डेढ दशकअगाडि वेष्ट इन्डिजको टेस्ट क्रिकेटमा ब्रायन लारा ‘रन मेशीन’ को रुपमा चिनिन्थे। यस्तै पछिल्लो केही वर्षयता क्रिस गेलले सिमित ओभरको क्रिकेटमा आफूलाई ‘रन मेशीन’ को रुपमा उभ्याए।
अहिले कमजोर बन्दै गइरहेको वेष्ट इन्डिज क्रिकेटले अर्को ‘रन मेशीन’ को रुपमा एभिन लेविसलाई भेटाएको छ। १३ अन्तर्राष्ट्रिय टि–२० मात्र खेलेका एभिनले भारतविरुद्ध गएराती जुन प्रकारको ब्याटिङ गरे, यसले वेष्ट इन्डिज क्रिकेटको भविष्यलाई विस्तारै दर्शाउन थालेको छ।
उनले भारतविरुद्ध मात्र होइन, पाकिस्तानलाई पनि आफ्नो उत्कृष्ट ब्याटिङले अफ्ठेरोमा पारिसकेका छन्। आइतबार भारतविरुद्ध टि–२० मा वेष्ट इन्डिजले जितका लागि १ सय ९० रनको चुनौती पाएको थियो। जसलाई एक्लै १ सय २५ रन बनाउँदै एभिनले सहज बनाए। उनले १२ छक्का र ४ चौकको बिस्फोटक ब्याटिङको सहयोगले भारतीय कप्तान विराट कोहलीको सबै योजना भताभूङ पारे।
एभिन टि–२० मा दुईवटा सतक बनाउने विश्वका तेस्रो ब्याट्सम्यान हुन्। भारतविरुद्ध सतक उनको टि–२० मा दोस्रो थियो। यसअघि गेल र न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डन म्याकुलमले टि–२० मा दुईवटा सतक बनाएका छन्।
टि–२० मा अहिलेसम्म २६ ब्याट्सम्यानले सतक बनाएका छन्। तर, यसमा सबैभन्दा राम्रो स्ट्राइक रेट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलपछि एभिनकै छ। म्याक्सवेलले १६७ दशमलव ४१ को स्ट्राइक रेटले रन बनाएका छन्। एभिनको १ सय ५२ भन्दा माथि छ।
एभिनले दुवै सतक भारतविरुद्ध बनाएका हुन्। उनले यही वर्षको अप्रिलमा पाकिस्तानविरुद्ध ९१ रन बनाएका छन्। एभिनले २०१६ मा भारतविरुद्ध लाउडरहिलमा पहिलो सतक बनाएका थिए। त्यतिबेला उनले ४९ बलमा सतक बनाएका थिए। जसका कारण वेष्ट इन्डिज १ रनले विजयी भएको थियो।
उनले टि–२० को एउटै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने गेलको कीर्तिमानलाई भंग गरेका छन्। उनले ६२ बलमा १ सय २५ रन बनाएका थिए।