इङ्ल्यान्डको बर्मिङ्घमस्थित एट्बस्टन क्रिकेट मैदानमा शनिवार दर्शकहरु स्तब्ध देखिए, जब बर्मिङघमका ब्याट्सम्यान सेम हेनको कडा प्रहार सिधै नटिङ्घमसायरका बलर ल्युक फ्लेचरको टाउकोमा ड्याम्म लाग्यो। यतिबेला सबैले केही वर्षअगाडि ब्याटिङ गर्ने क्रममा बलले लागेर ज्यान गुमाएका अस्ट्रेलियाली ब्याट्सम्यान फिलिप ह्युजको स्मरण गरेका थिए।
फ्लेचर बलले लागेर क्रिजमै ढले। तर, भाग्यले उनी बाँच्न सफल भए। हेनको स्ट्रेट ड्राइभमा घाइते बनेका फ्लेचरलाई हेर्न तत्कालै चिकित्सक मैदानमा प्रवेश गरे। उनलाई टाउकोमा रुमालले थिचेर बाहिर निकालिएको थियो। यसपछि सिधै नजिकको एलिजावेथ अस्पताल पुर्याइयो।
यो घटनाका कारण नटिङ्घमसायरका खेलाडी चिन्तित बनेका थिए। समित पटेल त रुन नै थालेका थिए। क्लबका प्रशिक्षक पिटर मुर्सले खेलाडीलाई सम्बोधन गर्दै संयमता अपनाउन आग्रह गरे। घटनाका कारण लगभग ३० मिनेट खेल रोकियो।
इङ्लिस खेलाडी ज्याक बलले आफ्नो साथी ल्युक फ्लेचरको फोटो आफ्नो ट्विटरमा अपलोड गरे। जसमा ल्युक एम्बुलेन्समा अक्सिजन लिइरहेका देखिएका छन्। उनले दुवै हाथको बुढी औला देखाएर अफू सकुशल रहेको सन्देश दिन खोजेका छन्।
ल्युकलाई शनिवार दिनभरी अब्जरवेशनमा राखेर आइतबार छुट्टी दिइएको अस्पतालले बताएको छ। ल्युकले ट्विटरमार्फत आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यबाद भनेका छन्।
नर्थ ग्रुपका लागि खेलिएको यो खेलमा फ्लेचरकै नटिङ्घमसायर पराजित भयो। उसलाई बर्मिङ्घमले ६ विकेटले पराजित गरेको थियो।