प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका दुई नगरपालिका र पाँच गाउँपालिका गरी ७ स्थानीय तहमध्ये हालसम्म ६ वटाको नतिजा आइसकेको छ।
६ तहमध्ये तीनमा कांग्रेस, दुईमा एमाले र एकमा माओवादी केन्द्रले जित हासिल गरेका छन्।
डडेलधुराको अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वर (विपिन) ओझा विजयी भएका छन् भने हालै प्राप्त मतपरिणाम अनुसार नवदुर्गा गाउँपालिकामा पनि एमालेले नै जित हासिल गरेको छ।
नवदुर्गामा एमालेका कबिन्द्र बहादुर विष्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मीप्रसाद अवस्थीलाई हराएका हुन्। विष्टले २९६९ मत ल्याएका छन्।
उपप्रमुखमा भने कांग्रेसकी डम्बरी देवी ओलीले ३००५ मत ल्याई जित हासिल गरेकी छन्।
त्यस्तै, अजयमेरू गाउँपालिकामा माओवादी केन्द्रका उमेश भट्ट ‘विकास’ निर्वाचित भएका छन्।
भागेश्वर, आलिताल र गन्यापधुरामा भने कांग्रेसले नै जितेको छ। भागेश्वरमा कौशिला भट्ट, आलीतालमा बलबहादुर गुरूङ र गन्यापधुरामा नबलबहादुर मल्लले जितेका हुन्।
अब परशुराम नगरपालिकाको मात्र नतिजा आउन बाँकी छ।