नेप्सेले आगामी कात्तिक महिनादेखि स्वचालित अनलाइन प्रणालीमार्फत सेयर कारोबार गर्ने भएको छ। सिस्टमको निर्माणकर्ता वाइको प्रालिले भदौ महिनाबाट परीक्षणमा लैजानेगरी काम गरिरहेको जानकारी दिएको छ।
कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलिया र उच्च अधिकारीहरुसित यस विषयमा गरेको छलफलका क्रममा सो जानकारी दिएका हुन्। ‘प्रस्तावित प्रणालीका विभिन्न मोडलमा काम भइरहेको छ’ उनले भने ‘आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्नेछन्।’
चौधरीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विभिन्न मोडलहरुको विकासका चरणबारे जानकारी गराएका थिए। उनले प्रस्तावित प्रणालीका लागि आवश्यक सम्पूर्ण हार्डवयर उपलब्ध भइसकेको बताए।
‘हामी निर्धारित समयभित्रै अल्फा, बिटा टेस्टमा जान्छौं,’ चौधरीले भने। नेप्सेका प्रमुख कार्यकारी अधिकृत थपलियाले प्रणाली विकासमा संलग्न टोलीको कार्यप्रगति प्रति सन्तोष प्रकट गर्दै आवश्यक सहयोग गर्न नेप्से तत्पर रहेको जानकारी दिए।
‘हाम्रा लगानीकर्ता पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको ब्यग्र प्रतिक्षामा छन,’ उनले भने ‘यथासम्भव छिटो नयाँ प्रणाली सञ्चालनमा ल्याउन आवश्यक छ ।’
के हो स्वचालित प्रणाली ?आफैले संचालन गर्न सक्ने प्रणाली भएकाले यसलाई स्वचालित प्रणाली भनिएको हो। हाल लगानीकर्ताले सेयर कारोबार गर्नुपरेमा ब्रोकर कम्पनीमा गई खरिदबिक्रीको आदेश दिनुपर्ने वाध्यता छ। तर यो प्रणाली विकास भइसकेपछि लगानीकर्ताले इन्टरनेटको माध्यमबाट आफैले कम्प्युटर वा मोबाइलबाटै अर्डर पोष्ट गर्न सक्नेछन्।
त्यसका लागि लगानीकर्ताले सम्वन्धित ब्रोकर कम्पनीबाट युजर आइडी र पासवर्ड लिनु पर्नेछ। त्यही युजर आइडी र पासवर्डको माध्यमबाट लगानीकर्ताले आफूले सेयर खरिदबिक्री गर्न चाहेको कम्पनी, कित्ता, चाहेको मूल्य तोकेर अर्डर पोष्ट गर्नेछन्।
यद्यपी अर्डर आफैले पोष्ट गरे पनि यसमा ब्रोकर कमिसन भने तिर्नुपर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। यसबाट दूरदराजमा रहेका लगानीकर्तालाई कारोबारका लागि सम्वन्धित ब्रोकर कम्पनीमा धाइरहनु पर्दैन।
कारोबार सम्पन्न भएपछि बैंकबाट रकम कटौती हुने वा जम्मा हुने र डिम्याट खाताबाट सेयर घट्ने वा थपिनेछ। घरमै बसी बसी आफैले मोबाइलबाट सेयर खरिदबिक्री गर्न सकिने भएकाले यसले लगानीकर्तालाई धेरै सहजता हुने र कारोबार बढ्नमा टेवा पुग्ने नेप्सेको विश्वास छ।