असार १४ गते बुधबार भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको शनिबार दिउँसो १२ बजेसम्म ९२ स्थानको मतपरिणाम आइसकेको छ।
कुल ३३४ स्थानीय तहमध्ये हालसम्म एमालेले ४ नगरपालिकासहित ४३ तहमा जित हासिल गरेको छ। त्यस्तै ८९ स्थानमा उसको अग्रता कायम छ। अहिलेसम्मको मतपरिणामअनुसार एमालेले जितेका ४ नगरपालिका डडेल्धुराको अमरगढी, संखुवासभाको मादी, गुल्मीको रेसुंगा र धनकुटाको पाख्रिबास हुन्।
एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले ८ नगरपालिकासहित हालसम्म ३१ स्थानमा जित्न सफल भएको छ। उसले ९१ स्थानमा अग्रता लिइरहेको छ।
कांग्रेसले जितेका ७ नगरपालिका बाजुराको बडिमालिका, भोजपुरको भोजपुर, दार्चुलाको महाकाली, बैतडीको दशरथ चन्द, बझाङको बुंगल, अछामको कमलबजार, दार्चुलाको शैल्यशिखर र बाजुराको त्रिवेणी हुन्।
नेकपा माओवादी केन्द्रले हालसम्म नगरपालिकामा जित हासिल गरेको छैन। १६ गाउँपालिका प्रमुखमा जित हासिल गरेको माओवादीले ५० स्थानमा अग्रता लिइरहेको छ।
नतिजा आएका ६२ मध्ये दुई स्थानमा राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमले जितेका छन्। प्यूठानको मल्लरानी गाउँपालिकामा जनमोर्चा र बाँकेको नैरनापुरमा फोरमले जित हासिल गरेका हुन्।