त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। निर्धारित दूरी ५०.२० सेकेन्डमा पूरा गर्दै प्रकाश १५ वर्ष पुरानो कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा लेखाउन सफल भए।
प्रकाशले २०५८ सालमा भएको वीरेन्द्र रनिङ सिल्डमा कृष्ण महतोले बनाएको ५२.८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन्। २०६५ सालअघि राष्ट्रपति रनिङ सिल्ड वीरेन्द्र रनिङ सिल्डको नाममा सञ्चालन हुँदै आएको थियो। मध्यमाञ्चलका भुवन महतो दोश्रो र पश्चिमाञ्चलका सन्दिप चौधरी तेश्रो भए।
सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी अनिता भुल पहिलो भइन्। अनिताले १ मिनेट ०७.२५ सेकेन्डमा दौड सकाइन्। पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ दोश्रो र मध्यमाञ्चलकी काजल विष्ट तेश्रो बने।
छात्रा ट्रिपल जम्पमा मध्यमाञ्चलका भुवन महतो १३.२३ मिटर जम्प लगाउदै शीर्ष स्थानमा रहे। मध्यपश्चिमाञ्चलका सुशील केसी दोश्रो तथा सुदूरपश्चिमाञ्चलका निरकुमार रानाले तेश्रो स्थान हात पारे। त्यसै स्पर्धाको छात्रामा पश्चिमाञ्चलकी विपना परियारले स्वर्ण जितिन्। विपनाले १०.५६ मिटर जम्प गरिन्। सुदूरपश्चिमाञ्चलकी देविका पालले रजत तथा मध्यपश्चिमाञ्चलकी पूजा चौधरीले कांस्य जिते।
छात्र ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरी पहिलो भए। उनले ४५.६५ मिटर थ्रो गरे। सुदूरपश्चिमाञ्चलका रमेश पोखरेल दोश्रो तथा मध्यमाञ्चलका सन्तराम माझी तेश्रो भए। सो स्पर्धाको छात्रामा सुदूरपश्चिमाञ्चलकी खगेश्वरी ठगुन्ना २५.१९ मिटर थ्रो गर्दै अब्बल बनिन्। पश्चिमाञ्चलकी सुनीता थापा दोश्रो र मध्यमाञ्चलकी एलिना खड्का तेश्रो भए।
छात्रा २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी जयरानी थारु पहिलो भइन्। सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा जयरानीले २७.४४ सेकेन्ड समय लिइन्। १ सय मिटर दौडमा पहिलो भएकी मध्यमाञ्चलकी लुजःला अमात्यले दोश्रो स्थानमा चित्त बुझाइन् भने पूर्वाञ्चलकी नेहा चौधरी तेश्रोमा सीमित भइन्।
४ गुणा ४ सय मिटर रिलेको छात्रमा मध्यपश्चिमाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे। उक्त स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलले स्वर्ण, पश्चिमाञ्चलले रजत र मध्यमाञ्चलले कास्य जिते।
एथलेटिक्सको समग्रमा मध्यपश्चिमाञ्चल सर्वाधिक १ सय ७३ अंक जोड्दै टिम च्याम्पियन बन्यो। १ सय ६७ अंकमा मध्यमाञ्चल दोश्रो र १ सय ३८ अंकमा पश्चिमाञ्चल तेश्रो भए।
तीनदिने एथलेटिक्समा जम्मा ४ छात्र खेलाडीले ५ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान रचे। त्यसमा मध्यमाञ्चलका अजितकुमार यादवले दोहोरा कीर्तिमान आत्मासात् गरे। उनले १ हजार ५ सय र ३ हजार मिटर दौडमा कीर्तिमान बनाए। पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका भुवन महतोले लङजम्प र पूर्वाञ्चलका प्रकाश दनुवारले ४ सय मिटर दौडमा कीर्तिमान बनाउन सफल भए।