६ जुलाईदेखि ६ सेप्टेम्बरसम्म श्रीलंका भ्रमणमा रहनेछ। यही वर्षको फेब्रुअरीमा अस्ट्रेलियाविरुद्ध ४ टेस्ट शृंखलामा भारतीय टेस्ट टोलीबाट रोहित र समी बाहिर थिए। यी दुवै खेलाडी मध्यक्रमका ब्याट्सम्यान करुण नायर र अलराउन्डर जयन्त यादवको स्थानमा टोलीमा फर्किएका छन्।
हार्दिक पाण्ड्यालाई पनि एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शनका लागि टोलीमा स्थान दिइएको छ। उनलाई गत साल नोभेम्बरमा पनि इङ्ल्यान्डविरुद्ध टिममा स्थान दिइएको थियो। तर, कुमको चोटका कारण टोलीबाट बाहिरिन बाध्य भएका थिए।
ढाडको समस्यका कारण केही समयदेखि बाहिर रहेका ब्याट्सम्यान केएल राहुल पनि टिममा फर्किएका छन्। उनी मुरली विजयसँगै प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा देखा पर्ने सम्भावना बलियो छ।
शिखर धवनलाई भने विश्राम दिइएको छ। धवनले च्याम्पियन्स ट्रफी र वेष्ट इन्डिज भ्रमणमा राम्रो ब्याटिङ गरेका थिए। तमिलनाडुका अभिनव मुकुन्दलाई तेस्रो स्थानमा ब्याटिङको पुनः मौका दिइएको छ। उनको छनोट दक्षिण अफ्रिकी भ्रमणका लागि भारतीय ए टिममा पनि भएको छ। तर, अब उनले नाम फिर्ता लिने सम्भवना बलियो छ।
विराट कोहलीको कप्तानीमा भारतले श्रीलंकामा ३ टेस्ट, ५ एकदिवसीय र १ टि–२० खेल्नेछ। पहिलो टेस्ट गाले, दोस्रो कोलम्बो र तेस्रो केन्डीमा हुँदैछ।
भारतीय टिमःविराट कोहली (कप्तान), मुरली विजय, लोकेश राहुल, चेतेश्वर पुजारा, अजिङ्क रहाणे (उपकप्तान), रोहित शर्मा, रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, रिद्धिमान साहा (विकेटकिपर), इशान्त शर्मा, उमेश यादव, हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार, मोहम्मद समी, कुलदीप यादव, अभिनव मुकुन्द