मुक्तिक्षेत्र गाउँपालिकाको ओझेलमा परेको बस्ती हो लुप्रा उर्फ लुडाक।
सदरमुकाम जोमसोमदेखि करिब १० किलोमिटर दुरीमा रहेको यस क्षेत्रका अधिकांश मानिस कृषि व्यवसायमा आश्रित छन्।
भिरालो सतहको सीमित क्षेत्रफलमा फैलिएको लुडाक बस्तीमा जम्मा १४ घरधुरी छन्। स्थानीयले लगाएको अन्नबालीले ६ महिना गुजारा टार्न मुश्किल पर्छ।
लुडाकका स्थानीयको जीवनस्तरलाई माथि उठाई उनीहरुको आयआर्जनको मार्ग पहिल्याउन तथा बोन धर्मको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटक प्रर्वधन गर्ने उद्देश्यले होम स्टे अर्थात घरबास कार्याक्रमको प्रशिक्षण दिइएको छ।
प्रशिक्षणका क्रममा पर्यटक सहायक बेल पुनले घरवास संञ्चालन बिधि, प्रक्रिया र पूर्वाधारका बारेमा स्थानीयलाई जानकारी गराए। घरबास कार्यक्रम सञ्चालनले स्थानीय कला संस्कृतिको आदान प्रदान र पर्यटकको मन बहलाउन सकिने भएकाले लुडाक बस्ती उपयूक्त स्थान भएको पुनको भनाई छ।
सो क्रममा एक्यापको रोहबरमा सोम गुरुङको संयोजकत्वमा १२ सदस्य घरवास सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ। आयोजनाले लुडाकमा गठित मुस्ताङ बोन घरबास संञ्चालनका लागि करिव १ लाख बराबरको जिन्सी सामाग्री हस्तान्तरण गर्ने पर्यटन सहायक पुनले जानकारी दिए।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्यापले) उक्त बस्तीमा होम—स्टे अर्थात घरवास कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ। लुडाकमा हाललाई ४० जना क्षमताको घरबास सञ्चालन गर्ने योजना रहेको पुनले बताए।
म्याग्दीको पैराथाप्लादेखि मुस्ताङको मूक्तिनाथ मन्दिरसम्म जोडिएको वैकल्पिक पदमार्गमा पर्ने लुडाक बस्ती एकान्तमय र कोलाहलमूक्त छ।
विशेषगरी बाह्य पर्यटकको आवगमन रहने उक्त स्थानमा स्थानीयले पर्यटकका लागि लक्षित कुनै व्यवसाय संञ्चालन गरेको पाइँदैन। होम—स्टे कार्यक्रम संञ्चालन गर्न सकिएमा पर्यटकले आनन्दको अनुभुति गर्न पाउने र स्थानीय संस्कृति प्रवद्र्धनमा समेत योगदान पुग्ने भएकाले एक्यापले होमस्टे प्रशिक्षण थालेको हो।
एक्यापले घरवासका लागि आवश्यक पूर्वाधारबारे स्थानीयसँग अन्तरक्रिया गरेको छ। स्थानीयलाई प्रशिक्षणपछि घरवास सञ्चालनका लागि लुडाकका ८ घरधुरीले एक्यापमा आवेदन दर्ता गराएको एक्याप प्रतिनिधि यूङडुङ गुरुङले जानकारी दिए।